• विश्वराज अधिकारी
समाचारहरूमा उल्लेख भए अनुसार अहिले नेपालको एकतिहाई जनसङ्ख्या देशभित्र छैन । नेपालीहरू कानूनी र गैरकानूनीरूपमा संसारका अनेक मुलुकमा पुगेका छन् । विश्वसनीय र सत्य जानकारी नलिएर नेपालीहरू रोजगारका लागि अनेक देशमा पुगेका छन् । दक्षिण अमेरिका र अफ्रिकी देशहरूसम्म पुगेका छन् ।
मानव तस्करहरूको जालमा परेर यस्ता देशमा पनि पुगेका छन्, जुन देश आफैं गरीब छ । त्यस देशका नागरिकहरू स्वयं रोजगारका लागि अन्य देश पुगेका छन् । यसैगरी यस्ता देश पनि पुगेका छन्, जुन देश आफैं निर्धन छ र रोजगारको अति अभाव छ, चरम बेरोजगारी छ । मानव तस्करको जालमा परेर रोजगारका लागि नेपालीहरू युद्धग्रस्त देशहरूमा पुगेका छन् । नेपालीहरू रोजगारका लगि अनेक देश जाने कथा यहीं र यत्तिकैमा समाप्त भए हुन्थ्यो नि १ नेपालीहरू भाडाको सैनिक बनेर युद्ध गर्न पुगेका छन्, अनेक देशमा । नेपालीहरू अहिले युक्रेन र रूस पुगेका छन्, युद्ध गर्न, राम्रो तलब भत्ता पाइने विश्वासमा ।
नेपालीहरू रोजगारका लागि, राम्रो आम्दानीका लागि कुन देशमा, कसरी, कुन स्थितिमा पुग्छन् भन्ने कथा अति नै लामो छ । के कस्तो जोखिम मोलेर गइरहेका छन्, कसरी ठगिन्छन्, यो कथा झनै लामो छ ।
चलनचल्तिको भाषामा, कानूनी रूपमा अमेरिका प्रवेश गर्नुलाई ‘माथिल्लो बाटो’ भएर अमेरिका आएको भन्ने गरिन्छ । मानव तस्कारहरूलाई मोटो रकम दिएर गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्नुलाई ‘तल्लो बाटो’ भएर अमेरिका आएको भन्ने गरिन्छ । समाचारहरूमा उल्लेख भए अनुसार नेपालमा एक करोड रुपियाँसम्म मानव तस्कारहरूलाई भुक्तान गरेर नेपालीहरू तल्लोबाट अमेरिका आएका छन् । एकजना नेपाली अमेरिका आउनका लागि मानव तस्करलाई एक करोड रुपियाँसम्म भुक्तान गरिरहेको स्थिति छ । घर खेत बेचेर अमेरिका पुग्नका नाममा ठगिन तयार भएको स्थिति छ ।
तल्लो बाटोबाट अमरिका आउनेहरूलाई मानव तस्करहरूले नेपालबाट अनेक देश घुमाउँदै अमेरिकासँग जोडिएको देश मेक्सिको ल्याएर छाडिदिन्छन् रे । ठूलो जोखिम लिएर त्यसरी मेक्सिको आउनेहरूले गैरकानूनीरूपमा अमेरिका प्रवश गर्नुपर्ने हुन्छ । नेपालबाट अनेक देश हुँदै मेक्सिकोसम्मको यात्रा अति जोखिमपूर्ण हुन्छ । सुन्नमा आए अनुसार कतिपय बाटोमा हराउने, कतिपयको मृत्युसम्म हुने गरेको छ । यसैगरी मेक्सिकोबाट गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने काम पनि उत्तिकै जोखिमपूर्ण छ । यति ठूलो जोखिम उठाएर अमेरिका प्रवेश गर्छन् । तर अमेरिकमा काम पाउने कुनै निश्चितता हुँदैन । बसाइ गैरकानूनी भएकोले पाइला–पाइलामा दुःख, कष्ट भोग्नुपर्ने हुन्छ ।
नेपालीहरू जुन सङ्ख्या र गतिमा रोजगारका लागि अहिले अनेक देश पुगिरहेका छन् त्यो स्थितिलाई विचार गर्दा हामीले आफैंसँग एउटा प्रश्न गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ । के नेपालमा त्यो स्तरको वा विकराल बेरोजगारी छ ?
नेपालमा बेरोजगारी छ, यो कुरा सत्य होस तर नेपालको बेरोजगारीको विश्लेषण गर्ने हो भने नेपालमा यथार्थभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या बनेको छ । बेरोजगारी र ऐच्छिक बेरोजगारीबीच ठूलो अन्तर छ । यसबारे उति चर्चा भएको पाइँदैन ।
आफूले काम गर्न खोजेको छ । कुनै पनि काम गर्ने आप्mनो इच्छा छ, तर श्रम बजारमा कुनै पनि किसिमको काम छैन भने त्यस्तो स्थितिलाई यथार्थ बेरोजगार भन्ने गरिन्छ ।
श्रम बजारमा काम छ । तर खोजेजस्तो काम छैन । एकजना इन्जिनीयर हो तर उसले इन्जियिीरिड्ढो काम पाउन सकेको छैन । बजारमा घर सफा गर्ने काम उपलब्ध छ तर काम गर्नेले यो सानो काम हो, इज्जत नपाइने काम हो भनेर गर्दैन । यो स्थितिलाई ऐच्छिक बेरोजगारी भनिन्छ । आप्mनो सीप, दक्षता वा ज्ञान अनुसारको काम नपाउनु ऐच्छिक बेरोजगारी हो । यो एक किसिमको ऐच्छिक बेरोजगारी हो भने अर्को किसिमको बेरोजगारी आपूmले खोजे अनुसारको काम नगर्नु र बेरोजगारी बस्नु हो । ऐच्छिक बेरोजगारी पनि दुई किसिमको हुन्छ ।
नेपालमा ऐच्छिक बेरोजगारी ठूलो समस्याको रूपमा रहेको छ । ऐच्छिक बेरोजगारीमा पनि आपूmले खोजे अनुसार काम पाए मात्र गर्ने, न भए अर्को किसिमको काम नगर्न मनोवृत्ति ठूलो समस्याको रूपमा रहेको छ । यो काम सानो, यो काम ठूलो, यो काम गर्दा इज्जत जान्छ, यो काम गर्दा इज्जत बढ्छ । यस्तो भावनाले गर्दा नेपालमा रोजगार भएर पनि बेरोजगारी हुनुपर्ने स्थिति छ । बिए, एमए पास व्यक्तिले बजारमा तरकारी बिक्री गर्नु इज्जत फाल्नु हो । यस्तो सामाजिक सोचले हाम्रो श्रम बजारलाई सङ्कुचित पारेको छ । बाँच्नका लागि काम गर्नुपर्छ । बाँच्नका लागि कुनै पनि किसिमको काम गर्न तत्पर रहनुपर्दछ । कामै नगरी बस्नुभन्दा कुनै पनि किसमको काम गर्नु इज्जतको कुरा हो ।
केही कामलाई हामीले केवल एक तोकिएको जातिले गर्ने भनेर वर्गीकरण गरिदिएका छौं । कपाल काट्ने, सडक सफा गर्ने, फोहर सफा गर्नेजस्ता कामलाई विशेष जातिहरूको काम भनेका छौं । यस्तो प्रवृत्तिले पनि श्रम बजारको विकास हुन्छ ? एमए पास गरेको व्यक्तिले पनि फोहर फाल्ने, सडक सफा गर्ने काम गर्ने मनोविज्ञान राख्नुपर्छ । काम आफैंमा सानो वा ठूलो हुँदैन । यो काम गर्दा इज्जत बढ्छ, त्यो काम गर्दा इज्जत जान्छ भन्ने पनि होइन । यो त हाम्रो भावना हो, जसले एकथरि काम राम्रो अर्कोथरि काम नराम्रो भनेर छुट्याएको छ । यस्तो मनोवृत्तिले गर्दा हामीकहाँ दोस्रो किसिमको ऐच्छिक बेरोजगारी ठूलो समस्या हुन पुगेको छ । काम छ तर पनि बेरोजगारी छ । अहिले स्थिति यस्तो छ ।
माथिको प्रसङ्गलाई फेरि दोहो-याउँ । मानव तस्करलाई नेपालमा एक करोड रुपियाँ भुक्तान गरेर अमेरिका आउन तयार रहेको एक युवक वा युवतीले नेपालमा नै कुनै सानो आकारको व्यापार गरे हुँदैन ? एक करोड रुपियाँ, जुन उक्त व्यक्तिसँग छ, के उसले त्यसलाई पूँजीको रूपमा उपयोग गर्न सक्तैन ? यस प्रश्नको उत्तर सजिलो छ । हामी नेपालीहरू सानोतिनो (हामी आफैंले वर्गीकरण गरेको ) काम गर्न रुचाउँदैनौं । हामीलाई ठूलो काम चाहिन्छ । पद र पैसा दुवै ठूलो हुनुपर्छ । यो कारणले गर्दा पनि हाम्रो देशमा बेरोजगारी बढेको हो । हाम्रो बेरोजगारी यथार्थ कम ऐच्छिक बढी रहेको छ । ऐच्छिकमा पनि सानोतिनो काम गर्दिनँ भन्ने हाम्रो भावनले हामीलाई पिरोलेको छ ।
सन् २०१९ मा फैलिएको कोभिडले संसारभरिका मानिसलाई सतायो । करोडौंलाई बेरोजगारी बनायो । तर पनि त्यस समयमा कतिपयले आप्mनो सीप तथा दक्षताभन्दा फरक किसिमका काम गरे । अमेरिकामा कतिपय पाइलटहरूले व्यापारिक संस्थाहरूमा सामान्य श्रमिक बनेर काम गरे । म पाइलट हुँ मेरो काम हवाईजहाज चलाउने हो भनेर बेरोजगारी भएनन् । काम गरे, जस्तो काम पाए, त्यो गरे । कामलाई सानो–ठूलो भनेनन् । त्यो बेला हवाई उद्योग नगराम्ररी प्रभावित भएको थियो । उडानहरू रद्द भएर यस उद्योगसँग सम्बन्धित लाखौ व्यक्ति बेरोजगारी भएका थिए ।
अमेरिकामा कामलाई ठूलो वा सानो भन्ने चलन छैन । यो काम गर्दा इज्जत बढ्ने र यो काम गर्दा इज्जत घट्ने भन्ने पनि छैन । अमेरिकी युवाहरू, खासगरी कलेजमा रहेको अवस्थामा, आप्mनो खर्चले अध्ययन गरिरहेको स्थितिमा, जस्तो किसिमको काम गर्न पनि तत्पर रहन्छन् । कलेजसम्मको अध्ययन समाप्त भएर, आप्mनो शिक्षा अनुसारको काम पाएर, एक किनारा लाग्नुपूर्व, युवाहरू जस्तो पनि काम गर्न तयार रहन्छन् । घर घरमा पिज्जा पु-याउने काम पनि खुशीखुशी गर्छन् । कुनै दुःखेसो पोख्दैनन् । सानो काम गरिरहेको छु भनेर दुःखी हुँदैनन् ।
नेपालमा बेरोजगारीको कुरा गर्दा ऐच्छिक बेरोजगारीबारे खासै चर्चा गर्दैनौं । अहिले पनि, खासगरी काठमाडौंमा, कवाडी काम, तरकारी बेच्ने काम, भारतबाट आएका मानिस साइकल चढेर गर्छन् । यो काम गरेर राम्रो आम्दानी हात पार्छन् । तर काठमाडौंका मानिस यो काम गर्दैनन् । बरु कामको लागि अरबतिर जान्छन् । कस्तो अच्मम १ भारतका मानिसले काठमाडौंमा रोजगार पाएका छन्, हाम्रा युवाहरू भने काठमाडौंमा काम छैन भन्दै अरबतिर लागिरहेका छन् । ऐच्छिक बेरोजगारी यस्तै हुन्छ ।
बेरोजगारीभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या हो । सबै किसिमका कामको सम्मान गर्न सिक्नुपर्छ । यसरी गर्ने हो भने नेपालमा बेरोजगारी समस्या क्रमिकरूपमा समाप्त हुँदै जान्छ, अवश्य पनि ।