• विश्वराज अधिकारी
नेपालको राजनीतिक क्षेत्र अहिले जति तातेको छ त्यति नै आर्थिक क्षेत्र पनि तातेको छ । आर्थिक क्षेत्र तात्नुको कारण पनि छ । त्यो भनेको, नेपालको अर्थिक क्षेत्रलाई प्रभावित पार्ने मात्र होइन, अति नै प्रभावित पार्ने व्यापारिक परिवारका एक सदस्य नेपाल प्रहरीद्वारा पक्राउ पर्नु ।
पन्ध्र हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिने, अनेकौं उद्योग सञ्चालन गरेर सरकारलाई लाखौ कर भुक्तान गर्ने तथा अप्रत्यक्षरूपमा सयौ परिवारहरूको लागि आम्दानी सृजना गरिदिने व्यापारिक संस्थाका एक सदस्य अरुण चौधरी अहिले प्रहारीको हिरासतमा छन् । हुनत उनी अहिले अस्पतालमा छन्, स्वतन्त्र छन् । थुनामुक्त छन् । तर पनि कानूनीरूपमा प्रहरी हिरासतमा छन् । यो आलेख तयार पारिरहँदासम्म उनी प्रहरी हिरासतमैं छन् । उनी भोलि नै पनि प्रहरी हिरासतबाट मुक्त हुन सक्छन् । प्रहरी हिरासतमा रहनु वा पर्नुको अर्थ कुनै पनि व्यक्ति अपराधी हो भन्न सकिंदैन र कुनै व्यक्तिलाई अपराधी ठहर गर्ने अधिकार प्रहरीसँग हुँदैन पनि । प्रहरीको काम कुनै व्यक्ति अपराधी हो भनी उसमाथि अभियोग लागेको छ भने उसलाई पक्राउ गर्नु मात्र हो । कुनै व्यक्ति अपराधी हो वा होइन भनी ठहर गर्ने अधिकार केवल न्यायालयसँग हुन्छ, अदालतसँग हुन्छ । अरुण चौधरीलाई कसूरदार ठहर गर्ने अधिकार केवल सम्मानित अदालतसँग छ । भोलिका दिनमा चौधरी अपराधी वा निर्दोष पनि हुन सक्छन् ।
राज्यको स्वामित्वमा रहेको बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहका एक सदस्य अरुण चौधरीको स्वामित्वमा गैरकानूनी किसिमले पुगेको तथा त्यसरी आप्mनो स्वामित्वमा पु¥याउने काम चौधरीले आर्थिक भ्रष्टाचार गर्ने नियतले गरेको अभियोग केन्द्रीय अनुन्धान ब्युरो, नेपाल प्रहरीले चौधरीमाथि लगाएको छ । समाचारहरूमा उल्लेख भए अनुसार नेपाल प्रहरीले गत चार महीनादेखि यस विषयमा अनुसन्धान गरिरहेको थियो । र लामो अनुसन्धानपछि चौधरीलाई दोषी देखेर पक्राउ गर्ने निर्णयमा पुगेको हो । तर विचारणीय कुरा के छ भने यो घटना २०४२ सालतिरको हो रे । अहिले आएर, अचानक यो घटना कसरी प्रकाशमा आयो ? २०४२ सालपछि अनेक सरकार बने । त्यस बेलाका सरकारहरूले यो विषयलाई किन छोपेर राखे वा किन अनुसन्धान गरेरनन् ? यो एउटा अर्को रहस्यको विषय हुन पुगेको छ ।
यस आलेखको उद्देश्य अरुण चौधरीले गरेका अपराध (अभियोग लागेको प्रमाणित नभइसकेको) बारे चर्चा गर्नु होइन । उनीलाई दोषी वा निर्दोष भन्नु पनि होइन । यस आलेखको उद्देश्य मुख्यगरी दुई विषयमा चर्चा गर्नु रहेको छ । चौधरीविरुद्ध प्रहरी कारबाईले नेपालको समग्र उद्योग एवं व्यापारिक जगतमा कस्तो प्रभाव पर्नेछ र, नेपालका अति भ्रष्ट नेताहरूले गरेको भ्रष्टाचार हेर्दा चौधरीले कुन स्तरको भ्रष्टाचार गरेका हुन् । यी दुई विषयहरूमा नै यो आलेख केन्द्रित रहने छ ।
नेपालमा नेता, व्यापारी पक्राउ पर्नुको पछाडिको प्रमुख कारण भने देशमा सुशासन कायम गर्न, नियम कानूनको कठोरताका साथ पालन गर्नका लागि नभएर एक समूहले अर्को समूहसँग बदला लिनु वा लेनदेन नमिल्नु अथवा कसैलाई बदनाम गरेर आप्mनो उद्देश्य पूरा गर्नु रहेकोले कुनै नेता वा व्यापारी पक्राउ पर्नुलाई ज्यादै ठूलो विषय मान्न सकिंदैन । भोलिका दिनमा अरुण चौधरी अदालती कारबाईबाट दोषी देखिएर उनीमाथि कारबाई भएमा नेपालमा नियम–कानून प्रभावकारी किसिमले लागू हुन थालेको हो भनी अनुभूत गर्ने स्थिति होला । नियम साना र ठूला, सबैका लागि बराबर हो भन्ने सकारात्मक सन्देश देशभरि फैलिएला । तर यदि अरुण चौधरीलाई फसाउने किसिमबाट वा सेटिंग न मिलेको कारणबाट, वा उनीबाट कसैले कुनै फाइदा लिन नसकेको स्थितिको कारणले पक्राउ गरिएको हो भने यो पक्राउ प्रकरणबाट देशको व्यापारी जगतमा परेको अति नै ठूलो कुप्रभावको लागि को दोषी हुने ?
नेपालमा न राम्रो औद्यौगिक वातावरण छ, न राम्रो व्यापारिक वातावरण छ । छिटोछिटो सरकार परिवर्तन हुने, देशको औद्योगिक एवं व्यापारिक नियम–कानून यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूको लागि प्रतिकूल हुने, स्वार्थी नेताहरूको ध्यान केवल शक्ति र सत्तामा रहने भएकोले नेताहरूको ध्यान देशको आर्थिक विकासतिर नजाने भएकोले देशको आर्थिक स्थिति दयनीय छ । देशमा रोजगार नभएर प्रत्येक दिन सयौं युवा विदेशतिर लाग्ने स्थिति छ । यस्तो अवस्थामा राम्रो र अनुकूल औद्योगिक वातावरण सृजना गर्नुको सट्टा उद्योगपतिहरूलाई उल्टो दुःख दिने कार्यले नेपालको व्यापारिक एवं औद्योगिक क्षेत्रमा नकारात्मक सन्देश पुग्नेछ । पहिलेदेखि नै पटके व्यापार गर्दै आएका उद्योगी एवं व्यापारीहरू, अरुण चौधरी पक्राउ परेको स्थितिपछि, उद्योग–व्यापारक्षेत्रमा लगानी गर्न हच्किनेछन् । व्यापार र उद्योगको क्षेत्र नराम्ररी प्रभावित हुनेछ । रोजगारको क्षेत्र सङ्कुचति हुनेछ भने सरकारलाई प्राप्त हुने शुल्क झ्न कम भएर जानेछ । गरीबी झनै बढ्ने छ ।
नेपालमा आर्थिक विकास हुन नसक्नुको लागि प्रमुख दोषी हामीले नेताहरूलाई नै ठहर गर्नुपर्छ । उनीहरूको व्यवहारमा इमानदारी भएको भए, उनीहरू त्यागी भएको भए, देशलाई माया गर्ने चरित्र भइदिएको भए, नेपालको आर्थिक स्थिति यति दयनीय हुने थिएन । देशको स्थिति यति निराशापूर्ण हुने थिएन । नेताहरूको चरित्र देखेर अहिले सम्पूर्ण देशमा निराशा फैलिएको छ । सबभन्दा निराशा युवाहरूमा फैलिएको छ । उनीहरू अहिले स्वदेशमा आप्mनो भविष्य सुरक्षित देखिरहेका छैनन् ।
अब दोस्रो विषयमा छलफल गरौं । नेताहरूले जुन स्तरको बेइमानी, आपराधिक, स्वार्थी, सत्ता र शक्तिमुखी कार्य गरेर देशलाई आर्थिक क्षति पु¥याए त्यसको तुलनामा अरुण चौधरीले आर्थिक भ्रष्टाचार गरेर (यदि प्रमाणित भएमा) कम क्षति पु-याए । नेताहरूले गरेको अपराधको स्तरभन्दा अरुण चौधरीको अपराधको स्तर ज्यादै न्यून छ । माओवादीको तथाकथित दश वर्षे जनयुद्धकालमा देशका आर्थिक संरचना ध्वस्त पारेको, बैंकहरू लुटेको, निर्दोषहरूको हत्या गरेको घटना अहिले पनि जनजनको दिमागमा ताजा नै छ ।
समाचारहरूमा अहिले केवल अरुण चौधरीका कुराहरू आइरहेका छन् । जब यो घटना (जग्गा नामसरी गर्ने) घट्यो त्यो बेला केवल अरुण चौधरी मात्र एक्लै यो घटनामा संलग्न थिए होलान् ? उनलाई त्यस्तो गर्न सहयोग गर्नेहरू पनि त थिए होलान् ? सहयोग गर्नेहरू के निर्दोष थिए, वा छन् ? नेपालको तत्कालीन प्रशासनले कसरी सहजै सरकारी स्वामित्वमा रहेको जग्गा निजी स्वामित्वमा जान दियो ?
अब केही कुरा आर्थिक भ्रष्टाचारको गरौं । हाम्रो समाजनै भ्रष्ट छ । समाज नै भ्रष्ट भएपछि यसले उत्पादन गरेका सामान्य नागरिक, नेता, प्रशासक, प्रहरी, कर्मचारी भ्रष्ट हुनु स्वभाविक हो । समाजलाई रूपान्तरण नगरेर, सही बाटोतिर नडो-याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिंदैन । भ्रष्टाचार नियन्त्रण नभएसम्म देशमा आर्थिक विकास पनि हुँदैन । भ्रष्टाचार व्याप्त देशमा आर्थिक विकास भएको उदाहरण संसारभरि कतै पाइँदैन ।
केही अपवाद छाडेर कुरा गर्ने हो भने आप्mनो शक्ति, पद, प्रभाव प्रयोग गरेर गैरकानूनीरूपमा आम्दानी प्राप्त गर्न हामी सबै सदा तत्पर रहन्छौं । मौका नपाएर इमानदार बन्नेको सङ्ख्या हाम्रो समाजमा ठूलो छ । पाए घूस खान, बहुसङ्ख्यक व्यक्ति हरबखत तयार रहन्छन् । यति मात्र होइन, आर्थिक भ्रष्टाचार वा घूसले हाम्रो समाजमा सामाजिक मान्यता पाएको छ । यसले घूस खाएर, अपराध गरेर, धन कमाएको कसैले भन्दैन, उल्टो यसले यति धन कमाएको छ भनी समाजमा चर्चा हुन्छ । घूस खानेले, भ्रष्टाचार गर्नेले इज्जत पाउँछ ।
हाम्रो समाजले कुनै एक व्यक्ति वा व्यवसायीले धन कसरी प्राप्त ग-यो भन्ने विषयमा चासो राख्दैन । कुनै व्यक्ति धनी भएको आधारमा सामाजिक मर्यादा दिन्छ । अपराध गरेर कसैले धन कमाएको छ भने पनि हाम्रो समाजले उसलाई इज्जत दिन्छ ।
घूसको कुरा गर्दा, आर्थिक भ्रष्टाचारको कुरा गर्दा हामी एक पक्षीय कुरा मात्र गर्छौ । केवल घूस खानेको कुरा गर्छौ । घूस दिनेको कुरा गर्दैनौं । घूस लिनेले जति आर्थिक अपराध गरेको हो त्यतिकै आर्थिक अपराध घूस दिनेले पनि गरेको हो । काम फत्ते पार्न, वा आपूm फाइदामा हुन कसैलाई घूस दिनु पनि अपराध हो । तर हामी यसरी विचार गर्दैनौं । हामी बाध्य भएर, काम बिग्रिने भएर घूस दिन बाध्य भएको भन्छौं । घूस दिनेहरूले घूस दिन बन्द गरून् त, अनि कसरी पाउने छन् घूस माग्नेहरूले घूस ?
आप्mनो फाइदाको लागि घूस दिने प्रचलन हाम्रो समाजमा रहेसम्म हामी कहाँ भ्रष्टाचार नियन्त्रण कठिन छ ।
घूस लिनु वा दिनु, भ्रष्टाचार गर्नु अपराध होस निन्दनीय कार्य हो । यस्तो भावना समाजमा नआएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिन मात्र होइन, असम्भव हुन्छ । अहिले हाम्रो समाज नै भ्रष्टाचारको आहालमा डुबेको छ ।