• राजेश मिश्र
गताङ्कको बाँकी…
६१ जना भक्तजनको समस्या एकजनाले सुनाउन अनुरोध गरेपछि प्रभुले आदेश दिनुभयो ।
भगवान् समक्ष व्यथा सुनाउन पाउनु उनीहरूको अहोभाग्य थियो । यद्यपि सिंहदरबार वा मन्त्री निवास वा सत्ताधारीहरूको निजी निवासको बैठक कक्षझैं गोप्य छलफल गर्ने अवस्था यहाँ थिएन । किनभने वर्षौंदेखि अर्बौं रकम बक्यौता नतिरेका उनीहरू सत्ताको होइन, त्रिकालदर्शीका सम्मुख थिए । अन्ततः उनीहरूले रसाएको आँखा र अश्रुपुरित शब्दमा व्यथा वर्णन गर्ने उपयुक्त विकल्प ठाने । जसरी पनि भगवान्लाई मोहित गरी दैवी अनुकम्पा प्राप्त गर्न चाहन्थे ।
उनीहरूमध्ये बुजुर्ग एकजना उद्योगपतिले दुवै हात जोडेर बिन्ती गर्दै भने–“हे प्रभु ! हजूरको महिमा अपरम्पार छ । हजूरसँग केही छिपेको छैन । म जे बोल्छु सत्य बोल्छु । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको नाममा हामीहरूसँग अन्याय गरिरहेको छ । हामीहरूमाथि अर्बौं रुपियाँ बाँकी रहेको बताइरहेको छ । सरकार फेरिएपिच्छे बक्यौताको नाममा हामीहरूमाथि ताण्डव शुरू हुन्छ । पटक–पटक लाइन काट्ने धम्कीको हामीहरूले सामना गर्दै आएका छौं ।
गत भदौमा प्रधानमन्त्रीले डेडिकेटेड फिडर र ट्रङ्कलाइन सेवा उपभोग गरेका तर बक्यौता महसूल नतिरेका उद्योगहरूको लाइन काट्ने उद्घोष गरेका थिए । यसैगरी पछिल्लो समय गत पुस महीनाको कठ्याङ्ग्रिने जाडोमा प्रधानमन्त्री र प्राधिकरणले हाम्रो मानसिक तापमान बढाए । हामीहरूमध्ये (औंलाले देखाउँदै) चारजना उद्योगीहरूको लाइन काटियो । हामीहरूले विभिन्न सञ्चारमाध्यहरूबाट विरोधको परकम्प फैलायौं । समाचार र उनीसँग हाम्रो अन्तरङ्ग सामीप्यताको असर अनुरूप प्रधानमन्त्रीले अग्रसरता देखाए । अनि विद्युत् प्राधिकरणलाई लाइन जोड्ने आदेश दिए ।
हे प्रभु ! केही आन्तरिक रहस्यहरू हजुर समक्ष खुलस्त गर्न चाहन्छु । ती रहस्य नेता, सत्ता र हामी उद्योगीहरू बाहेक जनता त के भगवान्लाई पनि थाहा छैन । भक्तको यो वचन सुनेर त्रिकालदर्शी मन्दमन्द मुस्काउनुभयो । लगत्तै भक्तहरूबीच खासखुस शुरू भयो । उनीहरूले बुजुर्ग भक्तको कानमा खुसुक्क भने–“के भनेको हो तपाईंले ? त्रिकालदर्शी महादेवलाई के थाहा छैन ?”
बुजुर्ग भक्तले लज्जाबोध गर्दै दाँतले जिब्रो टोके । अनि क्षमायाचना गर्दै भने– “मेरो मुखारबाट अनुचित शब्द प्रवाह भएकोमा क्षमा चाहन्छु प्रभु । नेताहरूले हामीलाई दुहुनो गाई ठान्छन् । निर्वाचन र दलको कार्यक्रमलगायत अनेक प्रकारका चन्दा सहयोग माग्छन् । नदिए अनेक प्रकारका अवरोध र दिए हाम्रो हालीमुहाली उनीहरू आफै गर्छन् । स्वार्थवश हामीहरूले पनि आफ्नो फाइदाको लागि काइदा लगाउँछौं । हामीहरू (आफ्नो दुवै कान समातेर) आफ्नो स्वार्थ अनुकूल उनीहरूलाई प्रयोग गर्दछौं । अनि बदलामा घर, घडेरी, गाडीदेखि अनेक प्रकारका उपहार टक्र्याउँछौं । प्रभु हामी व्यवसायी हौं । शासन व्यवस्था र अवस्था अनुसार हामीहरू कोल्टो फेर्न बाध्य हुन्छौ । यसमा हाम्रो दोष छैन प्रभु ! अन्तमा ६१ जना भक्तहरूले एक स्वरमा स्तुतिगान र जयजयकार गर्न थाले । त्रिकालदर्शी ध्यानमग्न हुनुभयो ।
कथा नं ३
मानव सभ्यतालाई सुख सुविधा प्रदान गर्ने प्राधिकरण त्यस दिन निकै उदास थियो । भावविह्वल थियो । किनभने उसको सर्वाङ्गीण विकास र विस्तारको जिम्मेवारी पाएका पात्रहरूको लीला उसले देखिरहेको थियो । हात्तीको खाने र देखाउने दाँतको भिन्नता उसलाई अवगत थियो । डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रकरणमा प्रधानमन्त्रीको घरी लाइन काट्ने र घरी जोड्ने आदेशले ऊ आजित भइसकेको थियो । बक्यौता रकमले ऊ प्राधिकरणको विस्तार होला भनेर झन्डै पाँच वर्षदेखि पर्खिरहेको थियो । किनभने ऊ गरीबहरूको झुपडी, किसानहरूको खेत, अस्पताल, विद्यालय, श्मशानघाट र मानव सेवा आश्रमजस्ता क्षेत्रमा निश्शुल्क सेवा विस्तार र प्रवाह गर्न चाहन्थ्यो ।
खोला, सेवा प्रवाहमा प्रयोग हुने उपकरण र औलामा गन्न सकिने इमानदार कर्मचारीहरू बाहेक उसको मनपर्ने साथी अरू कोही थिएन । दल, सत्ताधारी, नेता र घूसखोर कर्मचारीको हर्कत केलाउँदै उसको अन्तरहृदय व्याकुल थियो । विक्षिप्त ऊ शान्तिको चाहनामा तराई, पहाड र हिमाल, वनजङ्गल र खोलानाला चहार्न थाल्यो ।
खोलाको किनार हुँदै ऊ अघि बढिरहेको थियो । एउटा मन्दिर नजीक पुग्दा एकजना व्यक्तिको वेदनाजनित स्वर उसको कानमा प-यो । धान बिक्री गरी विद्युत् महसूलसहित अनेकौं प्रक्रिया पूरा गरे पनि अध्यारोमा बाँच्न बाध्य मानिस भवगान् समक्ष दुःखेसो पोखिरहेको थियो । उसको वेदना सुनेपछि कर्मचारीहरूप्रति ऊ क्षुब्ध भयो । दुःखी मनले अघि बढ्यो ।
हिंड्दै जाँदा बाटोमा प्रहरी कार्यालय थियो । रात्रिको समयमा प्रहरी कार्यालयको प्राङ्गणभित्र केही मानिस हात माथि उचालेर खडा थिए । उनीहरूमाथि विद्युत् चोरेको आरोप थियो । उनीहरू इरिक्शा चालक, कृषक, मजदूरहरू थिए । चोरी गर्नु पाप र कानून विरोधी कार्य हो । उनीहरूलाई कानून बमोजिम सजाय र जरिवान गर्ने कुरा चलिरहेको थियो ।
यसैगरी प्राधिकरण अघि बढ्यो र हिमालय क्षेत्रमा पुग्यो । त्यहाँ एकान्त स्थानमा विभिन्न दलका शीर्ष नेता तथा सत्ताधारीहरूको उपस्थिति देख्यो । उनीहरूबीच डेडिकेटेड फिडर र ट्रङ्कलाइनसम्बन्धी कुरा भइरहेको थियो । उनीहरूको आन्तरिक कुराले प्राधिकरणको चित बेस्सरी दुख्यो । नशामा उनीहरूले एकअर्काको पोल खोलिरहेका थिए । उनीहरूको कुरा सुन्ने त्यहाँ कोही थिएन । त्यस कारण कुनै प्रकार डर, त्रास थिएन ।
ऊ अघि बढ्यो । पहाडको अनेक डाँडाहरूको अवलोकन गर्दै जाँदा अग्लो एक प्रतिमातर्फ उसको ध्यान केन्द्रित भयो । केही बेर आराम गर्ने ध्येयले सो स्थानमा पुगेको ऊ आश्चर्यचकित भयो । ६१ जना भक्तजनले रात्रिको बेला भगवान्को स्तुति गरिरहेका देख्यो । उसले त्यहाँ उपस्थित सबैजनाको मुहार नियाल्दै जाँदा अर्बौंको सेवा लिएर बक्यौता नतिरेका उनीहरूलाई चिन्न प्राधिकरणलाई मगज खियाउनुपरेन ।
अदृश्य उसलाई, त्रिकालदर्शीबाहेक अरूले देख्न सक्दैनथे । त्रिकालदर्शीको दर्शन गरेर प्राधिकरण मन्त्रमुग्ध भयो । बिन्ती र प्रार्थना ग-यो । आफ्नो वेदना सुनायो । नियम कानून सबैको लागि बराबर हुनुपर्छ । सत्ता, सरकार र उद्योगपतिहरूको (अ)नैतिक समीकरण बुझि नसक्नु छ । प्राधिकरणले बक्यौता रकमका साथै ऐन, कानून र नियमावलीमा अङ्कित प्रावधान सरकार समक्ष बेला–बेला प्रस्तुत गर्दै आइरहेको छ । मिटिङ्गमा प्रधानमन्त्रीले लाइन काट्ने आदेश गर्छन् र एकाध दिनपश्चात् अनेक कारण देखाएर लाइन जोड्ने आदेश दिन्छन् । प्रभु ! प्राधिकरणलाई घाइते पार्ने काम भइरहेको छ । यस प्रकरणमा आफूलाई पीडित ठान्ने कतिपय उद्योगपति रिट निवेदन लिएर न्यायालयसम्म धाए । तर, उनीहरूमध्ये झन्डै ८० प्रतिशत उद्योगीहरूको रिट खारेज भएको प्रमाण छ । भगवान्को चरणमा नतमस्तक हुँदै उसले अनुनयपूर्ण स्वरमा भन्यो–“हे प्रभु ! प्राधिकरणले न्याय पाओस् र सबैलाई सद्बुद्धि प्रदान गर्नुहोस् प्रभु ।”
कथा नं ४
डेडिकेटेड फिडर र ट्रङ्कलाइन विवादसम्बन्धी समाचार दिनहुँजसो आउन थालेपछि सत्तFपतिहरू आत्तिए । सत्ताधारीहरूको चालचलनले चौतर्फी उनीहरूको सत्तोसराप भइरहेको थियो । त्यस कारण सीमित पात्रहरूको टोली हिमालयको एक गुप्त स्थानमा पुगेको थियो । एकले अर्काेमाथि दोषारोपण गरिरहेका थिए । एकजना नेताले गर्जिंदैं भने–“चुनावको बेला तपाईंले जुन स्रोतबाट रकम जुटाउनुभएको थियो, मलाई थाहा छैन भन्ने नठान्नुस् ।” आरोपित पात्रले प्रतिउत्तर फर्काउँदै भने–“तपाईंले आफ्नो क्षेत्रमा प्रचारभन्दा बढी पैसाको लागि उद्योगीहरूको घरदैलो चहारेको मलाई थाहा छैन कि क्या हो ? एकपछि अर्को गर्दै विवाद चुलियो ।
उद्योगपतिहरूसँग कसले, कति, किन र कहिले रकम लिएको हो, घर, गाडी कसले र कहिले उपहार पाएको हो, यावत् कुरा उजागर हुन थाल्यो । एकले अर्काको पोल खोल्न थाले । डेडिकेटेड फिडर र ट्रङ्कलाइन विवादका दृश्य र अदृश्य कारण भिन्दाभिन्दै रहेको एकजनाले आरोप लागाए । माहोल गरम भयो । उनले अदृश्यरूपमा उद्योगपतिहरूलाई वैतरणी पार गराउने आशय रहेको कुरा व्यक्त गरे । अब अरूहरूको ध्यान आरोप लगाउने पात्रलाई मिलाउनेतर्फ केन्द्रित भयो । पेगको चुस्की र नशामा उनीहरूबिच भगवान्को किरिया खाने सहमति भयो ।
सेनाको हेलिकप्टर चढेर उनीहरू बह्ममुहूर्तमा मुक्तिनाथ पुगे । नुहाइधुवाई गरे । मन्दिरमा पुगे । उनीहरू एकले अर्कोलाई किरिया खान भनिरहेका थिए । तर शुरू गर्ने हिम्मत कसैले गरेन । गाडी, पैसा, घडेरी र भवन आदि उपहारहरू उद्योगपतिहरूसँग लिए नलिएकोबारे किरिया खाँदै खाएनन् । क्रमशः
यो पनि पढ्नुहोस् : एकादेशको कथा : ट्रङ्कलाइन र डेडिकेटेड विवाद