• राजेश मिश्र

एकादेशमा ट्रङ्कलाइन र डेडिकेटेड विवाद चरममा थियो । उक्त देशमा लोडसेडिङ्गको बेला आम उपभोक्ताको हक कटौती गरी शुरूमा अस्पताल र पछि उद्योगहरूलाई ट्रङ्कलाइन र डेडिकेटेड सेवा प्रदान गरिएको थियो । अर्बौं रुपैयाँ विद्युत् महसूल बक्यौताबारे समाचारहरू दिनहुँ आइरहेका थिए । साँढेको जुधाइझैं उक्त देशमा सरकार, प्राधिकरण र उद्योगीहरूबीच आरोप–प्रत्यारोपको जुहारी चलिरहेको थियो । यो अवस्था जनमानसलाई बुझिनसक्नु थियो । प्रधानमन्त्रीद्वारा प्राधिकरणलाई कहिले लाइन काट्ने त कहिले जोड्ने हुकुम झन् बुझिनसक्नु थियो । आन्तरिक रहस्यबारे आम मनोभाव बेखबर थियो ।

एकातर्फ सामान्य नागरिकले केही महीना महसूल नबुझाउँदा प्राधिकरणले कानूनबमोजिम महसूल र जरिवाना असुल गथ्र्यो । अर्कोतर्फ वर्षौंदेखि अर्बौं रुपैयाँ महसूल बाँकी राखेका उद्योगहरूमा कसरी विद्युत् आपूर्ति भइरहेको थियो ? नियम कानून कहाँ थियो ? के कारणले वर्षौंदेखि यो विवाद अल्झिरहेको थियो ? आदि अनेक प्रश्नहरू अनुत्तरित थिए । चुरो कुरो सरकार, प्राधिकरण र उद्योगपतिहरूको आआफ्नै रागको ओतमुनि विलुप्त थियो । अनेक प्रकारका जाल प्रपञ्च त चलिरहेकै थियो, सोहीबीच उनीहरूले आआफ्नो दुःख–पीडा भगवान्समक्ष पोखेर उन्मुक्ति पाउने ध्याउन्नमा थिए ।

आम नागरिक, उद्योगपति, प्राधिकरण र सरकारले त्रिकालदर्शी भगवान् शिवसमक्ष के कस्ता व्यथाहरू पोखे ? नारदमुनिले के के उजागर गरे ? भगवान् शिवको त्रिनेत्रले के देख्यो ?

कथा नं १
“हे प्रभु ! विद्युत् प्राधिकरणले मेरो घरको लाइन काटेको छ । के गरूँ ? कसरी गरूँ ? कुनै उपाय सुझाउनुहोस्, प्रभु ।”

पोखरीको डिलमा अवस्थित ऐतिहासिक मन्दिरमा एकजना किसान भगवान्सँग याचना गरिरहेको थियो । भक्तले भगवान्को आरती गर्दै मनको बह पोखिरहेको थियो । आरती गरिरहेको बेला भक्तको आँखाबाट अश्रुरुपी मोती झ-यो र भगवान्को चरणमा प-यो । लगत्तै आकाशवाणी भयो, “हे भक्त ! यति सामान्य कुराको लागि भगवान्ले नै बाटो देखाउनुपर्ने भयो, किन ? जाऊ नियम अनुसार बाँकी बक्यौता महसूल बुझाऊ । त्यसपछि विद्युत् प्राधिकरणले आफैं लाइन जोडिदिन्छ ।”

आकाशवाणी सुनेर भक्त आश्चर्यचकित भयो । वरिपरि र तलमाथि हे-यो । कोही थिएन । निश्चय नै भगवान्को वाणी होला भन्दै ऊ असाध्यै खुशी भयो । अनि भगवान्सँग याचना गर्दै भन्यो, “प्रभु ! म अति साधारण किसान हुँ । खेतीपाती गरी भरणपोषण गर्छु । घरायसी खर्च अन्नपातमा निर्भर छ । चार महीनाको विद्युत्को महसूल बाँकी थियो । अढाई मन (एक क्विन्टल) धान बेचें र महसूल बुझाउन गएँ । निकैबेर पङ्क्तिमा उभिएर काउन्टरमा पुग्दा जरिवानाबारे थाहा पाएँ । घर फर्किएँ र पुनः डेढ मन धान बिक्री गरें ।

भोलिपल्ट जरिवानासहित महसूल बुझाउन जाँदा पुनः अर्को लफडा आइप-यो । लाइन काटेको र जोड्ने दस्तुरबारे थाहा पाएँ । फेरि धान बिक्री गरें र भोलिपल्ट बुझाएँ । अहिले चार/पाँच दिनदेखि विद्युत् प्राधिकरणको चक्कर काटिरहेको छु । लाइन जोड्न जाने प्राविधिकसँग आपसी व्यवहार नगरे यसरी नै चक्कर लगाइरहनुपर्ने कुरा भुक्तभोगीहरूबाट सुनिरहेको छु । प्राधिकरणको प्राङ्गणमा मजस्तै एकजना सेवाग्राही भेटिए । उनले सरकारी सबै प्रक्रिया पूरा गरेर १० दिनदेखि प्राधिकरणको चक्कर लगाइरहेको दुःखेसो पोखे । आज चियापानको व्यवस्था गरेपछि बल्ल लाइन जोड्ने सङ्केत पाएको उनले बताए र प्रस्थान गरे ।

उनको कुरा सुनेर म स्तब्ध भएँ । आफूले खपत गरेको युनिटको महसूल, जरिवाना र अन्य शुल्क तिरिसकेको खण्डमा चियापानमा कति नै पैसा लाग्ला भन्दै प्राविधिकसमक्ष व्यवहार गर्न पुगें । चिया र पानको लागि रु २०/२० गरी रु ४० थमाउँदा प्राविधिकले आक्रोशपूर्ण स्वरमा हप्काउँदै भने– पर्दैन, जानुस्, फुर्सत पाए लाइन जोड्न आउँला । म हक्क न बक्क भएँ । सोही फाँटका एकजना कर्मचारीले मेरो घाउमा मल्हम लगाउँदै एकान्तमा लगेर व्यवहारको अर्थ सम्झाए । व्यवहार भन्नाले कम्तीमा पनि पाँच सयको चिया र पाँच सयको पान गरी व्यवहारबापत एक हजार तिर्नुपर्ने आशय अवगत भयो । अब सोेको लागि पुनः अन्नपात नबेची सुख छैन, प्रभु ।

चार महीनाको महसूल बाँकी हुँदा म अँध्यारोमा बाँच्न बाध्य भएँ । महसूल, जरिवाना, लाइन काटेको र जोडेको दस्तुर बुझाइसक्दा पनि पीडा समाधान भएन । यो पिरलो र व्यथा कहाँ भन्न जाऊँ र कसलाई सुनाऊँ ? मजस्ता मान्छेको पीर सुन्ने सहज गन्तव्य भगवान्बाहेक विकल्प छैन । त्यस कारण हजुरको शरणमा आएको छु, प्रभु !

कथा नं २
पशुपतिनाथको मन्दिरमा त्यस दिन सामान्यभन्दा बढी भीड थियो । किनभने ६१ जना भक्तजनको सामूहिक पूजापाठ कार्यक्रम थियो । हर हर महादेवको गुञ्जले मन्दिर परिसर गुञ्जायमान थियो । पशुपतिनाथको मुख्य मन्दिरको छेवैमा अवस्थित ठूलो आकारको शिवलिङ्गमा जलाभिषेक भइरहेको थियो । ठाँटबाँटले ती भक्तहरूको समूह सम्पन्न र व्यापारिक घरानाझैं प्रतीत हुन्थ्यो । विभिन्न थरीका मानिसहरूको लावालस्कर यज्ञकर्ताहरूको अघिपछि गरिरहेका थिए । यज्ञकर्ताहरूको मुखबाट शब्द निस्कन नपाउँदै लावालस्करहरू हर्कतमा आउँथे । निकै भव्यरूपले पूजापाठ भइरहेको थियो ।

पूजाको अन्तमा यज्ञकर्ताहरूले आँखा बन्द गरी अन्तर्ह्दयले भगवान्सँग गुहार गरिरहेका थिए । अनि भगवान् शिवले साँगाको फराकिलो प्राङ्गणमा दर्शन दिने शब्दतरङ्ग उनीहरूले महसूस गरे । उनीहरू सबैजनाले केवल आफूलाई मात्र यस्तो आभास भएको चरमबोध भयो । उनीहरूको आँखा खुलेपछि माहोल भिन्दै थियो । सबैजनाले आआफ्नो मुहारमा सूक्ष्म तर आश्चर्यजनित मुस्कान छिपाउँदा पनि उघ्रिरहेको थियो । एकले अर्काको मुहार नियालिरहेका थिए । व्यावसायिक मानसिकताझैं उनीहरू कसैले कसैसँग भेद साझा गरेनन् । खुुशीले गद्गद् उनीहरू मन्दिरको प्राङ्गणबाट प्रस्थान गरे ।

गोधूलिको समय र शुक्लपक्षको रात्रि थियो । सबैभन्दा पहिले सबैभन्दा बढी महसूल बक्यौता रहेको भक्त साँगा आइपुग्यो । उसले पशुपतिनाथको मन्दिरमा महसूस गरेको कुराको सत्यापन जाँच्न आतुर थियो । कैलाशनाथ महादेव, साङ्गेको प्राङ्गणमा त्यो भक्त भगवान् शिवको चरणमा शिरोधार्य भयो । केही घण्टापछि उसले आफूनजीकै मानव प्रतिविम्ब अनुभूत ग-यो । यो अनुभूति उनको लागि खास थियो । भगवान् शिवको प्रतिविम्ब ठानेर असाध्यै खुशी भयो । दङ्गदास ऊ मनमनै हर हर महादेव उच्चारण गर्दै विपरीत दिशामा फर्केर छायाको चरणमा लम्पसार प-यो । अनुनयविनय गर्न थाल्यो । तत्क्षण उताबाट शब्दहरू प्रस्फुटित भए । आवाज सुनेर ऊ तीन छक्क प-यो ।

शिर उचालेर हेर्दा उसकै समकक्षी एकजना उद्योगति, जो विद्युत् प्राधिकरणको सर्वाधिक बक्यौता रहेकाहरूमध्ये दोस्रो क्रममा थियो । उनीहरूबीच पशुपतिनाथको मन्दिरमा भगवान् शिवको अनुकम्पा आभास भएको कुरा साझा भयो । उनीहरूले भगवान् भोलेनाथको १५१ फिट अग्लो प्रतिमूर्तितर्फ ध्यानमग्न रहेको बेला मानवीय पदचाप अनुभूत गरे । भावविभोर मुद्रामा फर्केर हेरे । अनि अत्यन्तै आश्चर्यचकित भए । किनभने त्यो पदचाप आफ्नै जमातका एक अर्काे उद्योगपतिको थियो । तीन/चार घण्टा यो क्रम चलिरह्यो । अन्ततः आलोपालो गरी ६१ जना भक्तजनको एक थलोमा पदार्पण भयो । बल्ल पशुपतिनाथको मन्दिरमा आभास गरेको कुराको रहस्योद्घाटन भयो । हात जोडेर शिवको प्रतिमातर्फ सबैजना ध्यानमग्न भए ।

मध्यरातमा भगवान् शिवको १५१ फिट अग्लो प्रतिमूर्तिबाट अद्भुत प्रतिविम्ब प्रकटोन्मुख थियो । भक्तजनहरूले अघिझैं आफ्नै कोही मानिस होला भन्ने अनुमान गरे । यद्यपि यसपटकको परिदृश्य फरक थियो । उक्त प्रतिविम्ब बिस्तारै आकृतिमा परिणत हुँदै गयो । ठूलो भयो । एक हातमा त्रिशूल तथा अर्को हातमा डमरु, घाँटीमा शेषनाग, निधारमा त्रिपुण्ड चन्दन र कमरमा मृगछाला लगाएका कृष्णवर्ण जटाधारी भगवान् शिव प्रकट हुनुभयो । यो परिदृश्य देखेर भक्तजनहरू निश्शब्द भए । भगवान् हुन् भन्ने कुराको बोध हुने बित्तिकै उनीहरू स्तुति र जयजयकार गर्न थाले ।

भगवान् शिवले भन्नुभयो, “हे भक्त ! मैले तिमीहरूको के सहायता गर्न सक्छु ?” भगवान्को मुखारबाट शब्द सुन्ने बित्तिकै उनीहरूबीच तँछाडमछाड शुरू भयो । उनीहरूले आआफ्नो व्यथाको बाँसुरी बजाउन थाले । क्रन्दनपूर्ण माहोलले कसैको कुरा भगवान्समक्ष पुगिरहेको थिएन । भगवान्ले “शान्ति… शान्ति… शान्ति…” शब्दनाद गरेपछि माहोल शान्त भयो । भक्तजनहरूमध्ये एकजनाले हात जोडेर करुण स्वरमा भन्यो, “हे प्रभु ! हामी सबैजनाको साझा समस्या छ । आदेश भए सुनाउँथे ।” प्रभुको आदेश भयो । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here