वीरगंज, ९ माघ/रासस
लामो समयदेखि दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा नेपाल खानेपानी संस्थान वीरगंज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको कार्यालय प्रमुख इन्जिनीयर निरण महर्जनले जानकारी दिए ।
कार्यालयमा प्रमुखसहित ५२ जना कर्मचारीको दरबन्दी भएपनि हाल कार्यालय प्रमुखसहित १३ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एकजना कार्यालय प्रमुख, लेखा शाखातर्पm एकजना, सहायक लेखा अधिकृत एक जना, वरिष्ठ सहायक लेखापाल, सहायक लेखापाल चारजना, कनिष्ठ लेखापाल दुर्ईजना, प्रशासनतर्पm एकजना शाखा अधिकृत, दुईजना सहायक शाखा अधिकृत, एकजना वरिष्ठ सहायक, चारजना सिनियर मिटर रिडर, दुईजना कार्यालय सहायक, पाँचजना मिटर रिडर, दुईजना सवारी चालक र चारजना कार्यालय सहयोगीको दरबन्दी भएपनि हाल कार्यालय प्रमुख ई महर्जन, एकजना वरिष्ठ सहायक लेखापाल, एकजना कनिष्ठ सहायक, एकजना सिनियर मिटर रिडर र दुईजना मिटर रिडरका रूपमा कार्यरत रहेका छन् ।
यस्तै, सो कार्यालयको इन्जिनीयरिङ शाखातर्पm एकजना इन्जिनीयर र सहायक प्राविधिक अधिकृतको दरबन्दी भएपनि ती दुवै पद रिक्त रहेको प्रमुख ई महर्जनले बताए । त्यस्तै, उत्पादन तथा गुणस्तर शाखातर्पm एकजना केमिस्ट, एकजना सबइन्जिनीयर, १५ जना पम्प सञ्चालक, दुईजना स्याम्प्लर, तीनजना हेल्पर, दुईजना हेरालुको दरबन्दी भएपनि हाल हेरालु एकजनाबाहेक सबै पद रिक्त रहेको सो कार्यालयले जनाएको छ ।
वितरण शाखातर्पm एकजना सबइन्जिनीयर, दुईजना सिनियर प्लम्बर, आठजना कार्यालय सहयोगी र आठजना कार्यालय सहयोगीको दरबन्दी भएकामा हाल एकजना सिनियर प्लम्बर र चारजना कार्यालय सहयोगी मात्र कार्यरत छन् ।
दरबन्दी अनुसारको कर्मचारी नआउँदा दैनिक ज्यालादारीमा कर्मचारी राखेर कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ई महर्जनको भनाइ छ । तर बजेट अभावमा गत पुस १ गतेदेखि १३ जना दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएर अहिले १० जना ज्यालादारी कर्मचारीबाट जेनतेन कार्यालयको कामकाज सञ्चालन गर्दै आएको उनले बताए ।
लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न, प्रशासनिक टिप्पणी उठाउन, कम्प्युटरसम्बन्धी काम, कार्यालयको कार्यसम्पादन विश्लेषण र खानेपानीको धारा मर्मतलगायतका काम प्रभावित हुँदै आएको कार्यालय प्रमुख ई महर्जनको कथन छ । सीमित जनशक्तिका बावजूद कार्यालयको कामसँगै सेवाग्राहीको गुनासो सुन्ने र समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको उनको भनाइ छ ।
कार्यालयमा देखिएको जनशक्ति अभावबारे संस्थानको केन्द्रीय कार्यालयसहितको निकायमा पटकपटक जानकारी गराएर कर्मचारी माग गरे पनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।