काठमाडौं, २५ पुस/रासस
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बारा, निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआइबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा सिआइबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तलामाथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौंको बूढानीलकण्ठस्थित आप्mनै घरबाट हिजो साँझ पक्राउ गरिएको बताइन् ।

उनले निजको साथबाट ३० लाख ९२ हजार नेपाली रुपियाँँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद बताइन् ।

निजविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो ।

विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।

साथै अवैधरूपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको सूचनाका आधारमा बम्जनको खोजतलाश गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआइबीले जानकारी दिएको छ । लामो समयको खोजतलाशपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो ।

“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतिरको झ्यालबाट खाली रहेको भिरालो जमीनमा हाम्फालेर भाग्न लागेका बेला ब्युरोको टोलीले पक्राउ गरेको–सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीसवटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायत विद्युतीय सामग्री बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरूको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here