प्रस, वीरगंज, १६ पुस/
धोबनी गाउँपालिकास्थित गण्डक नहरको पुलमा लडेर आइतवार राति एकजना भारतीय युवकको मृत्यु भएको छ । भारत बिहार पश्चिमी चम्पारण चनपटिया निवासी ३० वर्षीय भुलाई रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

भारतीय नम्बर बीआर २२ बीबी ९४१६ को मोटरसाइकल पूर्वबाट पश्चिम साइफन भन्ने सहायक नहरको पुलबाट लडेर रामको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति नहरमा डुबेर मृत्यु भएका राम चढेको मोटरसाइकल नहरको पानी माथि तैरिरहेको अवस्थामा सोमवार बिहान भिखमपुरका युवकहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।

साइफन भन्ने सहायक नहरमा पानीको मात्रा बढी हुन्छ । प्रहरीले मोटरबोटको प्रयोगबाट मोटरसाइकल रहेको स्थानदेखि केही पर पानीमा रामको शव बरामद गरेको छ । राम हिजो पर्सा जिल्ला जगरनाथपुर गापा–२ लक्ष्मीपुरस्थित ससुराली आएका थिए । बेलुका खाजा खान भनेर ससुरालीबाट बाहिरिएका उनी आज बिहान मृत फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरी सवारी दुर्घटनाबाट रामको मृत्यु भएको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here