– सञ्जय मित्र
घामले मधुर मुस्कान धरतीभरि छरिसक्दासमेत युवाहरू घुर छाडेर जान चाहँदैनन्। घुरको आगोले भन्दा पनि मीठो गफले नछाडेको हो।
घुरलाई जाडोमा ग्रामीण जीवनको एउटा अङ्ग मानिन्छ। घुरले ताप मात्र दिंदैन वा घुरनजिक केवल आगो ताप्न मात्र मानिसहरू पुग्दैनन्। यो त जनजीवनको एउटा अङ्ग बनिसकेको छ। देहातमा घुर कहिलेदेखि ताप्न शुरू भयो, यसको इतिहास केलाउन सजिलो छैन, तर आगोले मानिसलाई ताप दिन्छ भन्ने कुराको बोध भएदेखि नै मानिसले जाडोको समयमा घुरनजीक बस्न शुरू गरेको हो भन्ने कुरामा विश्वास गर्न सकिन्छ।
जब जाडो शुरू हुन्छ, तब सामान्यतया युवाहरू घुर ताप्ने चाहना राख्दैनन्। जाडोको आरम्भिक दिनमा वृद्धवृद्धा तथा प्रौढहरूको लागि मात्र आकर्षण हुने गर्दछ तर जाडो छिपिंदै गएपछि युवाहरूको भेट गर्ने र गफिने थलो यही हुन्छ। बिस्तारै युवाहरू घरमा भन्दा बिहान र बेलुकी कसैको घर अगाडि भएको घुरमा भेटिन थाल्छन्।
पहिले घुरको वरिपरि परालको बिठा बनाएर आरामले बसी घुर ताप्ने चलन थियो, तर अहिले परालको बिठा बनाउने चलन हरायो। अहिले घुरको छेउछाउमा मुश्किलले बूढापाकाहरू भुइँमा केही राखेर वा बिछ्याएर बस्ने गर्दछन् हैन भने युवाहरू घरको वरिवरि कुर्सी राखेर आगो ताप्ने गरेका छन्। घुर ताप्न पनि आधुनिकताको उपयोग हुन थालेको छ।
आजभोलि प्लास्टिकको कुर्सी सबैतिर बढी उपयोग हुन थालेको छ। प्लास्टिक चाहिं गर्मीमा तातो हुने र जाडोमा चिसो हुने हुन्छ। तर कतै ओसार्न तथा बोकेर लैजान सजिलो हुने भएकोले यसको चलन बढेको हो। कतै थन्क्याएर राख्नुपरे एकै ठाउँमा खप्टिएर कैयौं कुर्सी राख्न सकिन्छ जसले गर्दा ठाउँ ओगट्ने डर हुँदैन। प्लास्टिक हलुको हुनु पनि स्वाभाविक हो। घरनेर जब कुर्सी पुग्छ र जुन युवाले कुर्सी पाउँछ, उसलाई सितिमिति छोड्न मन लाग्दैन। घुरले बढी तानेको हुँदैन किनभने घुरले भेला हुने आकर्षण मात्र दिएको हो, वास्तवमा तात्तातो बहसले सबैलाई एकापसमा यति जोडेको हुन्छ कि युवाहरूलाई समयको पनि ख्याल हुँदैन।
हरेक विषय हुन्छ बहसमा। देशको राजनीतिदेखि समाजको प्रत्येक क्षेत्र। यत्तिको तथ्यपरक विश्लेषण त कुनै सञ्चारमाध्यममा पनि सम्भव हुँदैन जति युवाहरूले घुरको उपयोग गर्दै गर्दछन्। गाउँँमा कसले कति ऋण लिएको छ, कसले कति लगानी गरेको छ। महीनामा कसले कति ब्याज कमाउँछ र कसले कति रुपियाँ दैनिक ब्याज तिरिरहेको छ। यस वर्ष गाउँँमा को बिल्टुवा भयो ? गाउँँमा कसको घरमा कहाँबाट को पाहुना कुन प्रयोजनका निम्ति आए ? यस वर्ष कसको बाली राम्रो छ। फलानीको सुन्दरता र फलानोको उमेर सबै यहीं चर्चा हुने गर्दछ। हुँदाहुँदा विदेशको राजनीति, युद्ध, अर्थतन्त्र आदि सबै विषय यस्ता युवाले घुर ताप्दै उठाउने गरेका हुन्छन्। अनेक तर्क र अनेक तथ्य तथा अनेक किसिमले तात्तातो बहस।
चुरोट र सूर्तीजन्य पदार्थको सेवनले मानिसलाई रोग लाग्छ भन्ने कुरा सरकारलाई थाहा छ। सधैं त्यसमा कर पनि बढाउँछ। यसको सेवनले गाउँँमा फलानो बिरामी प–यो र लाखौं खर्च गर्दा पनि निको भएको छैन। र, जब सरकारले सबै बुझेको छ तथा जानेको छ भने त्यस्तो कम्पनीलाई लाइसेन्स किन दिन्छ ? सरकारले लाइसेन्स नै नदिने हो वा दिएको लाइसेन्स खारेज गरिदिने हो भने यस्तो समस्या नै आउँदैन ?
एक छिन सबै सहमत भएजस्तो लाग्छ तर एकै छिनमा अर्को युवाबाट उत्तिकै घतलाग्दो तर्क आउँछ।
हाम्रो गाउँँको फलानोले फलानोको घरमा पसेर यत्तिका सामान चोरेको घटना धेरै भएको होइन। अब ऊ समातिने डरले गाउँँ नै छोडेर भागेको छ। यहाँ ऊ ऐलानी जमीनमा बसेको छ र पत्नी चाहिं त्यत्ति भलाद्मी छे। चोरी गर्नुपर्छ भनेर कुनै कानूनमा लेखेको छ ? जब सरकारले चोरी गर्नेलाई दण्ड सजायको व्यवस्था गरेको छ र समाजले पनि आफ्नै किसिमले त्यस्तो मानिसलाई सजाय दिने गरेको छ भने चोरी किन गर्छ मानिस ? सरकारले कसैलाई खैनी खाऊ भन्दैन। सधैं भनिरहेको हुन्छ कि यो हानिकारक हो तर हामीले नै खान छोड्दैनौं।
झन् तेस्रोले सरकारकै समर्थन गर्दछ। हो वास्तवमा सरकारले त नखाऊ भन्छ र नखाऊ भनेको सामान खान्छौ भने बढी कर तिर भन्छ। यदि सबैमाथि रोक लगाइदिने हो भने मानिसहरू लुकेर खान्छन् र सरकारलाई कर तिर्दैनन्। बरु खाने छुट दिएको छ र त्यसैबाट कर असुल गरिरहेको छ। धेरै हानिकारक कुराहरूमाथि पूरै प्रतिबन्ध लगाएको पनि त छ ? सरकारले सकेसम्म जनतालाई फाइदा होस् भन्ने कुरो गरेको छ।
वाह १ यस्ता ताजा र ताता स्वस्थ बहसहरू पनि घुरमा अनौपचारिकरूपमा चल्ने गरेका छन्। कसैको बिहेको कुरो त कतै भोजको सबै यहाँ हुने गर्दछ। चारैतिर गोलाकार भएर बस्दा एकले अर्कोलाई हेर्ने र हाउभाउ पनि पढ्ने हुन्छन्। यस्तो परिवेशमा युवाहरू त खान पनि बिर्सन्छन्। जबसम्म घरबाट बोलाउन कोही आउँदैन, तबसम्म उठ्ने सवालै आउँदैन। घरबाट ताकेता आएपछि बहसबाट मन नलागीकन उठेर जाने युवाहरूमा गफको पहाड बनाउने क्षमता जाडोमा घुरले नै निर्माण गर्दछ।
घुरमा इतिहास, पुराण, धर्म र समाज सबै आएको हुन्छ। कृषि, पशु, नोकरी सबै आएको हुन्छ गफमा। गाउँँको को चाहिं विदेश गएर आफ्नो घर बर्बाद बनायो। कसरी कोही परदेश गएर राम्रो आम्दानी गरेको छ। कसरी कोही घरमा बुबा र आमाको कुनै वास्ता गरेको छैन जसको कारण उसलाई समाजले नराम्रो मानिरहेको छ। कसरी फलानाले आमा र बुवालाई नराम्रो व्यवहार गर्दा देख्दादेख्दै उसले कसरी आफ्नै जीवनमा सन्तानबाट पनि सोही हविगत बेहोर्नुप–यो। गाउँँभन्दा बाहिर आफ्नो सन्तानलाई राखेर पढाउने को को छन् ? तिनीहरूले कसरी पढाइरहेका छन् ? कहाँबाट खर्च आइरहेको छ र पढाउने हैसियत नभए पनि कसरी त्यहाँ राख्ने साहस गरेका छन्।
गाउँँमा अहिले सबैभन्दा धनी को भएको छ ? कसका कति सन्तान छन् र को कस्तो छ ? हेर्दाहेर्दै को गरीब भयो ? कसले कसरी सम्पत्ति जोरेको छ। को चाहिं आउँदो दिनमा आपूmलाई सक्षम बनाइरहेको छ। कसले आफ्नी छोरीलाई बिहे गर्न ढिलो गरिरहेको छ। कसले चाँडै बिहे गरिदिएर आफ्नो सन्तानलाई अगाडि बढ्नबाट रोक्ने काम गरेको छ। को अब गाउँँबाट हरायो ? वा, अब गाउँँमा फेरि बस्नको लागि फर्केर आउन सक्दैन ? लामो समय गाउँँभन्दा बाहिर बसेर फेरि गाउँँमा फर्केका फलानामा पहिलेभन्दा कस्तो परिवर्तन भएको छ ?
बिहान घाम नलाग्दैदेखि जब युवाहरू घुरलाई वरिपरि घेरेर बस्दछन् तब गाउँँका सारा विषयवस्तुमा गफ गरेर सिध्याउँछन्। गफको पेटारी खोलेपछि कहिल्यै सकिंदैन। हरेक दिन यत्तिकै छ। यदि निश्चित समयमा कसैलाई काम पुग्न हतार हुँदैनथ्यो भने गफ कहिल्यै सकिंदैनथ्यो। गफले जीवनमा केही प्राप्ति हुन्थ्यो भने जाडो महीनाभर घुरमा बसेर युवाहरूले सबैभन्दा बढी प्राप्ति गर्थे। साँच्चै मोबाइलमा कुनै समाचार सुनेभन्दा बढी पुष्टि युवाहरूलाई घुरको गफले दिने गर्दछ।