• अनन्तकुमार लाल दास
स्तर खस्कँदै गएको छ भनेर आलोचना मात्र गरेर सामुदायिक विद्यालयलाई राम्रो बनाउन सकिंदैन । केही सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयभन्दा पनि राम्रा छन् । पर्सा जिल्लाका केही विद्यालयमा भवन छ, तर विद्यार्थी छैनन् । कहीं भवन र जग्गा पनि नभएको अवस्था छ । धेरैजसो सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप न्यून हुने गरेको छ । कुनै विद्यालयमा शिक्ष्Fकहरू १० देखि ४ बजेसम्म बस्दैनन् ।
सरकारी नीतिले गर्दा आज वीरगंज स्थित धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीहरूको घुइँचो देख्न सकिन्छ तर त्यहाँ पढाइको स्तर खस्केको पर्याप्त जनगुनासो छ । यसमा शिक्षकहरूले आत्मालोचना गरेर आफैंबाट सुधार आरम्भ गर्नुपर्ने आवश्यकता छ । प्रधानाध्यापकले विद्यालयमा पूरा समय दिनुपर्छ र राजनीतिक पूर्वाग्रह नराखी शिक्षकहरूको सहयोग लिएर विद्यालय चलाउनुपर्छ । शिक्षकहरूलाई जिम्मेवार बनाउन समयमैं तलब खुवाउने व्यवस्था पालिकाहरूले मिलाउनुपर्छ । उनीहरूका लागि उत्प्रेरणा कक्षा सञ्चालन गर्नुपर्छ र एउटा निश्चित लक्ष्य दिनुपर्छ । लक्ष्य पूरा गर्ने शिक्षकलाई प्रोत्साहन र सम्मान दिनुपर्छ । शिक्षकको सही परिचालन हुन सक्यो भने विद्यालयको शैक्षिक अवस्थामा स्वतः सुधार हुन्छ ।
सामुदायिकमा नराम्रा शिक्षक छन् भन्न मिल्दैन किनभने उनीहरू शिक्षक सेवा आयोग पास गरेर आएका हुन् । संस्थागत विद्यालयका धेरै शिक्षकले त्यो मापदण्ड पूरा गरेका हुँदैनन् । यस कारण संस्थागतमा राम्रो र सामुदायिकमा नराम्रो हुने प्रश्न नै हुँदैन । यसको लागि नेपाल सरकारले पनि शिक्षकहरूलाई प्रोत्साहित गर्ने कानूनको व्यवस्था गर्नुपर्छ । लगातार लक्ष्य पूरा गर्नेस राम्रो नतीजा ल्याउने शिक्षकलाई पदोन्नति गर्ने र ग्रेड थप्ने व्यवस्था गरियो भने सामुदायिक विद्यालय धैरै राम्रो हुन सक्छ ।
एक्काइसौं शताब्दीमा पनि हाम्रो देशमा कुन विद्यालय राम्रो र कुन नराम्रो भनी मापन गर्ने आधार तीन घण्टे परीक्षाको परिणामलाई बनाइएको छ । यसमा परिवर्तन गरी विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्ने, शिक्षकलाई काम गर्न मन लाग्ने, अभिभावकले चासो लिने, उत्पादित विद्यार्थी देशमा टिक्ने, शिक्षकहरूमा इच्छाशक्ति हुने, सूचना प्रविधिसँग जोडिएको हुनुपर्ने कुरामा ध्यान दिनुपर्छ । प्रधानाध्यापकको सम्बन्ध विद्यार्थी र शिक्षकसँग मैत्रीपूर्ण छ भने विद्यार्थीहरू मनका कुरा प्रधानाध्यापक वा शिक्षकलाई भन्छन् । विद्यालयमा पाठ्यक्रमसँगै विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप हुने आधारमा विद्यालयको मूल्याङ्कन गर्नुपर्छ ।
संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर कमजोर रहेको तथ्याङ्कले देखाएको छ । सामुदायिक विद्यालयको स्तर उकास्नका लागि करोडौं खर्च गर्दा पनि शैक्षिक स्तर उकास्न सकिएको छैन । विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव व्यवहारमा देखिएको छैन । अर्कोतिर संस्थागत विद्यालयमा तालीम प्राप्त विषयगत शिक्षकको अभाव रहे पनि शैक्षिक गुणस्तर सामुदायिक विद्यालयभन्दा राम्रो रहेको सरकारी तथ्याङ्कले देखाएको छ । विडम्बना के छ भने शैक्षिक सुधार योजना तर्जुमा गर्दा सरकारको ध्यान के कुरामा जाँदैन भने यस्ता पनि ठाउँ छन् जहाँ वर्षभरि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिरहेको छैन, कुनै ठाउँमा पुगे पनि त्यहाँ विषयगत, तहगत र विज्ञ शिक्षकहरूको अभाव छ तथा धेरैजसो ठाउँमा शिक्षामा राजनीति हावी छ, पर्याप्त मात्रामा शैक्षिक सामग्रीको अभाव छ, कहीं फितलो व्यवस्थापन छ भने कहीं शिक्षकहरूले आप्mनो जिम्मेवारी पूरा गर्दैनन् ।
सFमुदायिक विद्यालय सुधार गर्न प्रत्येक वर्ष बहस र प्रयास भइरहेको छ तर विद्यार्थीको सिकाइमा सुधार हुन सकेको छैन । शिक्षकहरूमा जवाफदेहिता, जिम्मेवारी र कर्तव्यबोध जगाउन सकिएको छैन । त्यस कारण पनि शिक्ष्Fण प्रभावकारी हुन सकिरहेको छैन । के पढाउने भन्ने योजनाविना शिक्षकहरू कक्षामा प्रवेश गर्छन् । यस्तो प्रवृत्तिले सामुदायिक विद्यालयको गुणस्तरमा कमी ल्याएको छ । शिक्षकहरू पढाउनेभन्दा राजनीति गर्न व्यस्त हुने गलत परिपाटीले झनै सामुदायिक विद्यालयको शिक्षा पछि परेको छ । कहीं–कहीं प्रधानाध्यापकले प्रयास गरेको देखिन्छ तर व्यवस्थापनले साथ दिएको देखिंदैन । कही–कहीं प्रधानाध्यापकले नै भ्रष्टाचार गरेको प्रमाण पनि फेला परेको छ ।
शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड हो । समाज र राष्ट्रलाई गतिशील बनाई विकास र समृद्धिको बाटोमा डो¥याउने मार्गदर्शक हो । देशलाई कस्तो बनाउने भन्ने विषय त्यहाँको शिक्षा प्रणालीमा भर पर्छ । समाजलाई आधुनिकता सँगसँगै मानवीय भावना जगाउने र प्रगति पथमा अग्रसर हुन शिक्षाले उत्प्रेरित गर्दछ । तर हाम्रो शिक्षा प्रणाली त्यस सोचभन्दा धेरै टाढा छ र सामुदायिक विद्यालयको उपलब्धि दिनदिनै कमजोर बन्दै गएको छ । शैक्षिक गुणस्तर कायम गर्न समयमंै पाठ्यपुस्तक, पाठ्यक्रम र पाठ्ययोजना उपलब्ध गराउनुपर्छ । विषयगत, तहगत र तालीमप्राप्त शिक्षकलाई एउटा निश्चित लक्ष्य दिनुपर्छ । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री र शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारीलाई पुरस्कार र कमजोरलाई तालीम दिई सुधारको अवसर दिनुपर्छ । नेतृत्व लिन सक्ने शिक्षकलाई मात्र प्रधानाध्यापक बनाउनुपर्छ र यसरी शिक्षक प्रधानाध्यापकप्रति, प्रधानाध्यापक विद्यालय व्यवस्थापनप्रति र व्यवस्थापन समिति स्थानीय तहप्रति उत्तरदायी भए शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।
वीरगंज महानगरपालिका शिक्षामा समयसापेक्ष सुधार गर्न र कमी–कमजोरी हटाउन प्रयासरत देखिन्छ, तर त्यहाँ हुने राजनीतिक खिंचलोका कारण थुप्रै चुनौतीहरूको सामनासमेत गर्नुपरिरहेको छ । सामुदायिक विद्यालयको अवस्था खस्कनुमा एकले अर्कोलाई दोष लगाएर आपूm राम्रो देखिने प्रवृत्ति बस्नु हो । अभिभावकहरूले शिक्षकले पढाएनन् भन्ने, शिक्षकहरूले विद्यार्थी पढेनन् भन्ने, विद्यालय व्यवस्थापन समितिले अभिभावक, शिक्षक तथा विद्यार्थीबीच तालमेल गराउन नसक्ने र शैक्षिक सुधार भन्दा भौतिक पूर्वाधारको योजनातिर बढी चासो दिने परिपाटी व्याप्त छ । नेतृत्वले यदि आप्mनो कार्यक्षेत्रका विद्यालयहरूलाई राम्रो बनायो भने समर्थनमा हजारौं विद्यार्थी, तिनका अभिभावक र हरेक नागरिकले साथ दिनेछ ।
शैक्षिक रूपान्तरणपूर्व पालिकाको समग्र शैक्षिक स्थिति पत्ता लगाई हरेक वर्षको प्राथमिकता छुट्याउँदा सजिलो हुन्छ । पालिकाले बनाउने हरेक योजना विद्यार्थीहरूको अनुभव, आवश्यकता र सपनाबाट निर्देशित हुनुपर्दछ । कुनै पनि योजना बनाउँदा र सञ्चालन गर्नुपूर्व अभिभावक, प्रधानाध्यापक र शिक्षकहरूको सल्लाह आवश्यक हुन्छ । पालिकाभित्र प्रधानाध्यापकबीच सिकाइ आदानप्रदान गर्न र समस्या समाधान गर्न नियमित बैठक आयोजन गर्न सकिन्छ । त्यसैगरी विषयगत शिक्षकहरूबीच यस्तै सत्रको आयोजन गर्न सकिन्छ । यस्तो सत्र सँगसँगै सबै तहबीच फरक–फरक समयमा गर्न सकिन्छ । यसरी एउटाले कसरी राम्रो अभ्यास गरिरहेको छ भन्ने कुरा सजिलै एक ठाउँबाट अर्को ठाउँ पुग्छ । बुझ्नुपर्ने कुरो के हो भने शिक्षकको कार्य र व्यवहारबाट विद्यार्थीहरूको सोच र मनस्थिति निर्धारण हुन्छ । यसको लागि विद्यार्थी र शिक्षक अनुपात मिलाउन पालिका क्षेत्रभित्र दरबन्दी मिलान गर्न सकिन्छ । पालिकाको रणनीतिक प्राथमिकताको आधारमा शिक्षकहरूलाई स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ । शिक्षा शाखालाई अनुगमन र प्रशासनिक कामको भूमिकाबाट माथि उठाएर शिक्षक–सहयोगी संयन्त्रको रूपमा विकास गर्न सकिन्छ । सोको लागि त्यहाँ आवश्यकता अनुसार दरबन्दी र स्रोत दिनुपर्छ । शिक्षण सिकाइसम्बन्धी अनलाइन कोर्सहरू लिनका लागि शिक्षकहरूलाई प्रोत्साहित गर्नुपर्छ । निश्चित समयावधिमा पालिकाका सम्पूर्ण शिक्षकहरूको भेला गराई विद्यालयको उपलब्धि र चुनौतीहरू साटासाट गर्न सकिन्छ ।
धेरैजसो ठाउँमा के देखिएको छ भने भवन ठूला भए तापनि विद्यार्थीहरूलाई सजिलो बनाउने कुरामा ध्यान दिइएको पाइँदैन । विद्यार्थीहरू बस्ने बेंच साँघुरो हुन्छ, शुद्ध खानेपानीको व्यवस्था हुँदैन, शौचालय फोहर हुन्छ । बिग्रेको धारा वर्षौदेखि बिग्रेकै हुन्छ । बालबालिकालाई राम्रो बनाउनका लागि उनीहरूको पहलमा कक्षा कोठा सजाउन सकिन्छ । हरेक विद्यालयमा इनडोर–आउटडोर खेलको व्यवस्था गर्न सोही अनुसार संरचना बनाउन सकिन्छ ।
यसैगरी अभिभावक शिक्षाका महŒवपूर्ण पक्ष हुन् । तसर्थ विद्यालयहरूले अभिभावकलाई सचेत बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । अभिभावकमा भएको सीप र ज्ञान विद्यालयहरूमा सिकाउने व्यवस्था मिलाउन सकिन्छ । समुदायका विभिन्न सङ्घसंस्थाको सहयोग लिएर विद्यार्थीहरूको सिकाइ वृद्धि गर्न सकिन्छ । त्यसैगरी पालिकाहरूले स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय तीर्थस्थल, जनसाङ्ख्यिकी, संस्कृति, ज्ञान, प्रविधि र व्यक्तिहरूको कथा समेट्न सक्छ । बालबालिकाहरूलाई विभिन्न परिस्थितिमा उपयोगी हुने आत्मरक्षार्थ प्रशिक्षण दिन सकिन्छ । पर्यावरण संरक्षणको लागि सचेत गराउन सकिन्छ । उनीहरूलाई प्रविधिमा साक्षर गराउँदै साइबर अपराधबाट जोगाउन सकिन्छ ।
शैक्षिक रूपान्तरणको अर्को महŒवपूर्ण पाटो व्यक्तिहरूको समूह हो । योजना कार्यान्वयन गर्न राजनीतिक स्वार्थभन्दा माथि उठेर कामप्रति लगाव भएका मानिसहरूको समूह बनाउनैपर्छ । हरेक वर्षको प्राथमिकता तय गरेर काम गर्दा पाँच वर्षमा उल्लेख्य काम हुन सक्छ ।
सामुदायिक विद्यालयको सुधार गर्नुपूर्व यो अवस्थासम्म कसरी आइपुग्यो भन्ने कुरा जान्न जरूरी छ । राजनीतिक प्रभावबाट नभई दक्ष शिक्षक छनोट गर्ने मानसिकता विकसित गर्नुपर्छ । युवा पलायनको अवस्था हेर्दा हामी विदेशका लागि श्रमिक उत्पादन गर्ने शिक्षा दिइरहेछौं जस्तो लाग्छ । वैदेशिक रोजगारमा गएका युवाहरू प्रायः सामान्य श्रमिक भएर काम गरिरहेका छन् । के हाम्रो शिक्षा प्रणालीले दिने शिक्षा यस्तै हो ? नेपालमा जति पनि संस्थागत विद्यालयहरू छन् तिनको नेतृत्व गर्ने कुनै कालखण्डमा सामुदायिक विद्यालयकै उत्पादन हुन् । सामुदायिक विद्यालय वा कलेजमा पढाउने धेरैजसो शिक्षक संस्थागत विद्यालय तथा कलेजमा अध्यापन गराइरहेका छन् र त्यहाँ राम्रो परिणाम पनि हासिल भइरहेको छ तर सामुदायिक विद्यालयमा छैन । यो गम्भीर विषय हो । विद्यालयप्रति अभिभावक, विद्यार्थी र समाजको चासो हुनु जरूरी छ ।
यसरी सम्पूर्ण नागरिक र राज्य सामुदायिक शिक्षालाई सुधार गर्न सकारात्मक चिन्तन र चासोका साथ अघि बढ्ने हो भने छिट्टै सफलता हासिल गर्न सकिन्छ । राज्यलाई हामीले तिर्ने करको सदुपयोग गराउनु आम नागरिकको कर्तव्यसमेत हो । शिक्षा क्षेत्र सुध्रिने र सामान्य परिवारका बालबालिकाले समेत गुणस्तरीय, निश्शुल्क, प्राविधिक र व्यावसायिक शिक्षा प्राप्त गर्ने हो भने छिट्टै समृद्धि हासिल गर्ने कुरामा दुई मत छैन ।