महेन्द्रनगर (धनुषा), ३० मङ्सिर/रासस
विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठूलो सीतारामको आकृति तयार गरिएको छ ।
जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रण आयोजक टोलीले दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए ।
नगरप्रमुख साहले १०२ क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरूपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, “धार्मिकस्थलका रूपमा रहेको जनकपुरधाम सीतामाताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरूको सहयोग र समायोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौं, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौं ।” सो विषयमा नकारात्मक टीकाटिप्पणीभन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि उनले आग्रह गरे ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले भने, “यो प्रतिमा विश्व सम्पदाको सूचीमा ल्याउनका लागि पनि हामीले पहलकदमी लिइरहेका छौं ।” उनले सीतारामको प्रतिमा करीब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने बताए । उनले सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरूबाट रकम सङ्कलन गरी काम गरेको पनि बताए । नगरप्रमुख साहले सीतारामको आकृति बनाउने सतीश गुज्जर र गुनगुन मिश्रलाई विशेष धन्यवाद पनि दिए ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले आजदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपीलसँगै निमन्त्रण दिए । महासेठले ८० प्रतिशत अन्नको बर्बादी हुन नदिने योजना रहेको बताए । उनले बर्बाद हुनबाट बचेको अन्नलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै वितरण गर्ने योजना रहेको पनि बताए । उनले सीतारामको आकृति बनाउने योजना डेढ महीनाअघिको रहेकाले यसलाई पूर्णता दिनका लागि हामीले पनि पहलकदमी लिएको बताए ।
महासेठले सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपूर सहयोग रहेको बताए । निर्देशक तथा कलाकार गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।
यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड बनाइएको थियो । जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए ।