• राजेश मिश्र

कात्तिक पूर्णिमाको पूर्वसन्ध्यमा पत्नीसहित बनारस पुगियो । यसअघि मेरो बनारस यात्रा कयौंपटक भइसकेको थियो भने पत्नी रागनी मिश्रको यो पहिलो यात्रा थियो । सीमावर्ती रक्सौल रेलवे स्टेशनदेखि २३ः४५ बजे खुल्ने सद्भावना एक्सप्रेस एक घण्टा ढिलो प्रस्थान ग-यो । हामी आआफ्नो बर्थमा सुत्यौं । समय व्यतीत गर्नको लागि मोबाइल मात्र विकल्प थियो । गीत सुन्दै कतिबेला निद्रा लाग्यो पत्तै भएन ।

जब आँखा खुल्यो र मोबाइलमा हेरेको त बिहानको साढे ६ हुन लागेको थियो । पत्नीजी त्यति बेला झ्यालबाट बिहानीको दृश्यावलोकल गरिरहेकी थिइन् । हाम्रो आँखा जुध्यो । म निद्रामुक्त भइसकेको शायद उनले भेउ पाइनन् । म आफ्नो सिटबाट तल झरें, उनी नजीक बसें र झ्यालबाट बाहिर हेर्न थालें । अहिले ट्रेन कहाँ छ भन्ने कुरा यकीन गर्न चाहन्थें । शहरझैं दृश्यावलीले मलाई छपरा आइपुगेको भान प-यो । किनभने तालिका अनुसार त्यस बेला ट्रेन छपरा आसपास हुनुपर्ने थियो । अलमलमा रहेकै बेला पुल आइपुग्यो । भर्खरै निद्राबाट उठेकोले सोनपुर हो वा छपरा भन्ने मनोशङ्का उत्पन्न भयो । केही मिनेटभित्र रेलवे स्टेशनको पहेंलो बोर्ड देखा त प-यो, तर स्टेशनको नाम पढ्न सकिएन । अन्ततः मोबाइल एपमा ट्रेनको अवस्था हेरें । छपरा पुग्नुपर्ने समयमा ट्रेन झन्डै ५० किलोमिटरपछाडि सोनपुर स्टेशन क्रस गरिरहेको थियो ।

घरमा बिहानपख आँखा खुल्दा मनतातो पानी पिउने बानी परेको मलाई त्यहाँ चीसो पानी नै विकल्प थियो । म नित्यकर्मबाट फर्किंदा पत्नीजीको अगाडि एकजना तेस्रोलिङ्गी उभिइरहेको दृश्य हेरें । तेस्रोलिङ्गीले पत्नीजीको शिरमा रूमाल ओढाएर आशीर्वचनको बौछार गरिरहेको थियो । पत्नीजीको लागि यो रोचक र अद्भुत परिदृश्य थियो । रकम पाएपछि ऊ प्रस्थान ग-यो ।

हामीसँग समय व्यतीत गर्ने तीन विकल्प थिए । कुराकानी, दृश्यावलोकन वा मोबाइल । यी विकल्पहरूमध्ये एकापसमा कुराकानी गर्नु नै श्रेयस्कर विकल्प थियो । त्यसमा पनि बनारसको प्रसङ्ग औचित्यपरक थियो । कुराकानीको क्रममा नवयात्री पत्नीजीको मनमा अनेक प्रकारका खुल्दुली र जिज्ञासा उत्पन्न हुनु स्वाभाविक थियो । टे«न यात्राको क्रममा उनलाई मैले यसअघि अवलोकन गरिसकेका विभिन्न स्थानहरूको अग्रिम जानकारी गराउने प्रयत्न गरिरहेको थिएँ ।

हामीबीच कुराकानी चलिरहेको बेला नाटकीय अन्दाजमा ‘चाय, पानी, नाश्ता’ आदि विक्रेताका स्वरहरू ठोक्किइरहेका थिए । अनेक प्रकारका मगन्तेहरूको ओहोरदोहोर भइरहेको थियो । यी परिदृश्यहरूमाथि हाम्रो ध्यान आकृष्ट हुनु स्वाभाविक थियो । यद्यपि विभिन्न प्रकारका परिदृश्य नजरअन्दाज गर्दै महाज्ञानीझैं म पुरानो र नयाँ विश्वनाथ मन्दिर, सङ्कटमोनच हनुमान मन्दिर, दुर्गाकुण्ड मन्दिर, दशाश्वमेधघाट, अस्सीघाट र मणिकर्णिकाघाट आदि प्रमुख स्थानहरूको अनुभव ओकलिरहँदा उनीसँग मुस्कुराउँदै शिर हल्लाउनुको विकल्प थिएन । किनभने ती स्थानहरूको मैले कयौंपटक अवलोकन भ्रमण गरिसकेको हुँदा स्थानको नामसँगै मस्तिष्कमा तस्वीरसमेत उघ्रिरहेको थियो । यद्यपि उनीसँग कल्पना गर्नुुको विकल्प थिएन ।

यसैबीच सन् १९९७ को बनारसको यात्रा सम्झना भयो । अबुर्दरोगका बिरामी मेरी सासूआमा काशी हिन्दू विश्वविद्यालयस्थित सर सुन्दरमल अस्पतालमा भर्ना हुनुहुन्थ्यो । मलाई भेट्न जानुपर्ने थियो । तर बनारस कहिल्यै नगएकोले मलाई एक्लै बनारस पठाउनुु अभिभावकको लागि अत्यन्तै चिन्ताको विषय थियो । त्यसमा पनि बनारसको चोरीचकारीबारे बुबालाई पहिलेदेखि ज्ञात थियो । शिक्षक पेशामा आबद्ध मेरो बुबाको संयोगवश एक दिन एक परिचित शिक्ष्Fकसँग भेंट भयो । बुबाले ती परिचितका बुबाको हालखबर सोध्नुभयो । किनभने ती परिचितका बुबा सेवानिवृत्त शिक्षक थिए । त्यस कारण समान पेशाकर्मीको नाताले एकअर्काबीच प्रगाढ सम्बन्ध थियो ।

परिचितले बुबा अबुर्दरोगको बिरामी भएको र बनारसस्थित अस्पतालमा भर्ना रहेको समाचार सुनाए । उनले रकमको व्यवस्था गर्न वीरगंज आएको र तीन/चार दिनपछि पुनः बनारस फर्किने कुरा अवगत गराए । परिचितबाट प्राप्त यो समाचारले एकातर्फ बुबा भावविह्वल हुनुभयो भने अर्कोतर्फ छोरालाई विश्वासिलो व्यक्तिको साथमा बनारस पठाउन सकिने सन्तुष्टि पनि । बुबाले पनि माहिलो छोराको सासू बनारसमैं उपचारत रहेको समाचार सुनाउँदै छोरोलाई आफूसँग लिंदै जानुहोला भन्ने कुरा अवगत गराउनुभयो । यो अप्रत्याशित संयोग नै मेरो बनारस जाने माध्यम बन्योे ।

कयौंपटक बनारसको यात्रा गरिसकेका ती शिक्षकसँग रक्सौल–गोरखपुर हुँदै म पनि बनासर गइरहेको थिएँ । रक्सौलमा म र ती शिक्षक रेल चढ्यौं भने उनका बहिनी र ज्वाइँ बगहामा चढे । राति करीब ८ बजे हामी गोरखपुर पुग्यौं । राति ११ बजे चौरीचौरा एक्सप्रेसमार्फत बनारसको यात्रा जारी थियो । चारजनाको हाम्रो टोलीमा अधिकांश चर्चा बनारसकै हुन्थ्यो । ती शिक्षकबाहेक हामी तीनजनाको पहिलो यात्रा थियो । शिक्षकले बनारसको कुरा गर्दा मेरो मस्तिष्कमा विभिन्न प्रकारका तस्वीरहरू सिर्जना हुन्थ्यो । आफूलाई बनारसबारे जानकारी नभएकोले मुस्कान र शिर हल्लाउनुबाहेक विकल्प थिएन ।

बनारस यात्राको कारण

कात्तिक पूर्णिमाको अवसरमा बनारस जाने पूर्वनिर्धारित यात्राका दुईवटा कारण थिए । पहिलो, गङ्गास्नान र दोस्रो छोरासँग भेंटघाट ।

गत जेठ महीनामा छोरी विवाह भयो । सनातन संस्कृतिमा सन्तानको वैवाहिक कार्यक्रम सम्पन्न भएपश्चात् धार्मिक यात्रा र गङ्गास्नान गर्नुपर्ने पौराणिक मान्यता छ । मानवीय जीवनकालका जिम्मेवारीहरूमध्ये सन्तानको सुखद वैवाहिक जीवनको कामना पनि एक हो । वैवाहिक कार्यक्रमको आयोजनामा जतिसुकै मानसिक, आर्थिक वा शारीरिक समस्य/तनाव भए तापनि राम्रोसँग सम्पन्न गर्नु नै अभिभावकजनको सन्तुष्टि हो । मधेसी समुदायमा भनिन्छ, “गङ्गा नहा ले ल ।”

माङ्गलिक कार्यक्रम सम्पन्न भएपछि धार्मिक यात्रा र गङ्गास्नान गर्न जाने यो परम्परा किन प्रचलनमा ल्याइएको होला वा के कस्ता सामाजिक मन्थनहरू भएका होलान् ? भन्ने प्रश्नहरूको उत्तर दिने अहिलेको पुस्तामा कोही छैनन् । यद्यपि एउटा कुरा निस्सन्देह के भन्न सकिन्छ भने यस्ता परम्पराहरू धार्मिक मान्यताअनुरूप प्रचलनमा ल्याइएका होलान् । विज्ञानभन्दा सनातन संस्कृति, ज्योतिषशास्त्र र धार्मिकग्रन्थहरू आदि जेठा हुन् भन्नुपर्दा अतिशयोक्ति नहोला ।

समुदायलाई थाहा छ कि वैवाहिक कार्यक्रम सम्पन्न हुनुअघिसम्म अनेक प्रकारका विघ्न, बाधा, दुःख, पीडा, कष्ट आदि नआउने होइनन् । यद्यपि सबै प्रकारका समस्यासँग जुध्दै जिम्मेवारीपूर्ण कर्तव्य निर्वाह गर्नु नै विजय प्राप्त गर्नु हो । आँटेको कार्य पूरा हुँदासम्म शारीरिक र मानसिक थकान अवश्य हुन्छ । यस्तो अवस्थामा धार्मिक यात्राको निहुँमा भए तापनि यस प्रकारको यात्राले मानिस एक वातावरणबाट अर्को वातावरणमा प्रवेश गर्छ । यसले आत्मशान्ति र आनन्दको प्रत्याभूति गराउँछ । थकित परिस्थितिमा परिवर्तित वातावरणले औषधितुल्य काम गर्छ ।

सनातन संस्कृतिको यो प्रयोग वैज्ञानिक दृष्टिकोणले पनि अकाट्य छ । कालान्तरमा पुरनियाँहरूले धर्म वा संस्कृतिसँग जोडेर स्थापित गरेका विविध मान्यताहरू वैज्ञानिक परिवेशका पुस्ताले अस्वीकार गर्ने ठाउँ छैन । यसर्थ यस प्रकारका मान्यताउपर विचार गर्दा अन्य जेसुकै कारण भए तापनि माङ्गलिक कार्यक्रमपश्चात् धार्मिक यात्राले थोरै भएपनि मानसिक तनाव निर्मूल हुने कुरामा फरक मत हुने कुरै भएन । यस कारण यो पौराणिक मान्यतालाई स्वीकार गरी मैले पनि निरन्तरता दिएँ ।

दुःखद अनुभूति

विश्वनाथ मन्दिर जाने योजना थियो । सोहीबमोजिम २६ नोवेम्बर २०२३ को दिन बिहान ६ बजे गङ्गास्नान गरी विश्वनाथ मन्दिरतर्फ लाग्यौं । मसमेत पत्नी रागिनी मिश्र, छोरा प्रवीण मिश्र र वीरगंज निवासी छोराको रूममेट उज्ज्वल गरी हामी चारजनाको समूह थियो ।

विभिन्न प्रवेशद्वारहरू पार गरी मन्दिरको प्राङ्गणमा प्रवेश गरियो । बिहानको ८ बजिसकेको थियो । अहिले हामी मन्दिरको प्राङ्गणमा थियौं । भक्तजनहरूको पङ्क्तिमा हामी पनि आबद्ध भयौं । पङ्क्ति बिस्तारै अघि बढिरहेको थियो । मन्दिरको द्वारनजीक पुगेपछि आश्चर्यजनक परिवेश अनुभूत गर्न पाइयो । त्यहाँ खटेका सुरक्षाकर्मीहरूले घण्टौंदेखि पङ्क्तिमा अघि बढ्दै आइरहेका भक्तजनहरूलाई रोके । अनधिकृत मार्गबाट दर्शनार्थीहरूलाई प्रवेश गराउन थाले । ती दर्शनार्थीहरू सुरक्षाकर्मीहरूका आफन्त थिए वा आर्थिक प्रलोभनवश प्रवेश गराउने कार्य भइरहेको थियो भन्ने कुरा पङ्क्तिमा बसेका दर्शनार्थीहरूलाई बुझ्न कठिन थियो । यद्यपि यो परिस्थिति योगी सरकारको मर्यादाविरुद्धको हर्कत अवश्य प्रतीत भइरहेको थियो ।

पङ्क्तिमा अघि बढ्दै आइरहेका दर्शनार्थीहरूले जल/दूध पुजारीको हातमा थमाउने बित्तिकै लखेट्नेजस्तो व्यवहार गर्ने सुरक्षाकर्मीहरूले अनियमित मार्गबाट छिराउने दर्शनार्थीहरूलाई सीधैं मन्दिरभित्र प्रवेश गराइरहेका थिए । यो एक प्रकारले सुरक्षाकर्मीहरूको जघन्य ज्यादती थियो ।

सुरक्षाकर्मीहरूद्वारा घरीघरी पङ्क्तिमा अघि बढिरहेका दर्शनार्थीहरूलाई रोकेर अनियमित मार्गबाट प्रवेश गराउने यो हर्कत मलाई असह्य भयो । ठूलो स्वरमा सुरक्षाकर्मीहरूको हर्कतविरुद्ध मैले आवाज उठाएँ । उनीहरूले अनियमित मार्गबाट छिराउने कार्य तत्काल बन्द गरे । यद्यपि यस प्रकारको ज्यादती सधैंका लागि बन्द हुनुपर्छ । योगी सरकार तथा स्थानीय प्रशासनले सुधारको बाटो पहिल्याउनुपर्छ ।

सुखद अनुभूति

यसअघि विसं २०७८ को चैत महीनामा बनारस गएको थिएँ । त्यस बेला पाँचजनाको उक्त धार्मिक यात्रामा सम्पादक विकाश दाइ र मसमेत पाँचजना थियौं । गोधूलिको समय थियो । बनारसको अस्सीघाटदेखि बीसजना सवार डुङ्गामा हामी पनि विराजमान थियौं । मणिकर्णिकाघाटदेखि ललिताघाट फर्किने क्रममा डुङ्गाको जेनेरेट ठूलो आवाज गर्दै बन्द भयो । तटसम्म कसरी पुगिएला भन्ने चिन्ता सबैलाई भयो । क्रन्दन मच्यो । लाइफ ज्याकेट थिएन । प्रतीक दैनिकको विसं २०७९ जेठ १४ गते शनिवारको अङ्कमा ‘धार्मिक यात्राको मीठो अनुभूति (२)’ शीर्षकको आलेखमा यो व्यथा लेखेको थिएँ ।

यसपटकको भ्रमणमा भने सुखद अनुभूति भयो । डुङ्गामा सवार यात्रुहरूको सुरक्षालार्ई ध्यानमा राखेर लाइफ ज्याकेट अनिवार्य गरिएको छ । पत्नी, छोरा र मसमेत डुङ्गामा सवार समस्त यात्रुलाई चालकले लाइफ ज्याकेट दिए । यात्रुलाई लाइफ ज्याकेट प्रदान नगरे डुङ्गा चालकलाई प्रशासनले जरिवाना गर्ने व्यवस्था रहेछ । जय भोले !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here