पालिकाहरूमा विकृति र विसङ्गति देखा परेका छन् । कतिपय पालिकाले राम्रा काम पनि गरेका छन् । हाम्रो मुलुकका तीन तहका सरकारको कार्यविभाजन अनुसार गणतन्त्र वा व्यवस्थाको जग स्थानीय सरकार हो । स्थानीय तहमा विकृति र विसङ्गति बढ्दा गणतन्त्रप्रति नागरिकले हेर्ने दृष्टिकोण आलोचनात्मक हुन पुग्छ । विकृति, विसङ्गति तथा भ्रष्टाचारका कारण कतिपय स्थानीय तहका कर्मचारी एवं जनप्रतिनिधि अख्तियारको फन्दामा परिरहेका छन् । भ्रष्टाचार पनि किसिमकिसिमका छन् । जनप्रतिनिधिले निजी डोजर खरीद गरी पालिकाका योजना सम्पन्न गर्न उक्त डोजर प्रयोग गर्ने र निजी फाइदा लिने, आफूनिकट व्यक्तिलाई विकास आयोजना उपभोक्ता समितिको अध्यक्ष बनाउने, फिल्डमा काम नै नसकी रकम भुक्तानी दिनेलगायतका कार्य भ्रष्टाचार हुन् । डोजर प्रयोग गरेबापत भाडा लिंदा भ्रष्टाचार जस्तो नदेखिए पनि जनप्रतिनिधिले आफ्नो वा आफन्तजनले फाइदा पाउने गरी कुनै पनि कार्य गर्नु नै भ्रष्टाचार हो । त्यसैगरी, अपवादबाहेक न्यायिक समितिले प्रदान गर्ने न्यायमा दलगत स्वार्थ हाबी हुने गरेका गुनासाहरू पनि आइरहेका छन् ।

कतिपय पालिकाले वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको भनिए तापनि त्यसलाई पालिकाको वेबसाइटमा नराख्ने, सर्वसाधारणलाई उपलब्ध नगराउने गरिरहेका छन् । यो पनि एक किसिमको भ्रष्टाचार हो । पारदर्शिता नहुनु नै भ्रष्टाचार हो । स्थानीय तहबाट सञ्चालन भएका काम पारदर्शी नहुने र नागरिकले सहजरूपमा सूचना नपाउने गरेको गुनासो पनि छ ।

स्थानीय तहले राम्रो काम गर्दा गणतन्त्र संस्थागत हुँदै जान्छ । राम्रो कामको अर्थ समय परिस्थिति अनुसार जनभावना अनुकूल काम गर्नु वा अगुवाइ गर्नु हो । स्थानीय सरकारको तर्फबाट स्थानीय जनप्रतिनिधिले त्यो भूमिका निभाउन सक्नुपर्छ । यसमा कुनै किन्तुपरन्तु मान्य हुँदैन । स्थानीय विकास निर्माणलाई दिगो र भरपर्दो बनाउने, दिगो भूउपयोग योजना बनाइ जमीनको उच्चतम उपयोग गराउने, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलमैदान, बसपार्क, पार्क, खेतीयोग्य जमीन, सडक सञ्जाल, जङ्गल, ताल वा पोखरी, सामुदायिक भवन, बजार क्षेत्रलगायत स्मार्ट गाउँ/शहरका पूर्वाधार निर्माणका लागि आवधिक र गुरुयोजना निर्माण गर्ने, कार्यान्वयन गर्ने दायित्व स्थानीय तहको हो । त्यसैगरी, स्थानीय तहले आफ्नो पालिका क्षेत्रका मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगार सिर्जना गर्ने, जीवनस्तर उकास्ने अर्थात् भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूको विकासमा स्थानीय तहका जनप्रतिनिधिले काम गर्न सक्नुुपर्छ । जनप्रतिनिधिको क्षमता विकास हुन नसक्दा र क्षमतावान् जनप्रतिनिधिको अभावमा कर्मचारी संयन्त्रले पनि लापरवाही गर्दा सिङ्गोरूपमा उक्त स्थानीय तह नै असफल र अक्षम भइरहेका हुन्छन् । यसर्थ पनि जनप्रतिनिधिको क्षमता विकासमा ध्यान दिनु अपरिहार्य छ । स्थानीय नागरिकको मन जित्न र विश्वास दिलाउन सकिए पर्याप्त मात्रामा जनसहभागिता जुट्नेछन् । त्यसैगरी, केन्द्र र प्रदेशले पठाउने अनुदान रकममा मात्रै सीमित नरही स्थानीय तहले आफ्नै पहलमा आन्तरिक स्रोतको विकास गर्न सकिएन भने अर्को असफलता हो । राजस्व परिचालनमा स्वयम् स्थानीय तहको व्यवस्थापकीय क्षमता चुस्तदुरुस्त हुनुपर्छ । स्थानीय तहको सरकारको अभ्यास अब नौलो होइन । एक कार्यकाल पूर्ण अवधि सकिएर दोस्रो कार्यकालको पनि आधाआधीको छेउछाउ पुगिसकियो भन्ने स्थानीय तहका जनप्रतिनिधिहरूले हेक्का राख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here