पछिल्लो तीन महीनादेखि चिनियाँ ग्याँस लाइटरको तस्करी बढेको छ । विदेशबाट पहिले छोहोडा, केराउ, मरिचलगायत आयात गरी वीरगंजबाट क्यारिङमार्फत भारततर्फ तस्करी हुने गरेकामा अहिले चिनियाँ ग्याँस लाइटरको तस्करी पनि बढेको छ ।
भारत सरकारले भारु २० भन्दा कमको प्लास्टिकको लाइटरले प्रदूषण बढाएकोले चिनियाँ लाइटरमाथि प्रतिबन्ध लगाएको छ । साथै स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति अनुसार चिनियाँ लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएको हो । त्यसैको फाइदा उठाउँदै नेपाली व्यवसायीहरूले चीनबाट तातोपानी भन्सार नाका र कोलकाताबाट रेलमार्ग हुँदै चिनियाँ लाइटरको आयात बढेको छ । यसको आयातमा वीरगंजदेखि काठमाडौंका प्रतिष्ठित कर्पोरेट घरानाहरू संलग्न छन् ।
काठमाडौंकै अरुण टे«डर्सले भिœयाएको प्रिमियम क्वालिटीको लाइटर २ डिसेम्बरमा पटनामा बरामद भएको थियो । पटना प्रहरीका डिएसपी राजेश कुमारका अनुसार नेपालबाट तस्करी भएर पुगेको तीन लाख ३६ हजार थान लाइटर बरामद भएको जनाएका छन् ।
त्यसैगरी, भारतीय प्रहरीकै अनुसार दिल्लीबाट ४ डिसेम्बरमा २० लाख थान (दुई हजार कार्टुन) लाइटर दिल्ली प्रहरीले बरामद गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतमा चुरोट सल्काउन प्रयोग गरिने ग्याँस लाइटरको अभाव हुन थालेपछि नेपाली व्यवसायीहरूले चीनबाट भन्सार नाका हुँदै वैधरूपमा ग्याँस लाइटर भिœयाइरहेका छन् र भारतीय सीमाक्षेत्रको गोदाममा भण्डारण गरी क्यारिङमार्फत भारत पठाउने गर्छन् ।
ग्याँस भर्न नमिल्ने लाइटरको चीनमा प्रतिलाइटर रु ५.३२ पर्छ भने नेपाल भिœयाइसकेपछि सो लाइटरको मूल्य करीब रु सात पर्न जान्छ । दुई रुपैयाँ ६८ पैसा भन्सार महसूल, मूल्य अभिवृद्धि कर, ढुवानी र अन्य शुल्क गरी पर्छ । त्यसैगरी, ग्याँस रिफलिङ हुने ग्याँस लाइटरको रु सवा रुपैयाँ बढी पर्न जान्छ । सोही लाइटर भारतमा पुगेपछि भारु सातभन्दा बढीमा बिक्री हुन्छ । अर्थात् प्रतिलाइटरमा नेरु चारदेखि छ नाफा कमाउने गरी तस्करी बढेको हो ।
चालू आवमा हालसम्म विभिन्न नाकाबाट करीब १४ करोड थान ग्याँस लाइटर नेपाल आयात भइसकेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार तातोपानी भन्सार नाकाबाट ५० कन्टेनर र वीरगंज ड्राइपोर्ट भन्सार नाकाबाट ७७ कन्टेनर गरी करीब १२७ कन्टेनर लाइटर जाँचपास भएर भित्रिसकेको छ । २० फिटको एउटा कन्टेनरमा ११ सय कार्टुन अट्छ । एउटा कार्टुनको वजन १५ किलो हुन्छ भने त्यसमा एक हजार थान ग्याँस लाइटर हुन्छ । ११ सय कार्टुनको दरले एउटा कन्टेनरमा ११ लाख कन्टेनर अट्ने व्यवसायीहरूले जनाएका छन् ।
१४ करोड ग्याँस लाइटर आयात हुनु भनेको १२७ कन्टेनर माल हो । जसमध्ये श्रीसिया सुक्खा बन्दरगाहबाट झन्डै आधा लाइटर भित्रिएको भन्सारको तथ्याङ्कले देखाउँछ । सुक्खा बन्दरगाहबाट पछिल्लो तीन महीनामा करीब सात करोड १६ लाख ९६ हजार थान लाइटर भित्रिएको देखिन्छ ।
त्यसैगरी, तातोपानी भन्सार नाकाबाट जाँचपास हुन करीब ३० कन्टेनर माल बाँकी रहेको छ भने सुक्खा बन्दरगाह भन्सारमा पनि ५० भन्दा बढी कन्टेनर जाँचपास हुन सकेको छैन । अर्को सिपमेन्ट भएर बाटोमा ५० कन्टेनर होल्ड रहेको बुझिएको छ ।
सरकारले मूल्याङ्कन बढाएपछि लाइटर छुटाउन छाडे व्यवसायीले
पछिल्लो तीन महीनादेखि धमाधम जाँचपास गरी भिœयाइरहेका नेपाली व्यवसायीहरूले लाइटर जाँचपासको काम रोकेका छन् । सरकारले गत शुक्रवार १ डिसेम्बरका दिन प्रतिलाइटर चार सेन्टबाट छ सेन्ट अर्थात् ५० प्रतिशत मूल्याङ्कन दर वृद्धि गरेकोले यसैको विरोधस्वरूप व्यवसायीहरू लाइटर छुटाउन नचाहेका हुन् । काठमाडौंका व्यवसायी ओमप्रकाश मोरका अनुसार सरकारले गैरकानूनीरूपमा मूल्याङ्कन वृद्धि गरेको आरोप लगाए । चीनबाट खरीद गरेको कुल मूल्यमा नयाँ नियमले गर्दा नेपाली भन्सार नाकामा बिलिङ अमाउन्ट फरक पर्ने हुँदा प्रतिकन्टेनर ११ लाख २८ हजार रुपैयाँ व्यवसायीमाथि थप भार पर्ने उनले बताए ।
एक कन्टेनर माल खरीद गर्न पहिलेको दर अनुसार ११ सय कार्टुनको ४० डलरको हिसाबले ४४ हजार डलर पर्छ । यसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ५८ लाख ७४ हजार हुन जान्छ । १५ प्रतिशत भन्सार महसूल (आठ लाख ८१ हजार एक सय) र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (आठ लाख ७८ हजार १६३) जोड्दा करीब ७६ लाख ३३ हजार कुल खर्च लाग्थ्यो भने सरकारले बढाएको ५० प्रतिशत मूल्याङ्कनको दरले भन्सार महसूल छ लाख ६० हजार ८२५ र मूल्य अभिवृद्धि करमा चार लाख ६७ हजार ७१३ गरी कुल ११ लाख २८ हजार बढी पर्ने बुझिएको छ ।
एक कन्टेनरमा खरीद मूल्य २२ हजार डलर बढ्छ (नेरु २९ लाख ३७ हजार) । यसमा साढे डेढ प्रतिशत भन्सार महसूल लाग्छ । अर्थात् १५ प्रतिशतबाट साढे २२ प्रतिशतको दरले भन्सार महसूल मात्र छ लाख ६० हजार ८२५ र भ्याट चार लाख ६७ हजार ७१७ गरी ११ लाख २८ हजार बढी खर्च पर्ने भएकोले व्यवसायीहरूले माल छुटाउन बन्द गरेका छन् ।
व्यवसायीहरूले सिपमेन्ट भइसकेको मालसामान पनि पुरानै दरले भन्सार जाँचपास हुनुपर्ने माग राखेका छन् । भन्सार विभागले परिपत्र गरेको पत्रमा लाइटरको भन्सार दरबन्दीको मूल्य मात्र वृद्धि गरिएको जानकारी गराएको छ । भिœयाइसकेको र सिपमेन्ट भइसकेको वा भिœयाउन बाँकी रहेको सामानमा कति मूल्याङ्कन गर्नेबारेमा स्पष्ट पारिएको थिएन । तर गत शुक्रवार नै भन्सार विभागले परिपत्र गरिसकेपछि नयाँ नीति अनुसार नै लाइटरको जाँचपास गर्ने भन्सार कार्यालयहरूको तयारी छ ।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीका अनुसार एक साताअघि दैनिक दुई/तीन वटा लाइटर लोड कन्टेनर जाँचपास हुने गरेकोमा अहिले एक सातादेखि ठप्प रहेको जानकारी गराए । सरकारले एउटै एचएस कोडमा पटक–पटक भन्सार दरबन्दीमा फेरबदल गर्दा बिलिङ रकमभन्दा बढीको रकम आयातकर्ताले हुन्डीमार्फत सप्लायरलाई पठाउनुपर्ने झन्झट खेप्नुपर्ने समस्या रहेको बताइएको छ ।