प्रस, परवानीपुर, २१ मङ्सिर/
बारा, विश्रामपुर गाउँपालिकाबाट यस वर्ष गहुँको बीउ वितरणमा अनियमितता भएको छ । गापाले वितरण गरेको गहुँको बीउमा सर्वसाधारण किसानभन्दा आसेपासे नेता, कार्यकर्तालाई बीउ वितरण गरिएको गाउँलेहरूले आरोप लगाएका छन् ।
गत मङ्गलवार गापाले पाँचवटा वडामा १२० जनाको दरले करीब छ सयजनालाई ११८ क्विन्टल (११ हजार ८ सय किलो) गहुँको बीउ वितरण गरेको थियो । गापाले प्रतिकिलो ८० रुपैयाँको दरमा वितरण गरेको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । रु ८० को खरीदमा रु ४० गापाले अनुदान दिएको थियो भने रु ४० किसानले तिरेका थिए ।
वडा नं १, २, ४, ५ मा विवाद नभएको तर वडा नं ३ विश्रामपुर गापा कार्यालयस्थलमा बीउ वितरणमा होहल्लासमेत भएको गाउँलेहरूले बताए । आसेपासेलाई बढी ग्राह्यता दिन खोज्दा बीउ वितरणमा विवाद हुँदा झैंझगडा भएको थियो । यस विषयमा गापा कर्मचारीले माग अत्यधिक र बीउ सीमित भएकोले विवाद सिर्जना भएको बताए । गापाको कार्यपालिकाले बढीमा २० किलो र एउटा वडा १२० जनाभन्दा बढीलाई बीउ वितरण गर्न नमिल्ने मापदण्ड बनाएकोमा वडा नं ३ मा तीन सयभन्दा बढीको लाइन लागेपछि विवाद भएको थियो ।
गापाका सूचना अधिकारी देव मण्डलका अनुसार जनप्रतिनिधिभन्दा वास्तविक किसानलाई बीउ वितरण भएकोमा यसमा विवाद नगर्न आग्रह गरे ।