• सञ्जय मित्र
कतिपय मानिसलाई बहुप्रतिभाशाली मानिन्छ । बहुप्रतिभाशाली भन्नुको अर्थ हो– एक व्यक्तिमा एकभन्दा बढी किसिमको प्रतिभा हुनु । यसलाई कतिपय अवस्थामा सम्मान गरिएको हुन्छ भने कतिपय अवस्थामा व्यङ्ग्यको कारण पनि बनाइएको हुन्छ । एकै मानिस हामीकहाँ लेखक, समीक्षक, साहित्यकार, पत्रकार, शिक्षक, प्रशिक्षक आदि सबै भइदिन्छन् । यसरी उल्लेख गर्दा एक बहुप्रतिभाशाली व्यक्तिप्रति सम्मान दर्शाएको होइन, अपित व्यङ्ग्य गरेको हो । तर हरेक व्यक्ति अनेक भूमिकामा हुन्छन् । उदाहरणको लागि यदि पुरुष छ भने बुबा, दाजु वा भाइ वा दुवै, अभिभावक, ज्वाइँ वा ससुरा वा दुवै, कुनै निश्चित पेशाकर्मी वा अनेक पेशाकर्मी आदि । यसैगरी, सोही व्यक्ति कुनै समूहमा छ भने त्यसको सदस्य, पदाधिकारी वा कर्मचारी । कुनै कामको लागि खटाइएको विशेष जिम्मेवारीमा पनि फरक भूमिका हुन सक्छ । यसरी व्यक्तिले विशेष जिम्मेवारी पाउँदाको अवस्थामा विशेष हुनु स्वाभाविक होइन । अनि यस्ता व्यक्तिलाई किन बहुप्रतिभाशाली भनिएको वा स्वीकार गरिएको पाइँदैन भने यस्ता कामहरू निरन्तर सबैले गरिरहेका हुन्छन् अर्थात् यसरी अनेक भूमिकामा हुनु सामान्य, स्वाभाविक वा नियमितता जस्तै हो । तर जहाँ बौद्धिकता र अझ अलिकति उच्च वा विशेष बौद्धिकताको सवाल आउँछ, त्यहाँ भने यसरी भइटोपलेको वा बनिदिएको जस्तो नकारात्मक सम्मान गर्नेगरी भनाइहरू आएका पाइन्छन् ।
यद्यपि बौद्धिकतासित सम्बन्धित एकभन्दा बढी काममा मानिस दक्ष हुन सक्दैन भन्ने होइन । यसैले हार्बड गार्डनरले बौद्धिकतासम्बन्धी सिद्धान्त नै प्रतिपादन गरेका छन् । हरेक व्यक्ति एकै किसिमको हुँदैन । यस कारण हरेक व्यक्तिमा एकै किसिमको बौद्धिकता पनि हुँदैन । व्यक्तिपिच्छे बौद्धिकतामा पनि पार्थक्य उसको नैसर्गिक गुण हो । गार्डनरले बौद्धिकतासम्बन्धी जुन सिद्धान्तको प्रतिपादन गरेका छन्, त्यसलाई बहुबौद्धिकताको सिद्धान्त भनिन्छ । कतिपयले यसलाई बौद्धिकताको गार्डनर सिद्धान्त पनि भन्ने गरेका छन् ।
सामान्यतया मानिसमा एकभन्दा बढी बौद्धिकता हुन्छ । गार्डनरले प्रतिपादन गरेको सिद्धान्त अनुसार बौद्धिकता आठ किसिमको हुन्छ । गार्डनरको सिद्धान्त अनुसार सामान्यतया भाषिक, तार्किक गणितीय, स्थानिक दृश्यात्मक, प्राकृतिक सङ्गीतात्मक, शारीरिक गतिबोधक, अन्तरवैयक्तिक र अन्तःवैयक्तिक गरी आठ प्रकारका बौद्धिकता हुन्छन् । र गार्डनरले जुन कुरालाई बौद्धिकता भनेका हुन्, त्यसैलाई प्रतिभा मान्दा फरक पर्दैन । यस दृष्टिकोणले प्रतिभा पनि आठ किसिमको हुन्छ भन्ने स्पष्ट हुन आउँछ । यद्यपि पूर्वीय शास्त्रहरूले प्रतिभालाई तीन वर्गमा विभाजन गरेका छन् । जसलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास भनिन्छ । कतिपयले प्रतिभालाई केवल दुई तहमा विभाजन गरेका छन् ः कारयित्री प्रतिभा र भावयित्री प्रतिभा । ठीकै छ, समय र परिवेश अनुसार प्रतिभा वा बौद्धिकताको विभाजन वा प्रकार वा पहिचानका विभिन्न आधारको बारेमा चर्चा हुने गरेको छ । प्रतिभाको विश्लेषण हुने गरेको छ । हुनु स्वाभाविक हो र हुनुपर्छ पनि । यसरी बौद्धिक मन्थन हुने मात्र होइन, यस्ता मन्थनले प्रतिभा वा बौद्धिकताको सम्मान पनि हुने गरेको हुन्छ ।
प्रतिभा वा बौद्धिकताका विश्लेषकहरूले झैं गार्डनरले पनि आफूले प्रतिपादन गरेको बहुबौद्धिकतालाई पहिचान गराउनको लागि गरेको विभाजन र विश्लेषणले एउटा सैद्धान्तिक आधार दिएको छ भने अहिले सबैभन्दा चर्चित रहेको पनि छ ।
भाषिक बौद्धिकता अन्तर्गत गार्डनरले मौखिक र लिखितरूपमा प्रभावकारी ढङ्गले भाषा प्रयोग गर्ने क्षमतालाई मानेका छन् । यसलाई अभिव्यक्ति कला धेरैले मानेका छन् । लिखित वा मौखिकरूपमा आफ्नो कुरा राख्ने कलाले पनि प्रतिभा वा सामथ्र्यलाई सम्बोधन गर्छ । तार्किक गणितीय बौद्धिकताले तर्क र गणितसित सम्बन्धित क्षमतालाई बुझाउँछ । कतिपयले सोझै गणितलाई सूत्र प्रयोगको क्षमता मान्छन् तर तार्किक गणितीय प्रतिभाले अलिकति फरक व्याख्यासमेत गर्छ । गणितमा तार्किकता हुन्छ र गणितमा पनि बौद्धिकता हुन्छ । गणितीय प्रतिभाले सूत्रलाई नवीनरूपमा उपयोगसमेत गर्छ वा नयाँ किसिमले पुष्टि गर्ने काम पनि गर्छ । यसैगरी, स्थानिक दृश्यात्मक प्रतिभामा हस्तकौशलयुक्त सामथ्र्य र प्रतिभा पर्छन् । हस्तकलामा पनि धेरै कुरा पर्छन् । यो हामीले बुझेका छौं किनभने नेपालको स्थान हस्तकलाको क्षेत्रमा रहेको छ । काठका विभिन्न सामान बनाउँदा होस् वा फलामको वा ढुङ्गाको वा माटोको, सबैमा हस्तकलाको प्रयोग उत्कृष्टरूपमा नेपालीले गर्ने गरेको एउटा पहिचान रहेको छ ।
प्राकृतिक बौद्धिकता भएका व्यक्तिमा प्रकृतिजगत्का विभिन्न वस्तुप्रति पे्रम, रुचि र प्रकृतिका समीपमा रहने गर्छ । अथवा प्रकृतिप्रति बढी संवेदनशील भई प्रकृतिसित रमाउने इच्छा राख्छ । यस्तो प्रतिभा भएका मानिस स्वाभाविकरूपमा प्रकृतिप्रेमी हुन्छ । प्रकृतिको संरक्षण तथा पर्यावरणको संरक्षणमा स्वाभाविकरूपमा अगाडि आउँछन् । साङ्गीतिक बौद्धिकता भएका व्यक्तिमा सङ्गीतसित सम्बन्धित क्षमता वा सामथ्र्य रहने गर्छ । सङ्गीतका पनि विभिन्न प्रतिभा र क्षेत्र रहेका छन् । यसले पनि मानवजीवनलाई धेरै थोक दिएको छ । सङ्गीतात्मक प्रतिभालाई पनि कलासित जोडेर हेर्ने गरिएको पाइन्छ । शारीरिक गतिबोधक बौद्धिकता अन्तर्गत आफ्नो विचार व्यक्त गर्न व्यक्तिले शरीरको हाउभाउ र लचकता उपयोग गर्ने सामथ्र्य पर्छन् । यो पनि आर्जित र स्वाभाविक गरी दुई किसिमको हुने गर्छ । कतिपय अवस्थामा यो पेशासित आबद्ध पनि हुन पुग्छ । निरन्तर लामो समयसम्म कुनै निश्चित प्रकारको पेशामा रहेको मानिसको अभिव्यक्तिमा हाउभाउ अभिव्यक्त भइरहेको हुन्छ ।
अन्तरवैयक्तिकता बौद्धिकताले अन्य व्यक्तिका सूक्षम व्यवहारप्रति संवेदनशील हुने बहिर्मुखी क्षमतालाई सङ्केत गर्छ भने अन्तःवैयक्तिक बौद्धिकताले व्यक्तिको संज्ञानात्मक क्षमतामा निहित अन्तरमुखी प्रतिभालाई सङ्केत गर्छ ।
पुनश्चः हरेक व्यक्तिमा हरेक प्रतिभा हुन्छ नै भन्ने होइन तर कुनै प्रतिभाशाली व्यक्तिमा यी सबै प्रकारका बौद्धिकता हुन सक्छन् । स्मरणीय छ, अधिकांश वा सबै व्यक्तिमा कम्तीमा दुई वा तीन प्रकारका बौद्धिकता हुन्छ भनिन्छ ।
बौद्धिकता हुन्छ भन्नुको अर्थ बौद्धिकताको उपयोग हुन्छ । र बौद्धिकता अर्थात् प्रतिभाको पहिचान तथा प्रवद्र्धन पनि वातावरण अर्थात् परिवेशमा निर्भर हुन्छ । कतिपय अवस्थामा परिवेशको निर्माण गर्नुपर्ने हुन्छ । परिवेशको निर्माणले प्रतिभाको प्रस्फुटन तथा प्रतिभाको विस्तार पनि सम्भव छ । सम्भव भएसम्म हरेक व्यक्तिमा रहेको बहुबौद्धिकताले विस्तारको अवसर पाउनुपर्छ । बहुबौद्धिकताले विस्तार पाउँदा समाजले सकारात्मक फाइदा लिन सक्छ । यसको सकारात्मक अर्थमैं उपयोग हुनुपर्छ भन्ने निश्चित छैन तर परिवेश यदि सकारात्मक छ भने सकारात्मक उपयोगको अपेक्षा स्वाभाविकरूपले गर्न सकिन्छ ।