– बैधनाथ श्रमजीवी

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको दुहाइ दिएर यसै हप्ता नेपाल सरकारले टिकटक बन्द गरेको छ। बिमारीको उपचार गर्नुभन्दा रोगीलाई नै मारेर बिमारीबाट छुटकारा पाउने गजबको उपाय नेपाल सरकारले गरेको छ। यतिबेला नेपाली समाजलाई बजारवादले चारैतिरबाट हमला गरेको छ। बजारवाद भनेको के हो ? आउनुस् यसबारे थोरै छलफल गरौं।

 

आफ्नो उपभोगका निम्ति सामान वा सेवा खरीद गर्ने क्रेता र सामान–सेवा बिक्री गर्नेलाई सामान्य अर्थमा बजार भन्नु र बुझ्नुपर्छ। बजारको इतिहास खोतल्न ५०० वर्ष पहिलेको समयमा पुग्नुपर्छ, जहिले सर्वाधिक महत्वको सिक्का अर्थात् मुद्राको प्रचलनमा व्यापकता आयो। सामन्तवादलाई पछार्दै र सङ्क्रमणकाल चिर्दै जब प्रगतिशील शिल्पी र व्यापारीहरू शक्तिशाली बन्न पुगे, तब १८औं शताब्दीको उत्तराद्र्धमा युरोपमा जेम्स वाटले अर्धस्वचालित वाष्प इन्जिन आविष्कार गरे। त्यस आविष्कारसँगै उत्पादनमा भएको अस्वाभाविक वृद्धिका कारण उत्पादित सामान कुनै निश्चित स्थानमा थुपारेर विनिमय गर्नुपर्ने बाध्यात्मक स्थिति पैदा भयो। यही परिस्थिति र कालखण्डमा एडम स्मिथद्वारा लेखियो, दि वेल्थ अफ नेसन्स, जसको सारतत्व ‘ग्रीड इज गुड’ (लोभ गर्नु राम्रो हो) भन्ने थियो। उनको अवधारणा अनुसार बजारको सम्पूर्ण प्राधिकार व्यक्तिलाई दिनुपर्छ, किनकि ‘अदृश्य हात’ले नै बजारको अर्थतन्त्र चलायमान बनाउँछ। यही प्रक्रियाले  सामाजिक हित हुन्छ भन्ने मान्यता उनको थियो। आजसम्म पनि अधिकांश मानिसको बजारप्रतिको बुझाइलाई प्राण भरण गर्दै आएको स्मिथियन दृष्टिकोणले नै हो। त्यसविपरीत करीब सय वर्षको अन्तरालमा, सन् १८६७ मा कार्ल माक्र्सले ‘पूँजी’ भन्ने पुस्तक जनतासामु ल्याएपछि आधुनिक अर्थशास्त्रको नियमको सन्दर्भ दिंदै लुट मचाइरहेको पूँजीपति वर्गमा चुनौती थपियो। अदृश्य हातले कुम्ल्याएको अपत्यारिलो र मनग्ये नाफालाई आलोचनात्मक माक्र्सवादी विचारधाराले खुलस्त मात्रै पारेन, कारण र तथ्यहरूको सूचीसमेत तर्कपूर्ण ढङ्गले औंल्याइदियो। बजारद्वारा निर्देशित विचारधारालाई ‘बजारवाद’ भनिन्छ। उपभोक्ताको श्रम र पूँजी लुट्ने ध्याउन्नमा निर्माण भएको विचारधारा नै ‘बजारवाद’ हो।

पहिले समाजको आवश्यकताअनुरूप बजार निर्माण हुन्थ्यो, अहिले उल्टो भएको छ। बदलिंदो सामाजिक परिस्थितिले ल्याएको विनिमय र वितरणको चक्रले प्रादुर्भाव भएको बजारको अवधारणालाई मुठीभरका मानिसले कब्जा गरी विज्ञापन, सञ्चार, इन्टरनेट र अन्य माध्यमबाट बाँकी आम मानिसलाई भावनात्मकरूपमा धकेलेर लुट्ने धन्दा बजारवादले चलाइरहेको छ। आधुनिक पूँजीवादले समाजमा बजारको दबदबा निरन्तर कायम गर्ने काम गरिरहेको छ भने यसका अनुयायीहरूले समाज सञ्चालन, नियन्त्रण र नेतृत्वसमेत गर्ने गरेको देखिन्छ। विश्वबजार नाफा कुम्ल्याउने असामाजिक स्थल बन्न पुगेको छ। त्यसैगरी, सामाजिक  सद्भाव, मितव्ययिता र परस्पर विनिमय आदि प्रक्रिया मृततुल्य छ। मानिस–मानिसबीचको सम्बन्ध केवल क्रेता र विक्रेताको हदसम्म सीमित छ भने त्यो ‘अर्थमानव’ नवपुस्ता असंवेदनशील, असहिष्णु र बेइमान बन्दैछ। त्यस पुस्तालाई पैसाबाहेक अरू विषयमा सोच्ने फुर्सद छैन। ‘पैसा भए सबैथोक बजारमा किन्न पाइन्छ’ भन्ने भ्रमित र विद्रुप विचारद्वारा प्रशिक्षित पुस्ताले वैज्ञानिक खोज–अनुसन्धान र कला–कौशल सिर्जनामा भन्दा पैसा कमाउने र रमाउने जीवनशैली रोजेको देखिन्छ, जसका कारण मानव विकासमा समेत नकारात्मक असर परेको देखिन्छ।

बजारवादद्वारा संवेदनामा गरिएको आक्रमणले आम मानिसको मनोविज्ञान त्रस्त छ। बजारवादी संस्कृतिले मानिसलाई दम्भीका साथै अवसरवादी, नाजायज साँठगाँठमा कुशल र तिकडमबाजी कलामा निपुण बनाउन सफल छ। बजारवादी वैचारिकीले निर्माण गरेको सोच्ने र बाँच्ने जीवनशैली निर्देशित गर्ने सामाजिक व्यवस्थाको टड्कारो समस्या हो यो। उपभोक्तावादी आधुनिक अर्थशास्त्रले कुनै पनि सामान वा सेवाको अन्तिम उपयोगकर्तालाई नै उपभोक्ता भन्ने गरेको छ। उपभोक्ता र ग्राहक गरी दुई फरक पक्षको अप्राकृतिक भूमिका सिर्जना गरी भ्रमजाल खुट्याउन गा–हो छैन। ग्राहकले नाफाहेतु सामान वा सेवा उपभोक्तालाई बेच्न वा आफैं उपभोक्ता बन्न सक्छ, तर उपभोक्ताले यसो गर्न सक्दैन। यसरी अर्थतन्त्रमा विभिन्न तहगत संरचना र भूमिका सिर्जना गरी सानो हिस्साको समूहले ठूलो हिस्सालाई ठगिरहने दुष्चक्र निरन्तर चलिरहेको छ। परिणामतः धनी र गरीबबीचको दूरी दैनन्दिन बढ्दो छ। बजारवादको वैचारिकीमा उभिएको उपभोक्तावादी संस्कृति यस्तो प्रवृत्तिको सांस्कृतिक मान्यता हो, जहाँ बढी उपभोग गर्नु र वस्तुको स्वामित्व हुनुलाई सर्वोपरि सुख र खुशीको मानक मानिन्छ। उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क नगराई बिचौलियाको रूपमा चलखेल गरी निश्चित वर्गले विनाश्रम बजारवादका माध्यमबाट अकुत कमाउँछ।

बजारवादको उच्चतम सफलता व्यक्तिलाई अनुत्पादक बनाइ उपभोक्तावादी बनाउनु हो। उपभोक्तावादको इतिहास पछ््याउँदै जाँदा १९औं शताब्दीको मध्यताका युरोप र अमेरिकामा प्रारम्भिक चरणमा छिटपुट देखा परेको भए तापनि वास्तविक रूपमा सन् १८७० देखि १९१४ सम्मको दोस्रो औद्योगिक या प्राविधिक क्रान्तिको कालखण्डलाई मान्न सकिन्छ। सन् १९१८ को अन्त्यमा जब पहिलो विश्वयुद्ध समाप्त भयो, तब दोस्रो औद्योगिक क्रान्तिबाट पेट्रोलियम, सञ्चार, स्टील उत्पादन, विद्युतीय शक्तिमार्फत शक्तिशाली बन्दै आएको अमेरिकाले प्रचुर मात्रामा उत्पादित मालसामानलाई रेलमार्गमार्फत भूमण्डलीकरण गर्दै नाफाको व्यापारमा परिणत गरेको देखिन्छ। यसै युद्धोत्तर कालमा अर्थशास्त्री गुस्ताव कसेलद्वारा ‘पर्चेजिङ पावर प्यरिटी थिअरी’ अर्थात्  क्रयशक्ति समता सिद्धान्त प्रतिपादित गरियो। यस सिद्धान्तले संसारभरका देशहरूको क्रयशक्तिलाई अमेरिकन डलरसँग दाँज्न अहम् भूमिका खेलेको देखिन्छ। पहिलो विश्वयुद्धपश्चात्को दशकमा अमेरिकी अर्थतन्त्रले उच्चतम सफलता हासिल गर्दै थियो र दोस्रो विश्वयुद्धमा विजय भएसँगै संसारकै सर्वशक्तिमान मुलुकका रूपमा दर्ज हुन पुग्यो। उपभोक्तावादी संस्कृतिको उन्नयन र बढोत्तरी पनि युद्धोत्तरकाल अर्थात् २०औं शताब्दीको मध्य समयदेखि हालसम्म निरन्तर आरोहणमा छ। नेपाली समाजमा एक शतकभन्दा लामो कालखण्डयता वैश्विकरूपमा हैकम चलाउँदै आएको उपभोक्तावादले सबैभन्दा ठूलो प्रभाव मध्यम वर्गलाई पारेको छ। नेपाली समाजमा पनि उक्त संस्कृतिको प्रभाव बहुआयामिक ढङ्गले परेको देखिन्छ। दृष्टान्तको रूपमा असमान गोर्खा भर्ती सन्धि, १९४७ अघि र पछि भर्ती भई मध्यम वर्गमा उक्लेका जनजातिलाई हेर्न सकिन्छ। अपवादबाहेक भर्ती भएका त्यस समुदायको नयाँ पुस्ताको उपभोक्तावादी चिन्तन र जीवनशैलीले उनीहरूको मौलिक चिन्तन र सांस्कृतिक प्रणाली कमजोर पारेको छ। त्यसैगरी, वैदेशिक रोजगारको क्षेत्रमा श्रम शोषणमा पर्दै विप्रेषण (रेमिट्यान्स)मार्फत देशको अर्थतन्त्र चलायमान गराइदिने श्रमिक र मजदूरको एउटा तप्का पनि मध्यम वर्गमा पुगेको छ। यो वर्गका परिवारलाई पनि उपभोक्तावादी संस्कृतिले ग–हौं भारी बोकाइदिएको देखिन्छ। शहरमा चार आनामा कम्तीमा चार कोठे घर, भए चार, नत्र दुई पाङ्ग्रे सवारीसाधन, कम्तीमा चार तोला सुनको प्रदर्शन, चारवटा एप चलाउन, ढङ्ग नपुगे पनि, आइफोन र महँगा एन्ड्रोइड मोबाइल सेटमा कम्तीमा दुई फरक कम्पनीका सिम कार्ड र जङ्कफूड उपभोगमा मस्त देखिन्छ यस्तो परिवार समूह। नेपालीले विभिन्न उत्सवका रूपमा मनाउने मौलिक चाडपर्वमा बाह्य संस्कृतिको मिसमासले नयाँ खिचडी पर्व निर्माण हुन पुगेको छ।

खिचडी चाडपर्व र संस्कृतिमा

रमेका नेपालीलाई उपभोक्तावादले सहजै प्रभावमा पारेको छ। अहिले नयाँ वर्ष, जन्मदिन, न्यू इयर इभ र वर्षमा कम्तीमा १२ वटा बर्थडे भोजमा सहभागी नभएको व्यक्ति अब अपवादमा मात्रै भेटिएला। धेरै चाडपर्व मनाउने हिन्दूहरूमा समेत बर्थडे केक नकाट्ने घर विरलै पाइएला। तिहारको सन्दर्भलाई उजागर गर्दा थप बुझिन्छ। तिहार पर्व विशेषगरी नेपाल र भारतका हिन्दू धर्मावलम्बीको चाड भनिए पनि हप्ता दिनसम्म विद्युत् शक्तिको भरपूर खपत गरिदिने झिलिमिली बत्तीका त्यान्द्रा, निधारमा लगाइने रङ, आदानप्रदान गरिने गिफ्ट, खाद्य–पेय पदार्थ, तासका पत्ती, बज्ने र नचाउने स्पिकर विदेशी बहुराष्ट्रिय कम्पनीका मालसामान हुन्। त्यसो हुँदा कथनीमा हाम्रो र करनीमा अर्काका भइसकेका छन् मौलिक चाडपर्व र संस्कृतिहरू। बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘नेपाल आमाको जय’ अङ्कित टी–सर्ट र फेटा गुथ्दै चर्का राष्ट्रवादका भजन गाइरहेछन् एकथरि मान्छे। भाङ्ग्रा र खेन्जा लगाउँदै विदेशी रक्सीमा नाचिरहेका छन् पहिचानवादीहरू। साम्राज्यवाद मुर्दाबादको चर्को नारा साउन्ड सिस्टममा भट्याइरहेका छन्, क्रान्तिकारीहरू। न्यूनतमवादी (किफायतवादी) संस्कृतिको अवलम्बन कुनै पनि वस्तुको स्तरीयतासँग सम्झौता नगरी विवेकपूर्ण, तर्कशील र किफायती ढङ्गले प्रयोगमा ल्याउने चिन्तनलाई ‘न्यूनतमवाद’ भनिन्छ। न्यूनतमवादीहरू सङ्ख्यामा होइन, स्तरीयतामा विश्वास राख्छन्। बाँच्नका लागि खान्छन्, खानका लागि बाँच्दैनन्। सन् १९१५ मा रूसी चित्रकार एवं कला सिद्धान्तकार काजिमिर मालेविचले सेतो पृष्ठभूमिमा कालो वर्गाकार चित्रण गरेर न्यूनतम रड्ढो प्रयोगले आफ्नो कला प्रस्तुत गर्न सकिने अवधारणा ल्याएसँगै कला क्षेत्रमा न्यूनतमवादको प्रादुर्भाव भएको थियो। दोस्रो विश्वयुद्धोत्तर कालखण्डको ६०–७० को दशकमा एकातिर अधिकतमवादी र उपभोक्तावादीको दबदबा हावी हुँदै थियो, अर्कोतिर अमेरिकी भूमिमैं न्यूनतमवादीहरू कला र जीवनशैलीसमेत किफायती संस्कृतिमा बनाउने अभ्यासमा लागेका थिए। स्केन्डिनेभियन मुलुकमा समेत प्रशस्त मात्रामा यस्तो अभ्यास भएको पाइन्छ। १८औं शताब्दीका फ्रान्सेली दार्शनिक डेनिस डिडरोट आर्थिक अभावबाट गुज्रेका थिए, तर रूसी धनाढ्य महिलाले उनको पुस्तकालय किनेपछि मनग्ये पैसा हात प–यो र शुरू भयो उनको नयाँ सरसामानप्रति मोह। उनको त्यस्तो मोहलाई मनोवैज्ञानिकहरूले ‘डिडेरोट इफेक्ट’ (परिवर्तित असर)का रूपमा वर्णन गरेका छन्। न्यूनतमवादी संस्कृति अनुसरण गर्न उक्त ‘डिडेरोट असर’बाट जोगिने उपायहरू सुझाइएका सामग्री इन्टरनेटमा प्रशस्त भेटिन्छ।

किफायती बन्नु र कन्जुस हुनु फरक प्रवृत्ति हो। यो संस्कृति निर्माण गर्नु प्राकृतिक स्रोतसाधनको दोहन र अतिक्रमण रोक्ने चेतको विकास र यही विचारको प्रवद्र्धनमा लाग्नु हो। यहाँ एउटा सन्दर्भ जोड्नु श्रेयस्कर लाग्यो। एकजना न्यूनतमवादी पत्रकार साथीले दुई वर्षको खाडी मुलुकको बसाइँमा एक टुक्रा कपडासमेत नकिनेको आफ्नो भोगाइ सुनाउँदा मैले सोधें–“तपाईंको मासिक तलब कति थियो ?” उनले खिसिक्क हाँसेर ‘डेढ लाख’ भन्दा अचम्ममा परेको थिएँ। बजारवादले केवल दुई थोक उत्पादन गरिदिएको छ, एक–किन्ने सामान (वस्तु) र दुई किनेर भोग्ने व्यक्ति (उपभोक्ता)। यसरी मानव ’मालकरण’ वा ‘वस्तुकरण’को प्रक्रियामा होमिएको छ। न्यूनतमवादी संस्कृतिले व्यक्तिको जीवनशैलीलाई विवेकी उपभोक्ता बनाउन र उपभोक्तावादविरुद्ध आन्दोलनमा सहायक भूमिका निर्वाह गर्न मदत गर्छ। तर बजारवाद र यसको मुख्य अवयवको रूपमा मौलाएको उपभोक्तावादी संस्कृतिलाई क्रमशः न्यूनीकरण गर्दै आमूल परिवर्तन गर्न मूलतः राजनीतिक व्यवस्थामैं धक्का नदिएसम्म बजारवादबाट मुक्ति सम्भव छैन। अतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खोलभित्र लुकेको दलाल पूँजीवादी व्यवस्था समाप्त गरेर वैज्ञानिक समाजवादी व्यवस्था बहाल गर्न जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here