– राजेश मिश्र

“ऊ जे केरवा जे फरेला घवद से,

ओह पर सुगा मेडाराए।

ऊ जे खबरी जनइबो आदित (सूर्य) से,

सुगा देलें जुठियाए।

ऊ (सूर्य) जे मरबो रे सुगवा धेनुक से,

सुगा गिरिहें मुरछाए।

ऊ जे सुगनी जे रोये ले वियोग से,

आदित होइँ ना सहाय,

देव होइँ ना सहाय…।”

सर्वप्रथम उपरोक्त गीतको कथा जानौं। व्रतालुको बारीमा केराको बोट थियो। छठ व्रतको लागि केरा राखिएको थियो। केराको झुप्रो वरिपरि एक सुगा मडारिन थाल्यो। व्रतालुले ती सुगालाई केरा टोकेर अशुद्ध गरेमा भगवान् सूर्यसँग गुनासो गर्ने र यस प्रकारको गलती माफीलायक पनि नहुने कुरा अवगत गराइन्। यद्यपि सुगाले केराको झुप्रोमा चुच्चोले टोक्यो। केरा जूठो ग–यो।

सुगाको हर्कतले व्रतालुको मन खिन्न भयो। मानसिकरूपमा खिन्न व्रतालुले सूर्य देवताको ध्यान गर्दै सुगाको हर्कत पोखिन्। अन्ततः सुगा सूर्यदेवको बाणले मूर्छित भयो। त्यसपछि ‘सुगनी’ अर्थात् सुगाकी पत्नी विलाप गर्न थालिन्। सूर्य देवतासँग करुणा जाहेर गर्न थालिन्। यसरी उपरोक्त संक्षिप्त भोजपुरी लोकगीतमा छठ पर्वको बृहत्त महत्व समाहित छ।

उपरोक्त गीतले छठ पर्वको महत्ता वर्णन गर्दछ। कुनै पनि प्रकारले अशुद्धता मान्य नहुने छठ पर्वमा त्यसो हुन गएमा वा गरेमा सूर्य देउताको क्रोधको भागीदार भइजाने आशयसहित सचेत गराइएको पाइन्छ। छठ पूजामा प्रयोग हुने प्राकृतिक उत्पादनहरूमध्ये केरा पनि एक हो। कालान्तरमा सुगाले टोकेर पूजन सामग्री (केरा) अशुद्ध गरेको प्रसङ्गलाई उद्धृत गरी व्रतालु महिलाहरूद्वारा उपरोक्त छठगीत सिर्जना भएको अनुमान लगाउन कठिन छैन।

छठ पूजामा प्रयोग हुने अनन्य कृषिजन्य प्राकृतिक सामग्री अशुद्ध गर्नु हुन्न भन्ने कुरा उपरोक्त गीतको भाष्य हो। छठ पर्वको महत्ता स्मरण गराउने उपरोक्त गीतझैं छठ पर्वको प्रसङ्ग वर्णन गर्नेे भोजपुरी र मैथिली भाषामा अनेकौं कर्णप्रिय पारम्परिक लोकगीतहरू छन्। सोहीमध्ये निम्न भोजपुरी गीत पनि एक हो।

काँच हिं बाँस के बहँगीया,

बहँगी चलकत जाए…।

बहँगी अर्थात् काँवरझैं डन्डीको दुवैतर्फ दौराको भार काँधको सहाराले छठघाट पु–याउने संसाधनलाई बहँगी भनिन्छ। अघिअघि बहँगी र पछिपछि गीत गाउँदै व्रतालुहरू छठघाटमा पुग्छन्। यो गीत साँझ र बिहानी पख घरदेखि छठघाट जाँदा व्रतालुहरूले समूहगतरूपमा पारम्परिक लोकगीत गाउँदै जान्छन्।

त्यसैगरी, एक अर्को गीतले छठी माता र व्रतालुबीचको सामीप्यता वर्णन गर्दछ। छठघाटमा पुग्ने बित्तिकै प्रथमतः जलाशयबाट जल ल्याएर ‘सिरसोता’ अर्थात्् छठी माताको प्रतिमूर्तिको पूजापाठ गरिन्छ। द्वितीय चरणमा जलाशयको किनारमा दीप प्रज्वलित गरी सूर्यदेवको पूजा गरिन्छ। त्यसपछि तेस्रो चरण छठी माताको आराधना गर्ने समय हो। अर्थात् सूर्य अस्त हुने बेलासम्म विभिन्न लोकगीतमार्फत निम्न गीतझैं अनेक गीतको माध्यमबाट छठी मातासँग सामीप्यता प्रकट गरिन्छ।

सेविले चरण तोहार,

हे छठी मैया।

महिमा तोहर अपार,

हे छठी मैया…।

चौथो चरणमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि कतै तुरुन्तै घर प्रस्थान गरिन्छ भने कतै केही समय अझ बसिन्छ। खासगरी कोशी भाकल गरेका व्रतालुजन अस्ताउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गरे लगत्तै घर प्रस्थान गर्छन्। किनभने उनीहरूले घरमा पुगी कोशी भर्ने कार्यमा जुट्नुपर्छ। कोशी दुई चरणमा भरिन्छ। पहिलो चरण सँझिया घाटबाट घर फर्केपछि र दोस्रो चरण मध्यरात्रिको बेला छठघाटमा ल्याइ पुनः कोशी भरिन्छ अर्थात् पूजापाठ गरिन्छ। ब्रह्म मुहूर्तमा नुहाइधुवाइ गरेर पुनः व्रतालुजनको छठघाटमा आगमन हुन थाल्छ। यसलाई ‘बिहनिया वा भोरिया घाट’ सम्बोधन गरिन्छ। बिहनिया घाटमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै चार दिवसीय छठ व्रतको समापन हुन्छ।     

छठ व्रतमा शुद्धाशुद्धी पहिलो र अनिवार्य शर्त हो। किञ्चित मात्र पनि अशुद्धताको गुञ्जाइश हुँदैन।

छठ पर्वको मिठास

भक्ति र अध्यात्मले भरिएको यस पर्वमा बाँसबाट बनेका दौरा, सुपुली, माटाका भाँडा, साठीको चामल तथा गहुँबाट बनेका ठेकुवाका साथै अनेक प्रकारका वनस्पति प्रयोग गरिन्छन्। यसका साथै कर्णप्रिय पारम्परिक लोकगीतहरूको गुञ्जले यस पर्वको मिठास व्यक्त हुन्छ।

प्रकृति, संस्कृति र जनआस्थाको महत्व बोकेको छठ पर्व स्थानीय रीतिरिवाज र परम्पराले भरिपूर्ण पर्व हो। यसको केन्द्रमा वेद र पुराणजस्ता धार्मिक ग्रन्थका साथै कृषि, किसान र ग्रामीण जनजीवन अनुभूत गर्न सकिन्छ। सनातन संस्कृतिको यो एक मात्र पर्व हो, जसमा पूजापाठको लागि पुरोहित आवश्यक पर्दैन।

लोपोन्मुख कन्दमूल

पुरातनकालमा छठ आर्थिक भार पर्ने खालको पर्व थिएन। किनभने पूजामा प्रयोग हुने कन्दमूल आदि स्थानीय उत्पादनमा आधारित थियो र छ। यद्यपि वर्तमान समयमा महँगीको भारका साथै कतिपय स्थानीय कन्दमूल लोपोन्मुख छन्। त्यस कारण लोपोन्मुख ती कन्दमूलहरूको मागको तुलनामा आपूर्ति कम त छँदैछ महँगीको असरले छठ पर्व महँगो हुन गएको हो। त्यसैगरी, जोसँग जुन पूजन सामग्री उपलब्ध हुन्छ, त्यो सामग्री एकले अर्कालाई स्वस्फूर्तरूपमा सहयोग गर्ने प्रचलनले छठ पर्वको महत्वलाई दर्शाउँछ।

जनसहभागिताको महापर्व

यस पर्वको लागि मानिसहरूले सामूहिक अभियान सञ्चालन गर्छन्। छठघाटको सरसफाइ, सिरसोताको निर्माण, भक्तजन आवतजावत गर्ने बाटोको व्यवस्थापन, पोखरी वा खोलाको किनारमा अघ्र्य दिने उचित व्यवस्था गर्न समाजले सरकारको सहयोग खोज्दैन। यस पर्वमा खरना मनाउनेदेखि अद्र्धदानसम्म समाजको अनिवार्य उपस्थिति रहन्छ। छठ पर्वको अवसरमा मानिसहरू आफ्नो दैनिक जीवनका कठिनाइहरू बिर्सन्छन्। सेवा र भक्तिको भावनामा समाहित हुन्छन्। यो पर्व जनसहभागिताको विशालता र भव्यता दर्शाउने महापर्व हो।

सृष्टिदाता

छठ पर्व मूलतः सनातन संस्कृतिको विशेष स्थान ओगटेको सूर्यको आराधनाको पर्व हो। हिन्दू धर्मका देवताहरूमध्ये सूर्य एक यस्तो देवता हुन्, जसलाई मूर्त रूपमा देख्न सकिन्छ। हिन्दू धर्मग्रन्थ अनुसार सूर्यको शक्तिको मुख्य स्रोत उनका पत्नी उषा र प्रत्युषा हुन्। छठमा सूर्यसँगै दुवै शक्तिको संयुक्तरूपमा पूजा गरिन्छ। सँझिया घाटमा अस्ताउँदो किरण ‘प्रत्युषा’ तथा बिहनिया/भोरिया घाटमा सूर्यको उदाउँदो किरण ‘उषा’लाई अघ्र्य अपर्ण गरी पूजा गर्ने प्रचलन छ। सूर्यको उपासना ऋग्वेदकालदेखि हुँदै आएको छ। अर्थात् यो पर्व विज्ञानको उदयभन्दा धेरै अघिदेखि हुँदै आइरहेको मान्यता छ।

सृष्टिको सञ्चालन सूर्यविना असम्भव रहेको विभिन्न धर्मग्रन्थहरूमा उल्लिखित कुरा वैज्ञानिक दृष्टिकोणले पनि अकाट्य तथ्य हो। त्यस कारणले सृष्टिका पालनहार सूर्यदेवको आराधना गर्ने सनातन संस्कृतिको महापर्व हो, छठ व्रत। विष्णु पुराण, भागवत पुराण, ब्रह्मवैवर्त पुराण आदिमा सूर्य र सूर्यको उपासनाको विस्तृत वर्णन गरिएको पाइन्छ। मध्यकालमा छठ सूर्यको आराधनाको व्यवस्थित पर्वको रूपमा स्थापित भयो, जुन अहिलेसम्म निरन्तर छ।

सृष्टि र पालनपोषणको शक्तिका कारण सभ्यताको विकाससँगै विभिन्न स्थानमा सूर्यको आराधना विभिन्न रूपमा शुरू भएपनि सूर्यलाई देवताको रूपमा पूजा गर्ने कुरा ऋग्वेदमा उल्लेख गरिएको पाइन्छ। यसपछि अन्य सबै वेदका साथै उपनिषद् आदि वैदिक ग्रन्थहरूमा यसको चर्चा प्रमुख रूपमा गरिएको पाइन्छ।

छठ पर्वको सन्देश

अस्ताउँदो र उदाउँदो सूर्यको पूजाले समाजमा ओरालिएका मानव भोलि नयाँ ऊर्जाका साथ उदाउँछन् भन्ने सन्देश प्रवाह गर्दछ। आज समाप्त भएको दिन भोलि फेरि बिहान उदय भएर आउँछ। सूर्य अस्ताउनु भनेको चन्द्रमालाई उदाउने मौका दिनु हो। सबैले आफ्नो अधिकार प्रयोग गरेर अरूलाई पनि उसको अधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने छठ पर्वले समाजमा गहिरो सन्देश प्रवाह गर्दछ। सृष्टिमा उदय–अस्त र अस्त–उदयको प्रवाहलाई कसैले रोक्न सक्दैन।

सनातन संस्कृतिका मान्य देवीदेउताहरूमध्ये मूर्त रूपमा देख्न सकिने सूर्यदेवको शक्तिलाई नमन गर्ने महापर्व छठको सबैमा शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here