- सञ्जय मित्र
आस्था अनेक किसिमले प्रकट हुन्छ । आस्था आफैंमा पृथक अनुभूति हो, अभिव्यक्ति हो र अभिव्यक्तिको संस्कार हो । यही अभिव्यक्तिको संस्कार नै कालान्तरमा संस्कृति बन्छ । हाम्रो समाजमा दुई किसिमका धार्मिक आस्था प्रतिविम्बित हुन्छन्– लौकिक र शास्त्रीय । लोकमान्यता नै पुरानो हुनुपर्छ किनभने कुनै पनि शास्त्रीय अभिव्यक्ति त्यति बेलादेखि प्रचलनमा आयो, जतिखेर मानिसले लेख्न सिक्यो । लेख्न नजानेको अवस्थामा कुनै पनि लिखित अभिव्यक्ति सम्भव हुँदैन । स्वाभाविक हो, कुनै पनि सामग्रीले लेख्य रूप पाउनुअघि कथ्यरूपमा व्याप्त हुन्छ ।
ऋग्वेदमा लेखिएको छ ः
म नो गोषु म नो अश्वेसु रीरिष (१/११४/८) । यसको अर्थ हुन्छ, हाम्रो गाई र घोडालाई नमार ।
यसबाट पनि दुई अर्थ केलाउन सकिन्छ । नमार भन्नुको तात्पर्य रक्षा गर हो तर कुन अवस्थामा गाई र घोडालाई नमार भनिएको होला ? के त्यति बेला गाई र घोडा भक्ष्य थिए ? अथवा अन्य प्रयोजनको लागि मारिन्थ्यो ? यजुर्वेदमा यो श्लोक पाइन्छ ः
इममूर्णायुं वरूणस्य नाभिं त्वचं पशूनां द्विपदां चतुष्पदाम्् ।
त्वष्टु प्रजानां प्रथमं जानिन्नमग्ने मा हिश्सी परमे व्योम ।। (१३/५०)
ऊनजस्तो केश भएको बाख्रा (बोका/खसी) ऊँट आदि चौपाया र पक्षीहरू आदि दोपायालाई नमार भन्ने भावार्थ रहेको छ, यस श्लोकको । यजुर्वेदको रचना वा विभाजन हुँदासम्म पनि कुनै न कुनै रूपमा विभिन्न पशु तथा चराहरूको वध गर्ने चलन थियो भन्ने कुरो यसबाट सङ्केत पाउन सकिन्छ । ऋग्वेदमा चराको बारेमा उल्लेख छैन तर यजुर्वेदमा भने यस प्रकारको उल्लेख पाउनुले सम्भवतः मासु खाने प्रवृत्ति बढेको अनुमान गर्न सकिन्छ ।
सामवेदमा पनि यसरी भनिएको छ–
न कि देवा इनीमसि न क्या योपयामसि । मन्त्रश्रुत्यं चरामसि ।। (२/७) अर्थात् देवताहरू, हामी हिंसा गर्दैनौं, न त यस्तो अनुष्ठान गर्छौं, वेद मन्त्रको आदेश अनुसार आचरण गर्छौं ।
अलिकति यतातिर सङ्केत गरेको हो कि समाजमा दुई प्रकृतिका मानिस थिए, जसमध्ये एकथरीले वेदको ऋचा र मन्त्रहरूको सहयोगले यज्ञ गर्थे र अर्कोथरीले यही रीतिका लागि बलि प्रदान गर्थे ।
भनिन्छ, श्रीमद्भागवत देवीमहापुराणले बलिप्रथाको पक्ष लिएको छ रे ।
बलिप्रथाको प्रचलन बढी मात्रामा हिन्दूको शाक्त र तान्त्रिक सम्प्रदायमा प्रचलनमा रहेको देखिन्छ । के भनिन्छ भने प्राचीनकालमा भगवतीले दुष्टहरूलाई अन्त्य गर्नको लागि विकराल रूप धारण गरेकी थिइन्, जसलाई कालीको नामले जानिन्छ । काली वा महाकाली यिनै हुन्, जसलाई हिन्दू धर्ममा एक प्रमुख देवीको रूपमा मानिएको छ । यसरी पनि भनिन्छ कि सुन्दरी रूपवाली भगवती पार्वतीको कालो र भयप्रद रूप हो, जसको उत्पत्ति असुरहरूको संहारको लागि भएको थियो । कालीलाई शाक्त परम्पराका दश महाविद्यामध्ये एक मानिएको छ । वैष्णोदेवीमा दायाँ पिंढी माता महाकालीको रहेको मानिएको छ । मुख्यगरी भारतको बङ्गाल, उडिसा तथा असम क्षेत्रमा महाकालीको पूजा अनादिकालदेखि गरिंदै आएको पाइन्छ र बिस्तारै अन्य क्षेत्रमा पनि विस्तार भएको पाइन्छ । नेपालमा पनि दक्षिणकालीको पूजा शाक्त सम्प्रदायले अनादिकालदेखि गर्दै आएको पाइन्छ र बिस्तारै अन्य सम्प्रदायमा पनि पूजाको प्रचलन विस्तार भएको देखिन्छ ।
हुनत हिन्दू समुदायमा प्रचलनमा रहेको बलिप्रथाको सबैतिर विरोध गरिएको पाइन्छ । अन्य धर्म तथा सम्प्रदायमा पनि बलिप्रथा हुँदै नभएको चाहिं पक्कै होइन । फरक स्वरूपमा बलिप्रथा अन्य सम्प्रदाय तथा समुदाय र धर्ममा रहेको पाइन्छ । समाचारहरूमा के पाइन्छ भने फरक प्रकृतिले भएपनि साउदी अरब, नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, चीन, मङ्गोलिया, बङ्गलादेश, भुटान, पाकिस्तान, थाइल्यान्ड आदि देशमा बलिप्रथा प्रचलनमा रहेको पाइन्छ ।
तान्त्रिक सम्प्रदायमा बलिप्रथाको पछाडि शक्ति प्राप्त गर्ने चाहना प्रतिविम्बित हुन्छ । जादु, मन्त्र, तन्त्र, टुनामुना गरेर वा मन्त्रतन्त्रद्वारा आफ्नो स्वार्थ सिद्ध गर्न वा अरूलाई नोक्सान पु¥याउन शैव, शाक्त र तान्त्रिक सम्प्रदायमा यस्तो प्रचलन निकै पुरानो मानिन्छ । कतिपय अवस्थामा आजभोलि ज्योतिषहरूले पनि तान्त्रिक टोटका तथा उपायहरू बताउन थालेका छन् । ग्रह–नक्षत्र पूजा, वशीकरण, सम्मोहन, मारण, ताबिज, काला जादु आदि विद्या स्थानीय वा लोकपरम्पराको एउटा हिस्साको रूपमा समाजमा प्रचलनमा रहेको देखिन्छ । हुनत अथर्ववेदमा यस प्रकारको विद्यालाई यो भनेर दर्शाइएको छ कि यो वेदविरुद्ध छ । अथर्ववेदको लक्ष्य सर्वसाधारणलाई स्वस्थ राख्नु पनि हो, जीवनलाई सरल बनाउनु र ब्रह्माण्डको रहस्यसित अवगत गराउनु पनि हो । जादु तथा टुनामुनाले व्यक्ति र समाजको अहित गर्छ र सामाजिक एकतामा विग्रह आउँछ । यसरी गर्नेलाई समाजले पहिलेदेखि नै नकारात्मकरूपमा हेर्दै आएको छ । अथर्ववेदको यो भनाइ निकै घतलाग्दो छ, जुन घरमा मूर्खहरूको पूजा हुँदैन, जहाँ विद्वान्हरूको अपमान हुँदैन र विद्वान् तथा सन्तहरूको उचित सम्मान हुन्छ, त्यहाँ समृद्धि र शान्ति हुन्छ । यसरी कर्मप्रधान सफल जीवन बाँच्नको लागि शिक्षा अथर्ववेदले दिन्छ ।
कतिपयले हिन्दू धर्ममा मूर्ति पूजाको प्रचलन भएपछि बलिप्रथाको प्रचलन बढेको अनुमान गरेका छन् । मूर्तिपूजाको प्रचलन कहिलेदेखि भयो त ? यस प्रश्नको उत्तर सहज छैन । हिन्दू धर्ममा यो प्रचलन निकै पुरानो छ । प्राचीनकालदेखि नै हिन्दू धर्मावलम्बीले मूर्तिपूजा गर्दै आएका छन् । पहिले यो लोकपरम्परा थियो । मुख्यरूपमा शैव, शाक्त, नाथ, नाग आदि द्रविड सम्प्रदायमा मूर्तिपूजाको प्रचलन आदिकालदेखि नै रहेको पाइन्छ । सबैभन्दा पहिले मानिसहरूले नाग तथा यक्षको पूजा मूर्ति बनाएर गर्थे भन्ने उल्लेख पाइन्छ । रामायण तथा महाभारत कालमा मूर्तिपूजाको चलन भइसकेको थियो । त्यस युगमा शिवलिङ्ग, विष्णु तथा दुर्गाको मूर्ति बनाएर पूजा गरिन्थ्यो । पुराणहरूको रचना भएसँगै मूर्तिपूजाको प्रचलनले एकातिर औपचारिकता पायो भने अर्कोतिर विस्तार पनि पाउँदै गयो । जैन तथा बौद्ध कालमा मूर्तिपूजाले व्यापकता पाएको मानिन्छ । र अहिले पनि जति पनि बलि दिने काम गरिन्छ, त्यसमा मूर्तिपूजाको ठूलो व्यापकता रहेको देखिन्छ । देवीदेवताको मूर्तिअगाडि नै बलि दिइएको पाइन्छ ।
हुनत कतिपय लोकदेवताको पूजामा मूर्ति नभए पनि बलि दिइन्छ । कतिपय समुदायमा प्रचलित लोकदेवताको जोडा पूजा हुँदा देवताको मूर्ति नबनाए पनि देवताको नाममा बलि दिने चलन रहेको छ । यसबाट यो पनि अलिकति अनुमान लगाउन सकिन्छ कि सम्भवतः मूर्तिपूजाको चलन चल्नुअघि अर्थात् मानिसले देवतालाई मूर्तरूपमा काठ, माटो, प्रस्तरको स्वरूप बनाउनुअघि नै देवताको नाममा बलि दिने परम्परा रहेको थियो कि ?
कतिपयले वेदमा पनि यस प्रकारको सङ्केत रहेको बताउने गरेका छन् । वेद रचना भएको समयमा समाजमा बलि दिएर वा नदिएर मासु खाने प्रचलन रहेको पनि दाबी गर्ने गरेका छन् । यद्यपि यसको प्रमाण दिने गरेका छैनन् ।
वैदिक जीवन अपनाउनेले बलिप्रथाको वा मासु खाने प्रथाको विरोध गरे पनि मनुस्मृतिमा भने यस प्रकारका श्लोकहरू पञ्चोध्यायमा पाइन्छन् ः
यज्ञार्थ पशवः सृष्टाः स्वयमेव स्वंभुवा ।
यज्ञस्य भूत्यै सर्वस्य तस्माद्यज्ञे वधोऽवधः ।। ३९।।
यसको भावार्थ यो हो कि ब्रह्माजीले आफ्नो र अन्य यज्ञको सिद्धिको लागि पशुलाई बनाएका छन्, यसैले यज्ञमा पशुवधलाई हिंसा मानिंदैन ।
अर्को श्लोक यस्तो छ–
यज्ञाय जग्धिर्मासस्येत्येष दैवो विधिः स्मृतः ।
अतोऽन्यथा प्रवृत्तिस्तु राक्षसो विधिरूच्यते ।।३१।।
अर्थात् यज्ञको लागि मासु खानु दैवविधि मानिएको छ तथा शरीरपुष्टिको लागि मासु खानु राक्षसविधि मानिएको छ ।
मनुस्मृतिमा अरू पनि यस्ता श्लोकहरू रहेका छन्, जसले यो सिद्ध हुन्छ कि यज्ञमा मासुको सन्दर्भ आउँछ र यसले बलिलाई सङ्केत गरेको हुनुपर्छ । यज्ञमा पशुवध भनेको यही बलिलाई पो भनेको हो कि ?
समाजमा निकै पहिलेदेखि बलिको विषयमा मतमतान्तर रहेको देखिन्छ । यसरी लौकिक जीवनमा निकै पहिलेदेखि विभिन्न किसिमले बलि दिने चलनलाई अपनाएको देखिन्छ र शास्त्रीय पद्धतिमा कतिपय शास्त्रले पूर्ण वर्जित गरेका छन् भने कतिपय शास्त्रले भने बलिप्रथालाई बल दिने किसिमको तर्कलाई बल दिएका छन् । फेरि पनि लौकिक जीवनमा धेरै उत्सवहरूमा पशुवध गरी सामूहिक भोज वा भोजन वा प्रसादको प्रयोजन हुने गरेको अद्यपर्यन्तको सामाजिक आधार रहेको देख्न सकिन्छ ।