- सञ्जय मित्र
मकवानपुरबाट प्रकाशित लोकभावना वैचारिक तथा साहित्यिक त्रैमासिक पत्रिकाको ६१औं अङ्क लघुकथा विशेषाङ्कको रूपमा प्रकाशित छ । यसमा करीब पाँच दर्जन लघुकथाकारका दुई/दुई वटा लघुकथाहरू प्रकाशित छन् । यिनै कथाकारहरूमध्ये केही भारतका पनि छन् । यस विशेषाङ्कमा सञ्जीव निगम, राजेन्द्र परदेशी, कुञ्जदेवी उपाध्याय, गीताश्री शर्मा, अम्बिका अश्रु, देवीचरण सेढाईं, मिलन बोहरा तथा हन्नाह क्षेत्रीका लघुकथाहरू प्रकाशित छन् ।
सञ्जीव निगमको लघुकथालाई अनुपमा कट्टेलले अनुवाद गरेकी छन् । लघुकथाको शीर्षक हो– सरकारी नटुवाको बोध । एकजना सरकारी कर्मचारीले आफूलाई चटक देखाएर वा यस्तै पेशा अपनाएर गुजारा गर्ने गरेको जस्तै दृश्य देखेर आफू पनि त्यस्तै नटुवा भएको बोध गरेको कथा छ । यसैगरी, कट्टेलले नै हिन्दी भाषाबाट अनुवाद गरेको लघुकथा हो– साप्ताहिक अवकाश । यस लघुकथाका मूल लेखक हुन्– राजेन्द्र परदेशी । यस लघुकथामा सरकारी कर्मचारीलाई हप्तामा एक दिन बिदा हुने गरेको तर अन्य श्रमिकलाई छुट्टी हुने नगरेको बताइएको छ । एकजना रिक्शाचालकले सरकारी कर्मचारीले रिक्शा लैजानलाई भन्दा उनी आफू एकछिनको लागि छुट्टीमा बसेको बताउँछन् र यही कुरामा सरकारी कर्मचारी पात्र सहमत हुन्छन् ।
कुञ्जदेवी उपाध्यायको लघुकथाको शीर्षक हो– मुखौटो । घरमा पत्नीप्रति नराम्रो व्यवहार गर्ने तथा छोरी जन्माएकोमा अत्याचार गर्ने पुरुषले नारी दिवसमा नारी सम्मानको पक्षमा भाषण गरिरहेको देखाइएको छ । यसबाट पुरुषको नारीवादी मुखौटो उघारिएको स्पष्ट भएको छ । अर्को लघुकथाको शीर्षक हो– अन्धविश्वास । यस लघुकथामा गाउँसमाजमा विद्यमान अन्धविश्वासको पनि निरीक्षण हुनुपर्ने बताइएको छ ।
गीताश्री शर्माको पहिलो लघुकथा हो– आमाको मन । यो लघुकथा निकै घतलाग्दो छ । ‘छ पैसा सबै मेरा, छैन पैसा कोही छैन मेरा’ भन्ने प्रवृत्तिलाई यसमा देखाइएको छ । आमालाई पैसाको लागि सेवा गर्ने स्वार्थी प्रवृत्तिको पर्दाफाश यसमा गरिएको छ । अर्को कथा हो सपना– लघुकथाभन्दा पनि कथाको विषयवस्तु भएको यस लघुकथाको कथानक ठूलो रहेको छ । जसको कोही हुँदैन, उसको भगवान् हुन्छ भन्ने उखानलाई यस लघुकथाले चरितार्थ पारेको छ ।
अहिले धेरै मानिसमा ‘मुखमा राम राम बगलीमा छुरा’ प्रवृत्ति देखिएको छ । लघुकथाकार जीविका अश्रुको लघुकथा ‘दुईगोडे स्याल’ले यही प्रवृत्तिको चिरफार गर्छ । फेसबूकमा मित्रता भएको र एउटा साहित्यिक कार्यक्रममा भेटघाट भएको बुद्धिजीवीले म पात्रको घरसम्म छोड्न जाँदा उसैप्रति कामुक दृष्टिले हेरेको र उस्तै शब्दहरू प्रयोग गरेकाले म पात्रले दुईगोडे स्यालरूपी धूर्तलाई लखेट्न उपाय गरेको बताइएको छ । ‘मीठो कल्पना’ लघुकथामा म पात्र यात्रा गर्दा कुनै पुरुषको सान्निध्य पाएको सपनामा देखेकी छ तर जब निद्रा खुल्छ, तब एकजना वृद्ध महिलाको जीउमा ढल्केको पाउँछ । पुरुषको जीउमा ढल्केको कल्पनालाई मीठो कल्पना बताइएको छ ।
देवीचरण सेढाईंको पहिलो लघुकथा हो– मृत्युदूत । यात्रा गर्दा हावाहुरी चलेको र सोही बखतमा पहाडबाट एउटा ढुङ्गो झरेर गाडीमा लागेको जसले गर्दा केही मानिसको मृत्यु भएको र धेरै मानिस घाइते भएको विषयवस्तु यसमा रहेको छ । त्यही हावाहुरीलाई मृत्युदूतकोे संज्ञा यसमा दिइएको छ । सेढाईंको अर्को लघुकथा हो– दागबत्ती । सानैमा टुहुरो भएको बालकले निकै सङ्घर्ष गरेर सम्पत्ति आर्जन गरी मानसम्मान पनि कमाएको थियो । संसारमा कोही पनि नभएको एक महिलाको मृत्यु हुन्छ । उनको दागबत्ती दिने कोही नहुँदा सबैतिर चासोको विषय भइरहेको अवस्थामा पहिलेको टुहुरो युवकले नै यो सम्मान प्रदान गर्छ । शुरूमैं दर्शनको प्रयोग यस लघुकथामा भएको छ ।
मिलन बोहोरा चर्चित साहित्यकार हुन् । आख्यानको क्षेत्रमा झन् चर्चित बोहोराको पहिलो लघुकथा हो– मौन रहस्य । इच्छाविपरीत रूपाको विवाह रूपकसित हुन्छ । रूपक दिनहँु केटी फेरिरहने धनी युवक हो । रूपाको छोरो जन्मिएपछि रूपकले अर्कोसित बिहे गरी एक दिन अस्पताल जचाउन जाँदा चिकित्सकले सबै परीक्षण गरी रूपक बुबा बन्न सक्ने सामथ्र्य नै नभएको नतीजा सुनाउँछ । उता रूपाबाट जन्मेको छोरोप्रति शङ्का हुन्छ । फेरि आफ्नो उत्तराधिकारी पनि चाहिएको छ । कथाकारले रूपाले जन्माएको छोरो पूवप्रेमीको भएको रहस्यबाट पर्दा उघारिदिएका छन् । बोहोराको अर्को लघुकथा हो– समयको खेल । पहिले घृणा गर्ने र झगडा भएको मानिसले नै रगत चाहिएको बेलामा रगत दिएर मृत्युको मुखबाट जोगाइदिएको विषयवस्तु यसमा रहेको छ ।
हन्नाह क्षेत्रीका दुई लघुकथामध्ये पहिलो हो– भदौरे झरी । भदौमा फेरि एक दिन झरी परेको र त्यस झरीले फेरि कुनै परिवारमा रुवाबासी ल्याउने कुरा म पात्रको मनमा परेको छ । झरीको आवाजबाट जोगिन झ्याल बन्द गरेको भएपनि आउन नछोडेको दर्शाइएको छ । अर्को लघुकथा हो– सेतो कपाल । आमाको फुलेको सेतो कपालसँगै लामो इतिहास रहेको र आफ्नो पनि कपाल सेतो भएर फुल्न थालेको सन्दर्भलाई आमाले आशीर्वादको दृष्टिले हेर्नुपर्ने आग्रह यसमा रहेको छ । विषम परिस्थितिलाई पनि आमाले आशीर्वादको मोड ल्याउने कुरा यसमा वर्णन गरिएको छ । संवादबाट शुरू भएर संवादैमा समापन भएको यस लघुकथाको कथानक, उत्थान, सङ्घर्ष तथा उद्देश्य र पात्रको प्रवृत्ति संवादमैं आएको छ ।
भारतीय लघुकथाकारका यस विशेषाङ्कमा प्रकाशित रचनाहरूको आधारमा भन्नुपर्दा भारतीय लघुकथाको कथानक लामो हुने गरेको तथा लघुकथाको भन्दा कथाको कथानक पाइन्छ । नेपालमा नेपाली लघुकथाले जुन शैली अपनाइसकेको छ, त्यसभन्दा अलिक फरक पुरानै कथ्यशैलीमा भारतीय लघुकथाहरू रहेका छन् । अधिकांश लघुकथाको स्वरूप कथाको संक्षिप्त रूप जस्तो भएको देखिएको छ । लघुकथालाई कथाबाट फरक छुट्याउने जुन आधारहरू रहेका छन्, ती तŒवहरूको केही अभाव रहेको भारतीय लघुकथामा वर्णनात्मकताको सघनता रहेको देखिन्छ ।
यस विशेषाङ्कको आधारमा भन्नुपर्दा भारतीय नेपाली लघुकथाको क्षेत्रमा नारी सर्जकको उपस्थिति सम्मानजनक देखिन्छ । लघुकथामा नारी विषय पनि सबैभन्दा बढी आएको छ । सामाजिक विषयवस्तुमा भारतमा बढी कथाहरू लेखिने गरेको यसबाट पुष्टि हुन आउँछ ।
लोकभावनाको यो अङ्कमा विभिन्न प्रवृत्तिका र विभिन्न भूगोलका नेपाली लघुकथाहरूको अध्ययन गर्ने अवसर रहेको छ । यसबाट समग्र नेपाली लघुकथाको प्रवृत्ति, विषयवस्तु तथा लेखनशैली आदिबारे सजिलै बुझ्न सकिन्छ । नेपाली साहित्यमा अत्यन्त शक्तिशाली भएर देखा परिरहेको लघुकथाको वर्तमानबारे बुझ्न यो विशेषाङ्क विशेष उपयोगी हुने देखिएको छ । यस पत्रिकाका प्रकाशक/सम्पादक नानीमैया अधिकारीले लघुकथाका पाठक तथा विश्लेषकलाई यस अङ्कमार्फत एउटा अवसर प्रदान गरेकी छन् । यस अर्थमा पनि पत्रिकै भएपनि यो अङ्क विशेष बन्न पुगेको छ र यो अङ्क लघुकथाका पारखीहरूका लागि सङ्ग्रहणीय बन्न पुगेको देखिएको छ ।