- विश्वराज अधिकारी
नेपाल अहिले शोकमा डुबेको छ । हुनत नेपाल शोकमा डुब्ने क्रम २०५२ सालदेखि नै प्रारम्भ भएको हो । माओवादीको तथाकथित जनयुद्धकालमा, जुन अहिले पद–पैसा युद्धमा रूपान्तरित भएको छ, नेपालीहरू शोकमा डुब्नु दैनिकीजस्तै थियो । माओवादी लडाकू पक्षका हुन् वा सुरक्षा कर्मचारीतर्फका, दोहरो द्वन्द्वमा जो मरे पनि शोक त नेपालीलाई नै पथ्र्याे । माओवादीका केही सीमित नेताहरूलाई शक्ति र सत्तामा पुर्याउन सोझासाझा युवा–युवतीहरूलाई माओवादी योद्धा बनाएर, उनीहरूलाई उपयोग गरेर, मच्चाइएको अति विध्वंसकारी त्यो अर्थहीन सङ्घर्षले लाखौं नेपालीलाई लाखौंपटक शोकमा डुबायो । बाँदरमुढाको घटना वा सैनिक ब्यारेकमा भएको हमला वा प्रहरी चौकीमा भएको आक्रमण होस्, सोझासाझा माओवादी लडाकूहरू मारिएका हुन् वा राज्यले दिएको जिम्मवारी पूरा गर्दा मारिएका सुरक्षाकर्मीहरू हुन्, यस्ता अनेक घटनाले नेपालीहरूलाई निकै रूआयो । अनेकौंपटक नेपालीहरू शोकमा डुबे ।
अहिले यो पछिल्लो घटनाले नेपालीहरूलाई पुनः रूआएको छ, तर अर्कै किसिमबाट । केही दिन पहिले (अक्टोबर ७, २०२३) हमासले इजरायलमा गरेको आक्रमणमा परी एक दर्जनभन्दा बढी नेपालीको ज्यान गएको छ । केही दिन पहिले हमासले इजरायलको तेल अविव, जेरूसलमलगायत अन्य क्षेत्रमा गरेको आक्रमणमा परी इजरायलमा लगभग एक हजार व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । गाजा क्षेत्रबाट हमासले इजरायलतर्फ छाडेका पाँच हजारभन्दा बढी रकेटले हजारौंको ज्यान लिएको हो । हमासको त्यो हमलामा नै नेपालीहरू मारिएका हुन् । अध्ययन र रोजगारको क्रममा इजरायल गएका नेपालीहरूको इजरायलमा, इजरायल र हमासको दोहोरो भीडन्तमा यसरी विदेशी भूमिमा ज्यान गएको छ । अहिले पनि केही नेपाली सम्पर्कविहीन छन् । हताहती कति भयो भन्ने सङ्ख्या पछि यकीन भएपछि मात्र इजरायलमा कतिजना नेपालीको मृत्यु भयो भन्न सकिने स्थिति छ । ३०० भन्दा बढी नेपाली अहिले इजरायलबाट फर्कने मनस्थितिमा छन् ।
रोजगारका लागि विदेश पुगेका नेपालीहरूको स्थानीय गृहयुद्ध, सङ्घर्ष वा द्वन्द्वमा परी यसरी ज्यान गएको यो पहिलोपटक भने होइन । यति ठूलो सङ्ख्यामा ज्यान गएको पनि पहिलो घटना होइन । रोजगारका लागि विदेश पुगेका नेपालीहरूको इजरायलमा जति बीभत्स किसिमले हत्या (रकेट प्रहारबाट) भयो त्योभन्दा बीभत्स किसिमले रोजगारका लागि विदेश पुगेका नेपालीहरूको इराकमा हत्या भएको थियो । सन् २००४ मा इराकको आतङ्कवादी समूह ‘अन्सार अल–सुन्नाका बन्दूकधारीहरूले १२ जना नेपालीको अति नै बीभत्स एवं हृदयहीन तरीकाले हत्या गरेका थिए । ती बन्दूकधारीहरूले १२ जना निर्दाेष नेपालीलाई जनसमूह अगाडि ल्याएर हत्या गरेका थिए । हत्या गरेको दृश्यसमेत ती त्रूmर हत्याराहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । एकजना नेपालीको हत्या चक्कूले घाँटी रेटेर गरेका थिए भने एघारजनालाई गोली हानेका थिए । यो हत्या सुनियोजित एवं योजनाबद्ध रहेको ती बन्दूकधारीहरूले भनेका थिए र त्यस्तो पश्चिमी देशका नेताहरूलाई देखाउन गरिएको हो पनि भनेका थिए ।
विदेशीहरू इराकी भूमिमा पसेर पश्चिमा देशहरूको सहयोग गरेको र इराकीहरूलाई मार्ने उद्योग गरेको हुनाले ती हत्यारा (विदेशीका सहयोगी) हरूलाई भगवानले दण्ड दिएको (हत्या गरेको) भनेका थिए । आफूहरूले केवल ईश्वरको आदेश पालना गरेको भनेका थिए ।
अब यो लेखको आशय के हो त्यो उल्लेख गर्न चाहन्छु । नेपालमा अहिले जुन किसिमले वैदेशिक रोजगारलाई सजिलो र सुरक्षित ठानिएको छ, त्यति सजिलो र सुरक्षित छैन । वैदेशिक रोजगार दिनानुदिन कठिन र असुरक्षित हुँदै गएको छ । यी कुराहरू गम्भीरतापूर्वक आम पाठक एवं पाठकहरूमार्फत वैदेशिक रोजगारमा जान इच्कुक व्यक्ति एवं तिनका परिवारका सदस्यहरूलाई सूचित गर्नु नै यो लेखको आशय हो ।
पुटिनको सत्ता र शक्ति जहिले पनि आफ्नो हातमा राख्ने महत्वाकाङ्क्षाले गर्दा विश्वभरि द्वन्द्व र सङ्घर्ष विस्तार हुन पुगेको छ । अहिले विश्व दुर्ई खेमामा विभाजित भएको छ । हुनत यसरी विभाजित भएको यो पहिलोपटक भने होइन । शीतयुद्धकालमा पनि विश्व यसरी नै विभाजित भएको थियो । तर अहिले त्यो विभाजन विश्वभरि आतङ्क मच्चाउने किसिमले भएको छ । अहिले विश्व अमेरिका पक्षधर र अमेरिकाविरोधी गरी दुर्ई पक्षमा विभाजित छ । युरोपियन युनियनका राष्ट्रहरू, भारत, साउदी अरेबियाजस्ता राष्ट्रले आफूलाई अमेरिकाको पक्षमा उभ्याएका छन् भने चीन, इरान, सिरिया, क्युबा, भेनेजुएला जस्ता राष्ट्र रूसको पक्षमा उभिएका छन् । र रूस अहिले विश्वभरि आतङ्क विस्तारमा लागेको छ । यस आरोपको पहिलो उदाहरण हो, एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र युक्रेनमा आक्रमण गर्नु । युक्रेनमा रूसले आक्रमण गरेको होइन, भ्लादिमिर पुटिनले गरेका हुन् ।
अब, यसरी बदलिएको परिस्थितिमा रोजगारको लागि विदेश जानु पूर्व नेपालीहरूले धेरै कुरामा विचार गर्नु आवश्यक छ ।
वैदेशिक रोजगारमा जानुभन्दा पहिले आफू जाने देशको राजनीतिक स्थिति थाहा पाउनु आवश्यक हुन्छ । युक्रेन, सिरिया, सोमालिया, लेबनान, इजराइल, बर्मा, सुडान, लिबिया, यमन यस्ता देश हुन् जहाँ अनवरत सङ्घर्ष, द्वन्द्व एवं गृहयुद्ध भइरहेका छन् । त्यस्ता देशमा रोजगारका लागि जानु भनेको ठूलो जोखिम उठाउनु हो । त्यसकारण यस्ता देशमा जानुपूर्व त्यहाँ जान उचित छ कि छैन भनी सयौंपटक सोच्न, सरसल्लाह गर्न र अनेक जानकारी सङ्कलन गर्न आवश्यक हुन्छ । नेपालका ‘म्यान पावर कम्पनी’हरूले रोजगार उपलब्ध भएका देशहरूको सुरक्षा स्थितिबारे राम्रो जानकारी राखेका हुँदैनन् । कतिले त थाहा पाएर पनि भन्दैनन् र नाफाका लागि कामदारहरूलाई अति जोखिम क्षेत्रमा, देशमा जान उत्साहित र प्रोत्साहित गर्छन् ।
रोजगारको लागि कस्तो देशमा जान थालेको हो भनी नेपाली युवाहरूले थाहा पाउन अति आवश्यक छ । विदेशी भूमिमा पुगेर, कस्तो मौसम एवं कानूनी वातावरणमा काम गर्नुपर्छ, त्यो पनि थाहा पाउन उत्तिकै आवश्यक छ । काम गर्ने तरीका नजानेर तथा मौसमको प्रतिकूलताका कारण अरबतिर काम गर्न गएका नेपालीहरू हजारौंको सङ्ख्यामा बिरामी परेका वा उनीहरूको मृत्यु भएको खबर सुनिएकै हो ।
जोखिमपूर्ण काम गर्दा, दुर्घटनामा परेर, उचित किसिमले काम गर्न नजानेर पनि रोजगारका लागि विदेशी भूमिमा पुगेका हजारौं नेपालीको ज्यान गएको छ । र त्यसरी ज्यान जाने क्रम जारी छ । विदेशबाट बाकसमा बन्द भएर नेपालीहरूको लाश आउने क्रम र सङ्ख्यामा कुनै कमी आएको छैन । तर अफसोच १ यदि हुँदा पनि नेपालीहरू रोजगारको लगि विदेश जाने क्रम रोकिएको छैन । वैदेशिक रोजगारप्रति नेपालीहरूमा विकर्षण उत्पन्न हुन सकेको छैन । नेपालमा नै रहेर रोजगारको अवसर खोज्ने प्रवृत्ति नेपालीहरूमा उत्पन्न हुन सकेको छैन । द्वन्द्वग्रस्त, सङ्घर्ष, दोहोरो भीडन्त भइरहने देशमा समेत नेपालीहरू रोजगारका लागि जाने क्रम जारी छ ।
सबैभन्दा उत्तम कुरा त रोजगारका लागि बाध्य भएर विदेश जानुपर्ने स्थिति नै नहोस् । देशभित्रै रोजगार उपलब्ध होस् । स्वार्थी नेताहरूले यो कुरा बुझिदिएर, विदेशी भूमिमा नेपाली कामदारहरूको मृत्यु हुँदा गोहीको आँसु चुहाउनुभन्दा देशभित्र रोजगार सृजना हुने वातावरण निर्माण गरिदिए हुन्थ्यो ।
सबै दलका नेताहरू, मुख्यगरी नेपाली राजनीतिका लागि बोझ बनेका नेताहरू जस्तै शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल आदिले मतभेद त्यागेर, मिलेर, देशमा आर्थिक विकास गरे धेरै रोजगार सृजना हुने थियो । नेपालीहरूले स्वदेशमा, आफ्नै मातृभूमिमा नै बस्न पाउँथे । यसरी चराजस्तो झुन्डझुन्डा बनाएर नेपालीहरू रोजगारका लागि विदेशी आकाशतर्फ उड्नुपर्थेन । विदेशी भूमिमा मर्नुपर्थेन ।
रोजगारका लागि विदेश पुगेका नेपालीहरूको हत्या हुनु र हत्या हुने क्रम जारी नै रहनु सामान्य होइन । अति असामान्य एवं दुःखदायी कुरा हो । तर शक्ति र सत्ताका लागि सदा षड्यन्त्र गर्ने हाम्रा लोभी–स्वार्थी नेताहरूले रोजगारका लागि विदेश पुगेका नेपालीहरूको हत्या हुनुलाई सामान्य रूपमा लिएका छन् । यसरी विदेशी भूमिमा मारिएका नेपालीहरूको आत्माले ती स्वार्थी नेताहरूलाई श्राप दिनेछ जसको कारण नेपालमा आर्थिक विकास हुन सकिरहेको छैन । नेपालीमा रोजगार सृजना हुन सकिरहेको छैन ।
हाम्रा स्वार्थी नेताहरूले कहिले सुन्ने हुन् विदेशी भूमिमा रोजगारको लागि पुगेका नेपालीहरूको आर्तनाद ?
२०५२ सालदेखि नेपालको राजनीतिलाई अस्थिर पार्ने, आर्थिक विकासमा सदा बाधक बन्ने पुष्पकमलले कहिले सुन्ने हुन् नेपालीहरूको चित्कार ?