• विश्वराज अधिकारी

आफ्नो देशको आर्थिक हितका लागि विदेशको भ्रमण गर्ने सोच हाम्रा नेताहरूमा रहेको पाइँदैन । दुई देशबीचको सम्बन्धलाई झनै बलियो पार्ने र भ्रमण गरिने देशमा व्यापार विस्तार गर्ने उद्देश्यलाई सर्वाधिक महत्व दिएर हाम्रा नेताहरूले विदेशी राष्ट्रहरूको भ्रमण गरेको पाइँदैन । नेताहरूको विदेश भ्रमणको इतिहासले यस्तै भन्छ ।

सरकारी खर्चमा देश–देशावर घुम्ने स्वार्थपूर्ण उद्देश्यका साथ हाम्रा नेताहरू विदेशतिर लागेको पाइन्छ । तर कागजमा भने सरकारी कामले, कुनै विशेष सम्मेलनमा भाग लिन विदेशतर्फ लागेको देखाउन हाम्रा नेताहरू कहिले चुक्दैनन् । अनेक बहाना खोजेर विदेश पुग्छन्, महँगो होटलमा बस्छन्, अनेक शहर अवलोकन गर्छन्, भत्ता पकाउँछन् अनि स्वदेश फर्कन्छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुग्नु पनि त्यस्तै हो । न आर्थिक, न राजनीतिक, कुनै उद्देश्यका साथ पनि दाहाल अहिले चीन जानु उपयुक्त थिएन ।

हाम्रा नेताहरू विदेश भ्रमणमा जाने र मुख्यगरी चीन एवं भारत जाने भित्री कारण भने नितान्त पृथक छ एवं रोचक पनि छ । खासगरी प्रधानमन्त्री पदमा आसीन भएपछि हाम्रा नेताहरू भारत भ्रमणमा जाने एउटा परम्परा नै बसेको जस्तो छ । तर उराँठलाग्दो कुरा के छ भने विगतमा जति पनि प्रमहरू नेपालबाट विदेशतिर, मुख्यगरी भारत गए, आफ्नो र आफ्नो दलको मात्र स्वार्थका लागि गए । भारतीय प्रशासनबाट आशीर्वाद लिन गए । प्रमको कुर्सीमा आफ्नो बसाइ लम्ब्याउन गए ।

२०४६–४७ सालमा नेपालमा राजनीतिक परिवर्तन भएपछि, नेपालको प्रम नियुक्त भएपछि, भारत भ्रमणमा निस्केका कृष्णप्रसाद भट्टाराई आफ्नो दल, नेपाली काङ्ग्रेसको हितका लागि भारत भ्रमणमा गएका थिए । हुनत सन्त प्रकृतिका भट्टराई आफ्नो हितको लागि भारततर्फ गएका थिएनन्, तर जे भए पनि, उनी दलको स्वार्थका खातिर त गएका थिए । नेपाली काङ्ग्रेसले आफ्नो स्वार्थका लागि भट्टराईलाई भारत भ्रमणमा पठाएको थियो, समाचारहरूमा अन्यथा भनिए पनि । २०४६–४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा नेताहरू आफ्नो स्वार्थको लागि विदेश भ्रमण गर्न जाने परम्परा प्रारम्भ भएको पाइन्छ ।

हाम्रा नेताहरू, मन्त्री वा प्रधानमन्त्री नियुक्त भएपछि चीन जाने परम्परा पनि उत्तिकै बलियो छ । चीन जाने कारण पनि त्यही हो । हाम्रा नेताहरू चिनियाँ नेताहरूसँग आशीर्वाद लिन चीन जाने गर्दछन् । चीनप्रति आफ्नो भक्तिभाव रहेको देखाउन जान्छन् । पर्दा बाहिर चीन जाने कारण राजनीतिक वा आर्थिक भनिए पनि पर्दा भित्रको कारण भने नेताहरूको आफ्नै स्वार्थ हुन्छ ।

स्वार्थले विदेशतिर डो¥याउने गरेकोले हाम्रा नेताहरूले, विदेश पुगेर पाउनुपर्ने स्वागत, सत्कार पाउन सकेको देखिंदैन । एक साधारण अतिथिको अनुभव लिएर विदेशबाट फर्कन्छन् ।

आउनुहोस्, अब प्रम पुष्पकमल दाहालको अमेरिका र चीन भ्रमणको आर्थिक महत्वबारे कुरा गरौं । दाहालको अमेरिका भ्रमण संयुक्त राष्ट्रसङ्घको महासभामास जुन २०२३, सेप्टेम्बर महीनाको १८ देखि २० सम्म चलेको थियो, भाग लिन भएको थियो । विभिन्न देशका नेताहरूलाई भेटेर दाहालले व्यक्तिगत फाइदा उठाउनुबाहेक यो भ्रमणबाट नेपाललाई केही आर्थिक फाइदा गराएको कतै देखिंदैन । हुनत यो सम्मेलनमा दुई देशबीच दुई पक्षीय कुराहरू हुँदैन । तैपनि दाहाल अमेरिकाको आशीर्वाद पाउन न्युयोर्क पुगेका थिए । हामी (माओवादीहरू) अमेरिकाका सच्चा मित्र हौं, दक्षिण एशियामा रहेका अमेरिकी मित्रहरूमध्ये हामी पनि पर्छौं भन्ने कुरा दर्शाउन दाहाल न्युयोर्क पुगेका थिए ।

दाहालको अमेरिका भ्रणमबारे पनि प्रश्न उठाउन सकिन्छ । के दाहाल नेपालको प्रमुख प्रशासकको रूपमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानु उपयुक्त थियो ? थिएन । नैतिकताको आधारमा उनले भाग लिनु उपयुक्त थिएन । दलीय राजनीतिमा भएको अनेक षड्यन्त्रले गर्दा प्राविधिकरूपमा देशको प्रम हुन पुगेका दाहाल नैतिकरूपमा महासभामा जाने हैसियत राख्दैनन् । उनको दलले प्राप्त गरेको मतसङ्ख्याको हिसाबले, उनको दलले गरेको कमजोर उपस्थितिको कारण, उनको दल न सरकार निर्माण गर्ने हैसियत राख्छ, न दाहाल नैतिकताको आधारमा प्रम हुने दाबी गर्न सक्छन् । तर नेताहरूमा भएको नैतिक पतनको कारण जस्तो व्यक्ति पनि दलीय राजनीति गरेरै हाम्रो देशमा प्रधानमन्त्री बन्न सक्छ । चुनावमा उसको दलले दुई चा चार स्थानमा विजय हासिल गरे पनि ।

अब प्रम दाहालको चीन भ्रमणको आर्थिक महत्वको कुरा गरौं। समाचारहरूमा उल्लेख भए अनुसार दाहालको चीन भ्रमणको उपलब्धिको रूपमा नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर भएको उल्लेख गरिएको छ । चीनले नेपालमा डिजिटल अर्थतन्त्रको विकास र वातावरण संरक्षणमा सहयोग पुर्याउने सहमति भएको समाचारमा उल्लेख छ । यसैगरी चीनले कृषि, पशुपक्षी, मत्स्य पालनमा पनि सहयोग गर्ने उल्लेख छ । यस्तै–यस्तै सामान्य कुरामा चीनले नेपाललाई सहयोग गर्ने भनी सहमति एवं सम्झौता भएको देखिन्छ । दाहालको भ्रमणको क्रममा नेपाललाई ठूलो आर्थिक फाइदा हुने कुनै पनि सम्झौता भएको पाइँदैन ।

सर्वप्रथम त पुष्पकमल दाहाललाई चीनले पत्याएकै छैन । आफ्नो खास अडान र राजनीतिक वजन नभएको दाहाललाई चीनले न पत्याउनु स्वाभाविक पनि हो । अहिले चीनले जति पनि, न्यूनतम रूपमा भए पनि, दाहाललाई आतिथ्य प्रदान गर्यो, त्यो नेपाल र चीनको वर्षौंको मैत्री सम्बन्धको कारणले गर्दा हो । चीनमा दाहालले जुन स्वागत पाए त्यो स्वागत उनको राजनीतिक व्यक्तित्वले गर्दा पाएको होइन । एउटा शक्तिशाली राजनीतिक दलको नेता हो भनेर पाएको पनि होइन । चीनलाई राम्ररी थाहा छ, नेपालको राजनीतिमा माओवादी दल र त्यस दलका नेता पुष्पकमल दाहालको कति र कस्तो वजन छ भन्ने कुरा ।

माओवादी आन्दोनताका आफ्ना कार्यकर्ताहरूलाई भारतविरुद्ध सुरुङ युद्ध गर्न आह्वान गर्ने पुष्पकमल दाहालले भारतमैं बसेर सत्ता पक्षसँग, राजनीतिक दलहरू (एमाले, नेपाली काङ्ग्रेस, राप्रपा आदि) सँग सङ्घर्ष गरेको चीनलाई राम्ररी थाहा छ ।

राजनीतिक अडान नभएको, शक्ति र सत्ताका लागि जे पनि गर्न तयार हुने र विश्वास गर्न नसकिने नेताको रूपमा आफ्नो परिचय बनाएका दाहालले ल्याउने आर्थिक महत्वका योजनाहरू, जसले नेपाल र नेपालीहरूलाई दीर्घकालसम्म प्रभाव पार्नेछ, चीनले सम्पन्न गरिदिने भनी चिनियाँ प्रशासनले भन्दै भन्दैन । सहमति पनि गर्दैन । सम्झौताहरू पनि गर्दैन ।

प्रम दाहालको चीन भ्रमणको केही पनि आर्थिक महत्व छैन । उनको यो भ्रमणले नेपालले आर्थिकरूपमा केही फाइदा प्राप्त गर्ला भनी सोच्नु अर्थहीन हो ।

यथार्थमा भन्ने हो भने चीनसँग कुनै पनि सहमति, सम्झौता गर्दा त्यस किसिमका सहमति, सम्झौता आदिमा सर्वपक्षीय स्वीकृति हुन आवश्यक छ । त्यस किसिमको सहमति, सम्झौतामा नेपाली काङ्ग्रेस, एमालेलगायत अन्य राजनीतिक दलहरूको पनि स्वीकृति आवश्यक हुन्छ । अर्थात् नेपालमा जुनसुकै दलको सरकार भए तापनि, वा जुनसुकै दल प्रतिपक्षी भए तापनि, अन्य देशहरूसँग विकास एवं निर्माणका लागि सम्झौता गर्दा सर्वपक्षीय तथा सर्वदलीय सहमति हुन आवश्यक छ ।

अब पुनः प्रधानमन्त्री दाहालले गरेको चीन भ्रमणको आर्थिक महत्वकै कुरा नै गरौं ।

दाहालको चीन–भ्रमणबाट नेपाललाई कुनै किसिमको आर्थिक फाइदा भएको छैन । उल्टो सरकारी ढुकुटीबाट केही रकम खर्च भएको छ । दाहालले आफ्ना आसेपासे (छोरी) सहित न्युयोर्क र चीनको भ्रमण गर्दा ठूलै सरकारी रकम खर्च भएको होला । होइन र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here