स्वास्थ्य क्षेत्रलाई अति आवश्यक संवेदनशील क्षेत्र मानिन्छ । हरेक स्वास्थ्य संस्था उपचार तथा सेवामा अरूभन्दा अब्बल देखिन चाहन्छन् । आफ्नो संस्थामा उपचारका लागि आएका सेवाग्राहीको रोग निदान होस् भन्ने चाहना स्वास्थ्य संस्थाको हुन्छ । त्यस्तै आफूले उपचार गरेका हरेक बिरामी सन्चो होऊन् भन्ने भावना चिकित्सकले पालेका हुन्छन् । उपचार गर्दा बिरामी जति निको हुन्छ, चिकित्सकको नाम पनि उत्ति नै चल्ने हो । उनीहरू आफ्नो दक्षता र क्षमताले भ्याएसम्म बिरामीको उपचार गरिरहेका हुन्छन् । चिकित्सकले जति नै मेहनत गरे पनि स्वास्थ्य संस्थामा ल्याइएका बिरामी सबै निको हुन्छन् भन्न प्रत्याभूति हुँदैन । उपचारको प्रयास गर्दागर्दै पनि बिरामीको अवस्था बिग्रँदै जाने वा मृत्युसमेत हुन सक्छ । यस्तो अवस्थामा बिरामीका आफन्तजन दुःखी बन्नु स्वाभाविक हो । तर स्वास्थ्यकर्मीले उपचार गर्दागर्दै उनीहरूको कुनै गलती नहुँदा पनि चिकित्सकमाथि हातपात गर्ने र क्षतिपूर्तिको नाममा रकम लिने परिपाटी बढ्दै गएको छ । पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने अमानवीय र अस्वाभाविक घटनाहरू बढ्न थालेका छन् ।
मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर चिकित्सकले देशव्यापी आन्दोलन गरे । आन्दोलनरत चिकित्सक र सरकारबीच छ बुँदे सहमतिपछि आन्दोलन फिर्ता भएको थियो । तर उक्त आन्दोलन फिर्ता भएको केही दिन नबित्दै मोरड्ढो सुन्दरहरैचा नगर अस्पतालका मेडिकल अधिकृत डा सन्दीप पोखरेलमाथि हातपात भयो । पोखरेललाई बूढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले आकस्मिक कक्षमा ड्युटीमैं रहेको बेला हातपात तथा दुव्र्यवहार गरेका थिए । लगत्तै लमजुङ जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सन्दीप अधिकारीलाई वडाध्यक्षले कुटपिट गरे । बेंसीशहर नगरपालिका–७ का अध्यक्ष ऋषिराम बस्नेतको आफन्तजन अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अत्तो थापेर डा अधिकारीमाथि आक्रमण गरे । वडाध्यक्ष बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर डा अधिकारीको टाउको र छातीमा लात्ती, मुक्का प्रहार गरेका थिए । उक्त घटनाका अभियुक्तहरूलाई कारबाई हुन नपाउँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको छ । सोको विरोधमा मुलुकभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।
कारबाईको व्यवस्था नभएको होइन । चिकित्सकमाथि दुव्र्यवहार तथा कुटपिट गर्नेविरुद्ध कडा कारबाई गरिने सरकारको तयारी प्रतिबद्धता छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’मा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानिनोक्सानी पुर्याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिकरूपमा चोट पुर्याएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । हरेक अस्पतालमा ऐनको व्यवस्था लेखेर राख्न सरकारले आग्रह गरेको छ । तर कारबाईबारे जानकारी नभएर होइन, ऐन कार्यान्वयन नभएर आक्रमणकारीको मन बढेको हो । ऐन कायर्नन्वयनमा सरकार उदासीन छ ।