- अनन्तकुमार लाल दास
स्वतन्त्रता भन्नेबित्तिकै मनमा सबैभन्दा पहिले बन्धनबाट मुक्तिको भाव उत्पन्न हुन्छ । यस परिस्थितिमा कुनै प्रकारको बन्धनले मानिस बाँधिएको हुँदैन र उसले पूर्ण स्वाधीनताको अनुभूति गर्दछ । स्वतन्त्रता निष्क्रिय–शून्य स्थिति होइन । स्वतन्त्रता उच्छृङ्खलता पनि होइन । यो दिशाहीन पनि हुँदैन । उद्देश्यबेगर स्वतन्त्रताको कुनै अर्थ पनि हुँदैन । स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन पनि हो । यो एउटा देश वा देशभित्र रहेको जनसङ्ख्याको लागि बनाइएको एउटा प्रणाली हो । कुनै पनि देशमा विद्यमान कानून बमोजिम कुनै पनि व्यक्तिलाई कानूनसम्मत कुनै काम गर्न प्रतिबन्ध हुँदैन । अर्थात् स्वतन्त्र देशको नागरिक स्वशासनद्वारा शासित हुने गर्दछ । अझ गहराइमा प्रवेश गर्दा के थाहा हुन्छ भने स्वतन्त्रताको वास्तविक अर्थ आफूले गर्ने कार्यको दायित्वबोध पनि हो । अर्थात् कुनै पनि काम अरूको जिम्मामा नछोड्नु । देश, समय र परिस्थिति अनुसार आफ्नो कर्तव्य पालन गर्दै जानु हो । आफ्नो विवेक अनुसार विनादबाब स्वतन्त्र निर्णय लिनु र त्यस अनुरूप कार्य गर्नु नै स्वतन्त्रता हो । यदि यसो भएन भने स्वतन्त्रता नियन्त्रणहीन हुँदै जान्छ ।
नेपाल राष्ट्र निर्माणको इतिहासमा धेरै मानिसले अतुलनीय योगदान दिएका छन् । पहिलेको शासन व्यवस्थामा आम जनताको चेतना स्तरले प्रतिवाद गर्न नसक्दा, लामो समयसम्म एकतन्त्रीय शासन रह्यो । आज त्यो स्थिति छैन । वर्तमानमा विज्ञान र प्रविधिको उन्नति र सञ्चारको सजिलै प्रयोग गर्न अभ्यस्त मानिसहरूको चेतनाले माग गरिरहेको कुरा स्वतन्त्रता हो । आज हरेक तह र तप्काका मानिस आआफ्नो पहिचान र अधिकारप्रति गम्भीर र जागरूक बन्दैछन् । त्यस कारण मुलुक सामु उदार लोकतान्त्रिक राजनीतिक र आर्थिक व्यवस्था अवलम्बन गर्नुपर्ने खाँचो रहेको छ । त्यही अनुकूल यहाँको सामाजिक व्यवस्था पनि खुकुलो बन्नुपर्ने देखिन थालेको छ । आधुनिक मानव अब आफ्नो अधिकारका लागि अपराजेय ढङ्गले खडा भइसकेको छ । उसलाई अब कुनै बन्धनले बाँधेर राख्न सकिंदैन । यस कारण स्वतन्त्रताको अधिकार मानिसका लागि सबैभन्दा महत्वपूर्ण अधिकार बनेको छ ।
हरेक व्यक्ति जन्मजात स्वतन्त्र हुन्छ । मानिसलाई सबैभन्दा प्यारो लाग्ने कुनै कुरा छ भने त्यो स्वतन्त्रता नै हो । स्वतन्त्रता दर्शन र कानून मात्र होइन, यो अनुभूति पनि हो । पछिल्लो समयमा स्वतन्त्रतालाई अधिकारको रूपमा व्याख्या गर्न थालिएको छ । स्वतन्त्रताको सर्वमान्य सिद्धान्तमा कुनै विवाद छैन । हरेक व्यक्तिले आफूले गर्न चाहेको कुरा निर्बाध गर्न पाए स्वतन्त्रता अनुभूत हुन्छ । तर हरेक व्यक्तिको चाहना फरक–फरक हुन्छ । पत्रकारका लागि लेख्ने स्वतन्त्रता, राजनीतिज्ञका लागि राजनीति गर्न पाउने स्वतन्त्रता, दलितका लागि जातीय विभेदबाट मुक्ति, महिलाहरूका लागि सामाजिक बन्धनबाट मुक्ति, व्यवसायीका लागि व्यवसाय गर्न पाउने स्वतन्त्रता बढी प्राथमिकतामा पर्छ ।
नेपालको संविधान २०७२ ले विचार र अभिव्यक्तिको स्वतन्त्रता, निशस्त्र शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, सङ्घसंस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत गर्ने र बसोवास गर्ने स्वतन्त्रता, कुनै पेशा, रोजगार वा व्यापार गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ । यी स्वतन्त्रताहरू संविधानका विशेषता मात्र नभई लोकतन्त्रका मेरुदण्ड पनि हुन् । संविधानमा मौलिक हकको रूपमा लिपिबद्ध यी स्वतन्त्रताहरूलाई कसैले पनि खोस्न वा हरण गर्न सक्दैन । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा ३ र संयुक्त राष्ट्रसङ्घको घोषणापत्रको धारा १९ समेतले स्वतन्त्रताको अधिकार प्रत्याभूत गरेको छ ।
२००४ सालमा प्रारम्भ भएको स्वतन्त्रताको लडाइँ २०७२ सालमा गएर नयाँ संविधानसँगै समाप्त भएको अनुभूति भएको थियो । २००४ देखि २०७२ सम्म कैयनपटक चुनौतीहरूको सामना गर्नुपरेको थियो । त्यस बेला हामीले स्वतन्त्रता चिन्ने प्रयास गरिरहेका थियौं । यस अर्थमा के भन्न सकिन्छ भने स्वयं आफ्नो पहिचानलाई स्वतन्त्र देशको रूपमा स्थापित गर्नु भनेको निरन्तर पहरेदारी गरिराख्ने प्रक्रिया हो । यसको दायित्व धेरै हदसम्म आफ्नै बल र आफ्नो प्रयासमाथि निर्भर रहन्छ । स्वतन्त्रता सदैव आन्तरिक र बाह्य परिस्थितिहरूको सापेक्ष नै सम्भव हुन्छ र यसका लागि निरन्तर प्रयासको खाँचो हुन्छ । यस कुरालाई कुनै देशमा चलिरहेको सानोतिनो सङ्घर्षको सन्दर्भमा प्रस्ट देख्न सकिन्छ ।
वर्तमानमा देशको राजनीतिलाई विकृत बनाउँदै, कर्मकाण्डीय प्रशासन पद्धति चलाई आएका मानिसहरूकै पहल र आशीर्वादमा, जनान्दोलनबाट नेपाली जनताले प्राप्त गरेको उपलब्धि मेट्न लागिपरेका केही मानिसहरू कुनै राजनीतिक दल वा सामाजिक सञ्जाल केन्द्रित अभियानको नाममा सकसकाउन थालेका छन् । त्यस अर्थमा देशका बहुसङ्ख्यक मानिसले, कर्मचारीतन्त्रद्वारा लाद्न खोजेको, पुरानै अधिनायकवादी सोचलाई निरन्तरता दिनु हो । स्मरण गर्नुपर्ने कुरो के हो भने स्वतन्त्रताको लागि नेपाली समाजले ठूलो मूल्य चुकाएको छ । राणाशासनविरुद्ध सङ्घर्ष होस् वा शाहवंशीय शासकहरूविरुद्ध, देशको कुनाकाप्चाबाट हरेक भाषा, धर्म, जाति, क्षेत्र र विविध विचार भएका मानिसले स्वतन्त्रताका लागि हुने सङ्घर्षमा भाग लिएका थिए । सबैले विनाभेदभाव बलिदान दिएका थिए । जुन मानिस वा समुदाय मिलेर आफ्नो उद्देश्यको लागि जुन शासन प्रणाली निर्माण गर्दछ, त्यसमा राष्ट्र र व्यक्ति दुवै अग्रपङ्क्तिमा हुन्छन् ।
सत्ता र शक्तिको उन्मादमा रमेका शासकहरूका लागि व्यक्तिगत स्वतन्त्रता बकवासको विषय हुन सक्छ, तर खुला समाज र उदार लोकतन्त्रमा विश्वास गर्ने विवेकशील मानिसका लागि विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैभन्दा मूल्यवान् विषय हो, जसको अभावमा मानिसको समग्र विकासको परिकल्पना सम्भव छैन । छनोट लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य हो । पछिल्लो समयमा संसद्मा प्रस्तुत कतिपय विधेयकले व्यक्तिगत स्वतन्त्रताका मूल्यहरूलाई नाङ्गो रूपमा कुल्चने र कानून निर्माणका संवैधानिक सीमाहरू अतिक्रमण गर्ने प्रयास गरेका छन् । शिक्षा विधेयक २०८० यसको ज्वलन्त उदाहरण हो । निश्चय नै कानून निर्माण संसद्को एकलौटी अधिकार हो, तर विधिको सर्वोच्चता अङ्गीकार गरेको मुलुकमा प्रत्यक्षरूपमा गर्न नसकिने कामलाई दुईतिहाई सांसदहरूको बलमा अप्रत्यक्षरूपमा गर्न सकिने भन्ने हुँदैन ।
औपनिवेशिक प्रभावले गर्दा पनि स्वतन्त्रता र आफ्नो दायित्वको सन्दर्भमा केही भ्रम रहेको छ । हामी अधिकारको भाषा बढी बुझ्छौं । संविधानमा नागरिकलाई दिइएको स्वतन्त्रता सम्झना हुन्छ तर कर्तव्यको वास्ता हुँदैन । देशले हामीलाई के दिरहेको छ, त्यो याद रहन्छ तर हामीले देशलाई के दिनुपर्ने हो याद रहँदैन । वर्तमान समय नेपाली समाजको लागि चुनौतीले भरिएको छ र पथ प्रदर्शनको पारम्परिक स्रोत सुक्दै गएको छ । विचार र कर्म प्रदूषणको खतरा पनि बढिरहेको छ । नैतिकता र स्वाभाविक कर्तव्य त्यागेर मानिसहरू स्वार्थ, लोभ र भ्रष्टाचारमा लिप्त भइरहेका छन् । यस प्रकारको परिस्थितिले निजी जीवन र समाजको प्रगतिसँग जोडिएका गतिविधिहरूलाई बाधित गरिरहेको छ । यी सबैले गर्दा समाजमा नकारात्मकता बढिरहेको छ । हामी स्वतन्त्रताको गलत अर्थ लगाएर आफ्नो लागि छूटको अवसर खोज्न वा बनाउन जुटेका छौं । आज मानिसहरूले आफ्नो फाइदाको लागि ‘कवच’को रूपमा स्वतन्त्रतालाई प्रयोग गर्न थालेका छन् ।
यस प्रसङ्गमा देशको राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी…” स्मरण गर्नु प्रासङ्गिक हुन्छ, जसले देशको प्रतिबद्धता रेखाङ्कित गरेको छ । यस अर्थमा आफ्ना नागरिकको इच्छाबमोजिम कानून निर्माण गर्ने र सोही कानूनबमोजिम तीनवटै सरकार सञ्चालन हुने विधिको शासनको मुख्य उद्देश्य हुनुपर्छ । राज्य सञ्चालनको जिम्मेवारी पाएका व्यक्तिले कानूनलाई आफूखुशी व्याख्या गर्ने र आफ्ना निहित स्वार्थका लागि दुरुपयोग गर्ने गरेको कुरा सबैको सामु छर्लङ्ग छ । तोकिएको कुरा बाहेक सरकारले थप शर्त वा आधार सिर्जना गरी नागरिकको कुनै पनि अधिकार कटौती गर्न सक्दैन । सरकारको त्यस्तो कार्य संविधानविपरीत हुन्छ । उदाहरणका लागि शिक्षा विधेयक २०८० मा प्रस्ताव गरिएका धेरै कुराहरू शिक्षकहरूको अधिकारविपरीत र तर्कहीन छ, जसको विरोध सम्पूर्ण शिक्षकहरूले गरेका छन् । आफू बसेको राज्यमा स्वतन्त्रताको निर्बाध उपभोग गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो ।
लोकतान्त्रिक गणतन्त्र नेपालमा बेग्ला बेग्लै विचार भएका दलहरूलाई सरकार गठन गर्ने अवसर हासिल भएको छ । समाजका विभिन्न वर्गका मानिसहरूलाई पनि राजनीतिमा भाग लिने अवसर प्राप्त भएको छ । स्वेच्छाचारी वा अधिनायकवादीहरूमा व्यक्तिगत स्वतन्त्रताप्रति कुनै दयाभाव हुँदैन । अधिनायकवादी सोचले ग्रसित मानिसहरूको पनि राजनीतिमा पहुँचले गर्दा जनहित पाखा लाग्दै गएको पनि भान हुन थालेको छ । आज धनबल र बाहुबलको भूमिका बढ्दै गएको छ । लोकतान्त्रिक शासन फरक हुन्छ र फरक रहनुपर्छ । संविधानले प्रत्याभूत गरेको अधिकार कानून अनुरूप नै नियमन हुन सक्छ तर त्यसलाई निषेध वा नियन्त्रण गर्ने अख्तियारी कानूनी सत्तासँग हुँदैन । लोकतान्त्रिक शासनमा सत्ता अस्थायी हो, तर नागरिक समाज र मूल्य स्थायी हुन्छ भन्ने कुरो हामीले बिर्सनुहुन्न । राजनीतिले सधैं स्वतन्त्रताको वकालत गर्छ । कानूनले सधैं दफादफामा स्वतन्त्रता भन्ने शब्द घोकाउँछ तर राजनीति र कानून स्वतन्त्रताविरोधी हुन् वा स्वतन्त्रताको परिपूरक बुझ्नुपर्ने हुन्छ ।
जब कानूनको शासन हुँदैन, तब स्वतन्त्रता कुरूप हुँदै जान्छ । इतिहास देखि नै सत्ता र स्वतन्त्रताबीच वैमनस्यता रहँदै आएको छ । लोकतन्त्र भए पनि स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्नु वैचारिक दरिद्रताबाहेक केही होइन । यी सबै कुराबीच आशाको किरण भनेको युवा जनशक्ति नै हो तर त्यो पनि पलायन भइरहेको छ । युवाहरूमा सधैं जोश र जाँगर भरिएको हुन्छ । उनीहरूका लागि गुणस्तरीय शिक्षाको व्यवस्था होस् जहाँबाट जीवनका मूल्य ग्रहण गर्न सकियोस् । त्यहाँ उत्साहवद्र्धक अनुभव र विमर्शको अवसर सिर्जना गरेर समृद्ध नेपालको भविष्य कोर्न सकियोस् । नेल्सन मण्डेलाका अनुसार “स्वतन्त्र हुनु भनेको केवल बन्धन त्याग्नु वा फुकाउनु होइन, जीवनको यस्तो शैली अवलम्बन गर्नु हो जसले अरूको स्वतन्त्रतालाई सम्मान पनि दिन सकोस् ।”