• विश्वराज अधिकारी

नेपालमा विदेशी लागानीको पर्याप्त सम्भावना छ । मुख्यगरी नेपालको पर्यटन क्षेत्रमा विदेशी व्यापारीहरूले ठूलो रकम लगानी गर्न सक्ने देखिन्छ । नेपालको अर्थतन्त्र परिपक्व (matured) नभएकोले नेपाल उनीहरूको लागि लगानी गर्नका लागि अति आकर्षक लगानी–क्षेत्र हुन सक्छ । पहाडी क्षेत्रहरूमा पर्यटन पूर्वाधार विकासमा विदेशी लगानीकर्ताहरूले ठूलो रकम लगानी गरेर राम्रो मुनाफा पनि हात पार्न सक्छन् ।

समाचार संस्था कान्तिपुरका अनुसार चालू आर्थिक वर्षको भदौमा ३ अर्ब ८ करोड १० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको साउनमा १३ अर्ब १३ करोड ६० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

अब नेपालमा कुन समयमा कति विदेशी लगानी प्राप्त भयो त्यसतर्फ हेरौं । लगानी प्रतिबद्धता र यथार्थमा भएको लगानी रकमबीच तुलना गरौं–

चालू आर्थिक वर्षको साउनमा खुद विदेशी लगानी २ अर्ब ६४ करोड ६२ लाख रूपियाँ मात्र आयो । तर सोही अवधिमा विदेश लगानी प्रतिबद्धता भने १३ अर्ब १३ करोड ६० लाख आएको थियो । अर्थात् प्रतिबद्धताभन्दा १० अर्ब ४८ करोड ९८ लाख विदेशी लगानी कम आएको (प्राप्त भएको) थियो ।

यसैगरी आर्थिक वर्ष ०७८–७९ मा १९ अर्ब २१ करोड ९० लाख रूपियाँ विदेशी लगानीको रूपमा नेपाल भित्रिएको थियो । तर सो अवधिमा ५४ अर्ब १५ करोड रूपियाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । यसरी प्रतिबद्धताभन्दा ३४ अर्ब ९३ करोड १० लाख रूपियाँ कम प्राप्त भएको थियो ।

माथिका सङ्ख्याहरूले एउटा तथ्य सबैले सजिलै बुझ्नेगरी के भन्छन् भने नेपालमा जुन सङ्ख्या वा जति विदेशी व्यापारीहरूले लगानी गर्ने प्रतिबद्धता जाहेर गर्छन् त्योभन्दा निकै कम लगानी प्राप्त हुँदो रहेछ । अर्थात् नेपाल विदेशी व्यापारीहरूका लागि लगानी गर्न सकिने एउटा आकर्षक क्षेत्रको रूपमा परिचित एवं विश्वस्त हुन सकेको छैन । विदेशी व्यापारीहरूले नेपालमा लगानी गर्दा पूर्ण विश्वासका साथ गर्दा रहेन छन् । उनीहरूको मनमा अनेक शङ्का–उपशङ्काको प्रतिक्रिया हुँदो रहेछ ।

अपेक्षाकृत परिमाणमा किन विदेश लगानी प्राप्त भइरहेको छैन ?

यो प्रश्नको उत्तर अति सरल छ । नेपालका राजनीतिक दलहरूमा नेपालको आर्थिक विकासको लागि साझा धारणाको सर्वथा अभाव छ । अहिलेसम्म यी राजनीतिक दलका नेताहरूबीच साझा धारणा निर्माण हुन सकेको छैन । यी दलहरूबीच राजनीतिक दर्शन, धारणा, कार्यक्रम, योजना फरक भए तापनि देशको आर्थिक विकासको लागि भने साझा धारणा हुन आवश्यक छ । साझा धारणा नबनेसम्म नेपालमा विदेशी लगानी त परको कुरा, राष्ट्रिय स्तरबाट पनि ठूलो लगानी प्राप्त हुन कठिन छ । राजनीतिक दलका यी नेताहरूबीच एउटा साझा धारणा नभएकोले देशभित्र नै पनि, स्वदेशी लगानीकर्ताहरू लगानी गर्न सशङ्कित छन् ।

निष्कर्षः नेपालमा राजनीतिक दलका नेताहरूबीच देशको आर्थिक विकासबारे एउटा साझा धारणा नभएकोले नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ ।

नेपालको राजनीतिमा कम्युनिस्टहरूको अति प्रभाव भएको कारण पनि नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ । नेपालका कम्युनिस्टहरू राष्ट्रिय राजनीतिमा यतिसम्म बलियो एवं प्रभावशाली छन् कि अल्पमतमा रहेर पनि सरकारको नेतृत्व गर्ने क्षमता राख्छन् । षड्यन्त्र, जालझेल, दाउपेचमा, रणनीति निर्माणमा पनि यिनीहरू निकै अगाडि छन् । यो कारणले गर्दा नै पुष्पकमल दहालको नेतृत्वमा, उनको दल अल्पमतमा रहे पनि, नेकपा माओवादी सरकार गठन भएको छ । सानो दलको नेतृत्व गरेर पनि पुष्पकमल प्रधानमन्त्री हुन सफल भएका छन् ।

विश्व–अर्थ व्यवस्थाको विश्लेषण गर्ने हो भने ठूलो पूँजी पश्चिमी राष्ट्रहरूको हातमा छ । त्यहाँका व्यापारीहरूले ठूल्ठूला उद्योगमा लगानी गर्ने क्षमता राख्छन् । विदेशी कम्पनीहरूमा ठूलो परिमाणमा रकम लगानी गर्न सक्ने क्षमता राख्छन् । अर्कोतिर पश्चिमा राष्ट्रका सरकारहरू प्रजातन्त्रिक सरकार भएकाले उनीहरूले कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई शङ्काको नजरले हेर्छन् । कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई पत्याउँदैनन् । नेपालको राजनीतिमा जहिले पनि कम्युनिस्टहरूको वर्चस्व रहेको साथै काङ्ग्रेसलाई पनि आफूले चाहेको दिशामा डो¥याउन सक्ने क्षमता कम्युनिस्टहरूसँग रहेकोले पश्चिमा राष्ट्रका व्यापारीहरूले मन खोलेर नेपालमा लगानी गर्न सकेका छैनन् । कम्युनिस्ट (पुष्पकमल) ले काङ्ग्रेस शेरबहादुर) लाई आफ्नो पछि लगाउन सक्ने क्षमता रहेको स्थितिलाई पश्चिमा व्यापारीहरूले बडो सतर्कताका साथ हेरिरहेका छन् ।

विगत केही दशकदेखि नेपालको राजनीतिमा एउटा अचम्मको परिदृश्य देखिएको छ । त्यो परिदृश्य के हो भने कम्युनिस्ट (मुख्यगरी माओवादी) मदारी बनेको छ भने अरू दलहरू बाँदर । अन्य सबै दल कम्युनिस्टको इशारामा बाँदर जस्तो नाचिरहेका छन् । अन्य दलहरू आफ्नो प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श बिर्सेर शक्ति र सत्ताको लागि माओवादीको इशारामा बाँदरजस्तो नाचिरहेका छन् । यो विशिष्ट र अनौठो स्थिति विदेशी लागनीकर्ताहरूको लागि अनुकूल नभएकोले नेपालमा लगानी गर्न उत्सुक भइरहेका छैनन् । नेपालको राजनीतिमा कम्युनिस्टहरू वर्चस्व रहेसम्म नेपालमा विदेशी लगानी न्यून मात्र हुनेछ ।

नेपाल विकासशील राष्ट्र भएकोले यसलाई विकास एवं निर्माणको लागि ठूलो परिमाणमा पूँजी आवश्यक छ । नेपाललाई आवश्यक पर्ने ठूलो पूँजीका लागि दुईवटा स्रोत अति भरपर्दो हुन सक्छ । पहिलो स्रोत हो– स्वदेशी व्यापारीहरूबाट लगानी । दोस्रो, विदेशमा बस्ने नेपालीहरूबाट लगानी ।

नेपालका राजनीतिक दलहरूले माथि भनिएका दुवै स्रोतको राम्रो उपयोग हुने आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक छ । सोही अनुरूप ऐन र कानून बनाउन आवश्यक छ । नेपालमा, विदेशमा बस्ने नेपालीहरूलाई, लगानी गर्न सजिलो होस् भन्ने किसिमबाट संविधान संशोधन गर्न पनि आवश्यक छ । केवल चुनावमा उम्मेदवार हुन तथा भोट हाल्न नपाउने गरी, विदेशमा बसेका नेपालीहरूलाई, सरकारले दुई देशको नागरिकता दिन आवश्यक छ ।

विदेशमा बसेका नेपालीहरूलाई दोहरो (आफू बसेको देश र नेपालको) नागरिकता दिने व्यवस्था नेपालले गर्नासाथ नेपालमा विदेशी लगानी वृद्धि हुन्छ । देशभित्र ठूलो परिमाणमा लगानीको लागि नेपालले विदेशी लगानीकर्ताहरूको मुख ताक्नुपर्दैन ।

हाम्रो आन्तरिक (स्वदेशी) बजार बलियो हुनेगरी हामीले बाह्य लगानीको उपयोग गर्नुपर्छ । छेउमा चीन र भारत जस्ता बृहत् अर्थ व्यवस्था भएका राष्ट्रहरूलाई हामीले वस्तुहरू निर्यात गरेर मुनाफा प्राप्त गर्न सक्ने सम्भावना ज्यादै न्यून छ । त्यसकारण केही सीमित वस्तु, जसको बलियो प्रतिस्पर्धात्मक क्षमता छ, त्यस्ता वस्तु मात्र उत्पादन गरेर विदेशी बजारहरूमा बिक्री गर्न आवश्क छ । यसै गरी राष्ट्रभित्र खपत हुने वस्तुहरूको उत्पादन गर्न जोड दिन आवश्यक छ ।

राष्ट्रको आर्थिक विकासका लागि स्वदेशी लगानी एवं विदेशी लगानीको महत्वपूर्ण भूमिका तपसीलका कुराहरू हुन् । मुख्य कुरा त नेताहरूको चरित्र हो । उनीहरूको चरित्रमा देखिएको इमानदारीको क्षयीकरण हो । राष्ट्रको स्वार्थभन्दा आफ्नो स्वार्थलाई महत्व दिने उनीहरूको बेइमान नियतको कुरा हो ।

नेताहरूले के गर्ने त ?

अर्थ व्यवस्थाको सम्बन्धमा महत्वपूर्ण निर्णय लिने निकायहरूमा नेताहरूले विज्ञहरूलाई पठाउनुपर्छ । पार्टीका कार्यकर्ता पठाउन बन्द गर्नुपर्छ । आफ्नो झोले कार्यकर्ताहरूलाई पठाउन बन्द गर्नुपर्छ । सरकार बनाउँदा, कुनै व्यक्ति कुनै पार्टीको महत्वपूर्ण पदमा छ भन्दैमा ऊ नै वाणिज्यमन्त्री, ऊ नै अर्थमन्त्री, ऊ नै उद्योगमन्त्री हुने कार्य तत्काल बन्द गर्नुपर्छ । झोले कार्यकर्ता वा नेता वा अध्यक्ष महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने व्यवस्था तत्काल बन्द गर्नुपर्छ ।

अहिलेको लागि नेताहरूले यति मात्र गरिदिए पनि नेपालको अर्थ व्यवस्था, जुन कछुवा चालमा छ, त्यसले राम्रो गति समात्ने छ । हामीले देशको आर्थिक विकास गर्नका लागि विदेशी लगानीको मुख ताक्नै पर्दैन, जापान, अमेरिका, क्यानाडा आदिले गरेझैं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here