- सञ्जय मित्र
भाषा, साहित्य र पत्रकारिताका त्रिवेणी राजेश्वर नेपालीले आफ्नो जीवनको गौरवमय ६० वर्ष यसैमा लगानी गरे । सम्भवतः उनी इतिहास निर्माण गर्नकै लागि अवतार लिएका थिए ।
भाषा र साहित्यमा मेरो पनि रुचि छ । यसै रुचिका कारण कतिपय मानिसका निकट उभिने साहस दिएको छ । कतिपय मानिसको चरणस्पर्श गर्न सक्ने बनाएको छ । हुनत सामान्य कुरो हो, कसैको चरणस्पर्श गर्न त के गार्हो छ र ? तर कहीं गएर त्यत्तिकै कसैको चरणस्पर्श सम्भव हुन्छ र ? कहाँ गएर कसको चरणस्पर्श गर्ने ? किन चरणस्पर्श गर्न दिने कसैले ? वा मैले जसको चरणस्पर्श गरेको छु, त्यस लायक हुनुपर्ने हो नि ?
मैले केही भेटमा राजेश्वर नेपालीको चरणस्पर्श गरेको छु । यसको अर्थ यो पनि हो कि मैले जतिपटक भेट गरेको छु, त्यत्तिपटक चरणस्पर्श गरेको छु । पहिलो भेटमैं पनि उनीसित यही व्यवहार गरेको छु । र यो स्वाभाविक हो कि यदि कोही कसैको चरणस्पर्श गर्छ भने दुवैजनाको भावना एकअर्काप्रति सकारात्मक हुन्छ । यदि नकारात्मक भाव र भावना भएपनि यस व्यवहारले हार्दिकता ल्याउँछ र भावना मिलेको वा उच्चादर गरेको स्पष्ट हुन आउँछ । सानातिना कटुताहरू यत्तिकै हराएर जान्छन् । अहार्दिकता, कटुता तथा मनोमालिन्यजस्ता शब्दहरू राजेश्वर नेपालीका अगाडि छैनन् । कमसेकम मेरोअगाडि भने नरहेको स्पष्ट पार्न चाहन्छु ।
वास्तवमा राजेश्वर नेपालीलाई मैले हार्दिक सम्मान मात्र गथें वा गछु । अहिलेसम्म उनलाई मैले कुनै औपचारिक सम्मान गर्ने अवसर पाएको थिइनँ । एकपटक रौतहट आउने र गरुडाको शिवनगरमा रहेको गणिनाथ गोविन्द बाबाको मन्दिरको दर्शन गर्ने उनको इच्छा थियो । मसित चिनजान भएपछि उनले राखेको पहिलो जिज्ञासा पनि यसैसित थियो र दुई/तीन पटक यसै विषयमा चासो राख्दै एकपटक पुग्न पाए हुन्थ्यो भन्ने इच्छा जाहेर गरेका थिए । यद्यपि मैले एकपटक पुगौं र मेरो घर पनि नजीकै छ, सम्भव भएसम्म बसौंला भन्नेसम्मको आग्रह गरेको थिएँ । एकपटकको आग्रहको साक्षी मेरा मित्र किशुनदयाल श्रीकृष्ण पनि छन् ।
जनकपुरको प्रसिद्ध जानकी मन्दिरको पूर्वोत्तर भागमा उनको आफ्नै पसल रहेको जानकारी थिएन । श्रीकृष्णसित जनकपुर पुगेको एक दिन किताब दिनुपर्ने थियो । मुख्यतः उनलाई नै भनेर एउटा आफ्नो पुस्तक उपहार लगेको थिएँ । सोध्दै र मोबाइलमा कुराकानी गर्दै पसलमा पुग्यौं । हाम्रो भलाकुसारी यति सरल, सहज र सौहार्दपूर्ण थियो कि त्यस्तो कुनै निकै निकटका आफन्तको हुन सक्छ वा कुनै भक्तको । हामी दुवैमा पर्दैनथ्यौं । उनी एक महापुरुष र म भने भाषा तथा साहित्यको एक पाठक । मैले उनका कतिपय रचनाहरू पढ्ने मौका पाएको थिएँ र कतिपय सन्दर्भमा उनका बारेमा अग्रज साहित्यकार तथा पत्रकारबाट सुनेको थिएँ । अदम्य साहसी तथा सङ्घर्षका पर्याय बनिसकेका राजेश्वर नेपालीसित आधा घण्टाभन्दा बढी समय भलाकुसारी गरेपछि हामी घर फिर्ती आउनेतर्फ विचार ग¥यौं । नेपालीको व्यक्तित्व तथा वाणीमा रहेको ओज र सङ्घर्षको गाथा सुनेर श्रीकृष्ण उनीप्रति अत्यन्ताकर्षित भए । त्यसै बेला उनले एउटा किताब उपहार दिए मलाई । मेरोलागि निकै उपयोगी पुस्तक हो । त्यो पुस्तकलाई मैले आफ्नो दराजको त्यो ठाउँमा राखेको छु, जहाँ वेदहरू, विभिन्न रामायण तथा अन्य पुस्तकहरू रहेका छन् । हरेक भेटमा उनले भन्ने गरेका अर्को कुरा त्यस भेटमा पनि दोहो¥याए– एकपटक घरमा सँगै बसेर खाना खानुपर्छ ।
गत फागुन २० गते २०७९ तदनुसार ८ मार्च २०२३ का दिन राजेश्वर नेपालीको घर खोज्दै पुग्यौं । उद्देश्य एउटै थियो, दर्शन गर्नु । एक÷दुई दिनअघि मात्र गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधानसम्पादक सीताराम अग्रहरिले नेपालीलाई भेट गरेको पोस्ट गरेका थिए, सामाजिक सञ्जालमा । त्यस पोस्टबाट नेपाली थला परिसकेको बुझिएको थियो, अनि मनमा कस्तो छटपटी बित्न थालेजस्तो भएको थियो । कतै घुम्नलाई सहज र मेरालागि भरपर्दा मित्र श्रीकृष्णसित सोही आशय व्यक्त गर्दा विना कुनै प्रतिप्रश्न सोझै तयार भएका थिए । हामी यहाँबाट जनकपुरको लागि घरबाट प्रस्थान गरेका थियौं । आजभोलि बाइकले महेन्द्र राजमार्ग भएर जानुभन्दा सजिलो छ, बीचैको बाटो जो सर्लाहीको गोडैताबाट हुलाकीमा गएर जोडिन्छ । जनकपुरमा पहिले जानकी दर्शन गरी खाना खाएर खोज्दै बेला पुग्छौं । बेलामा नेपालीको नाम काफी छ । त्यसो त जनकपुरमा पनि कोही भाषा, साहित्य, पत्रकारिता तथा पुराना राजनीतिकर्मीसित नेपालीको निवास सोध्दा बताइदिने रहेछन् । जनकपुरमा प्रख्यात मात्र नभएर भाषा, साहित्य र पत्रकारितामा देश–विदेशमा ख्यातिप्राप्त पुरुष नेपालीको घरमा पुग्छौं ।
भीष्म पितामहजस्तो शøयामा पल्टिरहेका नेपालीको यो रूपको कल्पना पनि गरेको थिइनँ । हुनत अग्रहरिको स्टाटसले धेरै अर्थ दिएको थियो तर बुझ्न वा अनुमान लगाउन भने सकेको थिइनँ वा त्यहाँसम्म कल्पना गर्न सकेको थिइनँ । यो मेरो कमजोरी थियो । उनको फेरि चरणस्पर्श गर्दा बुहारीले सहयोग गर्नुपरेको थियो । एकछिनमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष नेपालीकै छोरा राघवेन्द्र साह आइपुगे र हामीलाई धेरै सहज हुन गयो । अब इशाराले भलाकुसारी गरे उनले । कतिपय कुरा मैले बुझिरहेको थिइनँ । मलाई यस्तो लाग्यो, कतिपय कुरा बुहारीलाई पनि स्पष्ट भइरहेको थिएन । मुखियाजी आएपछि अलिक सहज भयो तर सबै कुरा मुखियाजीलाई पनि सहज लागेन बुझ्न । मैले लगेका केही पुस्तक पत्रिकाहरू टक्र्याएँ । मलाई लाग्यो यो अर्पण मात्र हो । जसरी उनको अवस्था यसरी कसरी हुन गयो भनेर सुनें, त्यसपछि मनमा अलिक चीसो लाग्न थाल्यो । शायद यसभन्दा बढी अब उनले केही गर्न पाउनेछैनन् भन्ने मनमा कतै उब्जिइरहेको थियो । मुखियाजी राघवेन्द्र साहको भनाइ करीब यस्तै थियो कि अब कतै कुनै अस्पतालले खासै बढी गर्न सक्ने केही थिएन ।
इशाराले खानाको बारेमा सोध्दा खाना खाएर आएको बताएँ । मनमा अलिक पछूतो पनि लाग्यो तर अर्कोचोटि आउँदा घरमा खाना खानुपर्छ भनेर उनले फेरि पनि भने । यसपटक शब्दमा भन्दा बढी इशारा थियो र छोराबुहारीले नै स्पष्ट पारे ।
एउटा सम्मानपत्र नेपालीकै हातबाट लिने अभिलाषा थियो । मैले पाउनुपर्ने एउटा सम्मानपत्र त्यहीं रहेको थियो । म कुनै कारणले जनकपुर पुग्न नसक्दा मैले पाउनुपर्ने सम्मानपत्र कसैमार्फत नपठाइ नेपालीले आफैंसित राखेका थिए । मेरोलागि यो निकै ठूलो स्नेह थियो । घरै पुगेपछि त्यो लिनुपर्छ भन्ने सम्झना भयो र राघवेन्द्रजीसित त्यो कुरा राखें । तुरुन्त पसलबाट मुखियाजीले मगाए र उही महामना नेपालीको हातबाट ग्रहण गर्न लगाए । यसअघि पनि एउटा राष्ट्रियस्तरको हिन्दी कार्यक्रममा नेपालीको हातबाट औपचारिकरूपमा सम्मान पाउने अवसर पाएको थिएँ, जनकपुरमा । नेपाल हिन्दी प्रतिष्ठान, जसको अध्यक्ष उनी आफैं थिए, ले सम्मानित गरेको थियो । अर्को कुनै कार्यक्रममा नेपाली अतिथि भएर मलाई सम्मानित गरेका थिए तर यसपटकको सम्मान भने उनी आफ्नै घरमा, आफ्नै ओछ्यानमा गरिरहेका थिए । सम्भवतः यस किसिमको सम्मान दुर्लभ हुने गर्छ । मैले उनीबाट आशीर्वाद लिइरहेको थिएँ । मेरो सदैव सुखद भविष्यको कामना गर्ने मेरा एक परम आदरणीय अभिभावकको दयनीय हातबाट म शुभााशीर्वादको बलियो आशा प्राप्त गरिरहेको थिएँ ।
त्यहीं दर्शनभेट नै नेपालीसितको अन्तिम हुन पुगेको छ । नेपालीप्रति म अत्यन्त हृदयदेखि श्रद्धापुष्प अर्पण गर्छु ।