• सञ्जय मित्र
हरेक दिन इतिहास हो, हरेक क्षण इतिहास हो तर कुनै पल यस्तो भइदिन्छ, जुन न भूतो हुन्छ र न त भविष्यन्ति हुने सम्भावना रहन्छ । भविष्यमा त्यही वा त्यस्तै घटना दोहोरिन्छ भने पनि त्यो दोस्रो मानिन्छ । यस अर्थमा पहिलो घटना स्वाभाविकरूपमा त्यस्तो ऐतिहासिक घटना हुन्छ, जहाँबाट इतिहास शुरू हुन्छ । र जीवनमा कतिपय यस्ता ऐतिहासिक क्षण जुन विश्वकै लागि पनि गर्व गर्न सकिने ऐतिहासिक बनेको हुन्छ, त्यस्ता क्षणको साक्षी बन्न पाउने अवसर आएको हुन्छ । कतिपयले अवसरलाई बुझ्छन् र कतिपयले यसलाई महŒव दिएका हुँदैनन् । म यसपटक बुझ्नेलाई श्रीखण्डजस्तो बुझक्कड बनी महान् अवसरलाई खुर्पाको बिंड साबित हुन दिइनँ, कम्तीमा मेरोलागि ।
४० दिनदेखि नै समाचार हेरिरहेको थिएँ । उसो त समाचार नहेरेको दिन हुँदैन । मोबाइल एपमा होओस्, घरमा हरेक दिन आइपुग्ने अखबारमा होओस् वा कम्प्युटरमा होओस्, हरेक दिन कैयौंपटक समाचार हेर्ने बानी परिसकेको छ । कतिपय लेख–विचारहरू पनि अक्षरशः यसैगरी पढ्ने गरेको छु । साहित्य र साहित्यका कुरा पढ्ने एउटा माध्यम यो पनि भएको छ । पढ्ने बानी भएपछि अलिकति फुर्सद भयो कि सबैभन्दा पहिले दिमाग यसैमा जान्छ– के छ अपडेट ? वा, नयाँ केही आयो कि ? यस जिज्ञासाले गर्दा निरन्तर उत्सुक रहनु ममा भएको एउटा रोग हो ।
जब चन्द्रयान–३ ले इसरोबाट लक्ष्यतर्फ यात्रा शुरू गरेको समाचार हेरेको थिएँ टेलिभिजनमा, तबदेखि हरेक दिन कमसेकम एक घण्टा यस विषयमा दिइएका समाचारहरू हेर्न थालें । हिन्दी अनलाइनहरूमा पनि यस विषयमा आएका समाचारहरूमा ध्यान दिन थालें । यस अभियानसित सम्बन्धित खबरहरू कहिलेकाहीं नआउँदा वा आएको भएपनि आफ्नो अनुकूल समयमा हेर्न नपाउँदा आज थप के आयो होला भन्ने मनमा उत्सुकता भइरहेको हुन्थ्यो । मनमा निरन्तर उत्सुकता रहिरहेको थियो ।
के होला ? कसरी होला ? आदि जिज्ञासा निरन्तर मनमा आइरहेको थियो । चन्द्रयान–२ को खबरलाई पनि बेलाबेलामा विभिन्न सञ्चारमाध्यमले दिइरहेको थियो । त्यो किन असफल भयो ? त्यस असफलताबाट इसरोले के सिक्यो ? यसपटक सफल नै हुन्छ भन्ने पक्षमा के कस्ता आधारहरू छन् ? आदिबारे पनि निकै रोचक जानकारी आइरहेका थिए । यद्यपि चन्द्रयान–२ को प्रक्षेपणको समयमा पनि मैले निकै उत्सुकतापूर्वक समाचारहरू हेरेको थिएँ । चन्द्रयान–२ सफल भएको भए के हुन्थ्यो ? अहिलेसम्म चन्द्रमाबारे धेरै जानकारी धरतीवासीले पाइसकेका हुने थिए । चन्द्रमाको बारेमा धेरै मिथक हराइसकेका हुन्थे वा नयाँ मिथकजस्ता लाग्ने यथार्थहरू आइसकेका हुन्थे । अहिले जब चन्द्रयान–३ ले काम गरिरहेको छ र अहिले जुन काम गरिरहेको छ । यदि चन्द्रयान–२ सफल भएको भए अहिले चन्द्रयान–३ ले पहिलेको सफलताभन्दा अर्को किसिमले नयाँ जिम्मेवारीका साथ काम गरिरहेको हुन्थ्यो होला । वा चन्द्रयान–३ को ठाउँमा इसरोले अर्को किसिमको यान पठाउँथ्यो होला । यस्ता अनुमानहरू मनमा उब्जिरहेका थिए, उम्रिरहेका थिए ।
भाषा र साहित्यमा मेरो रुचि छ नै । भूगोल र विज्ञान र संस्कृति तथा दर्शनका रहस्यका बारेमा पनि मलाई जिज्ञासा रहन्छ । यस कारण अलिकति सामग्रीहरू पाएसम्म पढिरहन्छु । मरिहत्ते गरेर त खोज्दिनँ तर पाएका सामग्री अध्ययन गर्ने वा हेर्ने गरेको हुन्छु । अहिले चन्द्रयानको यात्रा जारी रहँदा सबै किसिमका रुचिभन्दा मूल रुचिको केन्द्र यही अभियान हुन पुगेको थियो ।
२३ अगस्त २०२० अर्थात् ६ भदौ २०८० का दिन भारतीय समय अनुसार साँझ ६ बजेर ४ मिनेटको समयमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने खबरले उत्सुकता बढाएसँगै त्यो पलको साक्षी बन्नुपर्छ भन्ने मलाई परिसकेको थियो । यसो हेर्दा समय पनि अनुकूल नै थियो । कार्यालयको समय भएको भए सम्भव हुने थिएन । साँझको समय भएको हुँदा यस दिन कतै जान नपरोस्, अपर्झट कुनै काम नपरोस् भन्ने कामना मनमा भइरहन्थ्यो । तर ‘जब प¥यो राति अनि बूढी ताती’ भनेजस्तो हुन पुग्यो । साँझ ढल्किंदै जाँदा एउटा सानो कामले चोकमा जानै पर्ने भयो । वास्तवमा म नजाँदा पनि हुने नै थियो र पुगेर पनि पाँच मिनेटभित्रै भइसक्नुपर्ने काम थियो । तर उही त हो, पुगेपछि भलाकुसारी, औपचारिकता तथा अरूलाई पालो दिनुपर्ने बाध्यताले गर्दा समय घर्किन थाल्यो । टेलिभिजनहरूले करीब एक घण्टा समय बाँकी देखाइरहँदा पाँच मिनेटको लागि भनेर निस्केको म घर आइपुग्दा आधा घण्टाभन्दा अलिक बढी समय देखाइरहेको थियो, लाइभ टेलिभिजनले ।
अब बिजुली जाने त्रासबाहेक आँखा र मन तथा मस्तिष्कभरि उत्सुकतै उत्सुकता थियो । समय घर्किंदै जाँदा प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजनका प्रस्तोताहरूका प्रस्तुतिकलाले झन् उत्सुकतालाई उत्कर्षतिर लगिरहेका थिए । अधिकांश टेलिभिजनले आफ्ना उत्कृष्ट प्रस्तोताहरूलाई इसरोको कार्यक्रमको प्रस्तुति गर्न लगाएको जस्तो लागिरहेको थियो । डेढ सय मिटर मात्र चन्द्रमाभन्दा टाढा रहँदा चन्द्रयान–३ करीब १७ सेकेन्डको लागि पूर्णतया रोकिने भनिएको थियो । वैज्ञानिकहरूले पहिले नै भनेकै जस्तै सीधा र छड्के तथा गतिसमेतमा चन्द्रयान–३ माथि पूर्ण नियन्त्रण भएको प्रसारण भइरहेको थियो । भारतीय वैज्ञानिकहरूले देखाइरहेका चमत्कार अद्भुत थियो । हेर्दाहेर्दै सबै प्रक्रिया पूरा गरेर चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक सफ्ट ल्यान्डिङ अर्थात् अवतरण ग¥यो । लाइन झ्याप्प भएन । सम्पूर्ण दृश्य हेरिरहँदा कताकता अत्यन्त धेरै गर्वको अनुभूति भइरहेको थियो ।
कुनै दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति सम्झौता भइरहँदा नेपाली टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए र त्यसको पनि प्रत्यक्षदर्शी थिएँ । सम्झौतामा हस्ताक्षर हुँदै गर्दा निकै गर्वको अनुभूति भएको थियो र शान्तिको लामो सास फोक्सोले हुलेको थियो, त्यस ऐतिहासिक क्षणलाई स्वागत गर्दै । नेपाल अब पुनः शान्तिको देश भयो भन्ने आभास भएको थियो ।
पहिलेदेखि नै विश्लेषणहरू आइरहेका थिए, यदि सफलतापूर्वक अवतरण भयो भने दक्षिणी ध्रुवमा चन्द्रयान उतार्ने भारत पहिलो देश बन्नेछ । यसअघि अमेरिका, रूस र चीनले चन्द्रमामाथि विजय गरिसकेका छन् । चन्द्रमाको छातिमाथि हस्ताक्षर गर्ने भारत चौथो देश बन्नेछ समग्रमा । र यी सबै ऐतिहासिक क्षण एकसाथ भइरहेका थिए । अवतरणको बेला इसरोका वैज्ञानिकहरूले जुन दृश्य हेरिरहेका थिए, आफ्नै परिश्रमले आफ्नो देशलाई चन्द्रमामा पु¥याइरहेका थिए र सोही दृश्यको, सोही पलको साक्षी बन्न दुनियाँलाई अवसर दिएका थिए, तब आफ्नै घरमा बसीबसी किन उक्त ऐतिहासिक पलको साक्षी नबन्ने ?
विश्वको लागि अत्यन्त महŒवपूर्ण ऐतिहासिक क्षण बनिरहेको त्यो पललाई प्रत्यक्ष प्रसारणमार्फत हेर्न पाएकोमा त्यस बेलादेखि झन् गर्वानुभूति हुन थाल्यो, जब विश्वका ठूला व्यक्तित्व तथा संस्थाहरूले उक्त सफलताको लागि बधाई दिन थाले । उक्त पललाई अपलक हेर्नेहरूले आफूलाई धन्य भन्न थाले अनि मैले पनि ‘त्यो धन्य पलको साक्षी म पनि हुँ’ भनी सदाको लागि भन्न पाउने एउटा गर्वोक्ति प्राप्त गरें ।