काठमाडौं, ५ भदौ/रासस
दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दाे बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रन्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।
कम्पनीहरूले कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।
नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत प्रचारप्रसार गरिएको उनको भनाइ छ ।
टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायत अति गोप्य सूचना सङ्कलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार गरिएकोमा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना सङ्कलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको बताएका छन् ।
“सम्बन्धित कम्पनीले हामीलाई दिएको प्रमाणपत्रमा स्पष्टसँग के गर्ने भन्ने उल्लेख छ, त्यो सेवाप्रदायक कम्पनीहरूले पनि हेर्न सक्नुहुन्छ”–उनले भने–“हामीले आवश्यक विशेषता (कस्टमाइज्ड डिजाइन) मात्रै राखेर कानूनसम्मत खरीद गरेका हौं ।” उनले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँग सहकार्य गरेर हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारे । उनका अनुसार यदि कल डिटेललगायत सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो । यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ ।
“प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन ? उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैनजस्ता विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो”–उनले भने–“तर सेवाप्रदायकले भने विभिन्न बहानामा आनाकानी गरेको अवस्था छ ।”
उनका अनुसार उक्त प्रविधि जडान तथा सञ्चालनका लागि हुने खर्च पनि प्राधिकरण आफैंले बेहोर्ने छ । “प्राधिकरणले सम्बन्धित कम्पनीलाई लाइसेन्स दिंदा जुन काम गर्नका लागि भनेर अनुमति दिएको थियो सोही अनुसार सेवाको पहुँच, गुणस्तर र शुल्क लिएको छ वा छैन भन्ने हेर्र्छौं मात्रै भनिएको हो, सेवाप्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य हो ।”
प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउन सिफारिशसमेत गर्नेछ । यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ ।
साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल बाइपासबारे पनि अनुगमन गर्नेछ । प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७८–७९ मा टेलिकम क्षेत्रको कारोबार रु २१ अर्बले घटेको छ । आव २०७४–७५ मा रु ९८ अर्ब ६८ करोडको कारोबार भएकोमा आव २०७८–७९ मा आइपुग्दा कारोबार रकम रु ७७ अर्ब पाँच करोडमा सीमित भएको छ । त्यसैगरी आव २०७५–७६ मा एक करोड ४५ लाख ग्राहक रहेकोमा आव २०७८–७९ मा यो सङ्ख्या बढेर दुर्ई करोड ७१ लाख पुगेको छ ।
“ग्राहकको सङ्ख्यासँगै डाटाको प्रयोग बढ्दै जाने तर आम्दानी कसरी कम भइरहेको छ भन्नेबारे टेरामोक्स प्रविधिले अध्ययन गर्नेछ”–उनले भने–“यदि कुनै समस्या भए वा कल बाइपास हुँदा कारोबारमा कमी आएको भए यसले निगरानी तथा अनुगमन गर्नेछ ।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म रु १२ अर्बभन्दा बढी राज्यको आम्दानी गुमेको छ । “सिआइबीको पहुँच बाहिरको राजस्वको कुनै हिसाब–किताब हुन सकेको छैन । अतः यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान अति आवश्यक देखिन्छ”–प्राधिकरणले जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।
अध्यक्ष खनालका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक सङ्ख्या बढेको अवस्थामा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटक–पटक कम्पनीहरूको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको भन्दै प्राधिकरणले टेरामोक्स प्रविधिको कार्यान्वयनमा जोड दिएको हो ।
खनालले टेलिकम सेवा प्रदायकले दिने सेवा ‘कार्पेट कभरेज’ हुनुपर्ने बताए । कार्पेट कभरेज अर्थात् कुनै कोठामा कार्पेट लगाउँँदा सबै क्षेत्र समानरूपले समेटिएजस्तै टेलिकमको सेवा पनि गुणस्तरीय र समान हुनुपर्ने बताए ।
हाल कुन सेवाप्रदायकको नेटवर्कमा कति सङ्ख्यामा कल आए र त्यसबापतको पैसा कहाँ र कति आयो भन्ने पनि टेरामोक्सले हेर्छ । हाल टेलिकम सेवाप्रदायकबीच ग्राहकको गोपनीयता कायम राख्न ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ भएको हुन्छ । तर प्राधिकरणले टेरामोक्स प्रविधिमार्पmत त्यसको स्रोत खोज्ने उनको भनाइ छ ।
उनले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुने विश्वास व्यक्त गरे । “यो प्रविधिले कुन क्षेत्रमा कस्तो सेवा प्रवाह भइरहेको छ भन्ने ‘भोल्युम’मा अध्ययन गर्छ, साथै सोही अनुसार हामीले त्यस्ता सेवा प्रदायकलाई गुणस्तर सुधारका लागि भन्न सक्छौं”–अध्यक्ष खनालले भने । उनका अनुसार अहिले राजधानी काठमाडौंका कतिपय स्थानमा टेलिकम सेवाप्रदायकको गुणस्तरको समान उपलब्धता नभएको गुनासो प्राधिकरणमा आउने गरेको छ ।
प्राधिकणले श्वेतपत्रमा भनेको छ– “टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुको यथार्थ चित्रण गर्नुका साथै कल बाइपासबाट राज्यलाई अर्बौंको क्षति भइरहँदा सो पत्ता लगाई यसको न्यूनीकरण गर्न टेरामोक्स प्रविधि आवश्यक भएको हो ।” दूरदराजका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौं सेवा प्रदायकले बिग्रिएका सेवा सञ्चालन नगर्ने, बेला–बेलामा टेलिकमको बिलिङमा समस्या आउनुलगायत समस्या पत्ता लगाउन पनि यो प्रविधि आवश्यक भएको प्राधिकरणको दाबी छ ।