नरेश यादव, पर्सागढी, ४ भदौ/
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका केही जिम्मेवारी घरेलु तथा साना उद्योग कार्यालयलाई प्रदान गरेको छ ।
संविधानको अनुसूची ५ को बुँदा नं १८ मा अन्तर्राष्ट्रिय व्यापार सङ्घको अधिकार सूचीमा र अनुसूची ६ को बुँदा नं ११ मा प्रदेशभित्रको व्यापार प्रदेशको अधिकार सूचीमा समावेश गरेको छ । त्यसैले अबदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत दर्ता हुने स्थानीय व्यापारलाई घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
यसै सन्दर्भमा मन्त्रालयले साउन ३१ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयहरू वीरगंज, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीलाई जिम्मेवारी हस्तान्तरण गर्न पत्राचार गरेको छ । मन्त्रालयले पत्राचार गरे पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजले हालसम्म जिम्मेवारी हस्तान्तरण नगर्दा स्थानीय व्यापार दर्ता गर्न सेवाग्राहीहरूलाई मर्का परेको छ । आफू सो सेवा लिन वाणिज्य कार्यालयमा गएकोमा त्यहाँबाट घरेलु तथा साना उद्योग कार्यालयमा पठाइएको र साना उद्योगले पत्र नआएको भन्दै सेवाप्रवाहबाट वञ्चित राखेको पोखरिया नगरपालिका–१० का जयशङ्कर साहले आरोप लगाए ।
यसबारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वीरगंजका सूचना अधिकारी दिलीप खङ्ग खत्वेले चाँडै फाइल हस्तान्तरण गरिने बताए । प्रक्रियागत कार्यले केही दिन ढिला भएको तर अविलम्ब फाइल बुझाउने उनले बताए ।