रक्सी र इन्टरनेटको बढ्दो लतको पछाडि मनुष्यको शरीरमा पाइने जिन जिम्मेवार हुन्छ । युरोपमा गरिएको अध्ययनमा शोधकर्ताहरूले यस्ता थुप्रै जिनको खोजी गरेको दाबी गरेका छन् । मानिसको स्वास्थ्य र जीवनको हरेक पाटोको सम्बन्ध अनुवांशिकीसँग हुन्छ । मानिसका सबै बानीको लागि पनि जिन नै जिम्मेवार हुन्छ । कैयौंपटक बदलिंदो आदतले पनि जिनलाई प्रभावित गर्छ । यसै कारणले पीढी दर पीढीमा परिवर्तन देखिन्छ ।
यो अध्ययन पर्सनलाइज्ड मेडिसिन पत्रिकामा प्रकाशित गरिएको छ । अध्ययनको लागि शोधकर्ताहरूले हङ्गेरीका कलेज र विश्वविद्यालयमा पढ्ने तीन हजार तीनजना युवाको डिएनए नमूना जम्मा गरे । त्यसपछि उनीहरूद्वारा रक्सी, तम्बाकु र ड्रग्स सेवन गर्ने आदतसहित इन्टरनेटको उपयोग, अनलाइन गेमिङ, सामाजिक सञ्जाल, जुवा, भोजन आदि लतमाथि पनि जाँच गरिएको थियो । यी सम्पूर्ण प्रकारका नशाको लतको लागि ३२ प्रकारका जिन सम्बन्धित रहने शोधकर्ताहरूले बताएका छन् ।
हङ्गेरीको सेमेलविइस युनिभर्सिटीका एशोसिएट प्रोफेसर र अध्ययनका लेखक कसाबा बार्टाले भने कुनै पनि गुणको लागि अनुवाशिंकताको ५० देखि ७० प्रतिशत भूमिका हुन्छ । बाँकीको लागि पर्यावरण जिम्मेवार हुन्छन् । उनले भने इन्टरनेट, अनलाइन गेमिङ र रक्सीको लतको लागि फाक्सएन–३ नामक जिनको आरएस–५९३६४ ए एलेली नामक भेरिएन्टसँग सम्बन्ध हुन्छ ।
हालै गरिएको अर्को अध्ययनमा इन्टरनेटलाई रक्सीको लतभन्दा पनि बढी खतरनाक बताइएको छ । यसबाट थुप्रै शारीरिक समस्या भइरहेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको अनुसार जहाँ विकसित देशमा १५–२४ आयु वर्गका ९४ प्रतिशत युवा इन्टरनेटमा व्यस्त रहन्छन् भने विकासशील देशमा ६५ प्रतिशतभन्दा बढी युवाहरू यस्तै गर्छन् । भारतमा डिसेम्बर २०१७ मा इन्टरनेट उपयोगकर्ताको सङ्ख्या लगभग ४८.१ करोड थियो, जुन अब बढेर ६९.२ करोड पुगेको छ । यसमध्ये ६० प्रतिशत बढी विद्यार्थी र युवाहरू छन् । यी सबैले दिनमा औसतन १.८ घण्टा इन्टरनेटको प्रयोग गर्छन् ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)