काठमाडौं, २ भदौ/रासस
शुक्रवार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिए । उनी श्रीमती तथा सैनिक श्रीमती सङ्घकी अध्यक्ष सुनीता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए ।
“चलचित्रबारे जति सुनेको थिएँ, त्यति नै राम्रो पाएँ । जङ्गलको परिवेशलाई खिच्न निकै मुश्किल हुन्छ । यसको पहिलो दर्शक बन्न पाउँदा खुशी छु,” प्रधानसेनापति शर्माले भने, “यो चलचित्र उत्कृष्ट बनेको छ ।”
उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए ।
उनले भने, “गाउँ आउँदा लाहुरेलाई चिटिक्क देख्नेले उनीहरूको जीवनसँग नजीक हुन पाउनेछन् । यसले उनीहरूको वीरतासँगै परिवारको कथासमेत भनेको छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।” उनले प्राविधिकरूपमा चलचित्र निकै अब्बल बनेको प्रतिक्रिया दिंदै सम्पूर्ण निर्माण समूहलाई बधाईसमेत दिए । निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई ऊर्जा थपेको बताए ।
“म आफैं पूर्वगोर्खा सैनिक भएकोले यसलाई एक दशकको मेहनतमा बनाएको हुँ । यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छ । अब हामीले हाम्रो कथा भन्न शुरू गर्नुपर्छ भनेर सुरुआत गरें,” निर्देशक चाम्सले भने, “मलाई नेपाली आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ । हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ ।”
गोर्खालीको वीरतालाई यही भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी गर्न लागिएको उनले जानकारी दिए । उनले भने, “हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिंडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौं । जहाँ बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिनेछन् । यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पु¥याउन मदत गर्नेछ ।”
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’को आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्चपदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठ, छायाङ्कन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागी थिए ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।