बलिउडका ‘खिलाडी कुमार’ अर्थात् अक्षय कुमार अब भारतीय नागरिक बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै उनले जनतालाई प्रमाण पनि देखाएका छन् ।

उनको यस पोस्टपछि फ्यानहरूले जबरजस्त प्रतिक्रिया दिंदै भारतीय नागरिकता पाएकोमा स्वागत गरिरहेका छन् । अक्षय कुमार बलिउडका ती सुपरस्टारहरूमध्ये एक हुन्, जसले प्रायः सामाजिक मुद्दामा फिल्म बनाउँछन् । ‘प्याड म्यान’देखि हालै रिलिज भएको ‘ओएमजी २’सम्म उनले भारतीय समाजसँग सम्बन्धित महŒवपूर्ण मुद्दा उठाएका छन् । तर क्यानडाको नागरिकताका कारण उनी यस विषयमा बारम्बार विवादमा पर्ने गरेका थिए ।

क्यानडाको नागरिकताका कारण उनी सामाजिक सञ्जालमा लगातार ट्रोल पनि भइरहेका थिए । यतिमात्र होइन, ट्रोलरहरूले उनलाई सामाजिक सञ्जालमा ‘क्यानडा कुमार’सम्म बोलाउँदै आएका थिए । तर अहिले भारतीय नागरिकता पाएपछि अक्षय कुमार खुशी छन् नै र उनले भारतीय नागरिकता पाएलगत्तै सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग यो कुरा शेयर पनि गरेका छन् ।

अक्षय कुमारले रातो रङ्गको सरकारी कागजातको तस्बिर शेयर गरेका छन् । जसमा भारतीय राष्ट्रिय प्रतीक बनाइएको छ । भारत सरकारको यस कागजातमा ‘नागरिकता प्रमाणपत्र’ लेखिएको छ । सामाजिक सञ्जालमा यो जानकारी दिंदै अक्षय आफैंले लेखेका छन्, “अब ह्दय र नागरिकता दुवै भारतीय हुन् ।

अक्षय कुमारले सन् २०११ मा क्यानडाको सङ्घीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारबाट क्यानडाको नागरिकता पाएका थिए । डिसेम्बर २०१९ मा अक्षय कुमारले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानडाको नागरिकता त्याग्न लागेको बताए । निवेदन दिएको तीन वर्षपछि उनले भारतीय नागरिकता पाएका हुन् ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अक्षय कुमार इज द डायमन्ड अफ इन्डिया’ लेखेका छन् । यसै क्रममा अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, “स्वतन्त्रता दिवसको दिन अक्षय कुमारले जुन खुशी दिएका छन्, त्यसको लागि उनलाई बधाई छ ।” उनका विपक्षीहरूले उनलाई भारतीय नागरिकताको बारेमा लगातार ट्रोल गर्ने गर्थे र अक्षय कुमारको देशभक्तिको विषयमा बनेको फिल्मलाई लिएर पनि मानिसहरूले उनलाई प्रश्न गर्ने गर्थे । अन्ततः अक्षय कुमारले ती सबै प्रश्नको अन्त्य गरेका छन् ।

अक्षय अहिले हालै रिलिज भएको आफ्नो फिल्म ‘ओएमजी २’ का लागि पनि चर्चामा छन् । फिल्ममा उनको साथमा पङ्कज त्रिपाठी र यामी गौतम छन् र यो फिल्म छिट्टै १०० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ । उनको अर्को फिल्म ‘द ग्रेट इन्डियन रेस्क्यू’ हो, जुन जसवन्त सिंह गिलको बायोपिक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here