काठमाडौं, ३० साउन/रासस
गत शुक्रवार रातिदेखि परेको अविरल वर्षा हिजो सोमवारदेखि केही कम भएको छ । शनिवार र आइतवारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई/तीन दिन वर्षा धेरै हुने देखिंदै छ । “मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिंदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिवार र आइतवार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ”– उनले भने ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताए ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नदी तटीय क्षेत्रमा सतर्क रहन अनुरोध वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अँगाल्न महाशाखाले अनुरोध गरेको छ ।

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतकर्ता कायम राख्न महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी देशभरका प्रमुख नदीमा जल सतह घट्दै जाने तथा सतर्कता तहभन्दा तल हुने हुँदा नदी तटीय क्षेत्रका क्रियाकलाप उच्च सतर्कताका साथ गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here