काठमाडौं, ३० साउन/रासस
राष्ट्रिय मानव अधिकार आयोगले सप्तरी घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाही गरी उक्त घटनामा अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिमा सेवाग्राहीले आफ्ना सेवा लिने क्रममा संयमित भई सेवाप्रवाह गर्ने निकायलाई मर्यादित व्यवहार गर्न सेवाग्राही, पत्रकार र अधिकारकर्मीलाई अनुरोध गरिएको छ ।

सप्तरीको राजविराजमा यही साउन १५ गते मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा सेवाग्राहीको कामविशेषले गएको समयमा उक्त कार्यालयमा कार्यरत प्रहरीद्वारा कुटपिट तथा दुव्र्यवहार भएको थियो ।

उक्त घटनालाई लिएर स्थानीय पत्रकार र अन्य सामाजिक सङ्घसंस्थाबाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस सम्बन्धमा आयोगको मधेस प्रदेश कार्यालयले स्वविवेकमा उजूरी ग्रहण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आयोगले जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी मार्गनिर्देशिका, २०६९ मा मानव अधिकार रक्षकको संरक्षण र सुरक्षाको जिम्मेवारी राज्यले गर्नुपर्ने उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणसम्बन्धी आदेश, २०७७ मा मानव अधिकार हननका विषयमा राज्यका निकाय वा पदाधिकारीले सूचना तथा जानकारी दिनुपर्ने, जानकारी लिने क्रममा हुने आक्रमणबाट शारीरिक, मानसिक वा आर्थिक क्षतिलाई रोक्न राज्यका सुरक्षा निकायबाट विशेष सतर्कता अपनाइने र क्षति पु-याउने व्यक्ति वा पदाधिकारीविरुद्ध कानूनबमोजिम कारबाही चलाउने व्यवस्था उल्लेख गरिएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र १९९८ मा राज्यले मानव अधिकार रक्षकको अधिकार संरक्षणको विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । उल्लिखित व्यवस्थाका बावजूद नेपालमा मानव अधिकार रक्षकले सुरक्षित र भयरहित वातावरणमा कार्य गर्न नपाएको आयोगको प्रतिवेदनले औंल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here