- सञ्जय मित्र
रौतहटेली साहित्यमा कथाको इतिहास निकै पुरानो छ । विसं २००३ मा द्रोण शमशेर राणाको ‘अबला’ कथासङ्ग्रह प्रकाशित भएको पाइन्छ । रौतहटेली कथा साहित्यमा गुरुप्रसाद मैनाली, कुलचन्द्र कोइराला, धुस्वाँ सायमी, यमकुमार श्रेष्ठ, यशु श्रेष्ठ, रेणु गुप्ता, रेणुका जिसीसँगै जोडिएको नाम हो, सपूत कार्की । फुटकर कथाको क्षेत्रमा रमेशमोहन अधिकारी, सञ्जय साह मित्र, दीपक खड्का आदिले पनि योगदान दिएका छन् ।
रौतहटेली साहित्याकाशमा निकै लामो समयदेखि सक्रिय साहित्यकार हुन्, सपूत कार्की । समाजसेवा तथा साहित्य सिर्जनलाई एकसाथ अगाडि बढाएका कार्कीको २०४५ मैं प्रकाशित कथाकृति हो– पागल । पहिलो कथाकृति प्रकाशित भएको साढे तीन दशकपछि कार्कीको २०८० मा प्रकाशित कथाकृति हो– ‘चौध भुवन’ ।
नेपाल रेडक्रस सोसाइटीमा सक्रिय रहँदै कार्कीले देश–देशावर घुमेका छन् । यही प्रभाव कार्कीको कथाकारितामा पनि रहेको छ । कार्कीको पछिल्लो कथाकृतिमा १४ वटा कथा रहेका छन् । एक कथालाई एक भुवनको उपमा दिई कथाकार कार्कीले १४ कथालाई नै ‘चौध भुवन’ मानेका छन् ।
‘तिमी नै भन त मैना ?’ यस सङ्ग्रहको पहिलो रचना हो । मधेसमा सम्पन्न घरपरिवारकी एक बुहारीको कुण्ठित अभिव्यक्ति स्वतन्त्रतालाई विषयवस्तु बनाइएको छ । शान्ता मुख्य पात्र हो । शान्ताको विवाहअघि र पछिको अवस्थामा जीवनमा देखिएका परिवर्तनको मनोवैज्ञानिक तुलना गरिएको छ । धनी पतिको घरमा बोल्ने स्वतन्त्रता नहुँदा घरैमा पालिएको मैनासित शान्ताको तुलना गरिएको छ । अल्प संवाद भएपनि गतिशीलता रहेको कथा सरल रैखिक शैलीमा लेखिएको छ । कथामा स्वतन्त्रताको खोजी गरिएको छ ।
कुकुर पात्रको नाममा राखिएको कथा ‘कान्छी’ यात्राको क्रममा जोडिएको पात्र हो । मगर दाइकहाँ बास बसेर यात्रा अगाडि बढाउँदा ‘कान्छी’ सँगसँगै हिंड्छे । यात्रामा रहेका साथीहरूसँगै एक यात्रीपात्रकै रूपमा सुख–दुःखमा रहेको ‘कान्छी’ यात्रा टु·िएसँगै पूर्वतर्फ जानेको भागमा पर्छ । साथमा हुँदा रमाएको कान्छी बिछोडमा रोएकी छ । बिछोडको पीडा गैरमानवीय पात्रमा पनि हुन्छ भन्ने संवेदनायुक्त भावको प्रस्तुति यस कथामा रहेको छ ।
लघुआयामिक कथा ‘पात्रको मृत्यु’मा शोक छ । म पात्रले आफ्नो कथामा बनाएको एउटा पात्रको मृत्यु भएको छ । नितान्त एक्लो उक्त पात्रको मृत्युमा कोही पनि शोक मान्ने हुँदैन तर म पात्रलाई भने कथाको पात्रको मृत्युप्रति दया जाग्छ । विशेष परिस्थितिमा समाजका लागि मृत्यु पनि असंवेदित हुन्छ तर सर्जकलाई भने मृत्युले संवेदित तुल्याउने भाव कथाको रहेको छ ।
हरेक वर्ष बाढीले प्रभावित हुने हजमिनियाँ गाउँँको कथा हो ‘म आशा बाँडिरहेको छु’ । म पात्र राहत बाँड्न गएको छ । समानरूपले राहत वितरण भएपछि एकजना स्थानीय नेताले विरोध गर्छ । वर्णनात्मक शैलीमा रचित यस कथामा नियमित आकस्मिकताले पार्ने प्रभावलाई देखाइएको छ । साथै राम्रो काम गर्दागर्दै पनि कतिपयले विरोध गरेर राम्रो काम गर्नेको मन अमिलो बनाइदिने सत्यलाई पनि कथाले उजागर गरेको छ ।
प्रजातान्त्रिक आन्दोलनमा धेरै किसिमका मानिसको योगदान हुन्छ । वेश्यावृत्तिले समाजमा दुर्नाम कमाएकी मनमाया प्रजातन्त्रको लागि भएको आन्दोलनमा शहीद भएकी छ । दलहरूले आफ्नो पक्षबाट लड्नेहरूको विवरण सरकारलाई बुझाउँछन् तर मनमाया कतै पर्दिन । शहीद र शहादतमा पनि राजनीति हुने गरेकोप्रति कथामा क्षोभ प्रकट गरिएको छ । कथामा सहानुभूति राखिएको पात्र मनमाया ‘अस्वीकृत शहीद’ भएकी छ ।
दाइजो प्रथाले आक्रान्त छ, मधेसी समाज । यसै समाजको अत्यन्त विपन्न पिता हो, पिरित । पिरितले बडो मुश्किलले छोरी फुलवाको विवाह गर्न सकेको छ । बिहेको क्रममा भएको समस्यालाई यथार्थपरक र मर्मस्पर्शी शैलीमा प्रस्तुत गरिएको छ । छोरीको विवाह विपन्न समुदायका अभिभावकलाई कसरी समस्या हुन्छ भन्ने देखाउन सफल कथा हो, ‘फुलवाको विवाह’ ।
सामन्ती संस्कृतिको विरोध गर्ने सामाजिक कथा ‘नियति’ केही दशक पहिलेको यथार्थवादी कथा हो । अझै पनि काजीहरूको अत्याचारले गोविन्दे र तिनका परिवार आफ्नो जन्मथलो र थातथलोबाट अज्ञातस्थल गन्तव्यतिर पलायन हुन बाध्य छन् । कथाको परिवेश कसिलो छ । उचित संवादको प्रयोगले कथालाई विश्लेषणात्मक बनाउन सहयोग गरेको छ । विपन्नप्रति सहानुभूति राखिएको यस कथाका पात्रहरू गतिशील छन् ।
सम्भवतः रौतहटकै एक गाउँँ हो, ‘गोपालकुटी’ । गोपालकुटीको निर्माण र दैवी प्रकोपले गाउँँ नै खत्तम भएको स्मृति कथाको रूपमा यसको प्रस्तुति छ । विगतको निर्माण गर्नेले आगतको पनि महसूस गरेको हुन्छ । निर्माणमा समय लाग्ने तर विनाशमा खासै समय नलाग्ने प्राकृतिक नियति यसमा प्रस्तुत गरिएको छ । गोपालकुटी जस्ता ठाउँहरूले आफ्नै गर्वमा आफ्नो उत्थान र पतनका कथाहरू समेटेका छन् भन्ने खोतल्न कथा सफल छ ।
‘पुस्तक’ मनोवैज्ञानिक कथा हो । म पात्र र निकिता सानैदेखिका मन मिल्ने साथी हुन्छन् । निकितालाई पुस्तक मन पर्छ र निकिताको बिहेमा म पात्रले उपहारको रूपमा पुस्तक दिएको कथावस्तु छ । पुस्तक उपहार दिंदा मनमा उठेका तर्कना तथा पुस्तक दिंदा अरूले गरेका कानेखुसीलाई बडो मनोरम उत्सुकतापूर्वक कथामा प्रस्तुत गरिएको छ । असन्तोष र सन्तोषपूर्ण तर्कना तथा संवादले भरिएको कथा रोचक रहेको छ । समाजलाई हेप्नलाई बहाना मात्र चाहिएको हुन्छ, नजानेर वा नबुझेर पनि हेप्न पायो भने खिसिटिउरी गर्न छोड्दैन भन्ने कुरा देखाउन कथा सफल रहेको छ ।
‘ट्रेसी’ एक विदेशी महिला हो । केही दिनको परदेश बसाइमा विदेशी नागरिक ट्रेसीसित भएको उठबस, भेटघाट तथा घुमाइको रोचक वर्णन छ । वर्णनात्मक र संस्मरणात्मक शैलीमा लेखिएको यस कथामा विदेशी महिलाको आफ्नो परिवेश अनुसार खुलापन र विचारको वर्णन रहेको छ ।
अचेल कामको खोजीमा अन्यत्र जानु स्वाभाविक छ । ‘गल्ली नम्बर आठ’मा मुख्यगरी चिया खान नियमित भेट हुने साथीहरूमध्ये विमल नामका एक सदस्य व्यापार गर्न बाहिर पुगेको कथानक छ । चिया खान एक दिन कोही नआउँदा पनि तिनको बारेमा हुने गफगाफलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । यो यथार्थवादी कथा हो ।
‘सोनफी’ व्यक्तिको नाममा शीर्षक राखिएको अर्को कथा हो । अन्धविश्वास र धार्मिक आस्थाका कारण सोनफीकी पत्नीले सन्तानमाथि सन्तान जन्माएकी छे । स्वास्थ्यको ठेगान नराखी आफ्नो आर्थिक अवस्थाको पनि ख्याल नराखी बच्चा जन्माउने प्रवृत्ति रहेको यथार्थलाई उद्घाटन गरिएको छ । ग्रामीण क्षेत्रमा बालबालिकाप्रति रहेको अन्धविश्वासपूर्ण धारणाको चिरफार यसमा गरिएको छ ।
कहिलेकाहीं लोभले लाभ र लाभले विलाप हुन्छ । सानोतिनो खुशीमा कहिलेकाहीं ठूलो भोजभतेर गर्दा बिचल्ली हुने हुन्छ । अनावश्यक भोजभतेरमा विपन्नको झन् बिचल्ली हुने, रक्सी खाने बानीले घरपरिवारलाई हेर्नुपर्छ भन्ने कुराको ख्यालै नहुने र घरमा झैंझगडा भइरहने प्रवृत्तिलाई ‘राहत’मार्फत जगतवाको प्रवृत्तिलाई उजागर गरिएको छ । जगतवा एउटा प्रतिनिधि पात्र र उसको परिवार पनि प्रतिनिधि परिवार हो । यस्तो बिचल्ली धेरै परिवारको भएको पाउन सकिन्छ ।
चरित्र जन्मजात हुन्छ, नैसर्गिक हुन्छ भन्ने कुरालाई ‘भुस्याहा कुकुर’मार्फत देखाइएको छ । भुस्याहा कुकुरप्रति माया लागेर सुधार्न खोज्दा नसकेर आफू नै पलायन हुनुपरेको कथामा देखाइएको छ । सानोले धेरै सुख पायो भने मात्तिन्छ र सुख दिनेलाई नै पिर्छ भन्ने तथ्य देखाउन कथा सफल छ । कुकुरमा रहेको जन्मजात प्रवृत्तिलाई कुनै मानिसको अहम्ले परिवर्तन गर्न सक्दैन भन्ने पनि कथामा स्पष्ट भएको छ ।
विषय वैविध्य, पृथकोद्देश्य तथा परिवेशमा पार्थक्य यस कथा सङ्ग्रहका विशिष्टता हुन् । एउटा कथाको आयाम लघु हुन गएको छ । बाँकी कथा मध्यम आयामका छन् । अधिकांश कथा सरल रेखीय र केही कथाहरू वृत्तकारीय शैलीमा पनि छन् । कतिपय कथामा मनोविज्ञानको भरपूर प्रयोग गरिएको छ । सटीक संवादले कथ्यलाई स्पष्ट पार्न र पात्रलाई जीवन्त तुल्याउन सहयोग गरेका छन् । परम्परागत कथापाठकका लागि प्रस्तुत ‘चौध भुवन’ कथासङ्ग्रह एक पठनीय कृति बन्न पुगेको छ ।
२०८० वैशाखमा शब्दयात्रा प्रकाशन बनेपाद्वारा प्रकाशित ‘चौध भुवन’ कथासङ्ग्रहको पहिलो संस्करण ७२ पृष्ठमा रहेको छ । विभिन्न पत्रपत्रिकामा पहिले नै प्रकाशित भइसकेका कथाहरूको सङ्ग्रह ‘चौध भुवन’लाई सामाजिक कथाहरूको सँगालो मान्न सकिन्छ ।