- सञ्जय मित्र
एउटाले कथिकुथी पुस्तक निकाल्यो– ख्याति ।
एकाधोटा पुस्तक निकालेपछि दम्भको बेलुन भने नफुके पनि भरिंदो रहेछ ।
कालान्तरमा लोप भयो पुस्तक । कुहिरोमा हराएको घामजस्तै लेखकको आभा कतै देखिएन ।
युग बदलियो । एक ठाउँमा यस्तो युग आयो कि पुराना लेखकको खोजी भयो । कतैबाट कानमा पस्यो यो कुरो । उनमा निराश भएर करीब मरिसकेको लेखक जुर्मुरायो । आफूलाई पुरानो लेखक भन्ठान्यो । जमानामा नै आफ्नो कृति प्रकाशित भएको प्रमाण पनि पेश गर्यो । एउटा ठूलो ठाउँको लागि पुरानो लेखक चाहिएको थियो । त्यो ठाउँमा आसीन भयो ।
त्यसपछि उसले अर्को कृति निकाल्यो– पुरानो ।
उसलाई विश्वास थियो, कुनै दिन फेरि पुरानो लेखकको खोजी होला । पुरानो नामको कृतिकै लेखक भएपछि आफूभन्दा पुरानो कोही हुने कुरै हुँदैन ।
एक दिन सपनामा आकाशवाणी सुन्यो उसले– जब तिमी ख्यातिबारे केही कुरा निकाल्नेछौ, तब तिम्रो ख्याति सर्वव्यापी हुनेछ ।
केही दिन मौन बस्यो । एक दिन बजारको चोकमा पानीपुरी खाइरहेको थियो । उसले आफ्नो ख्याति किताब त्यही देख्यो । झालपुरी बेच्नेले एक/एक पाना च्यात्दै त्यसैमा दिंदै थियो । उसले पनि खान खोज्यो तर उसलाई लाग्यो, आफ्नै किताबको पानामा झालपुरी खानु सा¥है बेमज्जा हुन्छ । किताबको दाम तिरेर उसले किन्यो ।
पदासीन भएपछि एउटा जुक्ति निकाल्यो– ख्यातिप्राप्त लेखकलाई पुरस्कृत गर्ने ।
चानचुन पैसाको व्यवस्था संस्थाले गरिहाल्यो । आजभोलि आफ्नो कोही स्थानीय तहमा निर्वाचित छ भने संस्थामा जति पनि पैसा झार्न सकिन्छ । आफ्नो अनुकूल संस्था पनि खोल्न सकिन्छ । हो, पैसा देखेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्छन् क्यारे । पुरस्कारलाई प्रतिष्ठित बनाउनु थियो । पुरस्कारलाई प्रतिष्ठित बनाउनुको अर्थ हो, आफूले पनि प्रतिष्ठित पुरस्कार पाउनु । कालान्तरमा त्यसको योग्य बन्ने बाटो निर्माण गर्नु । एक हातले कतै ताली बज्दैन, विनाबिहे कोही साली बन्दैन ।
ख्यातिप्राप्त लेखकलाई ठूलो धनराशिको पुरस्कार दिइने भएपछि पुरस्कारको व्यवसायमा एकचोटी हलचल मच्चियो । कुन लेखक ख्यातिप्राप्त र कुन लेखक ख्याति अप्राप्त भनेर छुट्याउन गा¥हो हुने भयो । गन्थन र मन्थन शुरू भयो । अनुसन्धान र समीक्षा पनि हुन थाल्यो । कसरी पत्ता लगाउने ख्यातिप्राप्त लेखक ? सामाजिक सञ्जालमा पुरस्कारको भन्दा ख्यातिप्राप्त लेखक शब्दले ट्रेन्डिङ पायो । यस्तैमा एउटा अड्डाअगाडि लेखनदास भनी परिचित लेखापढी व्यवसायीले एउटा पोस्ट गर्यो– म हुँ ख्यातिप्राप्त लेखक ।
भर्खर लाइसेन्स प्राप्त गरेको थियो । निकै राम्रो लेखावट थियो र बेहोरा पनि खूब मिलाउन जानेको थियो । उसले पोस्ट गरेको फोटोमा उसले एउटा किताब फोकस गरेको थियो । किताबको नाम थियो– ख्याति ।
सबैले लेखनदास भनेर चिनेको मानिस नै देखियो– ख्यातिप्राप्त । अब जे खोजेको थियो, त्यो त प्राप्त भयो नै । उसको कुनै किताब प्रकाशित भएको थिएन तर मुख्य शर्त उसले पूरा गरेको थियो ।
पुरस्कारप्रदायक संस्थाका प्रमुखले एकसाथ दोहोरो खुशी पायो । शर्त अनुसारको ख्यातिप्राप्त दाबी गर्ने मान्छे निस्कियो र आफ्नो कृति पनि भेटियो । आफ्नै कृतिले ख्यातिप्राप्त लेखक बनाएको खुशी त अटाइनसक्नु थियो ।
पुरस्कारको अर्को शर्त थियो, लेखकले निवेदन दिनुपर्ने । लेखनदासले हरेक दिन निवेदन नै त लेख्छ । उसले जताबाट थाहा पाएको होस् तर ख्यातिप्राप्त लेखकको दाबीपछि अब निवेदन त लेख्नुप¥यो ।
उसले एउटा निवेदन लेख्यो र आफैं पढ्यो । धेरै राम्रो निवेदन थियो । एक छिनपछि अर्को निवेदन लेख्यो र पहिलेभन्दा झन् धेरै खुशी भयो । एव रीतले निवेदन लेख्दै गयो र खुशी हुँदै गयो । आखिर जीवनमा खुशी हुनु ठूलो कुरो रहेछ । विचार गर्यो, निवेदनसाथ पुरस्कारको लागि दाबी गर्नुपर्नेछ । एक दुईटा निवेदनले मेरो दाबी पुग्दैन कि ? पुरस्कारदातालाई रिझाउनुपर्छ । यस कारण उसले पुरस्कारदातालाई अनेक स्वस्तीगान, अनेक उपमा, अलङ्कार र महामानवभन्दा पनि ठूलो त्यागी, तपस्वी सबै कुरा उल्लेख गरी एकपछि अर्को निवेदन लेख्यो । र तोकिएको समयभित्रै निवेदनको एउटा चाङ नै लगेर पुरस्कारप्रदायक संस्थाको कार्यालयमा बुझायो ।
निवेदन लेख्नु आफैंमा एउटा कला हो । साहित्य पनि कला नै हो । कलाले आजीविका गर्ने कलाकार नै हुन्छ । यसै कारण कतिपयले लेखकलाई कलाकार पनि भन्छन् किनभने पुरस्कार पाउन, आफ्नोलाई दिन र योग्यता साबित गर्न पनि कला चाहिन्छ ।
पुरस्कार छनोट समितिको बैठक बस्यो । सयौं निवेदन आएका थिए (एकैजनाको) । सयौं निवेदनमध्ये एकजनालाई चयन गर्नु थियो । चयन गर्न विलम्ब भएको पनि देखाउनु थियो । भनियो, निवेदन धेरै आएकाले पुराना लेखकलाई पनि सामेल गरी निष्पक्ष निर्णय गरिनेछ ।
संस्थाका अध्यक्षले निकालेको दोस्रो पुस्तक थियो– पुरानो । किताबको नाम नै पुरानो भएपछि पुराना लेखक अरू कोही हुन सक्ला र ?
पुरानो लेखकको अलिकति खोजी गरेजस्तो गर्यो । सामाजिक सञ्जालमा खोजीको चिठी सार्वजनिक गर्यो । धेरै पहिलेदेखि लेखेर के भो, धेरै कृति प्रकाशन गरेर के भो ? अनुसन्धान वा समालोचनाले पनि किन केही लछारपाटो लाउँथ्यो । आखिरमा वास्तविक पुराना लेखक भनेको उही त हो, जसले पुरानो नामको कृति लेख्यो । अनि उसैले सबै निर्णय गर्यो । निर्णय त के भन्नु, अरूको आँखामा छारो हाल्ने प्रक्रियाको अभिनय गर्यो । दुई/चार नाम बनाएर सही गर्यो । भत्ता निकाल्यो । खायो, पियो र पचाएको जस्तै गर्यो ।
अन्ततः सबै नियम र प्रक्रिया मिलेर आएको उही ख्यातिप्राप्त लेखकले पुरस्कार पायो । किन कसैको हिम्मत हुन्थ्यो नियम र प्रक्रियामा खोट लगाउने ? दोख लगाउने ? तैं चुप र मै चुप । सबै चुप । बोल्ने ठाउँ भए पो बोल्नु । आयोजकदेखि प्रायोजकसम्मले आफूलाई पनि पुरस्कृत गराउने बाटो निर्माण गर्नु नै बुद्धिमानी हुन्छ ।
“फेरि पनि ख्यातिप्राप्त लेखकको खोजी भयो भने मैले पनि जानेको छु” पुरस्कार वितरण समारोहको समापनपछि एउटाले पोस्ट गर्यो ।
अनेक प्रतिक्रियाहरू आए । प्रतिक्रियावादीहरूको कामै प्रतिक्रिया दिनु हो । राम्रो काम गरे पनि प्रतिक्रिया र नराम्रो काम गरे पनि प्रतिक्रिया । अनि उसले जवाफ पनि दिंदै गयो । “सबैभन्दा ख्यातिप्राप्त”, “सर्वोत्कृष्ट ख्यातिप्राप्त” तथा “झन् पुरानो” वा “त्योभन्दा पनि पुरानो” आदि नाम दिएर कृतिहरू निकाल्छु । अनि पुरस्कार पाउनबाट कसले रोक्छ । त्यसको लागि अहिलेदेखि नै चढाउनलाई निवेदन र दिनलाई नैवेद्यको अभ्यास गर्छु ।”
“निवेदन, नैवेद्य र ख्यातिप्राप्त पुराना लेखक नै पुरस्कारको हकदार हुनुपर्छ ।” आवाज उठाउनेहरूको बोलवाला त्यो जमानामा बढ्दै गयो ।
अहिले कस्तो छ कुन्नि ?