• सञ्जय मित्र

 “तपाईंको मुख कहाँ बनेको छ ?” बकपत्रका लागि बोलाउँदा कोठाभित्र छिरेपछि बस्न लगाउँँदै एकजनाले सोधेको पहिलो प्रश्न यही थियो । मलाई जवाफ दिन अकमकिएको बुझेर अर्का एकजनाले यस्तै प्रश्न तेस्र्र्याए–“तपाईंको मुख के केबाट बनेको छ ?”

बकपत्र गराउँदा बोल्नेको कुरा टिपेर आफूले भनेजस्तो हो कि होइन भनेर लेखिन्छ भन्ने सुनेको सोझो मनुवा म । यो अन्तर्वार्ता हो कि डरलाग्दो बहिर्वार्ता हो ? अचम्ममा परेको मलाई, फेरि अर्कोले प्रश्नको ठाडो प्रहार बजार्यो, “तपाईंले बोलेको मुख आफ्नै हो कि भाडामा लिएर आउनुभएको छ ?”

मेरो भुँडी अलिक ठूलो छ । मेरी पत्नीको भुँडी स्लिम छ । कतिपयले जिस्केर मलाई भन्ने गर्छन्–“दाजुलाई भुँडी लागेछ, भाउजूको भुँडी राम्रो छ ।”

यसरी जिस्किनेसित पत्नीजीले मस्किनुभन्दा पहिले मैं थस्किदिन्छु र बक्छु–“मैले पत्नीको भुँडी सापटी लिएको छु । म गरीबको एक्लो यत्रो बडेमाको भुँडी कहाँबाट आउँछ र ?” तर यहाँ त बोल्ने मोकै पाइरहेको छैन । साधु वेशमा चोर चाला, मन्दिर भनेर भट्टी जाला’ भन्ने उखानजस्तै भइरहेको छ । बकपत्र मेरो हो, मलाई केही बक्नै दिइरहेका थिएनन् । एउटा सोच्यो कि अर्को उट्पट्याङ प्रश्न मेरो खप्परमाथि ठोकिन आइलाग्थ्यो । विगतलाई एकातिर पन्छाउन नपाउँदै फेरि अर्को प्रश्न आयो–“तपाईंले बक्ने कुरो तपैंकै हुन्छ कि भाडाको ?”

जानेर त होइन, बोल्ने बानी भएर होला । मुखबाट तुरुन्त फुत्किहाल्यो– “तपैंहरू भाडामा आएपछि मैले भाडामा मुख ल्याउनुहुन्न भन्ने छ र ?”

गम्भीरजस्तो बुझिने बकपत्रकारले अनुहारमा रिसको एउटा झोका ल्याएर संयमको नाटकीय प्रदर्शन गर्दै रोषपूर्वक जिज्ञासा थपे–“हामी जिम्मेवारी वहन गर्न आकालाई भाडामा आको देख्ने चश्मा फुकालेर हेर्नुस्, हाम्रो वास्तविकता देख्नुहुन्छ । हाम्लाई आरोप नलगाउनुस् ।”

मैले चश्मा फुकालें । अब तिनीहरूको अनुहारको ठाउँमा गोलो कालो मात्र देखियो । मैले केही चिन्न नसकेको भाव यसरी व्यक्त गरें–“तपाईंहरू सबैको अनुहार कालो देख्छु । यहाँ आएर कालो हुनुभएको हो कि कालो मुखै लिएर आउनुभएको हो ?” आँखा पनि मिचें । झन् कालो देखें । एकजनाले झन् झर्केर आकाश दर्केजस्तो गर्जेर हप्काए मलाई, “हामीसित सोझो कुरो गर्नुस् । धेरै बाङ्गो नहुनुस् ।”

अनि उनीतिर फर्केर भनें–“हजूर, म एक्लो मानिस । हजूरहरू चारजना हुनुहुन्छ । म दाहिनेतिर फर्किंदा देबे्रेतिर बाङ्गो हुनुपर्छ । र, देब्रेतिर फर्केर जवाफ दिंदा कहिलेकाहीं दाहिनेतिर बाङ्गिनुपर्छ । धेरै बाङ्गो नहुन त, म घुम्ने कुर्सीमाथि बस्नुपर्छ । म नपढेको मान्छे, घुम्ने कुर्सीमाथि अन्धो मान्छे कसरी बस्छु ? बरु हजूर चाहिं, मैले बाङ्गो कुरो गरेको पनि सुन्नुपर्छ, सहनुपर्छ ।” सबैजना काठको साधारण कुर्सीमा बसेका थिए । मलाई पनि बस्न एउटा कुर्सी दिएका थिए । सबैले आआफ्नो कुर्सी सुम्सुम्याउन थाले ।

बकपत्रकारहरू अवाक थिए, मेरो प्रत्युत्पन्न बुद्धि देखेर । जवाफ त म फर्काउन सक्थें, जवाफमैं थर्काउन सक्थें । यो कुरा शायद तिनीहरूले बुझेछन् । अनि एकजनाले मलाई सोध्ने प्रयास गरे–“भन्नुको मतलब यो हो कि तपाईं आफैंले देखेको कुरो भन्ने हो कि अरूले भनेको र तपाईंले सुनेको कुरा यहाँ बताउने हो ? अरूले भनेको कुरो सुनेर यहाँ बोल्ने अर्थात् बकपत्र गर्ने चाहिं अर्काको मुखले बोलेको भएन ?”

उनको कुरो अधूरै रहन दिएर म बीचमैं बोलें र आफ्नो मनको बात यसरी खोलें–“तपाईं दुर्ई नम्बरीले सोझो कुरो नगरे हुन्छ ?” मलाई बीचैमा रोक्दै तेस्रो चाहिं बम्क्यो–“तपैं जथाभावी नबोल्नुस् है ? कसैलाई दुर्ई नम्बरी भन्ने आधार के ? अघि त्यस्तै भाडामा आएको भन्नुभो । हामीले सह्यौं । अब चाहिं आल्तुफाल्तु कुरो चैं नहोस् ।”

मैले सहजरूपमा भनें–“तपाईं तीन नम्बरी कसरी पर्नु’भो भने मसित कुरोकानी शुरू गर्दा तपाईंहरू सबैजना चारजनामध्ये तेस्रो नम्बरमा प्रश्न गर्नुभो । अनि जो दोस्रो नम्बरमा प्रश्न गर्यो, ऊ मेरो नजरमा दुर्ई नम्बरी । मतलब दुर्ई नम्बरमा कुरा गर्ने मान्छे ।” मेरो सोझो अर्थ सुनेर एकचोटी सबैको अनुहारमा एक हुल हाँसो दौड्यो । अनि गर्मीमा कतैको चीसो हावाको एउटा झोका बिलाएझैं हरायो ।

अल्पकालीन मौनतालाई तोड्दै र सबै किसिमको लाज पचाउँदै, कुरोलाई अर्कैतिर मोड्दै मैले प्रश्न राखें–“मैले सबै कुरा झूटो बोलें भने के हुन्छ ? अनि, मैले सबै कुरा आफैंले देखे पनि देखेकोजस्तो नबोली अरूले भनेकोजस्तो बोलें भने के हुन्छ ?”

अनि फेरि थपें–“तपाईंहरू आफ्नो कार्यालयको वा हाकिमको बोलीको झोला बोकेर वा ड्युटीको झोला बोकेर आउँदा त्यहींको झोले हुनुभयो । अनि सित्तैमा पक्कै आउनुभएको छैन । आएको पैसा पाउनुहुन्छ अनि भाडाको बकपत्रकार हुनुभयो कि भन्ने जस्तो मलाई लागेको छ । यसैगरी, मैले आफ्नो कुरो बोले पनि वा अरूको कुरो बोले पनि तपाईंहरूले टिप्ने नै हो । तपाईंहरूले अर्थात् बकपत्रकारहरूले टिपेको नै लेखोट गर्ने हो र मलाई अन्तिममा सही गराउने हो । बकपत्रकार तपाईं तर बकपत्र मेरो, हुने यही त हो नि ।” यसपटक भने सबैलाई हान्नुसम्म हानें । कसैलाई छाडिनँ ।

 “हामीलाई भरौटे भन्ने तपाईं चाहिं धेरै कुरौटे । अब यताउतिको कुरो छाडेर सोझै विषयवस्तुतिर लागौं । घटना तपाईंले आफैंले देखेको हो ?”

मैले जवाफ दिने मौकामा चौका हान्न पाएँ–“तपाईंहरूको आँखाले देखेको होइन । मैले आँखा राम्ररी देख्दिनँ । यसैले आधा मैले र आधा चश्माले देखेको हो ।”

अनि बकपत्रकारहरूले बकपत्रको आफ्नो रीति पूरा गरे । सबै नीति, अनीति, थिति, बेथिति हो कि अतिथि सबै कुरा सोधे । मैले पनि ‘तस्तालाई तस्तै ढिंडोलाई निस्तै’ भनेझैं गर्दै गएँ । कतै ईंटको जवाफ पत्थरले पनि दिनुपर्यो । मलाई अन्तिममा लाग्यो,  बकपत्रकारहरू भिजेको मुसो भएर गए । किनभने सबैको अनुहारमा बार्है बजेको थियो ।”

म आफ्नो घर फर्कें । दुई छिमेकीबीच झगडा भएको थियो । तगडा झगडा भएको कारण मेरो आँगनमा गाउँ–समाज बसेको थियो । पहिले त डर लाग्यो कि म घरमा नभएको बेला के कारणले यत्तिका मानिस जम्मा भएका होलान् भनेर । तर म त लालबुझक्कड, कुरो चाँडै बुझिहालें । एकातिर बातबहादुर पनि बसिरहेका थिए । विनाबत्क्यौली बस्नै नसक्ने प्राणी । एक्लै छँदा पनि बोलिरहने । राति निदाए पनि बोलिरहने गज्जबका प्राणी । व्यवहारले उनी थिए, झगडाप्रसाद । जहिले नि, जोसित पनि झगडा परिरहने । महीनामा एकाध झगडाको लफडा बढिरहने ।

झगडालाई कुनै निहुँ चाहिंदैन, बोल्नलाई कुनै बीउ चाहिंदैन । यो उनकै हकमा लागू हुन्छ । एक छिनपछि सोधपूछ शुरू भयो । नवनिर्वाचित वडाध्यक्षले सोधे–“तपाईंले किन गाली गर्नुभयो ?”

बातबहादुर–“मैले बोलेकै छैन, केही भनेकै छैन ।”

 “अनि झगडा कसरी भयो त ?”

 “ऊ आफ्नो मुखले बोल्दैन । उसको मुख फलानोको घरमा बन्छ । उसको बोली फलानाले बनाउँछन् । उसको एक्शन जति फलानीले निर्देशन गर्ने हो । अनि रिमोट कन्ट्रोलवाला डिजेले जस्तै कसैले उसको स्वीच अन गरिदिएर कुनै अश्लील गीत लाइदिएजस्तै गरी गरिदिन्छ र ऊ गाउन तथा आफैं नाच्न थाल्छ ।

ऊजस्तो भाडाको मुखले म बोल्न सक्दिनँ … ।” उसलाई नरोकेको भए शायद अझ के के भन्थ्यो, भन्थ्यो ।

बातबहादुरले जति पनि बोल्न सक्थ्यो तर उसलाई रोकेर सोझै दोष उसको झगडियामाथि थप्ने मनसाय भलाद्मीहरूको देखियो ।

म भर्खर बाहिरबाट आएको थिएँ । घरमा पसें । फ्रेस हुनु थियो । घरभित्र पस्नासाथ पत्नीजीले प्रश्न तेस्र्याइन्–“यो भाडाको मुख कस्तो हुन्छ ?”

झनक्क उठेको रिसलाई दमन गर्दै अमनले जवाफ फर्काएँ–“जुन मुखले आफ्नो दुःखसुखको कुरा गर्दैन, अर्काको विषयमा नानाथरी कुरा गरिरहन्छ । त्यस्तो मुखलाई भाडाको मुख भनिन्छ । र, भाडाको मुख तिमै्रजस्तो हुन्छ, मेरैजस्तो हुन्छ ।”

म शौचालयमा छिरें । आनन्दले बस्दै सोच्न थालें–“जहाँतहीं भाडाकै मुख छ । कतै मेरो मुख पनि भाडाकै छ कि ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here