प्रस, वीरगंज, ५ असार/
स्थानीय तहहरूमा बढ्दो भ्रष्टाचारविरुद्ध सर्वसाधारणले उजूरी गर्न थालेपछि स्थानीय तहहरूले पनि सोको उपाय खोज्न थालेका छन् ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिकाले अख्तियारमा परेका उजूरी हेर्नको लागि एकजना फोकल पर्सन नै तोकेपछि अहिले चर्चाको विषय बनेको छ । उमनपाले नासु रमेश सुवेदीलाई अख्तियारको फोकल पर्सन तोकी उजूरी परेका फाइल तथा सम्बन्धित व्यक्तिलाई उपस्थित गराउने कार्य सुम्पेको छ । नासु सुवेदीले एक हप्तामा उमनपाविरुद्ध अख्तियारमा ५३ वटा उजूरी परेको जानकारी दिए ।
अहिले पर्सा र बाराका स्थानीय पालिकाहरूमा योजनापिच्छे उजूरी अख्तियारमा पर्ने गरेको छ । अख्तियारले दैनिक गापाको इमेलमा उजूरीसम्बन्धी फाइल पठाउने र सोसँग सम्बन्धित व्यक्तिहरूलाई झिकाउन निर्देशन दिने गरेको कारण अधिकांश कर्मचारी पालिकाको काम छाडी अख्तियारमा धाइरहेका छन् ।
पर्साका एकजना प्रमुख कार्यकारी अधिकृतले आर्थिक मसान्तको अन्तिम महीना चलिरहेको, भुक्तानी लिने–दिने, आगामी आवको लागि योजना बनाउने समयमा अख्तियारले दैनिक ताकेता गरेपछि हैरान भएको बताए । उनले विगतमा कसले के गलती गर्यो, सोको फाइल नभेटिने, योजना सञ्चालन गर्ने व्यक्ति नरहेकाले आफूलाई जवाफ दिन समस्या भएको बताए । उनले यस्ता फाइलहरू हेर्ने छुट्टै कर्मचारी नियुक्त गर्नुपर्ने बताएका छन् ।