प्रस, वीरगंज, २ फागुन/
जनमत पार्टी पर्साको आयोजनामा बिहीवार र शुक्रवार गरी तीनवटा निश्शुल्क आँखा शिविर सम्पन्न भएको अध्यक्ष ओमप्रकाश सर्राफले बताए । अहिलेसम्म २० वटा शिविर सञ्चालन भइसकेको र त्यसबाट दुई हजार ५७५ भन्दा बढी मानिसले लाभ लिएको उनले बताए ।
हिजो र आज कालिकामाई गाउँपालिका–३, धोबिनी गापा–२ र वीरगंज महानगरपालिका–२२ मा गरी तीनवटा शिविर सम्पन्न भएकामा ३१५ जनाको आँखा परीक्षण गरिएको उनले बताए । ३१५ मध्ये १०३ जनामा मोतीबिन्दु भेटिएको र उनीहरूको निश्शुल्क शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा गरिने उनले बताए ।
शिविरमा सो पार्टीका नेताहरू गौरीशङ्कर गुप्ता, प्रदीप साह, अनीता रौनियार, नजमा खातुन, अमरनाथसिंह राठौर, रामरतन राम, रूक्साना खातुनलगायतको सहभागिता थियो ।