निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समिति गठन

प्रस, वीरगंज, २ फागुन/
निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समिति, पर्साले शुक्रवार वीरगंज महानगर कमिटी गठन गरेको छ ।

त्रिजुद्घ मावि परिसरमा आज बसेको निवृत्तिभरण वञ्चित शिक्षकहरूको भेलाले प्रेमचन्द्र झाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित समितिको उपाध्यक्ष परवेज आलम, महिला उपाध्यक्ष रोजी साह, सचिव अरुण कुशवाहा, सहसचिवद्वय काजल किरण सर्राफ, राजकुमार ठाकुर, कोषाध्यक्ष दयानन्द ठाकुर, सहकोषाध्यक्ष गुणप्रसाद पौडेललगायत सदस्यहरू छन् ।

कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अध्यक्ष रामबालक यादवले अध्यादेशमा गरिएको व्यवस्था विभेदकारी भएको भन्दै खारेजी नभएसम्म सशक्त आन्दोलन गर्ने बताए ।

अध्यक्ष यादवले विगतमा भएका सबै सम्झौता अक्षरशः ऐनमा नसमेटिए ठूलो आन्दोलन हुने चेतावनी दिंदै ऐन जारी भएको मितिभन्दा अगाडि नियुक्त भएका शिक्षकहरूलाई पुरानै निवृत्तिभरण प्रणाली अनुसार निवृत्तिभरण लागू गर्नुपर्ने भन्दै शिक्षामन्त्री विद्या भट्टराईले मौखिकरूपमा भन्दैमा शिक्षकहरूले विश्वास नगर्ने बताए ।

सचिव बिन्दुभूषण साहले २०७५/१२/०४ पछि नियुक्त शिक्षकहरूलाई भूतप्रभावी कानून लागू गर्ने अध्यादेश जारी गर्नु गलत, अन्यायपूर्ण र घोर आपत्तिजनक भएको बताए ।

जिल्ला उपाध्यक्ष विमला श्रेष्ठले जिल्लाका निवृत्तिभरण वञ्चित शिक्षकहरूलाई एक ढिक्का भएर अधिकारको लागि आन्दोलनको तयारीमा रहन सुझाइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्