चिरञ्जीवी सापकोटा, ठोरी, २ फागुन/
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा ठोरी गाउँपालिकाले मधेस प्रदेशमा प्रथम स्थान हासिल गरेको छ ।
७१.२ अङ्क प्राप्त गर्दै ठोरी गाउँपालिका मधेस प्रदेशमा प्रथम भएको हो । यो सफलता हासिल गर्न अहोरात्र काममा खटिने ठोरी गापाका कर्मचारी, प्राप्त उपलब्धिलाई निकै मेहनतका साथ व्यवस्थित गर्दै सम्बन्धित निकायमा समयमैं उपलब्ध गराउने सूचना प्रविधि अधिकृतलगायत कार्यसम्पादनमा सहयोग पु¥याउने सबै जनप्रतिनिधिलाई गापाध्यक्ष लालबहादुर श्रेष्ठले बधाई दिएका छन् ।
आगामी वर्षमा पनि उत्साहित भएर कार्य अघि बढाउन कर्मचारी तथा जनप्रतिनिधिलाई अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले ठोरीले प्राप्त गरेको उपलब्धिले काम गर्ने जोश, जाँगर अझ बढेको प्रतिक्रिया दिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा ठोरी प्रथम भएको छ भने पर्साकै पटेर्वासुगौली दोस्रो भएको छ । पटेर्वासुगौलीले ६३.५ अङ्क प्राप्त गरी मधेस प्रदेशमा दोस्रो भएको छ ।
यस जिल्लाका अन्य पालिकाहरूमा पर्सागढी नपा (५१.५), जगरनाथपुर गापा (४८.८), सखुवाप्रसौनी (४५.१), पोखरिया नपा (४४.३), छिपहरमाई गापा (४४.१), वीरगंज महानगरपालिका (४३.१), धोबिनी गापा (४०.९), विन्ध्यवासिनी गापा (३८.२), कालिकामाई गापा (३६.६), बहुदरमाई गापा (३६.५), जीराभवानी गापा (३२.४) र पकाहामैनपुर गापाले (३२) अङ्क पाएका छन् ।
स्थानीय तह संस्थागत क्षमता कार्य मूल्याङ्कन कार्यविधि २०७७ र संशोधन २०७८ अन्तर्गत केही नम्बरहरू राखी नेपाल सरकारले स्थानीय तहको कार्य मूल्याङ्कन गर्दै आएको छ । नेपाल सरकारले स्थानीय तहको कार्यप्रक्रिया तथा उपलब्धिबारे यस्तो मूल्याङ्कन आएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा गरेको मूल्याङ्कनको आधारमा आज परिणाम सार्वजनिक गरेको हो ।
मन्त्रालयले जिल्ला समन्वय समितिको सहकार्यमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रभाव, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय जस्ता विषयमा अनुगमनपछि सबै स्थानीय तहको मूल्याङ्कन गरिने व्यवस्था गरेको छ ।