प्रस, जनकपुरधाम, ३२ जेठ/

मधेस प्रदेश सरकारले बिहीवार प्रदेशसभाको बैठकमा पहिलोपटक आर्थिक सर्वेक्षण पेश गरेको छ। आर्थिक सर्वेक्षण अनुसार मधेस प्रदेशको प्रतिव्यक्ति आय अन्य सबै प्रदेशका तुलनामा सबैभन्दा कम रहेको छ।

अर्थमन्त्री सञ्जयकुमार यादवले प्रस्तुत गरेको सर्वेक्षणमा नेपालको प्रतिव्यक्ति आय, आर्थिक सर्वेक्षणले चालू आव २०७९/८० मा १,३९९ अमेरिकी डलर रहने अनुमान गरिएको छ। तर केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालू आवमा मधेस प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८७५ डलर हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सर्वेक्षणमा मधेस प्रदेशको आर्थिक स्थिति, सार्वजनिक वित्तको अवस्था, कृषि, वन, गरीबी निवारण, श्रम, रोजगार, ऊर्जा, सिंचाइ, सञ्चार, उद्योग, वाणिज्य, जनसङ्ख्या, शिक्षा, स्वास्थ्य, सुशासनलगायतका क्षेत्रगत विकासको अवस्था, आर्थिक–सामाजिक सूचक एवं परिसूचकको तथ्याङ्कलाई विश्लेषण गर्ने प्रयास गरिएको बताए।

अर्थमन्त्री यादवले कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिकरूपले सुधारोन्मुख हुँदै गए पनि रूस–युक्रेन युद्धले वस्तुको मूल्यमा तीव्र वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको दबाबले अर्थतन्त्र सङ्कुचनमा रहेको र यसको प्रभाव मधेस प्रदेशमा पनि परेको देखिएको बताए।

मधेस प्रदेशको उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र, थोक–खुद्रा व्यापार तथा गाडी, मोटरसाइकल सेवा क्षेत्र, यातायात र भण्डारण क्षेत्रमा वृद्धिदर चालू आव २०७९/८० मा ऋणात्मक रहने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ। यद्यपि गत आव २०७८/७९ मा कृषि, वन, मत्स्यपालन क्षेत्रमा मात्र १.३४ प्रतिशत वृद्धिदर भए तापनि चालू आव २०७९/८० मा सुधार भई ३.३२ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको उल्लेख छ।

सर्वेक्षण प्रतिवेदनमा समग्रमा देशको आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) २०७९/८० मा मात्र २.१६ रहने अनुमान गरिएको छ भने मधेस प्रदेशको आर्थिक वृद्धिदर मात्र १.९० प्रतिशत रहने अनुमान गरिएको छ। सोही अवधिमा समग्र देशको आर्थिक वृद्धिदर खरीदकर्ताको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ भने मधेस प्रदेशको १.६९ प्रतिशत रहनेछ।

नेपालको प्रतिव्यक्ति आय आर्थिक  सर्वेक्षणले २०७९/८० मा १,३९९ अमेरिकी डलर रहने अनुमान गरेको छ भने केन्द्रीय तथ्याङ्क विभागका अनुसार मधेस प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८७५ डलर हुने अनुमान छ। यसरी मधेस प्रदेशको प्रतिव्यक्ति आय अन्य छवटै प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ।

यस आवमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करीब रु सात खर्ब सात अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करीब रु छ खर्ब ५० अर्ब रहेको छ। गत आव राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको मधेस प्रदेशले यस आवमा समेत १३.१ प्रतिशत योगदान पु–याउने अनुमान गरिएको छ।

मधेस प्रदेशको कुल विनियोजित बजेट आव २०७९/८० मा चालू खर्चतर्फ करीब २० अर्ब ९३ करोड भएकोमा सोही अवधिमा पूँजीगततर्फ करीब २५ अर्ब ९८ करोड गरी जम्मा ४६ अर्ब ९१ करोड रहेको थियो।

मधेस प्रदेशको २०७९/८० को विनियोजित बजेटको चैत मसान्तसम्मको चालू खर्च चार अर्ब ३६ करोड र पूँजीगततर्फ पाँच अर्ब ६८ करोड गरी जम्मा करीब १० अर्ब पाँच करोड भएको देखिन्छ। त्यस्तै, कुल विनियोजित बजेटको जम्मा २१.४२ प्रतिशत खर्च भएको देखिन्छ। साथै, १७ जेठ २०८० सम्ममा मधेस प्रदेशको कुल राजस्व योगदान करीब २२ अर्ब ४२ करोड रहेको देखिन्छ।

यसैगरी, मधेस प्रदेशमा सबै वित्तीय संस्थाको निक्षेप सङ्ख्या २०७६/७७ देखि २०७९/८० सम्ममा करीब ६८ प्रतिशतले बढेको छ। आव २०७६/७७ मा ५,०३१ जनालाई सेवा दिंदै आएकोमा बैंक तथा वित्तीय समावेशितालाई थप विस्तार गरी २०७९/८० को फागुन मसान्तसम्ममा ३,५११ जनामा औसत प्रतिबैंकले सेवा दिंदै आएको छ।

मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलनमा आव २०७६/७७ को तुलनामा २०७९/८० को फागुन मसान्तसम्म वृद्धि ३८.१ प्रतिशत देखिन्छ। साथै, मधेस प्रदेशमा कर्जा प्रवाहमा आव २०७६/७७ को तुलनामा २०७९/८० मा ५९ प्रतिशत वृद्धि भएको देखिन्छ।

मधेस प्रदेशका लघुवित्त संस्थाहरूबाट आव २०७८/७९ मा कुल लगानीको करीब ४८ प्रतिशत कृषि क्षेत्रमा लगानी भएको छ भने साना तथा घरेलु उद्योगमा १२ प्रतिशत देखिन्छ। त्यस्तै, सोही अवधिमा सेवा क्षेत्रमा लघुवित्त संस्थाहरूबाट ३९ प्रतिशत लगानी देखिन्छ भने अन्य क्षेत्रमा एक प्रतिशत लगानी गरेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here