• सञ्जय मित्र

सामान्यतया भौतिकवाद भनेर आधुनिक युगलाई बुझ्छौं । भौतिकवाद भन्नु आधुनिक हो भन्नेमा दुर्ईमत नहोला तर कहिलेदेखि आधुनिक युग ? अर्थात् आधुनिक युगको कुनै सीमा वा समयरेखा छ ? भगवान् श्रीकृष्णले आफ्नो युगमा पनि नयाँ जमानाको कुरो गरेका छन् । आधुनिक शब्दको प्रयोग गरेका छन् । र अहिले पनि हामी कतिपय कुरालाई पुरातन भन्ने गरेका छौं वा अमुक सन्दर्भमा कुरो गर्दा यो आधुनिक भयो वा यो आधुनिक भएन भन्ने गरेका छौं ।

प्रज्ञा नेपाली बृहत् शब्दकोशले ‘आधुनिक’ शब्दको अर्थ ‘भरखर भरखर निस्केको, चलेको वा अस्तित्वमा आएको, हालसालको, आजकालको, वर्तमान समयको, नयाँ’ भनेर दिएको छ । यसै गरी ‘भौतिकवाद’ शब्दको अर्थ ‘अदृश्य सत्ता वा ईश्वरलाई नमानेर जीवन र जगत्का वस्तुसत्यलाई नै मान्ने सिद्धान्त, भौतिक गुण तथा निर्माण तत्वलाई शाश्वत मान्दै भौतिकजगत्लाई परिवर्तनशील तथा विकासशीलरूपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको मान्ने वैज्ञानिक वा दार्शनिक सिद्धान्त’ भनेर दिएको छ । यसबाट यो बुझिन आउँछ कि भौतिकवादमा ईश्वरमाथि विश्वास हुँदैन र यो नयाँ विचार हो । फेरि पनि नयाँ विचार भन्ने सन्दर्भले युगानुकूल अर्थ दिएको हो भन्ने स्पष्ट हुन आउँछ । पहिले नयाँ रहेको कुरो अहिले पुरानो हुन सक्छ र अहिले नयाँ रहेको कुरो पछि पुरानो हुन सक्छ । केही दशक पहिले रेडियो नयाँ कुरो थियो समाजको लागि तर अहिले रेडियो नयाँ होइन । अहिले मोबाइल नयाँ कुरो भएको छ ।

पूर्वीय मत अनुसार वैदिककालसम्म भौतिकवादको विचार आएको देखिंदैन । यहाँ भौतिकवादको अर्थ ईश्वरलाई नमान्ने विचारसित सम्बन्धित छ । वैदिककालपछि उत्तरवैदिककाल अर्थात् उपनिषद्कालपछि नै अवैदिक विचार अर्थात् भौतिकवादी विचारले जन्म लिएको पाइन्छ । प्रारम्भमा भौतिकवादी विचार चाहिं ईश्वरमाथि सन्देह गर्ने तथा संशय गर्ने सन्देहवाद र संशयवादको रूपमा देखा पर्छ । के पनि मानिन्छ भने भौतिकवादमा पूर्णतयता विश्वास गर्ने तथा ईश्वर र परलोक सत्ताप्रति सन्देह–संशय राख्ने मतावलम्बीहरू समाजमा प्रारम्भदेखि नै थिए तर उपनिषद्कालसम्म अध्यात्म पक्ष यति सबल रह्यो कि सन्देह–संशय मतावलम्बीको मतले प्रगति गर्न पाएन । समयको साथसाथै वैदिक कर्मकाण्डमा ज्ञान र तर्कको स्थानमा रूढीवाद बढ्न थाल्यो, तब विरोधी सोचलाई बढावा मिल्ने अवसर प्राप्त हुन गयो । यहाँ विरोधी तत्वको अर्थ ईश्वर र परलोकप्रति विश्वास गर्ने ठाउँमा अविश्वास वा तर्क गर्ने विचार हो भन्ने बुझ्नु आवश्यक छ ।

एउटा कुरा स्पष्टसित लेखिएको पाइन्छ– भारतीय परम्परामा नास्तिक ती होइनन्, जसले ईश्वरलाई वा परलोकलाई मान्दैनन्, अपितु ती हुन् जो वेदलाई मान्दैनन् ।

यहाँ त विचार वा दर्शनमैं भिन्नता आएको देखिन्छ । सामान्यरूपमा ईश्वरलाई नमान्ने, परलोकमाथि विश्वास नगर्ने मतलाई आस्तिक भन्ने गरिएको पाइन्छ तर यहाँ (भारतीय दर्शनों में क्या है ?, डा प्रवेश सक्सेना, पुस्तक महल, दिल्ली, सन् २००५, पृष्ठ १५४)मा माथिको कुरो स्पष्ट लेखिएको पाइन्छ । यसबाट ईश्वर नमान्नु र वेद नमान्नुमा विभेद रहेको पाइन्छ । सम्भवतः यसैबाट वेदलाई नमान्नेहरूलाई नास्तिक भन्ने गरिएको पाइन्छ । यद्यपि सामान्यरूपमा नास्तिक भन्नुको अर्थ उही भौतिकवादी हुन्, जसले ईश्वर वा परलोकमा विश्वास गर्दैनन् ।

वेदमाथि विश्वास नगर्ने र वेदमाथि विश्वास गर्ने दुर्ई विचारधाराको कुरोमा आस्तिक र नास्तिक वा भौतिकवादी विचार टिकेको हो भन्ने मतलाई पनि खण्डन गरिएको पाइन्छ किनभने कतिपयले वेदमा नै पनि आस्तिक विचारमाथि अविश्वास गरेको उल्लेख भएको बताउने गरेका छन् । ऋग्वेदमा नै इन्द्रको सत्तामाथि सन्देह गर्ने तथा अपव्रत मानिसहरूको वर्णन गरिएको पाइन्छ रे ।

कठोपनिषद्कालमा मृत्युको अनन्तर आत्माको स्थितिको विषयमा मानिसहरूमा सन्देहको भाव रहेको व्यक्त गरिएको छ ।

यसैगरी, वाल्मीकीय रामायणको एक प्रसङ्गमा जाबालिक नामक ब्राह्मणले रामलाई अयोध्या फर्किने सल्लाह दिंदै भनेका छन्– “राजा दशरथ त्यहाँ गए, जहाँ सबैलाई जानुपर्छ, मरणशील मनुष्यको यही प्रवृत्ति हो, यसको लागि तिमी आफूलाई किन मारिरहेका छौ, जजसले जीवनभर धर्मको चिन्ता गर्दै रहे, उनको लागि मलाई अफशोच छ, उनीहरूले यहाँ दुःख सहे र अष्ट भए । अष्टका लागि पिताको श्राद्ध तथा देवताहरूका लागि यज्ञ गर्छन्, त्यसमा केवल अन्नको नाश हुन्छ– मरेको मानिसले पनि केही खान्छ “हे राम १  तिमीलाई यही मानेर चल्नुपर्छ कि परलोक छैन, यसैले परोक्षको उपेक्षा गरेर र प्रत्यक्षलाई स्वीकार गरेर व्यवहार गर्नुपर्छ ।”

महाभारतमा पनि भारद्वाज नामका व्यक्तिलाई पनि जीवको अलग सत्तामा शङ्का गरेको देखाइएको छ । भृगुलाई तिनले भनेका छन्– “जब कुनै प्राणीको मृत्यु हुन्छ, तब त्यहाँ त्यस स्थानमा कुनै जीवलाई उपलब्धि हुँदैन । मृत्युभन्दा पछि पनि यदि जीव छ भने त्यो कसको पछाडि कुद्छ ? के अनुभव गर्छ ? के सुन्छ र के बोल्छ ?”

गीताको सो¥हौं अध्याय (८–१७ श्लोक)मा पनि यस्ता मानिसहरूको प्रवृत्ति बताइएको छ, जसले जगत्लाई आश्रयरहित, नितान्त असत्य, अनीश्वर, आफैं स्त्री–पुरुषको संयोगले उत्पन्न हुने तथा केवल भोगवृत्तिलाई चरितार्थ गर्ने किसिमको मानिएको छ ।

यसरी प्राचीनकालमा पनि भौतिकवादी विचार रहेको पाइएको छ । अलिकति विचारणीय कुरो त के स्पष्ट हुन आउँछ भने यदि भारतीय दर्शनमा भनिएको कि नास्तिक त्यो हो, जसले वेदलाई मान्दैन । यस भनाइले वेदको रचनाको समय वा वैदिककालमा पनि वेदलाई नमान्नेहरू थिए तर तिनीहरूले धर्मलाई मान्थे र ईश्वरलाई पनि मान्थे । र यो पनि अनुमान लगाउन सकिन्छ कि वैदिककालमा वेदलाई नमान्ने र ईश्वरलाई मान्नेहरू वा नमान्नेहरूको अस्तित्व थियो । वेदलाई नमान्नेहरूले कस्ता देवदेवी वा ईश्वरलाई मान्थे होला ? कतै तिनै देवदेवीमध्ये हाम्रा धेरै लोकदेवदेवी त होइनन् ?

प्राचीन भौतिकवादीमा चार्वाकलाई मानिएको छ । चार्वाकको विचारधारालाई चिरप्राचीन मानिन्छ र भौतिकवादसम्बन्धी चार्वाकको दर्शनलाई चार्वाकदर्शन भनिन्छ । चार्वाकदर्शन चिरप्राचीन भएपनि चिरनवीन विचारको रूपमा लाग्छ किनभने आज पनि अधिसङ्ख्य मानिस वा समाज अध्यात्मविमुख तथा भोगवादका समर्थक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here