- सञ्जय मित्र
उखानका अनेक बखान हुन्छन् अर्थात् एउटै उखानको समय र सन्दर्भ अनुसार अनेक अर्थ हुन्छ । उखानको उत्पत्ति र विकास कसरी भयो भन्ने कुरोको खोजी गरिनु आवश्यक छ । यद्यपि उखानले पाएको व्यापकताले नै उखानको उत्पत्तितर्फ सङ्केत गर्छ । उखान कुनै उद्योगमा निर्माण भएको होइन, न त कुनै पाठशालामा संरचना गरिएको हो । यो सामाजिक सम्पत्तिको रूपमा भाषासँगै विकास भएको हुनुपर्छ । भाषाको उत्पत्ति र विकाससँगै कथ्यलाई कलात्मक बनाउन यसको उत्पत्ति आफैं भएको हुनुपर्छ । यसमा कसैले बल गरेको वा योजना बनाएको होला भन्ने अनुमान पनि हुँदैन । विनाप्रयत्न आविष्कार भएको कलात्मक, वाक्यात्मक अलङ्कार उखान हो ।
कुनै एक उखानको उत्पत्ति भएर त्यसैको विकास मात्र भएको होइन । समाजमा अनेक उखानहरू प्रयोग र प्रचलनमा रहेका छन् । उखानको प्रकृति नै फरक छ । विषयवस्तु पनि अनेक छन् । कुन क्षेत्रको उखान नहोला ? उखानले कुन विषयवस्तुलाई आफूमा समाहित नगरेको होला ? उखानको क्षेत्र व्यापक भन्नुको तात्पर्य यसको व्यापकतासित पनि रहेको छ । जहाँ भाषा बोलिन्छ, त्यहाँ उखानको प्रयोग हुन्छ । यो सामान्य सत्य हो कि कथ्यमा उखानको उपयोग पर्याप्त छ । अझ बोलीको स्वाभाविक लयमा उखान उन्मुक्त किसिमले बग्छ । जसरी हावामा अनेक गन्ध व्याप्त हुन्छ, भाषामा पनि अनेक उखानको अस्तित्व रहेको हुन्छ ।
हरेक व्यक्तिले उखानको प्रयोग सदैव गर्छ भन्ने होइन तर उखानको प्रयोग गर्दै नगर्ने मानिस हो भन्न पनि सकिन्न । हो, कम वा बढी उखानको उपयोग समय र सन्दर्भ अनुकूल हरेक व्यक्तिले गरेको हुन्छ, आफ्नै शैलीमा । सबैको बोलीको शैली फरक हुन्छ । हरेक मानिसको आवाज पनि फरक हुन्छ । एउटै कुरालाई धेरैजनाले व्यक्त गर्दा हरेकले केही न केही फरक गरेकै हुनुपर्छ । यही पृथकताबीच कुनै एक निष्कर्ष निकाल्नुपर्दा निचोड वाक्यको रूपमा कतैकतै उखानको प्रयोग गरिन्छ । हो, उखानको प्रयोग स्वाभाविक बोलीमा बढी हुन्छ । यसले बोलीमा मिठास ल्याउने काम मात्र गर्दैन, कतिपय अवस्थामा सोझो अभिव्यक्तिमा स्पष्ट पार्न नमिल्ने भनाइलाई सङ्केतात्मकरूपमा उखानले मनको बह कहने काम हुन्छ ।
उसो त उखानलाई संस्कृत भाषाको ‘उपाख्यान’ शब्दबाट निर्मित वा विकसित शब्द मानिन्छ । संस्कृत भाषामा उखान भएको वा नभएको विषयमा यहाँ चर्चा गरिनु आवश्यक छैन तर उखान त लोकोक्ति हो । लोकोक्तिले यो पनि सङ्केत गर्छ कि जतिखेर लिखित साहित्यको जन्म भएको थिएन वा मानिसले लेखपढ गर्न जानेको थिएन, त्यत्तिखेर पनि मानिसले यसको प्रयोग गर्थे किनभने लोकोक्तिमा गाउँखाने कथा, सूक्ति, टुक्कासहित अनेक यस्ता स्वाभाविक उद्गारजन्य भेदहरू रहेका छन् । उपाख्यानको सन्दर्भ आख्यानसित रहेको बुझिन्छ । उखानलाई आख्यान नै भन्न त सकिन्न तर कतिपय अवस्थामा माथि छलफल गरिएजस्तै कतिपय कथाको निष्कर्षमा एक वाक्य भन्नुपर्दा यही उखानको उपयोग गरिएको हुन सक्ने अनुमानलाई गैरधरातलीय भन्न मिल्दैन । यसैले पनि कहींकहीं उखानलाई लोकवाणीको रूपमा स्वीकार गरिएको पाइन्छ र कतैकतै यसलाई ‘सरदारको कहनाम’ भनिएको पाइन्छ । सरदारको कथनको अर्थ कुनै कुराको निचोड वा भनाइको निष्कर्ष पनि हुन आउँछ । यसले परम्परादेखि वा पितापुर्खादेखि चल्दै आएको भनाइको हो भन्ने अर्थतिर पनि सङ्केत गर्छ ।
उखानलाई भाषाको एउटा अङ्ग वा भाषाभित्रको एउटा तत्वको रूपमा स्वीकार गरिएकोले भाषाको महत्व उखानले बढाएको र उखानले भाषाको महत्व बढाएको पनि मान्न सकिन्छ । यहाँनेर यो पनि स्मरणीय छ कि भाषाको अस्तित्वविना उखानको अस्तित्व रहँदैन तर कुन भाषा वा भाषिकाको लोकसाहित्य कति समृद्ध छ भन्ने कुरालाई दर्शाउनको लागि उखानले पनि ठूलो सहयोग गरेको छ । यसरी उखानलाई भाषाको अध्ययनको क्षेत्रमा पनि राखिन्छ र लोकसाहित्यको एउटा विशिष्ट अङ्गको रूपमा पनि अध्ययन गरिन्छ । उखानरूपी लोककथन निकै प्रभावकारी मानिएको छ । अझ औपचारिक कथनभन्दा अनौपचारिक कथनमा उखानको उपयोग बढी गरिन्छ ।
पहिलेको तुलनामा उखानको उपयोगिता कम भएको होइन, उपयोग चाहिं कम हुँदै गएको अवश्य हो । उखानको उपयोग कम हुँदै जाँदासम्म ठीकै हो भन्न सकिन्छ तर समाजमा प्रयोग र प्रचलनमा रहेका उखानहरू बिस्तारै पातलिंदै गइरहेका छन् । कतिपय उखानहरू त पूर्णरूपमा हराइसके, बिलाइसके । अब खोजेर पनि पाइँदैन । यद्यपि समाजमा उखानको सङ्ग्रह छ, भण्डार छ र अक्षय भण्डारमा पनि प्वाल परिसकेको छ । अब पहिलेकोभन्दा निकै तीव्र गतिमा उखानहरू हराउने क्रम बढेको छ । यसैले अब उखानको उपयोगिताको महत्वलाई एकातिर राखेर सबैभन्दा जरुरी भइसकेको छ, संरक्षणको । यसको संरक्षणमा कोही बुद्धिजीवी लाग्ला भन्ने होइन । यसलाई संरक्षण गर्नमा भाषा तथा साहित्यको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाले मात्र हो । यस्ता व्यक्ति तथा संस्था जो सक्षम छन्, तत्काल उखानको सङ्कलन गर्नु आवश्यक छ । यदि अहिले उखानको सङ्कलन र संरक्षण हुन सकेन भने उखान पूरै हराएर जाने र लोकोक्तिको वा लोकसाहित्यको एउटा अङ्ग नै हराउने कुरामा दुई मत छैन ।
हुनत उखानमा कतिपय यस्ता छन्, जो जातजाति, लिङ्ग तथा समुदाय र सम्प्रदायलाई नकारात्मकरूपमा प्रहार गरेका छन् । कतिपय उखानमा विभेदलाई बढावा दिने, वितृष्णा फैलाउने तथा कतिपय उखान यस्तो लाग्छ कि सामन्ती प्रवृत्तिका छन् । हो, समाजमा नकारात्मक प्रभाव उत्पन्न गर्ने तथा सामन्ती संस्कृतिलाई बढावा दिने उखानहरूलाई छाडेर वर्तमान समाज, संविधान तथा कानून र प्रकाशनसम्बन्धी आचारसंहितालाई विचार गरेर स्वस्थ भावना र स्वच्छ विचार भएको उखानहरूलाई सङ्कलन गर्नुपरेको छ । भाषालाई जीवन्त बनाइराख्न तथा भाषाको जीवन्ततालाई दीर्घकालीनरूपमा कायम राखिरहनको लागि यो जरुरी छ । उखानको संरक्षणले आफ्ना पितापुर्खाको चिनारीलाई पनि सङ्कलन गर्न सक्छौं भन्ने मानेर जो जहाँ र जसरी सम्भव छ, उखानहरूको सङ्कलन भविष्यको निधि मानेर गर्नु शुरू गरिहाल्नुपरेको छ ।
घरमा एउटा डायरी वा कापी राखौं । कोही कतै बोल्दा वा कसैले बोलेको सुन्दा यदि उखानको प्रयोग भएको पाउँछौं भने तत्काल सम्झौं वा खल्तीमा रहेको पानामा टिपौं । अनि घरमा आएर त्यस उखानलाई डायरी वा कापीमा लेखिहालौं । यसरी गर्दा हरेक घरले के कस्ता उखानको प्रयोग गरिरहेका छन् र कति उखानमा प्रचलनमा छन् भन्ने कुरो थाहा हुन्छ ।
उखानको प्रकृतिको आधारमा आफैंले वर्गीकरण पनि गर्न सक्छौं नभए यदि केही सय उखानहरू सङ्कलन हुन्छन् भने ती उखानहरूलाई सम्भव भए प्रकाशन गरौं वा नभए ती उखानहरूलाई नजीकको कुनै पत्रिकाको कार्यालय वा मन परेको लेखकलाई उपलब्ध गराउन सक्छौं । यसले गर्दा उखान सङ्कलनकर्तामा आफ्नो नाम पनि आउँछ, जुन एउटा कीर्तिको रूपमा रहन जान्छ । अथवा भाषा संरक्षणमा आफ्नो योगदान रहेको भनेर आफू वा आफ्ना सन्तानलाई गर्वान्वित गर्न सक्छौं । अहिलेको पुस्ताले यदि उखानको सङ्ग्रह नगर्ने हो भने उखानहरू हराउँदै गएर भविष्यमा उखानरहित मानिसहरूको बोलवाला हुन्छ र हाम्रा सन्ततिहरूले हाम्रो सामाजिक सम्पत्तिको रूपमा रहेको उखान हराएको पत्तो पाउनेछैनन् । पुस्तकालयमा उत्खनन गर्दा मात्र उखानबारे जानकारी पाउँछन् । यसर्थ उखान जोगाअFैं है उखान ।
उखानले अनेक बखान गर्ने भएकाले यसको संरक्षणमा सबै पक्षले ध्यान दिनु आवश्यक छ । यसलाई साहित्यकारहरूले मात्र जोगाउनुपर्छ भन्ने होइन ।