• सञ्जय मित्र

अहिले बालबालिकाहरू मोबाइलमा अलिक बढी नै व्यस्त हुन थालेका छन् । बालबालिकाले पुस्तक पढ्नुभन्दा मोबाइलमा व्यस्त हुन पाए हुन्थ्यो भन्ने चाहिरहेका हुन्छन् । हुन त मोबाइल अहिलेको लागि नयाँ हो पुस्तकको तुलनामा । नयाँ कुराप्रति आकर्षण बढी हुन्छ । यसैले मोबाइलप्रति आकर्षण बढ्नु स्वाभाविक हो । मोबाइलले बालबालिकालाई पर्याप्त मनोरञ्जन दिइरहेको छ । अझ इन्टरनेट भएको मोबाइलमा त घन्टौ) झुम्मिइरहँदा पनि समय बितेको पत्तो पाइँदैन । यसकारण आजभोलि कतिपय अभिभावक यस्ता छन् जो घरमा बालबालिकालाई एक छिनको लागि एक्लै छाडेर सानोतिनो कामले बाहिर जानुपर्ने अवस्था आएमा हातमा मोबाइल थमाइदिन्छन् ।

जसरी बालबालिकाले चाहिरहेका हुन्छन्, त्यसैगरी अभिभावकले पनि बालबालिकाको हातमा मोबाइल दिइरहेका हुन्छन् । कुनै बेला त यस्तो पनि हुन्छ कि साना बालबालिका खान मान्दैनन् भने मोबाइल दियो र खाना खान भन्यो । कुनै सामान किन्न पठाउनु छ भने किनेर ल्याऊ एकछिन मोबाइल चलाउनू । कुनै कारणले रिसाएको बाललबालिकालाई फकाउन पनि मोबाइलले नै सहयोग गरेको देखिएको छ । अहिलेको अवस्थामा सबैभन्दा बढी मोबाइल खेल्न बालबालिकाले मन पराउने गरेको पाइएको छ । सानादेखि ठूला सबै बालबालिका मोबाइल खेल्न रुचाउँछन् र ठूलो हुँदै जाँदा बिस्तारै घरबाहिर क्रिकेट खेल्न रुचाउँछन् । बालबालिकामा देखिएको यो आम प्रवृत्ति हो । उनीहरूमा मोबाइलको लत यतिसम्म परिसकेको छ कि एकछिन भोक खप्न सक्छन्, दिसा–पिसाब रोक्न सक्छन्, विद्यालय जान ढिलो गर्न सक्छन् ।

मोबाइल गेमले बालबालिकालाई पढाइमा कतिको सहयोग पुर्याइरहेको छ भन्ने कुरा अभिभावकले कहिल्यै पनि सोच्ने प्रयास गर्दैनन् । अभिभावक त दायित्वबाट मुक्त हुन पनि बालबालिकाको हातमा मोबाइल दिन्छन्ँ र कहिलेकाहीं बालबालिकाकै कारण उनीहरू मोबाइल पाउँछन् । सबैभन्दा सजिलो खेलको साधन बनेको मोबाइलको प्रयोग अत्यधिक हुँदा बालबालिकाको आनीबानी तथा मनोविज्ञानमा असर पुगिरहेको छ भन्ने कुरा सञ्चारमाध्यमहरूमा बेलाबेला आइरहन्छ । अभिभावकहरूले पनि यसलाई बुझेका छन् तर विकल्प कसैले सोचेका छैनन् । वास्तवमा अहिले बालबालिकाको हातबाट मोबाइल पूर्णतया हटाउन सम्भव होलाजस्तो छैन किनभने हरेक घरमा र अझ हरेक व्यक्तिको आवश्यकता भइसकेको मोबाइल घरमा जहाँ पनि र जहिले पनि हुने गर्छ । मानिसको दैनिकीसित गाँसिएको मोबाइलमा धेरै काम लाग्ने कुरा पनि भएकोले मोबाइलसित जीवन धेरै नजीकिएको हो ।

मोबाइललाई पूर्णतया विस्थापित गर्न सकिंदैन तर यसको आदर्श उपयोग भने गर्न सकिन्छ । आदर्श उपयोगको तात्पर्य मोबाइलले नकारात्मक प्रतिफल दिने गरी नचलाउनु हो । आदर्श उपयोग गर्दा बालबालिकाबाट सम्भव भएसम्म टाढा राख्नु उचित हुन्छ तर पूर्ण प्रतिबन्ध भने लगाउनुहुँदैन । अर्को कुरो बालबालिकालाई मोबाइल दिंदा सम्भव हुन्छ भने आफू पनि सँगै रहेर तिनलाई काम लाग्ने कुरो मात्र हेर्न दिने सुविधा दिनुपर्छ । बढी खेल वा अनावश्यक भिडियो हेर्न कम गर्ने उपायहरू निकाल्नुपर्छ । र सम्भव हुँदासम्म बालपुस्तक तथा पत्रिकाको उपयोग गर्नुपर्छ । बालपुस्तक तथा पत्रपत्रिकामा बालबालिकालाई उपयुक्त हुने सामग्रीको पठनतिर ध्यान लैजान सकिन्छ । विभिन्न पत्रपत्रिकाहरूले बालबालिकालाई लक्ष्यित गरी बाल सामग्री प्रकाशन गरिरहेका हुन्छन् । साथै हप्तामा एकपटक बालसामग्री विशेष दिने पत्रपत्रिकाहरू पनि रहेका छन् । घरमा यस्ता पत्रपत्रिका ल्याउनुपर्छ जसले बालबालिकालाई उत्प्रेरित गर्न सकियोस् र पठनपाठनतिर रुचि जगाउन सकियोस् । बालबालिकाको नाम कसरी पत्रिकामा छापिएको छ ? फोटो कुन अवस्थामा छापिन्छ ? बालबालिकाका के कस्ता रचना वा सिर्जना पत्रपत्रिकाले छापेको छ ? यी र यस्ता विषय आफूले पनि बुझेर बालबालिकालाई बुझाउन सकिन्छ । आफ्नो पनि फोटो वा रचना वा दुवै पत्रिकामा छाप्न मिल्छ भन्ने भाव मनमा उम्रन थालेपछि बालबालिकाले अलिकति समय बिस्तारै पत्रपत्रिकामा पनि दिन थाल्छन् । यो निकै ठूलो उपलब्धि हुनेछ ।

बालबालिकालाई उनका रुचिका पुस्तक पढ्न दिन सकिन्छ । यदि सम्भव छ भने बाल रुचिका चित्रात्मक पत्रिका वा पुस्तिका दिन सकियो भने धेरै राम्रो । भन्न सकिन्छ कि कुनै चित्र हेरेर त्यस्तै चित्र बनाऊ । चित्र बनाउन चाहिने सामग्री प्रदान गर्न सकिन्छ । तिनले बनाएको चित्रको प्रशंसा गर्दै सामाजिक सञ्जालमा राखेर सम्मान गर्न सकिन्छ । अनि तिनले बनाएर देखाउने चित्रहरूलाई सामाजिक सञ्जालमा अपलोड गरेपछि आफूसित सङ्कलन राख्नुपर्छ । सामाजिक सञ्जालमा चित्र राख्दा आएका प्रतिक्रियालाई पनि देखाउनुपर्छ, पढाउनुपर्छ जसले गर्दा बालबालिकालाई प्रोत्साहन मिलोस् । फेरि अर्को चित्र बनाउन लगाउनुपर्छ । त्यसलाई पनि सामाजिक सञ्जालमा राखेर चित्र सङ्कलन गर्नुपर्छ । यसरी चित्रहरूको समूहलाई एउटा किताबको रूपमा स्टिच गरी माथिबाट बीस/पच्चीस रुपियाँको गाता लगाइदिने हो भने किताब भइहाल्छ । किताबमा कम्प्युटराइज गरेर तिनको नाम र चित्रपुस्तकको एउटा नाम दिन सके सुनमा सुगन्ध हुन्छ । अनि नजीकको कोही साथी वा अनुजलाई उक्त चित्र पुस्तकको प्रशंसा गर्दै एउटा समीक्षात्मक लेख सामाजिक सञ्जालमा प्रकाशित गर्न आग्रह गरे हुन्छ । सम्भव हुन्छ भने अलिकति पारिश्रमिक पनि दिऊँ । यसबाट समीक्षा गर्नेलाई प्रोत्साहन हुन्छ र आफ्नो बालबालिकालाई अझ बढी प्रोत्साहनको लागि लगानी मान्दा हुन्छ । यसबाट निस्सन्देह बालबालिकामा मोबाइलको सम्पूर्ण बानी त हट्दैन तर केही सकारात्मक सहयोग अवश्य गर्छ । साथै कलाको सम्मान गर्ने बानीको विकास पनि बालबालिकामा हुन्छ ।

यसैगरी घरमा आउने पुस्तक र पत्रिका पढेर बालबालिबालिकाका लागि उपयुक्त हुने नैतिक कथा, लोककथा, कविता तथा प्रेरक प्रसङ्गहरू पढ्न उत्प्रेरित गर्नुपर्छ । सम्भव भयो भने के बुझ्यो त्यो भन्न लगाउनुपर्छ । लेख्न सक्नेछ भने लेख्न लगाउँदा सुनमा सुगन्ध । यदि लेख्न सक्ने उमेर छ भने पढेर प्रतिक्रिया लेख्न लगाएर बालबालिकाको प्रतिक्रिया सामाजिक सञ्जालमा राख्नुपर्छ । सामाजिक सञ्जालमा राखेको प्रतिक्रियाको प्रशंसा गर्न लगाउनुपर्छ । यसैगरी यदि कसैले लोककथा वा बालकथा लेख्न शुरू गर्छ भने प्रोत्साहित गर्नुपर्छ । कुनै नजीकको पत्रपत्रिकासित सम्पर्क छ भने बालबालिकाका चित्र वा कविता वा अन्य रचना प्रकाशित गर्न दिनुपर्छ । प्रकाशित भएपछि त्यो पत्रिका हातमा दिनुपर्छ । पाँच सातवटा प्रकाशित भएपछि सबैलाई एक ठाउँमा राखी बाइन्डिङ गराइदिनुपर्छ । एउटा पुस्तिकाको रूप तयार हुन्छ । त्यसको पछाडि तिनको फोटो राखेर सानो परिचय पनि एक पृष्ठमा अन्तिममा राखिदिनुपर्छ । निकै खुशी हुन्छन् । त्यसले बालबालिकामा पत्रपत्रिका वा बालपुस्तक पढ्ने रुचिको मात्र विकास हुँदैन, साहित्य सिर्जनातिर पनि रुचि जाग्न थाल्छ । यदि साहित्य सिर्जनातिर रुचि गयो भने मोबाइल तथा इन्टरनेटमा त्यस्ता अनगिन्ती सामग्री छन् । तिनीसित सम्बन्धित सामग्रीहरू पनि खोज्न र सिक्न लगाउन सकिन्छ । यस्ता कार्यक्रमहरू निरन्तर भइरहन्छन्, त्यसैसित जोड्न सकिन्छ । यसैगरी टेलिभिजनमा पनि यस्ता कार्यक्रमहरू आइरहन्छन्, हेर्न लगाउन सकिन्छ, प्रोत्साहन दिनुपर्छ । गर्नेले जे पनि गर्न सक्छ र गर्न नसक्नेको लागि सम्भव केही पनि हुँदैन भन्ने कुरा मनन गर्नुपर्छ ।

बालबालिकामा पठन संस्कृतिको विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरो त अभिभावक आफैंले पुस्तक र पत्रिका पढ्नुपर्छ । अनि बालबालिकालाई पढ्न तथा लेख्न प्रेरित तथा प्रोत्साहित गर्नुपर्छ । अगाडि आफू हिंड्नुपर्छ, ढिलोचाँडो सन्तान त्यही बाटोमा हिंड्ने विश्वास लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here