• विश्वराज अधिकारी

अरू सबै कुरा रित्तिएर नेपालसँग अहिले केवल श्रम मात्र छ । र त्यही श्रम नेपालले अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर दुई छाकको जोहो गरिरहेको छ । २०६३ सालमा भएको राजनीतिक परिवर्तन र उक्त परिवर्तनले ल्याएको गणतन्त्रले नेपाललाई लगभग रित्तो नै पारिसक्यो । बिक्री गर्नका लागि नेपालसँग अहिले श्रम बाहेक केही छैन । नेपालको राजनीतिक र अर्थ व्यवस्था दुई–चार राजनीतिक दलहरूको हातमा रहेको स्थितिले नेपाललाई आर्थिकरूपमा टाट पल्टिने स्थितिमा पुर्याइसकेको छ । नेपालको अर्थतन्त्र बूढो गोरुजस्तो कहिले उठ्न नसक्ने गरी थच्किन्छ भन्न सकिने स्थिति छ । ठूलो अनिश्चितता छ ।

कुनै समय नेपाल भित्रै कृषि औजार, जुट, छाला, कन्फेसक्नशरी, चिनी, धान चामल, तोरी, कपडा, मोजा, स्टिलका भाँडा, हस्तकलाका सामग्री, चिया, कागज, सलाई, साबुन आदि आदि ठूलो परिमाणामा उत्पादन हुन्थ्यो । चामल त नेपालको आन्तरिक उपभोगभन्दा बढी भएर विदेश निर्यात गर्नुपथ्र्यो । त्यस्तो स्थितिमा रहेको नेपाल अहिले केवल श्रम मात्र उत्पादन गर्न सक्ने स्थितिमा पुगेको छ । देशलाई कसले पुर्यायो यो स्थितिमा ? यस प्रश्नको उत्तर गणतन्त्रवादीहरूले दिनुपर्छ किनभने पञ्चायत व्यवस्थाले देशको आर्थिक विकास गरेन भनेर उनीहरूले पञ्चायत मात्र होइन, संवैधानिक राजतन्त्रसमेत फालेका थिए । व्यवस्था परिवर्तन गर्न भनेर नै १७ हजार नेपालीको ज्यान जाने स्थिति सृजना गरेका थिए । ती गणतन्त्रवादीहरूले अहिले के गर्दैछन् र कस्ताकस्ता भ्रष्टाचार काण्डमा मुछिएका छन् भन्ने कुरा जगजाहेर छ ।

हरेक दिन सयौंको सङ्ख्यामा नेपाली श्रम बिक्री गर्ने अन्तर्राष्ट्रिय बजारतर्फ लागिरहेका छन् । श्रम बजारमा नेपालीहरू प्रवेश गरिरहेको अवस्था हेर्दा नेपाल छाड्ने नेपालीहरूलाई तीन समूहमा विभाजित गर्न सकिन्छ ।

पहिलो समूहमा त्यस्ता नेपाली पर्छन् जोसँग सीप र शिक्षा दुवै छ । र उनीहरूले विदेशमा आफ्नो सीप र शिक्षा (डिग्री) बिक्री गरेर स्वदेशभन्दा सहज र स्तरीय जीवन बाँच्न सक्छन् । नेपालले साधन र स्रोत खर्च गरेर तयार पारेको यस्तो जनशक्ति राष्ट्रको भू–राजनीतिक कारणले अर्को देशको लागि काम गर्नुपर्ने स्थिति छ । कस्तो विडम्बना !  आफ्नो लगानीमा तयार पारेको जनशक्ति आफ्नै राष्ट्र निर्माणमा उपयोग हुन सकिरहेको छैन । राष्ट्रलाई कति ठूलो घाटा भइरहेको छ । यस्तो जनशक्ति विदेशमा नै सदाका लागि बस्दा राष्ट्रलाई झन् कत्रो घाटा हुन्छ ?

अध्ययनका लागि विदेश जाने । अध्ययन समाप्त गरेर विदेशमा नै स्थायी बसोवास गर्ने । यस्तो गर्ने नेपाली दोस्रो समूहमा पर्दछन् । यस्ता नेपालीहरूले अवसर पाएमा छोटै समयमा धेरै कमाएर विलासी जीवन बिताउन सक्छन् । नेपालबाट अमेरिका आएर गुगल, टिकटक, एमेजन, एप्पलजस्ता धनी एवं प्रख्यात कम्पनीहरूमा काम गर्ने नेपालीको सङ्ख्या पनि कम छैन ।

विदेश पुगेर कोरा श्रम बिक्री गर्ने नेपाली तेस्रो समूहमा पर्दछन् । केवल लेखपढ गर्न जान्ने वा सामान्य शिक्षा प्राप्त गरेका नेपालीहरू अहिले ठूलो सङ्ख्यामा खाडी मुलुकहरू, मलेशिया, इजराइललगायत युरोपका अनेक गरीब राष्ट्रमा समेत पुगिरहेका छन् । केवल सामान्य श्रम बिक्री गर्ने समूहमा पर्ने यी व्यक्तिहरूको आम्दानी त्यति राम्रो नभए तापनि नेपालमा आर्जन हुनेभन्दा बढी हुन्छ र एक्लो बसेको हुनाले केही बचत पनि हुन्छ । कोरा श्रम बिक्री गर्न विदेश पुगेका युवा पनि विदेशमा लामो  बसिरहेका छन् ।

यस लेखमा भने दुई महत्वपूर्ण विषय उठान गर्न खोजिएको छ । पहिलो विषय हो नेपालका केही नेताहरूले सृजना गरेको राष्ट्रिय अवस्था र त्यो अवस्थाले सृजना गरेको चरम निराशा । अनि त्यो चरम निराशाले नेपालको अर्थतन्त्रमा पारेको कुप्रभाव ।

अहिले नेपालमा चरम निराशा व्याप्त छ । युवा पीढी त झनै निराशाको खाडलमा डुबेको छ । नेपालमा केही गर्न सकिंदैन । दुई चार पैसा कमाएर सरल जीवन बिताउन विदेश नै जानुपर्छ भन्ने मनोविज्ञानले नेपाली युवाहरूलाई सताएको छ । अर्थात् यो देश (नेपाल) मा केही गर्न सकिन्छ भन्ने आशा नेपाली युवाले गुमाइसकेको छ । उच्च शिक्षा प्राप्त गरेका हुन् वा सामान्य शिक्षा, सबै किसिमका युवामा नेपालमा अब केही गर्न सकिंदैन भन्ने मनोविज्ञानले बलियो गरी जरो गाडेको छ । यति मात्र होइन, अभिभावकहरू पनि यो मनोविज्ञानको शिकार भएका छन् । मात्र १२ कक्षाको अध्ययन समाप्त गरेका छोराछोरीलाई विदेश (पढ्न) पठाउन आतुर देखिएका छन् । यसरी युवा मात्र होइन, उनका अभिभावकलाई पनि नेपालमा आफ्ना सन्तानको भविष्य सुरक्षित छैन, सुखी छैन भन्ने लागेर विदेश जाने भूत चढेको छ । युवा र तिनका अभिभावकमा पनि चरम निराशा उत्पन्न हुनु र नेपालमा अब केही गर्न सकिंदैन भन्ने लाग्नु ज्यादै डरलाग्दो स्थिति हो । यो स्थितिले देश आर्थिकरूपमा मात्र बर्बाद हुँदैन, भोलिका दिनमा नेपाल, देशको रूपमा रहन सक्छ कि सक्तैन भन्ने डर पनि सृजना गर्दछ । देशमा आफ्नो भविष्यलाई लिएर, त्यहाँका नागरिकमा चरम निराशा व्याप्त हुनु अति डरलाग्दो स्थिति हो । यो स्थितिलाई सामान्यरूपमा लिने भूल कसैले पनि गर्नुहुँदैन ।

यस लेखमा उठान गर्न खोजिएको दोस्रो विषय हो–जनशक्ति क्षय । युवाहरू ठूलो सङ्ख्यामा विदेश गएमा हामीले जनशक्तिको ठूलो क्षय बेहोर्नुपर्नेछ । अहिले जुन किसिम र सङ्ख्यामा नेपाली युवाहरू शिक्षा, रोजगार र राम्रो आम्दानीका लागि विदेश गइरहेको छन् र त्यो स्थिति भविष्यमा पनि जारि रहेमा, केही वर्षभित्रै नेपालमा जनशक्तिको ठूलो अभाव हुनेछ । देशभित्र सामान्य काम गर्न पनि जनशक्तिको ठूलो अभाव हुनेछ । गाउँ–घरतिर त कृषि जनशक्तिको ठूलो अभाव अहिले नै महसूस भइसकेको छ । शहरतिर उद्योग र व्यापारको तीव्रगतिमा विकास भएको भए, शहरमा पनि जनशक्तिको ठूलो अभाव अनुभव हुन्थ्यो । नेपालका शहरहरूमा अहिले उत्पादनको स्थिति दयनीय छ । भएका उद्योग बन्द छन् । सरकारी स्तरमा सञ्चालित उद्योगहरू (जनकपुर चुरोट कारखाना, वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना आदि) समेत बन्द छन् । गोरखापत्र संस्थान, नेताहरूलाई आफ्नो विचार र स्वार्थ सम्प्रेषण गर्न सजिलो माध्यम बन्ने भएकोले नै यो संस्थान अहिलेसम्म जीवित छ ।

देशमा रोजगार उपलब्ध नहुनु, बाध्य भएर रोजगारका लागि विदेश जानुपर्ने स्थिति हुनु, देश आर्थिकरूपले निरन्तर कमजोर हुँदै जानु अति गम्भीर विषय त हो नै, तर यसभन्दा अति गम्भीर विषय देशमा चरम निराशा व्याप्त हुनु हो ।

नेपालमा अहिले चरम निराशा व्याप्त छ । खासगरी युवाहरूमा चरम निराशा व्याप्त छ । स्वदेश (नेपाल) मा बसेर नै केही गर्न सक्ने, अर्को शब्दमा, आर्थिक रूपमा सक्षम र शिक्षा एवं सीपले युक्त युवाहरूले पनि नेपाल छाडिरहेका छन् । किन ? नेपालभन्दा स्थिरता र सुख विदेशमा देखिरहेका छन् । किन ? आफ्नो भविष्य विदेशमा सुरक्षित हुने विश्वास लिएर विदेशतिर पलायन भइरहेका छन् । किन ?

गरीब एवं साधन तथा स्रोतको अभाव भएर, स्वदेशमा केही गर्न नसकिने स्थिति देखेर विदेश पलायन हुनु एक किसिमले सही हो । तर आर्थिकरूपमा सक्षम र शिक्षा र सीपले युक्त युवाहरूसमेत विदेशतिर पलायन हुने स्थिति ठीक होइन । यो डरलाग्दो स्थिति हो । यो स्थितिले नेपाली युवामा चरम निराशा व्याप्त छ भन्ने अनुमान, बलियोगरी, सत्य हो भन्ने पुष्टि हुन्छ ।

नेपालमा धेरै कुरा छ । नेपाल साधन र स्रोतले धनी राष्ट्र हो । नेपाललाई बर्बाद पारेको वर्तमानको राजनीतिले हो । केही नेताको स्वार्थी प्रवृत्तिले हो । र यी स्वार्थी नेताहरूलाई चुनावमा पुनःपुनः विजयी गराउने मतदाताहरूको अज्ञानताले हो । केही मतदाताको स्वार्थले हो ।

नेपालमा राजनीतिक परिवर्तन हुनासाथ, स्वार्थी नेताहरूको गतिविधिमा अङ्कुश लाग्नासाथ, इमानदार नेताहरूको उदय हुनासाथ, वर्तमान नेपालको संविधानमा संशोधन हुनासाथ, वर्तमान चुनाव पद्धतिमा परिवर्तन हुनासाथ, नेपालमा आर्थिक विकासको युगको सूत्रपात हुनेछ । आर्थिक विकासको युग फर्किनेछ ।

नेपालको वर्तमान राजनीतिले हामीलाई अहिले सुनको कटौरा लिएर भिक्षा माग्ने स्थितिमा पुर्याएको छ । हामीसँग सुनको कटौरा (स्रोत एवं साधन) त छ, तर हामी भीख मागिरहेका छौं । हाम्रो त्यस सुनको कटौराको हामीले उपयोग गर्न सकेका छैनौं ।

नेतृत्व परिवर्तन हुनासाथ, राजनीतिमा इमानदार नेताहरूको प्रवेश हुनासाथ, हामी त्यो सुनको कटौरा प्रयोग गर्ने स्थितिमा पुग्नेछौं । अवश्य पुग्नेछौं ।

हामी यो घोर निराशाको स्थितिबाट बाहिर आउनेछौं, आउनुपर्छ, आशावादी हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here