• सञ्जय मित्र

मानिसको रुचि, क्षमता, दक्षता र चाहना कस्ताकस्ता हुन्छन् ? यस प्रश्नको उत्तर कुनै एक ठाउँमा सामान्यतया पाउन गाह्रो हुन्छ । मानिसको जीवनको अन्तिम लक्ष्य के हो ? यस प्रश्नको उत्तर पनि निकै कमले दिन सक्छन् । तपाईंलाई सबैभन्दा बढी सन्तुष्टि कहाँ वा कसरी वा केमा प्राप्त हुन्छ ? यस प्रश्नको उत्तरमा पनि मानिस घोत्लिन थाल्छन् । जीवन कसरी सरल हुन्छ ? यस प्रश्नको उत्तर सबैलाई थाहा छ किनभने हरेक व्यक्तिले आफ्नो जीवनलाई अझ सरल बनाउने प्रयास सम्भव भएसम्म हरेक पल गरिरहेको हुन्छ ।

जीवनलाई सरल बनाउने कुरो पनि व्यक्तिको दृष्टिकोणमा निर्भर हुन्छ । अनि त कसैले कठिनभन्दा पनि कठिन काममा आफूलाई सहज लागेको र मन लाग्ने गरेको बताउँछन् । कोही त्यागलाई सहज मान्दछन् त कोही प्राप्तिलाई । कोही दिनु सहज हो भन्छन् त कोही लिनु सहज ठान्दछन् । सहजताले पनि दृष्टिकोण खोज्दछ, विचार र दर्शन खोज्दछ । यस्तै ठूला सुविधा र आरामसहितको जिन्दगी त्याग गरेर गरुडाको अनाथालयमा आइपुगेका छन् पिएचडीका स्कलर कृष्णकुमार सिंह । जीवनरूपी नदीले कृष्णकुमार सिंहलाई जताजता डोर्यायो, उतैउतै डोरिंदै हरेक क्षेत्रमा आफूलाई सबल र अब्बल साबित गर्दै गएका सिंह दक्षिण कोरियामा पिएचडीको पढाइसँगै त्यहाँ लाखौंको जागीर, गाडी, क्वार्टरसहितको सुविधा त्याग गरेर अनाथालयको सेवामा आएका छन् ।

सिंह दक्षिण कोरियामा जागीरसँगै पिएचडी पनि अध्ययन गरिरहेका थिए । अनाथालयलाई आफ्नो आवश्यकता देखेर सिंह पिएचडी, जागीर र हुँदाखाँदाको सुविधा सम्पन्न नोकरी छाडेर अनाथालयमा आइपुगेका छन् ।

करीब ४० वर्षीय कृष्णकुमार सिंह दक्षिण कोरियाको राजधानी सिउलमा रहेको सिउल नेशनल विश्वविद्यालयबाट मानवशास्त्रमा एमए पूरा गरेपछि भारतीय दर्शन विषयमाथि दक्षिण कोरियाकै डङगक विश्वविद्यालयमा पिएचडी गरिरहेको अवस्थामा अनाथालयको विशेष जिम्मेवारी सम्हाल्नुपरेकोले पढाइ त्याग गरेर अनाथालय सम्हाल्न आइपुगेका छन् ।

दक्षिण कोरियामा करीब अढाई लाख रुपियाँको मासिक तलब, गाडीको सुविधाका साथै क्वार्टर सुविधासमेत प्राप्त गरेर पूर्णरूपले स्थापित भइसकेको अवस्थामा सबै त्याग गरी अनाथालयको विशेष आग्रहमा अनाथालय आइपुगेका सिंहलाई सामान्यभन्दा अलिक पृथक दृष्टिले हेर्नुपर्ने देखिन्छ । साधारण मानिस जहाँ यस्ता सुख–सुविधाका लागि मरिमेट्छन्, दक्षिण कोरियामा रोजगारका लागि पुग्न लालायित हुन्छन्, सिंह ठीकविपरीत देखिएका छन् ।

विसं २०५५ मा अनाथालयका बालबालिकाको रेखदेख गर्न बाराको सिमराबाट अनाथालयमा पुगेका थिए सिंह । अनाथालयले खाने, बस्ने र पढ्न पाउने सुविधा प्रदान गरेको थियो । सिंहले अनाथालयमैं बसेर प्रथम श्रेणीबाट एसएलसी उत्तीर्ण गरेका हुन् । साहित्य, सङ्गीत र अध्यात्ममा रुचि भएका सिंहले बनारस विश्वविद्यालय काशीबाट सङ्गीत/तबला विषयमा स्नातक गरेका छन् । यसैगरी, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजबाट शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् । अवसर पाएर दक्षिण कोरिया पुगेका सिंह त्यहाँ पनि फेरि बुद्ध दर्शनमा स्नातक गरेपछि स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययनको यात्रा तय गरेका छन् । विद्यावारिधिको पढाइ रोकेर सिंह पुनः अनाथालयमैं आइपुगेका छन्, अढाई दशक पहिले जुन भूमिकामा थिए ।

वैदिक कर्मकाण्ड, योग एवं ध्यानजस्ता विषयमा नेपाल, भारत र दक्ष्Fिण कोरियाका विभिन्न स्थानमा अभ्यास गरेका सिंहले एकातिर बौद्ध धर्मको गहन अध्ययन गरेका छन् भने हिन्दू धर्म–दर्शनको पनि राम्रो अध्ययन गरेका छन् । गरुडामा एउटा शक्तिपीठको रूपमा गायत्री मन्दिरको स्थापनामा सिंहको अहम् भूमिका रहेको छ ।

नेपाल पुलिस स्कूल गरुडा र न्यु डिभाइन लाइट स्कूलमा लामो समय शिक्षणको अनुभव बटुलेका सिंहलाई करीब दुर्ई दशक पहिले नै अनाथालयको उत्तराधिकारी घोषणा गरिएको थियो । सिंह अध्ययनको लागि बाहिर गएपछि केही वर्ष अरूले पनि अनाथालयको रेखदेखको जिम्मा लिएका थिए तर अनाथालयको कथाले सिंहकै भूमिका माग गरेपछि सिंह पुनः अनाथालयमा फर्केका छन् । अनाथालय संस्थापक वंशीराम जयसवालको वृद्धावस्थाको कारण विशेष परिस्थिति सिर्जना भएपछि अनाथालय सञ्चालन र रेखदेखको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सिंह सम्पूर्ण सुख, सुविधा त्यागेर अनाथालयसित आफ्नो नैसर्गिक मायाप्रीति फलीभूत गर्न आइपुगेका छन् ।

रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयको सञ्चालक समितिमा सिंह अध्यक्ष पदमा चयनित भएका छन् । अध्यक्ष पद सम्हालेपछि युवक सिंह आफ्नो जीवनको सर्वोपरि प्राथमिकता अनाथालय रहेको बताउँछन् । लगातार बाह वर्षसम्म सुविधा सम्पन्न दक्षिण कोरियामा रही मानसम्मानपूर्ण जीवनयापन गरेका युवक अब अनाथ बालबालिकाको बीच रहेर सेवा गर्ने प्रण गर्नु आफैंमा ठूलो महत्वपूर्ण त्याग भएको देखिन्छ ।

अनाथालयमा करीब तीन दर्जन बालबालिका र परिवार छन् । अनाथालयको निजी आयस्रोत नरहे पनि अरूले दिएको दान–दातव्यमाथि निर्भर रहेको छ र अनाथालय चलिरहेको पनि छ । गरुडामा रहेको अनामिका अस्पताल प्रालिले अनाथालयका बालबालिकालाई निश्शुल्क प्राथमिक उपचार गर्दै आएको छ ।

जन्म दिवस, विवाहका वार्षिकोत्सव तथा चाडपर्वको अवसरमा कतिपय मनकारी मानिसहरू अनाथालय पुगेर खाद्यान्न र केही रकम दिंदै आएका छन् । कोही कोही त अनाथालयमा भोजन बनाउन लगाई आफू पनि तीनै अनाथ बालबालिकासित बसेर भोजन गर्ने गरेका छन् । अनाथ बालबालिकालाई सहयोग गरेर तिनीहरूको आशीर्वाद लिनेहरू पनि छन् । शुभकामना प्राप्त गर्ने गरेका छन् । कतिपय सङ्घसंस्थाले आफ्नो वार्षिकोत्सव पनि अनाथालयमा मनाउने गरेका छन् वा त्यस अवसरमा बालबालिका र अनाथालयलाई केही प्रदान गर्ने गरेका छन् । मुख्यरूपमा यस्तै गतिविधिबाट अनाथालय चलिरहेको छ । कतैबाट केही नआउँदा र अनाथालयमा केही नहुँदा अनाथ बालबालिकाको लागि कतैबाट मागेर वा उधारो लिएर भए पनि बालबालिकाको भरणपोषण गर्ने जिम्मेवारी अध्यक्षकै भएको हुनाले अनाथालयका सञ्चालक निस्स्वार्थ मानिस हुनु जरूरी भएको संस्थापक वंशीराम जयसवालको भनाइ छ ।

संस्थापक जयसवाललाई सबैले बाबाजी उपनामले बोलाउने गरेका छन् । यस्तो योग्यता देखेर नै सम्भवतः बाबाजीले सिंहलाई उत्तराधिकारी घोषणा गरेको हुनुपर्छ । अनाथालयमा आएपछि सञ्चालकको जिम्मेवारी सम्हाल्दै गर्दा आफूलाई अलग्गै अनुभूति भएको सिंह बताउँछन् ।

अनाथ र अनाथालयको सेवा मेरा लागि साधना हो, जसलाई संस्थाका हरेक सदस्यको सहयोगले पूरा गर्नेछु भन्दै सिंह अत्यन्त शान्त हुन्छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने सिंह अनाथालयलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

अनाथालयका बालबालिकाको भरणपोषणसँग सम्बन्धित गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यका लागि अनाथालय पुगेर एकचोटी राम्ररी बुझेर सहयोगका लागि सबैसित आग्रह पनि गर्दछन् । सहृदयीलाई सिंह अनाथालय भ्रमणका लागि हार्दिक आमन्त्रण पनि गर्दछन् । अनाथालयलाई नजीकबाट बुझिदिन सहृदयीमा सिंहको निवेदन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here