• विश्वराज अधिकारी

हालै तीन जिल्ला– बारा, चितवन र तनहुँमा सम्पन्न निर्वाचनको परिणाम बहुप्रतीक्षित थियो । बहुप्रतीक्षित हुनुका अनेक कारण थिए । तर प्रमुख कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतादाताहरूले कुन स्तरमा पत्याउँछन् भनी थाहा पाउनुथियो ।

तीन जिल्लाका् उपनिर्वाचनको परिणाम प्राप्त भइसकेको छ । र मुख्यगरी चितवन र तनहुँमा मतदाताले मतपत्रमार्फत दिएको मतले नेपालमा एक वैकल्पिक राजनीतिक शक्तिको माग भएको प्रस्ट भएको छ । साथै उक्त वैकल्पिक शक्तिले नेपालको आर्थिक विकासको नीति र पद्धतिमा परिवर्तन ल्याउने आशा पनि गरिएको छ ।

बारा जिल्लामा भएको उपनिर्वाचनको परिणामले खासै महत्व राख्दैन किनभने त्यो चुनाव एकातिर एक्लो अभिमन्यु र अर्कोतिर कौरव सेनाका दर्जनौं महारथीहरूजस्तो थियो । खासमा त्यो चुनाव नभएर एउटा युद्ध रणनीति थियो जुन शत्रुलाई पराजित गर्नका लागि तयार गरिएको थियो । स्वच्छ र जन–उत्तरदायी प्रजातन्त्रमा यसरी अनेक दल मिलेर, मोर्चाबन्दी गरेर, चुनाव जितेको देखिंदैन । यो उपनिर्चाचनको रूप र प्रकृति हेर्दा र गठबन्धनको दाउपेचको विश्लेषण गर्दा, जनताको सच्चा अभिमत पाएर उपेन्द्र यादव विजयी भएको देखिंदैन, मानिंदैन । यादवको विजय निर्वाचनको परिणाम होइन, रणनीतिक परिणाम हो । यादवको लोकप्रियताको परख र परीक्षण उनको आफ्नै चुनाव क्षेत्रमा भइसकेको थियो । आफ्नै चुनाव क्षेत्रमा उनी हारेको ज्ञात तथ्य हो ।

तर यो लेखको उद्देश्य उपेन्द्र यादवको विरोध गर्नु भने होइन । न त अन्य पराजित उम्मेदवारहरूको पक्ष लिनु हो । न जनमत पार्टीको लोकप्रियता अभिवृद्धि गर्नु नै हो । यो लेखको उद्देश्य राजनीतिक विश्लेषण गर्नु पनि होइन । यो लेखको उद्देश्य आर्थिक विश्लेषण गर्नु हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू रवि लामिछाने र स्वर्णिम वाग्लेको विजयले नेपालमा आर्थिक विकासको नयाँ युगको सूत्रपात हुन खोजेको सङ्केत दिएको हो कि भनी मनन र चिन्तन गर्नु हो ।

रवि लामिछाने नयाँ राजनीतिक शक्ति सृजना गर्ने सर्जकमध्येका एक हुन् । रवि लामिछाने र स्वर्णिम वाग्ले परिवर्तनका केवल एक विम्ब मात्र हुन् । प्रतिनिधि पात्र मात्र हुन् । तर उनीहरू मतदाताको विद्रोहका आवाज हुन् । परम्परागत राजनीतिक शक्ति एमाले, नेपाली काङ्ग्रेस र माओवादीप्रति वितृष्णा रहेको तथ्य जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर देखाएको छ ।

जनतालाई अब परिवर्तन चाहिएको छ । आर्थिक विकास नयाँनयाँ सोच र योजना चाहिएको छ । देशभित्रै रोजगार चाहिएको छ । आफ्ना यिनै मागहरू जनताले रवि र स्वर्णिमलाई विजयी तुल्याएर पूरा गर्न खोजेको छ ।

निष्ठा र इमानदारी होइन, कपटले भरिएको राजनीति गर्ने, आफ्नो स्वार्थ र सत्ताको लागि जनताको हितको बेवास्ता गर्ने, कुनै बेला फुट्ने कुनै बेला जुट्ने । छेपारोजस्तो घरीघरी रङ्ग परिवर्तन गर्ने र अनेक किसिमका कुकृत्य गरेर देशको अर्थतन्त्र धराशायी पार्ने एमाले, काङ्ग्रेस र माओवादी नेताहरूको व्यवहारबाट देशवासी थाकिसकेका छन् । रवि र स्वर्णिमले पाएको मत सङ्ख्या र उनका निकटतम प्रतिद्वन्द्वीहरूले पाएको मतसङ्ख्या, दुवै तथ्यले, यस कुराको पुष्टि गर्दछ ।

नेपाली जनताले किन वैकल्पिक राजनीति शक्तिको उदय खोजिरहेको छ ?

अहिले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । र यस पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन् । भोलिका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेका वा एमालेजस्तो हुन सक्छ । रवि पनि देउवा वा फुकुदाजस्तै हुन सक्छन् । रविको वर्तमानको दिशा परिवर्तन हुँदैन भन्ने ग्यारन्टी गर्न सकिंदैन । तर नेपाली जनताले अब नयाँ राजनीतिक शक्तिको तीव्र कामना गरेको भनेर ग्यारन्टी गर्न सकिन्छ । एमाले, नेका र माओवादी र यिनका नेताहरूबाट देशको आर्थिक विकास होला भन्ने कुरामा जनतालाई पटक्कै विश्वास नरहेको पनि ग्यारन्टी गर्न सकिन्छ ।

अब गत निर्वाचन र हालै सम्पन्न उपनिर्वाचनमा मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुको प्रमुख कारणतिर जाऔं । प्रमुख कारण नै आर्थिक विकास हो । गरीबी हो । महँगी हो । परम्परागत राजनीतिक शक्तिहरूबाट नेपालको आर्थिक विकास हुन सक्तैन । नयाँ राजनीतिक शक्तिले मात्र नेपालको आर्थिक विकास गर्न सक्छ । नयाँ राजनीतिक शक्तिको नेतृत्व रविले गर्न सक्छन् । रवि र स्वर्णिमको जोडीले नेपालमा आर्थिक विकासका नयाँ बाटा तयार पार्नेछन् । यस्तैयस्तै सोचले गर्दा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेको हो । रवि अनेक विवादमा परेको भए तापनि ती कुराहरू बिर्सेर मतदाताले उनलाई विजयी तुल्याएको हो । अति कमजोर (राजनीतिक जीवनमा) उम्मेदवार स्वर्णिम वाग्लेलाई अत्यधिक मत दिएको हो ।

नेपालमा बन्द हुनै आँटेको आर्थिक विकासको ढोका स्वर्णिमले पूरा खोल्न नसके तापनि आधा भए पनि खोल्न सक्नेछन् ? नेपाली जनताको भरोसा पूरा गर्नेछन् ? यी प्रश्नको उत्तर खोज्नु पूर्व नेपाली समाजको अनौठो चरित्रको चर्चा गर्न भने आवश्यक छ । हामी नेपालीहरू अरूलाई राम बन भन्छौं तर आफू भने राम बन्न सक्तैनौं । भ्रष्टाचारको घोर निन्दा गर्छौं तर पाए ठूलो माछाले सानो माछा कप्लक्क पारेझै घूस खाइदिन्छौं । नेताको चाकडीको विरोध गर्छौं तर आफ्नो कुनै काम निकाल्न बेइमान नेताको खुट्टासम्म पखाल्न तयार हुन्छौं । अरूलाई इमानदार बन भन्छौं तर आफू बन्दैनौं । यस्तो व्यवहार हामी बहुसङ्ख्यक नेपालीमा पाइन्छ ।

हाम्रो समाजको चरित्र अति नै अनौठो छ । यो अनौठो चरित्रबाट स्वर्णिम प्रभावित हुने छैनन् भनेर ठोकुआ गर्न सकिंदैन । तर यदि उनले आफूलाई राम बनाउने प्रयास गरे भने नेपालको आर्थिक विकासका लागि धेरै कुराहरू गर्न भने सक्छन् । एक व्यक्तिको सोचले देशको आर्थिक विकास तीव्र गतिमा भएको उदाहरण धेरै छ । भारतका पूर्व प्रम नरसिम्हा रावको एक्लो सोचले भारतमा उदार अर्थ व्यवस्थाको सूत्रपात गरेको थियो ।

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि धेरै कुरा गर्न सक्छन् भन्ने आधारहरू के के छन् त ?

स्वर्णिमले नेपालको आर्थिक विकासका लागि ठोस योगदान पुर्याउन सक्ने आधार धेरै छन् । उनी स्वयं एक युवा हुन् । उनीसँग नवीनतम आर्थिक योजनाहरू छन् । आर्थिक विकासका लागि आवश्यक पर्ने नयाँनयाँ सोच त छ नै, उनीसँग शक्ति पनि छ । जोश छ । साथै उनी अर्थविज्ञ हुन् । अर्थशास्त्रका पेचिला कुराहरू जुन राष्ट्रको आर्थिक विकासका लागि आवश्यक छ, उनलाई राम्ररी थाहा छ । उनले अर्थ क्षेत्रको गहिरो अध्ययन गरेका छन् र अध्यनशील पनि छन् । अर्को र महŒवपूर्ण कुरा उनी सम्बद्ध राजनीतिक दल – राष्ट्रिय स्वतन्त्र पार्टीले देशको आर्थिक विकास गर्छु भन्ने बाचा गरेको छ । यो पार्टी अहिलेसम्म देशको आर्थिक विकासप्रति चिन्तित र जागरुक देखिएको छ ।

विश्व अर्थ व्यवस्थमा भएका नयाँनयाँ परिवर्तन र त्यसबाट नेपालले लिन सक्ने फाइदाहरूबारे स्वर्णिमलाई राम्रो जानकारी हुन सक्छ ।

रवि लामिछानेको नियमित निगरानीले स्वर्णिमको महत्वाकाङ्क्षामा अंकुश लगाउने कार्य गर्नेछ, यदि स्वर्णिमले आर्थिक विकासका कुरालाई बेवास्ता गरेर केवल पद र शक्तिलाई महत्व दिए भने, केवल सत्तामुखी भए भने । अर्कोतिर रविले पनि जनतालाई अनेक आश्वासन दिएकाले उनले जनतालाई झुक्याउन कठिन छ किनभने उनले त्यस्तो गरेमा अर्को चुनाव उनको लागि उनको राजनीति जीवन अन्त्य हुने अवसर बन्न सक्नेछ ।

रवि र स्वर्णिमको जोडीले, मुख्यगरी आर्थिक क्षेत्रमा केही सुधार गर्नेछ भनी आशावादी हुने प्रशस्त ठाउँ छ । यो जोडीको ध्यान सर्वप्रथम बेरोजगारतिर जानेछ, जानु नै पर्नेछ । रोजगारको लागि युवाहरू विदेशतिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने यो जोडीले अवश्य पनि कार्य गर्नेछ ।

कृषि उत्पादनमा आएको ठूलो ह्रास रोक्न यो जोडीले कार्य गर्नेछ । निर्यात वृद्धिमा ध्यान दिनेछ । देशभित्र रोजगार सृजना गर्न नयाँनयाँ योजनाहरू ल्याउने छ । वा त्यस्तो गर्न सक्नेछ ।

सर्वाधिक महत्वपूर्ण कुरा भने यो जोडीले नेपालीहरूमा आएको चरम निराशा ‘यो देशमा अब आर्थिक विकास सम्भव छैन’ लाई कम पार्न रवि–स्वर्णिम जोडीले महत्वपूर्ण भूमिका खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here