काठमाडौं, ११ वैशाख/रासस

सरकारले नेपालमैं उत्पादन भएका यात्रीलगायत सवारीसाधनको दर्ताका लागि कानूनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानूनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताए ।

मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिएका हुन् ।

 “दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ,” उनले भने, “स्वदेशमैं उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छाैं, तर त्यसको सुरक्षा र सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।”

नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो ।

मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गरे । कानूनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन हुने भएको छ । यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।

नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापनपत्रको सट्टा कर बीजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छ भन्ने आकलन गरिएको छैन ।

विसं २०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरीद भएका सवारीसाधनका लागि मात्र व्यवस्था गरिएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक कानूनी उल्झन सहजीकरण गरिने विश्वास व्यक्त गरे । उनले नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here