• अनन्तकुमार लाल दास

कक्षा बाहिर उभिएकी सीमाले सबै विद्यार्थीहरूको ध्यान आफूतर्फ आकर्षित गरिन् । गीता मैडम उपेक्षित भावले सोधिरहेकी थिइन्–“आज पनि विद्यालय आउन ढिलो भयो ? अबेरसम्म सुत्नु हुँदैन, अलि चाँडै उठ, हरेक दिन तिमी ढिलो आउँछ्यौ… ।” सीमाले जवाफ फर्काइन्–“मैडम, म त बिहानै उठ्छु तर मेरी आमा ढिलो उठ्नुहुन्छ । यस कारण मलाई सधैं स्कूल आउन ढिलो हुन्छ । ”

एक दिन कक्षा दशका विद्यार्थीहरूको झोला जाँच गर्दा मैले एउटा विद्यार्थीको झोलामा खैनीको पुरिया भेटें । सच्चाई बुझ्न स्नेहयुक्त भावले सोधें–“कहिलेदेखि खैनी खान शुरू गर्यो ?” पहिले त उसले खैनी खाने कुरो स्वीकार गरेन र भन्यो कसैले मलाई पँसाउन राखिदिएको हुन सक्छ तर पछि सम्झाइबुझाई सोध्दा– बुवाले सधैं मलाई बजारबाट खैनी किन्न पठाउनुहुन्छ । जिज्ञासावश मैलै पनि खान शुरू गरें र यसरी मलाई पनि खैनी खाने बानी बस्यो ।

धेरै महीनाको शुल्क बाँकी रहेको एउटा विद्यार्थीलाई पटक–पटक ताकेता गर्दा पनि शुल्क भुक्तान नहुँदा राधा मैमले उसलाई बोलाई सोध्दा केटोले–“बुवा अभिभावक सङ्घका सदस्य हुनुहुन्छ, फी तिर्न भन्दा–‘बोर्डिङ्गलाई दबाब दिइरहेका छौं, तिम्रो फी त माफ भइहाल्छ” भनेर जवाफ फर्कायो । 

यी उदाहरणहरूले केटाकेटीहरूमाथि अभिभावक र घर परिवारको नचाहिंदो गतिविधिको प्रभाव दर्शाउँछ । यसबाट के प्रस्ट हुन्छ भने केटाकेटीहरूमा देखिने प्रत्येक असामाजिक क्रियाकलापमा अभिभावकहरूको गहिरो प्रभाव परेको हुन्छ । कालान्तरमा यो बानी, कमजोरी र दोष उनीहरूको स्वभावमा पनि देखा पर्छ र व्यक्तित्व विकासमा बाधक बन्छ ।

प्रत्येक अभिभावकको चाहना वा अपेक्षा के हुन्छ भने उसको सन्तान सुसंस्कृत र चरित्रवान बनोस् । यस कारण अभिभावकले यदि बाल मनोविज्ञान बुझेर उनीहरूको व्यक्तित्व विकासमा रुचि लिन्छन् भने निश्चय नै सन्तानमा देखापर्ने धेरैजसो समस्या समाधान गर्न सकिन्छ । एउटा अभिभावकले आफ्नो छोरोको प्रगति सम्बन्धमा शिक्षकसँग सोध्दा उनी धेरै अचम्भित भए जब शिक्षकले बताए, “तपाईंको छोरो गोपी त दुई महीनादेखि विद्यालय आइरहेको छैन ।”

गोपीको सम्बन्धमा शिक्षकको यो शिकायत सुनेर अभिभावकले भने–“ सर, म त उसलाई हरेक दिन विद्यालय पठाउँछु, हिजै फी पनि पठाएको छु । ऊ त प्रत्येक दिन समयमैं युनिफर्म लगाएर विद्यालयको लागि निस्कन्छ र छुट्टी भएपछि घर फर्कन्छ…. तपाईं के भनिरहनु भएको छ…।” “म जे भनिरहेको छु त्यो एकदम साँचो हो । हिजै मैले तपाईंलाई सूचना पनि पठाएको छु…। अभिभावकसँग कुनै जवाफ थिएन । अव्यक्त क्रोध, उत्तेजना र आत्मग्लानिको भाव उनको अनुहारमा स्पष्ट देखा परिरहेको थियो ।

यो कुनै एक अभिभावकको व्यथा–कथा नभई हाम्रो पारिवारिक र सामाजिक परिवेशमा यस्ता कैयौं गोपी, महेश, रीतेश छन् जो उचित रेखदेख, संरक्षण र अभिभावकको उपेक्षाको कारण कुलत, गलत सङ्गतका शिकार भएका छन् । अभिभावकहरू उनीहरूलाई दण्डित गरी सुधार्न चाहन्छन् तर उनीहरू सुध्रिनको साटो झन् बिग्रँदै जान्छन् किनभने कुटपीटले सुधार ल्याउन सकिंदैन ।

यस कारण प्रत्येक अभिभावकले आआफ्ना सन्तानको आवश्यकता बुझ्ने प्रयास गर्नुपर्छ र आफ्नो गच्छे अनुसार पूरा पनि गर्नुपर्छ । सन्तानको सोच वा कार्य व्यवहारमा कुनै बदलाव देख्नासाथ उसलाई हतोत्साहित गर्नुको साटो संशोधन गर्ने प्रयास गर्नुपर्छ । उनीहरूलाई त्यस कार्यबाट हुन सक्ने सम्भावित दुष्परिणाम सम्बन्धमा अवगत गराउनुपर्छ । तपाईंलाई यो थाहा हुनुपर्छ कि यस्तो कार्य गर्ने प्रेरणा उनीहरूलाई घरबाटै प्राप्त हुन्छ, किनभने घरको वातावरणले उनीहरूलाई यस्ता कार्य गर्न प्रेरित गर्छ । यस कारण अभिभावकले घरको वातावरण दूषित वा तनावपूर्ण हुनबाट जोगाउनुपर्छ । परिवारका सबै सदस्यबीच विश्वास, आत्मीयता, स्नेह, सहयोग र सद्भाव होस् भन्ने कुरा ध्यानमा राख्नुपर्छ । छलकपटले एक अर्कालाई तल देखाउने प्रयास वा एक आपसमा अविश्वास, तनाव जस्ता परिस्थिति सृजना हुनु कसैको हितमा हुँदैन ।

बदलिंदो सामाजिक परिवेशमा अभिभावकहरूले बाहरी वातावरणबाट कसरी बालबालिका प्रभावित भइरहेका छन् भन्ने कुरामा ध्यान दिनु नितान्त आवश्यक छ । उनीहरू नाश्ता खर्चको उपयोग कसरी गरिरहेका छन् ? के किन्ने गरेका छन्, के खाने गरेका छन्, पत्ता लगाउनुपर्छ । यदि तपाईंको सन्तानले त्यसको सही उपयोग गरिरहेको छ र उसलाई थप पैसा चाहियो भने हीनताभावबाट जोगाउन र उनीहरूको असल अभिरुचि विकसित गर्न अझ पैसा दिनुपर्छ । यदि उनीहरू त्यसको उपयोग चाटपकौडी खान, नराम्रो चलचित्र हेर्न, मोबाइल रिचार्ज आदिमा गरिरहेका छन् भने सतर्क गराउनुपर्छ किनकि केटाकेटीमैं यस्ता विसङ्गतिबारे थाहा हुन्छ भने आफूलाई जोगाउन सक्छन् । यसबाट उनीहरूको बानीमा सुधार हुन्छ र उनीहरूको हरेक क्रियाकलापको जानकारी अभिभावक रहन्छ भन्ने बुझ्छन् ।

केटाकेटीहरूको बानी थाहा पाउन विद्यालयका शिक्षकहरूसँग समय–समयमा सरसल्लाह र उनीहरूका साथीहरूसँग कुरा गर्नु हो । यसरी अभिभावकले आफ्नो सन्तानको इच्छा, अपेक्षा, रुचि, प्रगति र समस्याबारे जानकारी राख्न सक्छन् र कुनै अवगुण देखा पर्नासाथ त्यहीं त्यसको समाधान पनि गर्न सक्छन् । यसको अर्थ सन्तानको व्यक्तित्व विकास क्रममा आउने गुण र दोषबारे जान्नु पनि हो । जसरी एउटा किसानले खेतमा फसलबीच उम्रेका अनावश्यक घाँसपात सफा गर्छ, त्यसैगरी अभिभावकले पनि आफ्नो सन्तानको व्यक्तित्व विकासको मार्गमा तेर्सिन आएको अवगुण जानेर त्यसलाई हटाउन स्वयं अगाडि सर्नुपर्छ । पहिले सहायक बनेर त्यसबारे चर्चा गर्नुपर्छ र आवश्यक भए उनीहरूको संरक्षण र सहयोगका लागि आँखा पनि तर्नुपर्छ तर कुट्नुहुँदैन किनभने कुटाइले उनीहरू विद्रोही, जिद्दी हुनुका साथै घरपरिवारबाट टाढा हुँदै जान्छन् ।

नेपाली परिवेशमा बालबालिकाहरू अभिभावकको व्यस्तताले गर्दा उपेक्षित रहन्छन् । गरीबी, महँगी, बढी सन्तान, बेरोजगार, आर्थिक मन्दी, अवसरको अभाव जस्ता समस्याले ग्रसित अभिभावकहरूसँग सन्तानको चाहना बुझ्ने र उनीहरूको कुरा सुन्ने समय नै हुँदैन । खासगरी केटीहरूको मनमा यसको गहिरो प्रभाव पर्दछ । पहिलो त उनीहरू भावुक र संवेदनशील हुन्छन् र दोस्रो उनीहरूलाई यदि अभिभावकको स्नेह प्राप्त हुँदैन भने उनीहरूको मानसिक विकास राम्ररी हुँदैन । यस कारण उनीहरू छिट्टै अरूमाथि विश्वास गर्छन् र अनेक समस्याका शिकार हुन्छन् । अभिभावकहरूलाई समस्याको जानकारी त्यस बेला हुन्छ जब उनका सन्तान पूर्णरूपेण समस्यामा जेलिइसकेका हुन्छन् ।

शहरमा किशोर र किशोरीहरूले एक आपसमा मिल्ने अनेकौं अवसर पाउँछन् र त्यहाँ एक अर्काको भावनासँग खेलवाड गर्नु साधारण कुरो बन्छ । यस कारण यदि अभिभावकहरूले आफ्नो सन्तानको कालो ओंठ, पहेंलो पर्दै गएको आँखा, अबेरसम्म सुत्ने बानी, कसैसँग कुरा नगर्ने विकसित बानी, ठीक समयमा ननुहाउनु, नखानु, नहाँस्नु आदि कुरा देखेमा त्यसको बेवास्ता गर्नुहुन्न किनभने तपाईंको सन्तान ड्रगको शिकार भएको पनि हुन सक्छ । भन्नुको आशय के हो भने सन्तानमा विकसित यस्ता परिवर्तन केलाउनु र समयमैं उपचार गर्नु बुद्धिमानी हो ।

व्यस्तता अभिशाप होइन तर सन्तान माथि ध्यान नै नदिनेगरी व्यस्त हुनु पनि राम्रो होइन । मेरो सुझाव के छ भने आफ्नो सन्तानका लागि व्यस्तताका बावजूद केही समय अवश्य निकाल्नुहोस् । सन्तानको हरेक कुरा ध्यानपूर्वक सुन्नुहोस् र उनीहरूको समस्यालाई उनीहरूद्वारा नै हल गर्न सहयोग गर्नुहोस् । आमाले छोरीहरूको कुरा एउटा सहेलीको रूपमा सुन्नुपर्छ । आफ्नो सन्तानलाई साथीहरूसँग खेल्ने, पढ्ने र घुम्ने अवसर प्रदान गर्नुपर्छ तर ध्यान राख्नुहोस्, तपाईंको छोरा वा छोरीको साथी समान आयु, समान आर्थिक स्थिति र समान सामाजिक स्तरका छन् कि छैनन् ।

आफ्नो सन्तानमा निहित क्षमता, प्रतिभा र योग्यता फक्रने समुचित अवसर प्रदान गर्नु हरेक अभिभावकको कर्तव्य हो । सन्तानको अभिरुचि जुन विषयमा छ त्यही विषयसँग सम्बन्धित प्रशिक्षण, नयाँ–नयाँ जानकारी वा योग्यता हासिल गर्न सहयोग गर्नुहोस् । सन्तानको असफलता वा निष्क्रियताका लागि उनीहरूलाई मूर्ख, निकम्मा, अयोग्य भन्नुहुँदैन बरु सफल र सक्रिय बनाउन सुविधा र साधन जुटाउनु अभिभावकीय दायित्व हो । उनीहरूद्वारा गरिने हरेक क्रियाकलापको जानकारी अभिभावकलाई छ भन्ने कुरा सन्तानलाई बुझाउन उनीहरूसँग केही क्षण व्यतीत गर्नु आवश्यक छ । यसबाट एकातिर उनीहरूको मनोबल वृद्धि हुन्छ भने अर्कोतिर उनीहरू गलत क्रियाकलापमा संलग्न हुनबाट जोगिन्छन् ।

बालबालिकाहरूमा आआफ्नो कमजोरी लुकाउने बानी हुन्छ । यस कारण अभिभावकले के ध्यान राख्नुपर्ने हुन्छ भने उनीहरू आफ्नो कमजोरी नलुकाऊन् किनभने कमजोरी लुकाउनाले एकातिर गल्ती हुने सम्भावना बढेर जान्छ भने अर्कोतिर कमजोरी प्रकट हुने डरले उनीहरू दब्बू, भिरू र  एकांकी हुँदै जान्छन् । अभिभावकको दायित्व बालबालिकालाई गल्ती दोहो¥याउनबाट बचाउनु पनि हो ।

हालै एउटा विद्यालयले आफ्ना अभिभावकहरूलाई जागरुक बनाउन एउटा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न के लगायो सामाजिक सञ्जालमा त्यसविरुद्ध जथाभावी लेख्न थालियो । अभिभावकको सोच जस्तो हुन्छ उसको सन्तानको सोच पनि त्यस्तै हुन जान्छ । त्यहीं अर्कोतिर आधुनिकताको नाउँमा जारी पैmशन, सामाजिक दिखावा, फिजुलखर्ची आदि केही यस्ता व्यवहार हुन् जसले बालबालिकालाई छिट्टै प्रभावित गर्दछन् । यस कारण बालबालिकामा विकसित हुन सक्ने गलत संस्कारलाई रचनात्मक दिशा प्रदान गर्नु र त्यसलाई पारिवारिक र सामाजिक अपेक्षा अनुरूप ढाल्नु अभिभावकको कार्य हो ।

यदि तपाईं सन्तानलाई आफ्नो चाहना अनुसार बनाउन चाहनुहुन्छ भने उनीहरूको सुखद वर्तमान र भविष्यको लागि सुनिश्चित आधार प्रदान गर्नुहोस् । श्रमको महत्व, स्वयं कार्यप्रति तत्परता, समयको सदुपयोग, सहयोग, उदारता आदि यस्ता आचरण हुन् जसलाई तपाईंले आफ्नो सन्तानको हृदयमा प्रवाहित गर्न सक्नुहुन्छ र तपाईंको यस्तो आचरणले उनीहरूलाई जीवनभरि तपाईंप्रति कृतज्ञ बनाउने छ । भन्नुको आशय के हो भने विद्यार्थीको भविष्य पूर्णरूपेण अभिभावकको हातमा निर्भर हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here