• सञ्जय मित्र

जब कोरोनाको लकडाउन थियो, तब मानिसलाई घरभित्रै बसेर समय बिताउन धेरै कठिन थियो । ओछ्यानमा सुत्दासुत्दा जीउ दुख्थ्यो । कतिपयले खाएर सुत्ने र सुतेर उठेर खाने अनि फेरि सुत्ने गर्दथे । त्यही एउटा समय थियो, जतिखेर मानिसलाई घरभित्रै समय बिताउन निकै अप्ठ्यारो भइरहेको थियो । त्यस कठिन समयलाई सिर्जनात्मक सदुपयोग गर्नेहरू पनि धेरै निस्किए । त्यसअघि कहिल्यै साहित्य सिर्जना नगरेका कतिपय यस्ता पनि मानिस भेटिएका छन्, जसले एकैचोटि छन्दमा लेख्न अभ्यास गरे र लकडाउनको अवधिमा अभ्यस्त पनि भए ।

समय बिताउन लेखपढ गर्ने बानी त्यसैले निकै फलदायी छ । लकडाउनको समयमा कतिपयले आफूलाई मन लागेको र पहिलेदेखि पढ्न चाहेका तर पढ्न नपाएका कृतिहरूको अध्ययन गर्ने मौका पाए । यसैगरी, कतिपय यस्ता मानिस थिए, जोसित लेख्ने विषय थियो, लेखनकला थियो तर लेखनको लागि समय थिएन । तिनीहरूले लेख्नको लागि समय पाए, फुर्सद पाए र मज्जाले लेखे पनि । कतिपय यस्ता पनि थिए, जोसित लेखिएको कृति थियो र सम्पादन वा पुनर्लेखन गर्ने अवसर भइरहेको थिएन, लकडाउनले त्यसको मौका दियो । पुनर्लेखन र सम्पादन भयो । यसरी लकडाउनले कृतिको पठन, लेखन, सम्पादन, अभ्यास तथा पुनर्लेखन सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको देखिएको छ । यद्यपि लकडाउनले जनजीवन तथा अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव चाहिं कैयौं वर्षसम्म भरपाई नहुने सम्भावना छ ।

साहित्य त अध्ययन र सिर्जनकै कुरो हो । पाठकको रूपमा मानिसले आफूलाई रुचि भएको साहित्य नै पढ्ने हो । रुचि भएको साहित्य सिर्जना गर्ने हो । यही पठन र सिर्जनले साहित्यलाई अगाडि बढाउँछ । पठन र सिर्जन दुवैको लागि यदि समय छ र समयले चाहिं विस्तार दिएको छ भने अलिकति स्तरीयता स्वाभाविक आउँछ । अझ शोधार्थी तथा अनुसन्धानकर्मीको लागि त यस प्रकारको समय वरदान नै हुन्छ, जहाँ कसैले कुनै रोकावट गर्ने नहोओस् । निर्बाध अनुसन्धान गर्दाको फाइदा नै बेग्लै हुन्छ । बेग्लै किसिमको अनुभूति हुने हुन्छ । फरक किसिमको अनुसन्धानमूलक सिर्जना आउने हुन्छ । हो, लकडाउनले धेरै नकारात्मकताबीच यस प्रकारको सकारात्मक प्रभाव पार्न सफल भएको छ ।

लकडाउनको समयमा सञ्चार क्षेत्र ठप्प भएको थिएन । अखबार प्रकाशन भइरहेकै थियो, रेडियो तथा टेलिभिजन प्रसारण भइरहेकै थिए । सबैभन्दा बढी त अनलाइनले विकास गर्ने अवसर पाएको हो, यस अवधिमा । यही अवधिमा सामाजिक सञ्जालले भने निकै सक्रियता देखाएको हो । इन्टरनेटको माध्यमबाट हुने विभिन्न किसिमका सामूहिक सञ्जालका बारेमा पनि सबैभन्दा धेरैले जान्न पाएको अवसरमूलक समय पनि यही नै थियो । र फेरि पनि जो जससित सम्बन्ध राख्छ, ऊ त्यसैसित बढी सम्बन्धित विषयलाई खोज्छ । यस सवालमा साहित्यको सम्बन्ध पनि साहित्यकारसित नै हुन्छ र साहित्यको बारेमा सरोकार राख्नेहरूले साहित्यिक समूहसित सम्बन्ध स्थापित गर्दछ । लकडाउनको समयमा देश र विदेशका साहित्यिकारहरूले अनेक साहित्यिक सञ्जालमार्फत एकअर्कासित जोडिएर साहित्य सिर्जनालाई एकअर्काबीच पस्कने तथा त्यस सम्बन्धमा छलफल गर्ने अवसर पाएका थिए । यसले सीमित घेरामा रहेको पहिचान र परिचयलाई आफ्नो घेराभित्रको अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुगेको थियो ।

हो, लकडाउनको समयमा साहित्यिक समूह, साहित्यिक सञ्जाल र विभिन्न औपचारिक, अनौपचारिक सञ्चार क्षेत्रमा भएका साहित्यिक अन्तक्र्रिया तथा प्रकाशन र प्रसारणसमेतको कारण निस्सन्देह साहित्यिक गतिविधि मात्र होइन साहित्यिक उपभोक्तामा पनि विस्तार भएको थियो । लकडाउनभन्दा पहिले र लकडाउनपश्चात्को समयलाई विचार गर्ने हो भने साहित्यिक पाठक तथा लेखकको सङ्ख्यामा निकै धेरै विस्तार भएको पाउन सकिन्छ । साथै साहित्यको स्तरको क्षेत्रमा पनि विस्तार भएको पाउन सकिन्छ । यसै कारण कतिपय समालोचकले पछिल्लो समय साहित्यिक कार्यक्रममा विस्तार भएकोमा टिप्पणी गर्दै लकडाउनको समयमा साहित्यको क्षेत्रमा मानवले पु¥याएको पहुँचको परकम्प भएको प्रतिक्रिया दिएका छन् ।

साहित्यले मानिसलाई जोडेको छ र मानिसलाई नाम पनि दिएको छ । जब पिंजडामा कोही बन्द हुन्छ भने त्यति बेला उसको लागि त्यहाँभन्दा बाहिर आउनु नै ठूलो स्वतन्त्रता हुन्छ । लकडाउनरूपी पिंजडामा सर्वसाधारणले आफूलाई बाहिर ल्याउने एउटा माध्यम साहित्य पाएको हो । यसैले कतिपयले साहित्यलाई आत्मप्रकाशन भन्ने गरेका छन् । आत्माको अभिव्यक्ति वा आत्माको स्वतन्त्र उडान वा विचारको अभिव्यक्ति लेखेर पनि गर्न सकिने अवस्थालाई अत्यन्त महत्वपूर्ण मानिएको पनि हो ।

पछिल्लो समय विभिन्न ठाउँमा साहित्यिक महोत्सवहरू हुन थालेका छन् । साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । कृतिहरू प्रकाशन भइरहेका छन् । पाठकहरूले कृति पढिरहेका छन् अर्थात् कृतिको बिक्री वितरण विस्तार भएको छ । पत्रपत्रिकाहरूले कृतिको समीक्षा निरन्तर प्रकाशन गरिरहेका छन् । साहित्यिक पत्रपत्रिकाले निरन्तरता पाइरहेको अवस्था छ । अन्य क्षेत्रमा कोरोनाको नकारात्मक प्रभाव देखिइरहँदा तुलनात्मकरूपमा साहित्यको क्षेत्रमा प्रभाव निकै कम देखिएको छ । कतिपयले त लकडाउनपछि साहित्य सिर्जनमा गतिशीलता मात्र होइन, स्तरीयतामा पनि वृद्धि भएको बताइरहेका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरो त अनेक किसिमका सञ्चार तथा सञ्जालमा साहित्यको पाठकमा वृद्धि हो । फेरि पनि पाठकमा वृद्धि हुँदा फाइदा चाहिं लेखकलाई हुन्छ । निस्सन्देह, साहित्यकार नै पाठक र साहित्यकार नै लेखक भन्ने अवस्था अहिलेको समयमा केही कम भएको छ । पहिले त साहित्यकारबाहेक अरूले साहित्यिक सामग्री पढिरहेको अवस्था नै थिएन भन्दा पनि हुन्छ तर अहिले भने पढ्ने तथा सुन्ने भएका छन् । यस अर्थमा साहित्यको पहुँचमा विस्तार भएको छ । पहुँचमा विस्तारका कारण नै उत्सव तथा महोत्सवहरू भइरहेका छन्, महोत्सवमा सहभागीको सङ्ख्या बढिरहेको छ र महोत्सव गर्ने क्रममा निकै विस्तार भएको छ । अहिले अन्य कुराको महोत्सव निकै कम भएको अवस्थामा साहित्यिक महोत्सवको भने विस्तार हुनुले साहित्यको महत्व बढेको भन्दा साहित्यप्रति रुचि बढेको र साहित्यको सञ्चारमा वृद्धि भएको मान्न सकिन्छ । साहित्यको सञ्चारले साहित्यको विस्तारमा  वृद्धि गरिरहेको छ । उसो त पहिलेदेखि नै अखबारहरूले शनिवारको अङ्कलाई अलिकति साहित्यिक बनाउने अभियान गरिरहेकै छन् ।

अब अहिले लकडाउनपछिको दिनमा साहित्यका विषयवस्तुलाई विचार पृष्ठमा निरन्तरता दिने तथा अझ कतिपय अखबारले त अन्य दिनमा पनि साहित्यका विभिन्न खुराक पस्केर साहित्यका पाठक तथा लेखकलाई प्रोत्साहन गरिरहेका छन् ।

लकडाउनपछिको समयलाई पनि दुई भागमा बाँडेर हेर्ने हो भने पहिलो वर्ष अधिकांश साहित्यमा कोरोनाको प्रभावबारे प्रकाश पारिएको पाइन्थ्यो । कोरोनाको परकम्प साहित्यमा देखिएको थियो । तर परकम्प कमजोर बन्दै जाँदा साहित्यको नियमित विषयवस्तुमा नवीनतासहित पस्किने क्रम चलेको छ । यही दोस्रो समयले भने साहित्यको विस्तारमा निकै सहयोगी भूमिका निर्वाह गरेको छ । साहित्यको विकासमा अहिले समाज अगाडि बढिरहँदा साहित्यकारहरूले प्रोत्साहन पाइरहेका छन् । साहित्यकारहरूले प्रोत्साहन पाउँदा फेरि पनि समाजमा सकारात्मक प्रभाव परिरहेको छ । यसैले त होला, लकडाउनपछि धेरै पुरस्कारको स्थापना भएको । अहिलेको समयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म साहित्यको सिर्जनमा लागेको मात्र नभई साहित्यिक समूह नै बनाएर सक्रिय हुन थालेका छन् । अझ साहित्यको विस्तारको अर्को पाटो मातृभाषाहरूमा पनि सक्रियता बढेको छ र विभिन्न ठाउँमा बहुभाषिक साहित्यिक गोष्ठीहरू हुन थालेका छन् । बहुभाषिक गोष्ठीले एकातिर मातृभाषालाई प्रोत्साहन मिलिरहेको छ भने अर्कोतिर समाजका साहित्यलाई स्थापित गरिरहेको छ । समाजमा साहित्यलाई स्थापित गर्नमा साहित्यिक सञ्चारले ठूलो योगदान दिइरहेको यथार्थ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here